अमेरिकाद्वारा रुस विरुद्ध आर्थिक प्रतिबन्धको घोषणा
राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।
राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । यससँगै पाँच दलीय सत्ता विभाजित भएको छ ।
सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि घोर विरोध गर्नुभएको छ ।
केसीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पु¥याउने जिकिर गर्नुभयो ।
फागुन १६, काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।
रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको गत बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन् ।
रुसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् ।
यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ ।पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।
रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२÷१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रोमूलुक जान रोकिएका छन् ।
उनीहरुले आज साँझसम्म सीमा क्रस गर्न सक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराउनुभएको थियो । उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले सङ्घका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको जानकारी दिनुभयो । रासस
नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक सुचारु भएको छ ।
राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न रुसलाइ फिफाको निर्देशन
रुसले राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल खेल्नुपर्ने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।
फिफाको निर्देशनसँगै रुसले अब फुटबल युनियन अफ रसियाको नाममा तथष्ट भएर अन्तराष्ट्रिय खेल खेल्नेछ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि फिफाले झण्डा र राष्ट्रिय गानमा प्रतिबन्ध गरेको हो ।
आक्रमणकै विरोधमा पछिल्लो समय युरोपका विभिन्न देशले रुससँग खेल्ने अस्विकार गरेको छ ।
जसमा इंग्ल्यान्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक र स्विडेन रहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने बताउनुभएको छ ।
एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।
यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलन राखिएको हो ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् ।
काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ ।
यस्तै, उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिकको काम अघि बढाइएको छ ।
निर्वाचन कार्यालयले फागुन १९ गते सात वटा स्थानीय तहका ९८ वडामा फोटोसहितको नामावली पठाउने तयारी गरेको छ । वडामा फोटोसहितको नामावली पठाएपछि २० गतेबाट २६ गतेसम्म दाबी विरोधको समय तोकिएको निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिनुभयो ।
मतदाताले सम्बन्धित वडामा गएर नाममा त्रुटी भए सच्याउन तथा मतदानस्थल परिवर्तन गर्न पाउने उहाँले बताउनुभयो । एउटै वडा भित्रका मात्रै मतदानस्थल स्थल परिवर्तन गर्न पाइने समेत उहाँले बताउनुभएको छ ।
वडाबाट दाबी विरोध भएर आएपछि २७ गते नामावली निर्वाचन आयोगमा पठाइनेछ । आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गरिनेछ । उहाँका अनुसार यस पटक तीन लाख ९९ हजार ८७१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। यि सबै नामावली आयोगमा पठाइनेछ ।
यस पटक चितवनमा ८६ हजार नयाँ मतदाता थपिएका छन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा चितवनमा तीन लाख १३ हजार तीन जना मतदाता थिए । सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार प्रेसर कुकुर जस्तो देखिने शंकास्पद वस्तुमा एमसीसी लेखिएको छ ।
शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीले जान लागेको एसपी मैनालीले बताउनुभयो।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ ।
अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ४५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।
रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए ।
रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । त्यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरुमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।
यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएक छन् ।
त्यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।
आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलले दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दिने समय सकिएको छ । दल दर्ताको लागि आएका निवेदन अध्ययन गरेर अबको एक हप्ताभित्र दलका नाम राजपत्रमा प्रकाशित गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगबाट १ सय ११ दलले मान्यता पाएका भए पनि ८० दलले मात्रै दर्ताको लागि निवेदन दिएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् ।
जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् ।
आज बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो । तर वार्ताका लागि युक्रेन तयार भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविकसहित अन्य भारी हतियारलाई विशेष सतर्कतामा रहन निर्देशन दिएका छन् ।
पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहन भनेका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताउनुभएको हो ।
बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।
नेपाल बन्द आयोजना गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा ३ ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् ।
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।
बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्वसचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बन्नुभएको थियो । सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उहाँमाथि लागेको छ । आयोगका अनुसार पूर्वमन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई २०६४ माघ ८ गते अनिवार्य अवकाश पाउनु भएको थियो । यस्तै, त्यसअघि उहाँ शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।
आयोगका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता पूर्वमन्त्री श्रेष्ठको कूल आय रु ६ करोड ९० लाख १६ हजार ६२७ बराबर रहेको देखिन्छ । सो अवधिमा उहाँले कुल रु ११ करोड ३५ लाख ४४ हजार २९४ बराबर खर्च गरेको देखिन्छ । यस आधारमा रु चार करोड ४५ लाख २७ हजार ६६६ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको देखिन्छ ।
नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण र युवा तथा खेलकूद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको पुष्टि भएको आयोगको भनाइ छ ।
आयोगले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रु चार करोड ४५ लाख २७ हजार ६६६ कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चलअचल सम्पत्ति घर, जग्गातर्फ बैंक मौज्दात गरी रु ६८ लाख ५० हजार ९५३ समेत रोक्का राखी जफथ गर्न र अपुग बिगो रु तीन करोड ७६ लाख ७६ हजार ७१३ र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर जग्गा जमिन रोक्का राख्नका लागि आयोगले माग गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रतिपक्षी दल एमालेको होहल्लाका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल अघि बढेको छ ।
आज संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो । जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिनुभएको छ । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावल, उपेन्द्र यादव लगायतले आफ्नो धारणा राखिसक्नुभएको छ ।
बैठक चलिरहँदा पनि एमालेको अवरोध भने कायमै छ ।
एमसीसी विशुद्ध आर्थिक परियोजना भएमात्रै अघि बढ्न सक्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्ताव छलफलका लागि संसदमा पेश गरेलगत्तै चार दलका बीचमा भएको सहमतिसहित एमसीसी छलफलमा ल्याउन आग्रह गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक सुरु भएको छ । यता, नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।
एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिलो भइ भर्खरै मात्र सुरु भएको छ । एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु १ प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् । यस्तै, एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन पनि चर्किरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उहाँले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाउनुभयो । मन्त्री आलेले भिन्न–भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवद्र्धनमा कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको भन्दै कलालाई मौलिकताको साथसाथै यसलाई व्यावसायिक रुपमा पनि अघि बढाउनसके अर्थतन्त्रमा समेत टेवा पुग्नसक्ने बताउनुभयो । उहाँले विज्ञान र कलालाईसँगसँगै लैजाने गरी विज्ञान प्रतिष्ठानले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति के–के कर्माचार्यले प्राज्ञ सभाले प्रष्ठिानको आगामी वर्षको रणनीति तय गर्ने जानकारी दिनुभयो । यस्तै सभाले प्रतिष्ठानको कार्यविधि, आगामी वर्षको अनुमानित प्रस्तावित बजेट कार्यक्रमलाई पारित गर्नेछ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले कला, संस्कृतिको विकासका लागि सबै नाट्य प्रतिष्ठानहरुले समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औंल्याउनुभयो । प्राज्ञ गङ्गा सुवेदीले मुलुकको कुना कन्दरामा लुकेका कला र संस्कृतिलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।
यसैबीच प्रतिष्ठानले ललितकलामा आवद्ध कलाकारलाई परिचयपत्र वितरणको प्रारम्भ गरेको छ । प्रतिष्ठानका उपकूलपति कर्माचार्यले परिचयपत्र लिएर वितरण शुभारम्भको घोषणा गर्नुभयो । प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यलाई वितरण गरिएको यो परिचयपत्र ललितकलामा आवद्ध देशभरका कलाकारलाई प्रदान गरिनेछ ।
यस्तो परिचयपत्र लिन सम्बन्धित कलाकारले निवेदन दिनुपर्नेछ । विभिन्न चार ‘क्याटोगोरी’ मा प्रतिष्ठित, विशिष्ठ, वरिष्ठ र कलाकार परिचयपत्र उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन आएकी छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित आएकी हुन् ।
प्रहरीका अनुसार उनले जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने र नहुने टुंगो हुनेछ ।
आज पल शाह आफैं जिल्ला प्रहरी कार्यालय, तनहुँमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि चितवनमा जाहेरी दर्ता हुन लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गर्नुभएको छ । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ ।
सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको थियो ।
सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको समन्वयमा युक्रेनमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन थालेको छ ।
युक्रेनमा हाल मान्यता प्राप्त जर्मनीस्थित नेपाली दूतावासका अनुसार युक्रेनमा करिब दुई सय नेपाली रहेका छन् । तीमध्ये करिब ४० जना युक्रेनका स्थायी बासिन्दा हुन्, जबकि अन्य अधिकांश त्यहाँ अध्ययन गरिरहेका विद्यार्थी हुन्।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काउन स्थानीय एनआरएनए शाखा र सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको बताए । ‘युक्रेनको युद्धबाट बच्न नेपाली नागरिक आफ्नो देशको सीमामा पुगेका खण्डमा आफ्नो देशमा प्रवेश गर्न सहज होस् भनेर हामीले स्लोभाकिया, हंगेरी र पोल्याण्डका विदेश मन्त्रालयमा कूटनीतिक नोट पठाएका छौं,’ राजदूत खड्काले फोनमा गणतन्त्रलाई भने । “
जर्मनीस्थित नेपाली दूतावासले यसअघि सबै नेपालीलाई युक्रेन छोडेर सकेसम्म पोल्याण्ड, हंगेरी र स्लोभाकिया जान सल्लाह दिएको थियो । केही नेपाली विद्यार्थीले खाना किनेर युक्रेन छाड्नसमेत पैसा नपाएको गुनासो गरेको राजदूत खड्काले बताए । “हामी एनआरएनएसँग नजिकबाट उनीहरूलाई सबै प्रकारले मद्दत गर्न काम गरिरहेका छौं,” उनले थपे।
एनआरएनए पोल्याण्डका अनुसार शुक्रबार साँझसम्म ११ जना नेपाली सकुशल पोल्याण्ड पुगेका छन् भने १९ जना युक्रेनको सीमानाकाबाट पोल्याण्ड प्रवेश गर्न पर्खिरहेका छन् । त्यसैगरी अन्य २० जना नेपाली अहिले किभबाट पोल्याण्डतर्फ जाँदैछन् ।
युक्रेनमा अलपत्र परेका अन्य ६ जना नेपाली नागरिकसँग सम्पर्क स्थापित भएको र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पोल्याण्ड लैजाने प्रयास भइरहेको एनआरएनए पोल्याण्डले जनाएको छ ।

युक्रेन सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा रुसले भिटोको प्रयोग गरेको छ। प्रस्तावको पक्षमा ११ सदस्यले मतदान गरेका छन् । भारत, चीन र युएई भने अनुपस्थित थिए ।
युक्रेनले रुसी आक्रमण रोक्न र आफ्ना सेना फिर्ता गर्ने पक्षमा मतदान गरेको थियो ।रुस सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एक हो। सुरक्षा परिषद्का स्थायी सदस्यहरू रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत छन्। उनीहरूसँग भिटो शक्ति प्रयोग गर्ने अधिकार छ।
सुरक्षा परिषद्को बैठकमा रुसी राजदूतले युक्रेनमा भएको आक्रमणको बचाउ गर्दै यो डोनबास क्षेत्रमा युक्रेनी नागरिकको सुरक्षा गर्ने उद्देश्यले भएको बताएका थिए भेन अमेरिकी राजदूतले युक्रेनमा भएको आक्रमणको निन्दा गर्दै रुसले भिटोको दुरुपयोग गरेको बताए ।
पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।
सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । सरकारले पीसीआर परीक्षणको शुल्क ८०० तोेकेको छ ।
गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्नेछ । यही फागुन ९ गते एक व्यक्ति पासपोर्ट र भिसा बिना नै जहाजसम्म पुगेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक छलफलमा जुट्नुभएको छ ।
शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ ।
नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुट्नुभएको हो।
यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) मार्च २६ देखि सुरु हुने भएको छ । आईपीएलका खेलहरु भारतको मुम्बई तथा पुणेमा हुने आयोजकले जनाएको छ ।
आईपीएलका ५५ खेल मुम्बईमा तथा १५ खेल पुणेमा हुनेछन् ।२० खेल वांखेडे, १५ खेल ब्राबोर्न स्टेडियम, २० खेल डिवाई पाटिल स्टेडियम, तथा १५ खेल महाराष्ट्र क्रिकेट एसोसियन मैदानमा हुनेछन् ।
मैदानमा सिमित संख्यामा दर्शकलाई समेत अनुमति प्रदान गरिनेछ । यस पटक आईपीएलमा १० टिमको सहभागिता रहेको छ ।
नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिन सम्झौता गरेको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सो ऋण नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्ध सुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको मरासिनीले दाबी गर्नुभयो ।
विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा (संसद)बैठक सूचना टाँसेर स्थगित भएको छ ।
आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको बताइएको छ ।
बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
बिभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० विरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।
दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन् । एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।
शुक्रबार एमसीसी विरुद्ध प्रदर्शनको कार्यक्रम राख्नेमा नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी नेमकिपा, नेपालका लागि नेपाली पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा माले, एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा एकीकृत समाजवादी आबद्ध जनसंगठन र नेकपा माओवादी रहेका छन् ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।
रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गरेको समाचारमा जनाइएको छ ।
रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।
रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।
रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक स्थगित भएको थियो ।
मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।
२०७८ फागुन १३ गते (शुक्रबार)
दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सुदूर पश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १४ गते (शनिबार)
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशभरि तथा कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिमको पहाडी भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १५ गते (आईतबार)
दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ र देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
Statement on the Recent Developments in Ukraine भनेर परराष्ट्र मन्त्रालयले हिजो,”नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ” भन्ने सन्देशका साथ एक विज्ञप्ती जारी गर्यो । विज्ञप्तीको अन्तिम हरफमा लेखिएको छ,”नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्ति प्रयोगको विरोध गर्दछ”।
वाह ! नेपालको सरकार पनि अन्तरराष्ट्रिय मुद्दा मामिला र युद्धको विषयमा विश्वका अन्य ठुला मुलुकहरु जसरी नै बोल्न, लेख्न र प्रतिवाद गर्न सक्ने भैसकेछ भनेर मलाई अचम्म लाग्यो । सांच्चिकै मेरो देशको सरकारले यती सम्म पनि बोल्न, लेख्न र प्रतिवाद गर्न सक्ने रहेछ भनेर कता-कता खुशी पनि लाग्यो । संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नेपालले त्यो विज्ञप्ती जारी गर्नु एक हिसाबले ठीक पनि हो, तर भारतले आफ्नै देशको सिमाना मिच्दा चुइक्क बोल्न नसक्ने सरकारले आज अचानक रुसको कदमको विरोध गरेर विज्ञप्ती जारी गर्दै गर्दा, सरकार र सरकारमा बस्नेहरुले के खान्छन र यस्तो वुद्धी लगाएर हतार हतार प्रतिकृया जनाउन आतुर हुन्छन् भन्ने लाग्छ । भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिङ धामीहरुलाई खोलामा झार्दै गर्दा,भारतीय सेनाको हेलिकप्टर विना अनुमती सिमाना नाघेर नेपाली आकाशमा उडिरहंदा , बर्दी र हतियार सहितका भारतीय प्रहरीहरु सिमा पार गरेर नेपाली भुमीमा बुट बजार्दै गर्दा भारत सामु कुनै जवाफ माग्न नसक्ने सरकार आज कसको ईशारामा रुस जस्तो शक्तिशाली देशको विरुद्ध विष वमन गर्दैछ ?
आफ्नै देशको सिमानामा बसोबास गर्दै आएका नेपाली नागरिकको जनगणना गर्न भारतको अनुमती लिनु पर्ने सरकारले आज कस्को अनुमती लिएर विज्ञप्ती जारी गर्यो सरकार ? संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नै विज्ञप्ती जारी गरेको हो भने, सरकार अर्को विज्ञप्ती भारतले सिमानामा गर्दै आएको अत्याचार र दादागिरीको विषयलाई लिएर पनि जारी गर्नुपर्यो । निर्वाध रुपमा सिमानामा अन्तराष्ट्रिय सम्झौता र कानुनको उल्लंघन गर्दै एक्लौटी रुपमा निर्माण गर्दै गरेको सडक र ड्यामको विरोधमा विज्ञप्ती जारी गर्ने हैसियत छ सरकार ? लिपुलेक, कलापानी र लिम्पियाधुरा लगायतका नेपाली भुमीमा बर्षौं देखी सैनिक क्याम्प खडा गरेर बसेको भारतको विरोधमा विज्ञप्ती जारी गर सरकार, कुनै विदेशीको बुइ चढ्नु पर्दैन,हामी आंफै तिमीलाई कांधमा बोकेर हिंड्नेछौं ।
शक्तिशाली राष्ट्र विरुद्ध बोल्न नहुने होइन बोल्नुपर्छ र परी आएमा युद्धमा होमिएर लड्न पनि तयार हुनुपर्छ । तर नेपाल जस्तो देशले कुनै एउटा शक्ती राष्ट्रको बुइ चढेर अर्को शक्ती राष्ट्रको विरोध गर्दै गर्दा त्यसले भोली दिर्घकालिन रुपमा पार्ने असरबारे सोच्नु जरुरी छ । ति देशहरुसंगको भोलीको हाम्रो सम्बन्ध कस्तो हुन्छ र यसले हाम्रो अन्तराष्ट्रिय कुटनितिमा के असर पार्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । नेपालीमा एउटा उखान छ सरकार,”लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ दुई बल्ड्याङ । हामी जुन चन्द्रमालाई भगवान भनेर पुज्छौं नि, हो यि फिरिङ्गीहरुले त्यहां खुट्टाले टेकेर आइसके । त्यसैले को कती बाठो छ विचार गर्नु सरकार । हामी बाठो भएर बहादुर भएका होइनौं, मुर्ख भएर बहादुर बनेका हौं भन्ने फिरिङ्गीहरुको कुरा नबिर्सनु ।
राजनीतिक स्वार्थ र भागवण्डाको चपेटामा एमसीसीले आफ्नै देश तानवग्रस्त बनेको अवस्थामा संयमता बिर्सिएर नागरिक माथि अश्रुग्यांस र रबरका गोली बर्षाउंदै गर्दा, तिमी कुन नैतीकताले रुसलाई संयमता अप्नाउन आग्रह गर्न सक्छौ सरकार ?अर्काको बुइ चढेर भुंइको टिप्न खोज्दा पोल्टाको पोखिन सक्छ सरकार,पटुकी राम्रोसंग कस्नु । कहिलेकहीं देखेर पनि नदेखेजस्तो गर्नुपर्छ अनी सुनेर पनि नसुने जस्तो गर्नुपर्छ सरकार । आजसम्म संधै यही नै गर्दै आएको होइन र ? बिर्सिएको हो र?
आफ्नो देशको सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको विषयमा आज सम्म मौनधारण गरेर बसेको यो अन्धो सरकार,यो बहिरो सरकार अनी यो लाटो सरकारलाई मेरो आग्रह, विन्ती छ, अनावश्यक चासो र आफ्नो बुता भन्दा परको विषयमा पनि मौन बस्ने बानी गर । एउटालाई खुशी पार्ने बहनामा अर्कोलाई चिढ्याउनु नेपालको लागि घातक सावित हुनेछ ।
कसैसंगको सम्बन्ध संधै राम्रो हुन्छ र हुनुपर्छ भन्ने छैन र कसैसंगको राम्रो सम्बन्ध संधैभरीलाई हुन्छ भन्ने पनि छैन । कहिलेकहीं अहित हुने सम्बन्धहरु बाट टाढै बस्न सिक्नुपर्छ । हरेक सम्बन्धहरुको एउटा निश्चित सिमा हुन्छ । देशको अस्तित्व लीलामीमा राख्दै कसैको बुइ चढेर सती जान सकिन्न । त्यसैले नेपालले अप्नाउंदै आएको असंलग्न परराष्ट्र नितीलाई विचार गरेर स्वतन्त्र, निस्पक्ष र निर्वाध रुपमा अन्तराष्ट्रिय कुटनितीको ख्याल गर्दै अन्य विदेशी राष्ट्रहरुसंगको आफ्नो सन्तुलन कायम राख्न सक्नुपर्छ सरकार । सरकारको यसमा ध्यान पुगोस,कहिलेकहीं नबोलेरै जितिन्छ ।














राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा सातौं कृषि गणना हुने भएको हो ।
राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिने छन् ।
उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरु खटिने भएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।
प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उहाँले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभएको हो ।
उहाँका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच आज साँझ पुन छलफल हुने जनाइएको छ ।
बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको भन्दा सुधार भएको छ । बुधबार ३ अर्बको कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब नाघ्यो ।
दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो ।
संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी छन् ।
आज बस्ने भनिएको संसद बैठक सरकारको आग्रहमा स्थगित भएको छ ।
बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।
शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयासमा आज पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो। आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले आज बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।
त्यस्तै, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन समेत भनेको छ ।
‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’
कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने पनि नेपालको भनाइ छ ।
नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख ठगी गरेका छन् ।
ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना रु ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् । पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर रु ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताउनुभयो ।
तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए । पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ । बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ ।
ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको स्थानीय अधिकारीले बुधबार जनाएका छन् ।
रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ५१ अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् ।
यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ । त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । हालको रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो ।
सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो । यहाँ गएको एक हप्ता भन्दा बढीदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू बन्द भएका छन् भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ ।
बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र ठूलो संख्याका मानिसलाई विद्यालयहरूमा आश्रय दिएर राखिएको बताइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम भट्टराइद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपु¥याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछ ।”
बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको छ ।
थपिएका मन्त्रालयका मन्त्री तथा सचिवहरुका लागि चालु आर्थिक वर्षमा मात्र सरकारले ५ करोड ७४ लाख १६ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।
सरकारले माघ महिनासम्म सो रकम बराबरको गाडी प्रदेशका मन्त्रालय, मन्त्री र सचिवहरुका लागि खरिद गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
हाल बागमती प्रदेशमा माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन सरकार छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले मन्त्रीहरु तथा विभाजन गरिएका मन्त्रालयका सचिवहरुका लागि १० वटा गाडी खरिद गरेको हो ।
हाल सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन मुख्यमन्त्री पाण्डेले गत मंसिर १५ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गर्दै प्रदेशमा यस अघि कायम रहेका ८ वटा मन्त्रालयलाई विभाजन गरी १४ पु¥याएका थिए ।
माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ ।
त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।
‘एमसीसीमाथि प्रतिनिधिसभामा आजबाट छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ ।
माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ ।
६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको भन्दै देशभर प्रदर्शन गर्ने भएको छ ।
जुनसुकै मुल्यमा पनि एमसीसीको खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु आफ्नो कर्तव्य भएको भन्दै संघर्षको कार्यक्रम सार्वजनिक गरेको ६ राजनीतिक दल र २ मोर्चाले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आज संसद भवन घेराउ गर्ने बताएको छ ।
यता सरकारले भने सुरक्षा व्यवस्थालाई थप कडाई गर्दै संसद भवनको पर्खाल वरपर कांडे तार लगाएको छ । बानेश्वोर र माइतिघर क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिनिध सभाको बैठक आज बिहीबार बस्दैछ । एमसीसी संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गर्नुभएको थियो ।
एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् ।
१८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन् । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।
हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।
गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् ।
यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले उनलाई पलसँग भिडियो खिचाएर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए ।
तर, मंगलबारदेखि ती गायिका कानुनी प्रक्रियामा जान तयार भइन् । उनी मंगलबार नै काठमाडौँबाट तनहुँतर्फ लागेकी थिइन् । तर, मंगलबार साँझ तनहुँ जिप्रकाले बुबाको पनि हस्ताक्षर चाहिन्छ भनेपछि बुधबार मात्रै जाहेरी दर्ता भएको हो ।
पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले संकटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई “विनाशकारी“ मानवीय संकटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई करोड ८० जनसंख्याको बहुमतलाई सहयोगको आवश्यकता रहेको छ ।
संयुक्त राष्ट्र संघको अपीलको जवाफमा, भारतले पाँच हजार टन गहुँ उपहार दिने निर्णय गरेको थियो । लरीहरूको पहिलो चरणलाई मंगलबार पाकिस्तानको सीमानजिकै अमृतसरमा एक समारोहबीच अधिकारीहरूले झण्डा देखाएका जनाइएको छ ।
भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले भन्यो कि यो ढुवानी आफ्नो क्षेत्रमार्फत पार गर्न अनुमति दिन “एक असाधारण आधारमा सहमत“ थियो ।नयाँ दिल्लीले भारत प्रशासित कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि इस्लामाबादले २०१९ मा भारतसँगको व्यापार निलम्बन गरेको थियो ।
अघिल्लो पश्चिमा समर्थित अफगान सरकारसँग घनिष्ट सम्बन्ध रहेको भारतले पनि कोभिड–१९ को खोपको ५ लाख डोज, १३ टन औषधि र जाडो लुगा सहयोग गरेको थियो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताउनुभयो ।
धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट २४ लाखसम्म तथा नयाँ क्षेत्रमा रु १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताउनुभयो ।
केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उहाँको भनाइ छ । पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरणलगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताउनुभयो ।
धानको पकेट क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धानखेती गरिएको हुनुपर्ने उहाँको भनाइ छ । जिल्लामा चैते धान उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरेसँगै चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको पौडेलले बताउनुभयो । गतवर्ष ७०० हेक्टरमा रोपाइँ भएको चैते धान यसवर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको उहाँको भनाइ छ ।
यसवर्ष कावासोती–१४ लाई धानको पकेट क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैते धान लगाउने क्षेत्रफलमा वृद्धि हुने भएको छ । केन्द्रसँगै यहाँका विभिन्न स्थानीय तहले धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैतधान उत्पादन हुँदै आएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।
संघीय संसद सचिवालयले भोली बिहिबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
कार्यसूची अनुसार बिहिबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गर्नुभएको थियो । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गर्नुभएको हो ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसैबीच, एमसीसी संसद्मा सोमबार टेबल भएपछिको प्रदर्शनलाई ध्यानमा राखी संसद् भवनको सुरक्षा थप मजबुद बनाइएको छ । भोली बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार बेरिएको हो ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ ।
उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ ।
त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ । नेपालले पपुवा न्युगिनिसँग चैत ८ गते खेल्नेछ । आइसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ ।
नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटांै स्थानमा छ । त्यसैगरी ओमानले २३ खेलमा १५ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै ३० अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित तेस्रो स्थानमा छ ।
युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ अन्तिम स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
आज नेकपा (माओवादी केन्द्र)को वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताउनुभएको हो ।
राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उहाँले बताउनुभयो । उहाँले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले आज बिहान गृह मन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पार्नुभयो ।
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ ।
भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा. रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउनुहुन्छ । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उहाँको भनाइ छ ।
नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डिएम गर्नुभएका श्रेष्ठले नेपालमा नौ जनाले मात्रै हेपाटोलोजिमा डिएम गरेका चिकित्सक रहेको जानकारी दिनुभयो । वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आउनु भएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिनुभएको छ ।
सामान्य भाषामा भन्नु पर्दा जण्डिस् ९पहेँलो रोग० लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उहाँको भनाइ छ । कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रङ्ग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताउनुभयो ।
बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिने चिकित्सकको भनाइ छ । कतिपयमा कलेजोको क्यान्सरसमेत हुन्छ । मादक पदार्थ सेवा नगर्नेमा पनि कलेजोको सिरोसिस हुनसक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
मोटोपन, मधुमेह, उच्च रक्तचाप भएका, कोलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उहाँको भनाइ छ । समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिइरहनु राम्रो हुने चिकित्सकको सुझाव छ ।
सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका अनुसार अमेरिकी सहयोग परियोना एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो।
फागुन ८ गते संसदमा दर्ता भएको एमसिसी सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरू हुँदैछ। संसद बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ।
गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।
चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् । सुरक्षित आवासको अभावमा उनीहरुले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको दुई लाख र नासाँे गाउँपालिकाको एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् । बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तबरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताउनुभयो । तीन तहको सरकारसँग आग्रह पश्चात् त्यहाँका स्थानीयवासी सुरक्षित भएको उहाँले बताउनुभयो । गत जेठ ३१ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो ।
जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरु बताउँछन् । बाढीपहिरा जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उतिकै छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् ।
जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरु बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरा पीडितको गुनासो छ । रगत पसिना बगाएर बनाइएको घरबारी बगाएपछि गाउँले अलपत्र परेका छन् । तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न पाएकामा खुसी लागेको बताउनुभयो । “ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ”, उहाँले भन्नुभयो । नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । रासस
आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।
यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो ।
समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रालिबीच सहमति गराएको हो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल सङ्घ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।
विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताउनुभयो ।
समितिले कोभिड १९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रर्वद्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।
यसैगरी समितिले हाल कोभिड सङ्क्रमण घट्दो क्रममा रहेकाले नेपाल सरकार मन्त्रिपरिषद्बाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ ।
समितिका संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ । समितिको गत माघ २४ गतेको निर्णयानुसार पर्यटन उद्योगसम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेशस्तरबाट सल्लाह सुझाव लिन मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रदेश प्रतिनिधिसमेत तोकिसकेको छ ।
निकट भविष्यमै समितिले देशैभरिबाट पर्यटन क्षेत्रका सरोकारवालासँग वृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने र प्राप्त सुझावलाई समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ ।
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयलेआग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि नेपाली नागरिकलाई आग्रह गरेको हो ।
हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विषयमा एमाले स्पष्ट गृहमन्त्री बालकृष्ण खाँणलाई रहेको सन्देश दिनुभएको छ ।
एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न आज बिहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिनुभएको हो ।
ओलीले एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको भोली बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ ।
सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली काँग्रेस मात्र रहेको छ । बाँकी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।
आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।
युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेको छ ।
विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ ।कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उलङ्घन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिवन्ध लगाउने प्रचलन रहेको छ ।
यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रुपमा पनि लिइन्छ । यस्ता प्रतिवन्धले देशको अर्थतन्त्र र राजनीतिलाई बढी असर पर्ने र नेताहरुले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ । अमेरिकाले गरेको प्रतिवन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरुले समेत समर्थन जनाउदै आफ्नो देशहरुको तर्फबाट पनि प्रतिवन्ध लगाइएको घोषणा गरेका छन् ।
रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरुले प्रतिबन्धहरू पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।
उनीहरुले सूचना प्रतिविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोवारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ । रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरुले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ ।
आईसीसी टी–२० विश्वकप छनौट अन्तर्गत आज भएको खेलमा नेपाल ६८ रनले पराजित भएको छ ।
ओमानको अल अमेरत रङ्गशालामा आईसीसी टी–२० विश्वकप छनौट अन्तर्गत आज नेपाल र यूएईबिच भएको सेमीफाइनल खेलमा नेपाल ६८ रनले पराजित भएको छ । १७६ रनको लक्ष्य प्राप्तीका लागि यूएई विरुद्ध मैदानमा उत्रिएको नेपाली टोली १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा समेटिएको थियो ।
आजको खेलसंगै नेपालको विश्वकपको यात्रामा पूर्णविराम लागेको छ ।
यूएईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउंदै १७५ रन जोड्न सफल भएको थियो ।
समुह चरणको खेलमा लगातार ३ वटा खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।
पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।
यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोाबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।
चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म)निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
सात महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।
चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो ।
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।
चालु आवको सात महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको रु सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस्तैगरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
सोही अवधिमा नेपालमा १४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ ।
नेपालको भारतसँग मात्रै रु पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ । रासस
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ ।
आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छांै भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।”
हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उहाँले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गर्नुभयो ।
एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उहाँले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिनुभयो । बालकको नाम भने गोप्य राखिएको छ ।
प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फसेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताउनुभयो ।
शवमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । मृत्युका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।
भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताउनुभएको छ ।
महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले अदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताउनुभएको हो ।
मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अब त्यस्तो काम हुन नदिने स्पष्ट पार्नुभयो ।
धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा वृद्धवृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाई छ । उनले यस वर्षको महाशिवरात्रीलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभयो ।
पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले यस वर्ष महाशिवरात्रीमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताउनुभयो। त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुन उहाँले जानकारी दिनुभयो ।
महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ९मन्त्रिस्तरीय निर्णय गर्दै० रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।
खाडीलगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्धलगायका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले पुनः रोजगारीमा जान नपाउने डरका कारण बिदामा घर आउन सकेका थिएनन् । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी श्रममन्त्री कृष्णकुमार श्रेष्ठले अप्ठ्यारोमा परेका महिलालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिकाअनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि प्रतिबन्ध लाग्नुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका र पछि अवैध रुपमा गएका महिलाहरू परिवार भेट्न नेपाल आउन नसकेको भन्दै उनीहरुको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो ।
प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु कामदार रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकाले आउन सकेका थिएनन् । पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी सर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने र सम्बन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरुको छुट्टै अभिलेख राख्ने व्यवस्था गरिएको छ ।
खाडीलगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएयता महिला अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् । जसले गर्दा उनीहरूलाई जबरर्जस्ती श्रम र बेचबिखन जस्ता जोखिममा पारेको छ ।
प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुनेभन्दा थप जोखिममा परेको मन्त्री श्रेष्ठको भनाइ छ । अवैध रूपमा गएका महिलाको कुनै अभिलेख नहुनु, शोषण, बेचबिखन तथा ठूलो सङ्ख्यामा श्रम गन्तव्य मुलुकमा अलपत्र परेका छन् ।
विसं २०७३ चैत २० गते व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । महिला अधिकारकर्मीले घरेलु महिला कामदारलाई विदेश जानबाट रोक्न नहुने भन्दै तत्काल प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए । प्रतिबन्धसँगै अवैध बाटो हुँदै खाडी जाने कामदार झनै जोखिममा पर्ने गरेका छन् ।
अवैधरुपमा विदेशिएका कामदार कुनै समस्यामा परे उद्धार तथा स्वदेश फिर्ताका समस्या हुने गरेको छ । यसको समाधानका लागि सरोकारवालासँग छलफल गरी छिट्टै निर्णयमा पुगिने मन्त्रालयको भनाइ छ ।
प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक छलफल कर्यक्रममा उहाँले संविधानले कर उठाउने दायराको अधिकांश हिस्सा केन्द्र सरकारलाई दिए पनि स्थानीय तहले जनताले तिर्न सक्ने न्यूनतम् र जायज हुने खालका कर उठाउन सक्ने बताउनुभएको हो ।
सभापति साहले कुखुराको अण्डा र ज्योतिषीलाई समेत महँगो कर लिइएको गुनासो आएकाले यसरी कर लिने जनप्रतिनिधि आगामी निर्वाचनमा जनताको परीक्षामा उत्तीर्ण हुन कठिन हुने जनाउनुभयो ।
उहाँले स्थानीय तहमा प्रत्यायोजित अधिकारलाई अतिक्रमण हुने गरी केन्द्र र प्रदेश सरकारले कुनै कानुन बनाउन नहुनेमा जोड दिँदै लेखा परीक्षण गर्दा साना कारोबारभन्दा ठूला कारोबारमा विशेष ध्यान दिन महालेखा परीक्षणको कार्यालयलाई आग्रह गर्नुभयो ।
नेकपा ९एमाले० का सांसद घनश्याम खतिवडाले असारमा एकै पटक खर्च गर्ने विकृतिको अन्त्य गर्न पारदर्शी वित्त व्यवस्थापन प्रणालीलाई लागू गर्न आग्रह गर्नुभयो । उहाँले अनुदानमुखी बजेट प्रणालीबाट मुक्त भई प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेशसभाका सदस्य रमेश पौडेलले शक्ति र पहुँचका भरमा योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्न र सांसद विकास कोषलाई खारेज गर्न माग गर्नुभयो । नायब महालेखा परीक्षक पदमराज पौडेलले लेखा परीक्षणका समस्या र सम्बोधनका लागि नयाँ सफ्टवेयर लागू गर्ने तयारी भएको जानकारी दिनुभयो । हाल मुलुकभर रु ४१ अरब बेरुजु रहेको छ । स्थानीय सरकारको बेरुजु पाँच प्रतिशतको हाराहारीमा रहेको छ ।
अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले स्वीकृत नभएको खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न आग्रह गर्नुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा गोपीकृष्ण खनालले सार्वजनिक खरिद ऐनका जटिलतालाई फुकाउन र ठेक्का दिने प्रक्रियामा सुधार ल्याउन आवयश्यक रहेको बताउनुभयो ।
महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले मापदण्डबिनाका योजना लाद्ने कार्यले स्थानीय सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गर्नुभयो ।
मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो ।
नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । त्यस्तै प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक स्थगित गरिएको उहाँले बताउनुभयो ।
मंलबार दिउँसो २ बजे बोलाइएको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या बढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या उच्च हुँदै गएको छ । ठूलो सङ्ख्यामा गैँडा एकै ठाउँमा हुँदा उचित बासस्थानका अभावमा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढी भएको अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म २५ गैँडा प्राकृतिक कारणले मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मरेकामध्ये सात जुधेर मरेका हुन भने ६ दलदलमा फसेर मरेका हुन् । यो अवधिमा तेस्रो धेरै चार वटा बाघको आक्रमणबाट, दुई बाढीले बगाएर, दुई बूढो भएर मरेका छन् । दुई को कारण खुल्न सकेको छैन भने एउटा बच्चा माउबाट छुट्टिएर र एउटा खाडलमा परेर मरेका छन् ।
यसै अवधिमा दुई चोरी सिकारीबाट मरेका छन् । उहाँका अनुसार पछिल्ला वर्षमा जुधेर मर्ने गैँडाको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो गणना अनुसार यस निकुञ्जमा ६९२ वटा गैँडा रहेका छन् । सङ्ख्या बढ्दै जाँदा घाँसे मैदान र पानीका स्रोत बढेको पाइदैन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी रहेको छ । एकीन तथ्याङ्क नभए पनि ७० प्रतिशत हाराहारी गैँडा मुख्य कार्यालय कसराबाट पश्चिमी क्षेत्रमा रहेको उहाँको भनाइ छ । प्राकृतिक कारणबाट हुने मृत्यु दर घटाउन पश्चिमको गैँडा पूर्व स्थानान्तरण गर्नुपर्ने, नमूना घाँसे मैदानको व्यवस्थापन गर्नुपर्ने र पानीका स्रोत बढाउनुपर्ने प्रस्ताव निकुञ्जको रहेको उहाँले जानकारी दिनुभयो ।
वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पदाधिकारी गैँडा आन्तरिक स्थानान्तरण र घाँसेमैदान व्यवस्थापन गर्नुपर्ने कुरामा सकारात्मक छन् । यी काम गर्न सकेमा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या घटाउन सकिने उहाँको भनाइ छ । गैँडा एकै ठाउँमा धेरै हुँदा एक आपसमा जुध्ने र कमजोर भाग्दै जाँदा दलदलमा फसेर मर्ने गरेको पाइएको छ । बाघले लखेट्दा भाग्दै गरेका गैँडाका बच्चा दलदलमा फसेर मर्ने गरेका छन् ।
विचरण र वितरण समानुपातिक भयो भने घनत्व कम हुने भन्दै संरक्षण अधिकृत आचार्यले यसबाट प्राकृतिक मृत्यु घटाउन सकिने बताउनुभयो । दुर्लभ एक सिङ्गे गैँडाका लागि चितवन राम्रो मानिन्छ । यस निकुञ्जभित्र ८ हजार ९९५ दशमलब २ हेक्टर घाँसे मैदान रहेको छ । ती क्षेत्रलाई नियमित व्यवस्थापन गर्नुपर्ने हुन्छ । बजेटको अभावमा न्यून क्षेत्रमा व्यवस्थित गर्ने गरिएको छ । पानीका स्रोतको नियमित सरसफाइ र व्यवस्थापनसमेत बजेटका अभावमा कम मात्र हुने गरेको छ ।
सर्वोच्च अदालतले एमसीसीमाथि संसदले निर्णय नगर्न माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेस भइसकेको र यो अहिले संसदको विशेषाधिकार भएकोले उक्त रिट निवेदन खारेज गरिएको बताउनुभएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा एमसीसीविरुद्ध रिट दायर गर्नुभएको थियो । भण्डारीको रिटमा एमसीसीबारे संसदबाट निर्णय नगर्न आदेश माग गरिएको थियो ।‘एमसीसी अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको सम्झौताको श्रेणीमा पर्दैन। यो संसदमा उठाउने विषय होइन’, भण्डारीको रिटमा भनिएको छ । त्यसैले संसदबाट अनुमोदन हुन सक्दैन । ‘संसदबाट अनुमोदन गर्नुपर्ने भए पनि सन् १९६९ को भियना कन्भेन्सन अन डेडली प्रोभिजनबमोजिम आरक्षणका साथ मात्रै गर्नुपर्ने माग गरिएको छ ।
नेपाल सन्धि ऐन, २०४७ को दफा ४ मा व्यवस्थापिका–संसदमा उपस्थित सदस्यहरूको “बहुमत” भन्नाले बैठकमा उपस्थित नहुने कुल सदस्य संख्याको पनि बहुमत जनाउँछ। त्यसैले कांग्रेस र एमसीसीलाई समर्थन गर्ने केही सांसद मात्रै संसदमा उपस्थित भएर पास नहुने भनि उल्लेख गरिएको छ।
त्यसैगरी एमसीसीबारे निर्णय गर्दा ह्वीप नगर्न सांसदहरुलाई आग्रह गरिएको छ ।
ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा १०० जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । माटोमा पुरिएका मानिसहरूको खोजीमा उद्धार टोलीहरू दिनरात खटिरहेका छन्, अहिलेसम्म २४ जनाको उद्धार गरिएको छ ।
यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । सोमबार दिनको समयमा वर्षाको लागि पूर्वानुमानको साथ, राष्ट्रिय मौसम विज्ञान संस्थानले रिपोर्ट गरेको थियो । हालको रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो ।
यहाँ गएको करिब सात दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । त्यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ ।
नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ । त्यहाँका सैनिक अधिकारीले यहाँको सेनाले कारबाहीका क्रममा परेर यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकू मारिएको बताएका छन् ।
सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कतिजना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
नेपाल हुँदै सुन तस्करी गर्न खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी नागरिक पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै करिब एक केजी सुन तस्करी गर्न खोज्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाहलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद उल्लाहलाई सुनसहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सुन करिब एक किलो ९३६ ग्राम रहेको छ । सुनको हालको बजार मूल्य करिब ७७ लाख रुपैयाँ रहेको छ ।
उल्लाहसँगको बयानमा भन्सार ठगीमा संलग्न रहेको खुलासा भएपछि भारतीय नागरिक पारसनाथ साहलाई पनि पक्राउ गरिएको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
हुम्लामाजिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ ।
कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिनुभएको हो ।
हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले लिखितरूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्यरूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय गराउनुभएको छ । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।
जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्देशनानुसार निर्णय भएको छ ।
जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरूको छलफलमा सहभागिता थियो ।
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।
केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।
प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ ।
प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि आजको बैठकबाट छलफलको औपचारिक सुरुवात हुने प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताए । जनता समाजवादी पार्टीका यादव प्रदेशको नामकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक पनि हुन् ।
प्रदेश १ मा गठन भएका यसअघिका सरकारमध्ये शेरधन राई नेतृत्वको सरकारले पटक–पटक नामकरणको विषयमा छलफल गरेको थियो । त्यसपछि बनेको भीम प्रसाद आचार्यको सरकारले नामकरणको विषयमा छलफल नै गरेको थिएन ।
हालका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू नियुक्त भएलगत्तै प्रदेशको नामाकरण टुंग्याउने बताउँदै आएका छन् । यद्यपि नामको विषय तत्काल टुंगिनेमा दलहरु नै आशावादी छैनन् ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत आवश्यक पर्छ । जसका लागि एमाले निर्णायक छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १-१ जना सांसद गरी ९२ जना सांसद रहेका छन् ।
प्रदेशको नाम पहिचानको आधारमा किराँत राख्नुपर्नेमा माओवादी केन्द्रको जोड छ । काँग्रेस र एमाले भने बहुपहिचानको आधारमा किराँत कोशी वा किराँत सगरमाथा राख्नुपर्नेमा जोड दिँदै आएका छन् ।
एकीकृत समाजवादीले पनि पहिचानको आधारमा नामाकरण गर्नुपर्ने धारणा राख्दै आएपनि औपचारिक निर्णय गरिसकेको छैन । समाजवादी, लोकतान्त्रिक मञ्चले पनि पहिचानलाई आधार मान्नुपर्ने बताउँदै आएको छ भने राप्रपाले भूगोलको आधारमा नामाकरणलाई महत्व दिँदै आएको छ ।
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र त्यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । गए राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ ।
जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।
त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पु¥याएको थियो । रासस
नेपाल र युएई आज आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा एक अर्काबिच प्रतिस्पर्धा गर्दैछन ।
समुह चरणको तीन खेल जित्दै नेपाल आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको हो । आज युएईसँग हुने खेलमा जित निकाल्न सफल भएमा नेपालले अस्ट्रेलियमा हुने आगामी विश्वकप खेल्ने मौका पाउनेछ । आजको खेल ओमानको अल अमेरत रङ्गशालामा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
समुह चरणको खेल अन्तर्गत लगातार जित हांसिल गर्दै आएको नेपालले हिजो भएको खेलमा क्यानडालाई ८ विकेटले हराउन सफल भएको थियो । यसअघी भएको २ खेलमा नेपालले ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
कानुनी रुपमा अहिलेसम्म कुनै ठोस व्याख्या नभएतापनी सामान्यतया, विवाहपुर्व कुनै केटा वा केटी संगै बस्नुलाई लिभिङ टुगेदर भनेर अर्थ लगाउने गरिन्छ । खासगरि युरोप र पश्चिमी समाजहरुमा लिभिङ टुगेदरको सम्बन्ध ज्यादा मात्रामा देख्न सकिन्छ । अविवाहित महिला वा पुरुषले आफ्नो एक्लोपनको समस्या, आर्थिक समस्या वा आफ्नो शारीरिक इच्छा र आकांक्षाहरुलाई सहज रुपमा अगाडि बढाउन लिभिङ टुगेदरमा बस्ने चलन रहेको छ । कोही भने विवाह निश्चित भैसकेपछि पनि विवाह अगाडि केही समय आफ्नो प्रेमी वा प्रेमिकासंगै बस्न चाहने भएकाले वा विवाह पुर्व आफ्नो प्रेमी वा प्रेमिकाको वानी व्यवहार बुझ्नको लागि र आफ्नो प्रेम सम्बन्धलाई अगाडी बढाउन पनि लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । युरोप र पश्चिमी समाजहरुमा लिभिङ टुगेदरको सम्बन्धलाई घर-परिवार र समाजले सहज् रुपमा स्विकार्ने गरेको छ । त्यहां यस्ता सम्बन्धहरुबारे खुलेर कुरा गरिन्छ र आजसम्म त्यहांको कानुनले पनि यसलाई सहज रुपमा स्विकारेको अवस्था छ ।
नेपालमा पनि पछील्लो समय लिभिङ टुगेदरमा बस्ने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा मात्रै नभएर नेपालबाट विभिन्न कारणले विदेश गएका नेपालीहरु पनि लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । तर विदेशी मुलुकहरुमा सामान्य रुपमा हेरिने लिभिङ टुगेदरको सम्बन्ध नेपाली समाजमा भने चुनौतीपूर्ण बन्दै गएको छ । नेपालमा बढ्दै गएको लिभिङ टुगेदर सम्बन्ध केबल प्रेमी र प्रेमिकाकाबिच मात्र सिमित हुने गरेको छ । अपवादका केही घटना बाहेक अधिकांश युवायुवतीहरुले लिभिङ टुगेदरको सम्बन्ध आफ्ना साथीभाइ तथा आफन्त र घरपरिवार अनी समाजबाट लुकाएर राख्ने, कसैलाई थाहा नदिने गरेको पाइन्छ । उनिहरु आफ्नो सम्बन्धको बारेमा कसैले थाहा नपाओस भन्ने चाहन्छन् । भोली लिभिङ टुगेदरमा बसेकै जोडीसंग विवाह नहुन पनि सक्छ र समाजले के भन्छ भन्ने डरले गर्दा प्राय यस्तो सम्बन्धलाई लुकाएरनै राख्ने गरिन्छ ।
लिभिङ टुगेदरका घट्नाहरुले धेरै महिलाहरु पीडित बनेको कारण यसबाट उत्पन्न हुने चुनौतीहरुलाई सम्बोधन गर्नेगरी कानुन बनाउनुपर्ने अधिवक्ता मोहनलाल आचार्य बताउनुहुन्छ।
जब पछील्लो केही वर्ष यता नेपालमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जान थाल्यो, त्यतिनै यसले सम्बन्ध र समाजमा चुनौती पनि बढाउंदै गएको छ । जीवनमा कसैसंग जोडीएको सम्बन्ध, कसैसंग गांसिएको सम्बन्ध संधै सहज र सफल हुन्छ भन्ने छैन । संगै मर्ने अनी संगै बांच्ने कसम खाएर लिभिङ टुगेदरमा बसेकाहरुको सम्बन्ध पनि बिग्रिन सक्छ र सबै सम्बन्ध संधै बिग्रिन्छ भन्ने पनि छैन । लिभिङ टुगेदरमै बसेर सम्बन्ध र आफ्नो जीवनलाई सफल रुपमा अगाडि बढाउनेहरु पनि छन् । तर सम्बन्धको जग जब स्वार्थ र आवश्यकताको परिधिमा खडा गरिन्छ तव ढिलो चांडो निश्च्यनै त्यो सम्बन्धमा दरार आउन थाल्नेछ । एक- दुई अपवाद बाहेक, नेपालमा हुंदै र देखिंदै आएको लिभिङ टुगेदरको सम्बन्ध भने माया र भावनात्मक भन्दा ज्यादा, स्वार्थ र क्षणिक आवश्यकताको आधारमा बढेको देखिन्छ । चाहे त्यो स्वार्थ भौतिक होस् या त्यो आवश्यकता शारीरिक होस् ।
नेकपा एमालेकी सांसद विन्दा पाण्डे , लिभिङ टुगेदर बारे शीर्ष नेताहरुको मानसिकता नै परिवर्तन हुनुपर्ने र लिभिङ टुगेदरमा बस्दा पनि ती व्यक्तिको रजिस्ट्रेसन गर्नुपर्ने ढंगले कानूनि व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ ।
पछील्लो अध्ययनले के देखाउंछ भने, जब यसरी लुकिछिपी गांसिएका सम्बन्धहरुमा कुनै दिन कहीं कतै एक अर्कालाई बुझ्न र बुझाउन नसकिने स्थिती आउंछ, तव लिभिङ टुगेदरका सम्बन्धहरु समस्या बन्दै जान्छ । यस्तो बेला लिभिङ टुगेदरमा बसेकाहरुले खुलेर आफ्नो समस्याबारे न त अरुलाई सुनाउन सक्छन न त कसैको सल्लाह र सहयोग नै लिन सक्छन् । कतिपय यस्ता सम्बन्धहरुमा पीडित भएकाहरु खुलेर कानुनी उपचारको बाटो पनि रोजन नसक्ने हुन्छन् । कतिपय घट्नाहरुमा लिभिङ टुगेदरबाट अलग भएर बसेकाहरुलाई प्रेमी वा प्रेमिकाले पुराना तस्विर र भिडियोहरु देखाएर पैसाकोलागी बार्गेनिङ समेत गर्ने गरेको घटनाहरु सुन्नमा आएको छ । लिभिङ टुगेदरमा बस्दा गर्भवती भएको अवस्थामा यसले झनै ठुलो समस्या निम्त्याउने गरेको छ । गर्भपछी पुरुषले छोडेर हिंडेको घटनाहरु उत्तिकै छन् । कतिपयले कानुनी उपचारको बाटो खोज्छन भने कतिपय परिवार र समाजको डर र लाजले आत्महत्याको स्थितीसम्म पुगेका छन् । अझ पछील्लो समय विवाहित पुरुषहरु पनि लिभिङ टुगेदरमा बस्ने गरेको पाइएको छ । नेपालको संविधानले बहुविवाहलाई गैरकानुनी करार गरेको तर विवाहित पुरुषहरुनै लिभिङ टुगेदरमा बस्ने गरेकोले यसले नेपालको संविधान र घरेलु कानुनलाई नै प्रभावित गरेको विज्ञहरुले बताएका छन् । लिभिङ टुगेदरको सम्बन्धमा प्राय महिलाहरु नै पीडित हुने गरेको पाइएको छ ।
नेपाली कांग्रेसकी सचेतक पूष्पा भुषाल, लिभिङ टुगेदरले वैवाहिक तथा घरेलु कानुनलाई नै प्रभावित बनाएको कारण कस्तो अवस्थामा संगै बस्न पाउने र कस्तो अवस्थामा संगै बस्न नपाउने भनी कानुन बनाउनुपर्ने बताउनुहुन्छ ।
समग्रमा नेपालमा बढ्दै गएको लिभिङ टुगेदरको क्रम अध्ययन गर्दा, क्षणिक आकर्षण,कम्जोर आर्थिक स्थिती/आर्थिक प्रलोभन र युवा अवस्थामा आउने शारीरिक परिवर्तन र यौन चाहनाले नै खासगरी युवापुस्तालाई लिभिङ टुगेदर तर्फ आकर्षित गर्दै लगेको देखिन्छ । अत: लिभिङ टुगेदर र यसले निम्त्याउन सक्ने चुनौतीहरुलाई ध्यानमा राखेर कानुनी रुपमा यसलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।
आईसीसी ग्लोबल टि-२० विश्वकप छनोटको नेपाल र क्यानडाबिच आज भएको खेलमा नेपाल विजयी भएको छ ।
ओमानको अल अमेरत रंगशालामा भएको समुह चरणको अन्तिम खेल अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा केबल ८० रन जोडेर अलआउट भएको थियो । ८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले १४औं ओभरमा २ विकेट गुमाउंदै ८ विकेटले जित हात पार्न सफल भएको छ ।
आजको खेलसंगै नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ ।
नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालय बैठकले संसदमा एमसीसी निर्णयार्थ पेस हुंदा विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
खतिवडाले आफ्नो पार्टीका सबै सांसदलाई एमसीसी सदनमा निर्णयार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने तथा अन्य दलसँग पनि त्यसका लागि वातावरण बनाउने बताएका छन्।
गत असोज अन्तिम र कात्तिक पहिलो साता आएको वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेको छ ।
गृहमन्त्रालयले किसानको खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गोविन्द शर्माले जानकारी दिनभएको छ ।
केही दिन अघि निकासा भएको रकम स्थानीय तहबाट प्रमाणीकरण भएर आएका अधिक वर्षा प्रभावित जिल्लाका पीडित किसानलाई उपलब्ध गराउने उहाँको भनाइ छ ।
थप राहत रकम किसानलाई उपलब्ध गराउनेगरी निकासा गर्न अर्थमन्त्रालयलाई पत्राचार गरिएको पनि मन्त्रालयले जनाएको छ । अध्ययन प्रतिवेदनले किसानलाई ५ अर्ब ५२ करोड रुपैयाँ राहत दिनुपर्ने औल्याएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २४७ र २ हजार ९१५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १२०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९७ दशमलब ६ प्रतिशत रहेको छ ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति पाँच लाख १० हजार बढी रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो ।
समितिले वैदेशिक रोजगारीमा पठाउँछु भनी सरकारले तोकेभन्दा बढी शुल्क उठाउने र विदेशसमेत नपठाउने सो म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्नसमेत निर्देशन दिएको छ ।
उक्त म्यानपावर कम्पनीमाथि भएको कारबाहीको विवरण पठाउन पनि समितिले विभागलाई निर्देश गरेको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’लाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।
छलफलमा सहभागी विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीमा परेका युवाको उजुरीमाथि तत्काल छानविन गरी उनीहरुको रकम फिर्ता गरिने बताउनुभयो ।
सुरज रानालगायत १३ युवाले सो म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी चर्को रकम उठाएर विदेश नपठाएको र आफूहरुले बुझाएको रकम पनि फिर्ता नगरेको भन्दै कारबाहीका लागि समितिमा उजुरी दिएका थिए । रासस
आइतबार ३९ अङ्कले घटेको शेयर बजार आज सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
माओवादी केन्द्रले आज प्रदेश कमिटीहरुलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।
माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरुलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ । यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन पनि माओवादीले निर्देशन दिएको छ।
यस्तै निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समिक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भनिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसिसी)को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताउनुभएको छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहनुभएका उहाँले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उहाँले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताउनुभयो ।
अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दूतावासले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ ९फागुन १८० देखि ९सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।
दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटर्फमका रुपमा रहेको बताउनुभयो । उहाँले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिनुभयो
प्रतियोगिताका लागि शुभकामना दिँदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले यस प्रतियोगिताबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ ।
दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ ।
दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध गरेको सडक प्रहरीले खुलाउन खोजेपछि झडप भएको हो ।
त्यस क्रमम प्रहरीले ५ राउन्ड अश्रुग्याँस हानेको हो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय गोग्लीको प्रहरी विट समेत ढालिदिएका छन् र सडकमा आगो बालेका छन् ।
सो घटनालाई लिएर घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै मृतक परिवारले विहान ९ बजेदेखि नै लमही–तुलसीपुर सडक अवरुद्ध गर्दै आएका थिए । सोमबार विहान भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै मुत्यु भएको थियो ।
प्रहरीले ठक्कर दिने ट्रकसहित चालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइसकेको छ । मतृकका परिवारले भने घटनामा अर्को मोटर साइकल चालक समेत दोषी रहेको भन्दै पक्राउ गर्नुपर्ने माग गरेको स्थानीय वेदब्यास पोखरेलले बताउनुभयो ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उहाँले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिनुभएको हो । बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राख्नुभएको थियो ।
बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो ।
बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटाँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ ।
खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताउनुभयो ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमासमेत क्षति पु¥याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभयो ।
मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना सङ्क्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गर्नुभएको थियो । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएको छ ।
साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति घट्दै गएको छ ।
हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो लाग्ने गरेको छ ।
एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा १६७ जना भाइरल ज्वरोका बिरामी उपचारमा आएको स्वास्थ्यचौकीका अहेब अशोक महताराले बताउनुभयो । माघ महिनाको अन्तिमदेखि यस क्षेत्रमा बिरामीको सङ्ख्या उच्च रहेको छ भने छोटो समयमै ४०० भन्दाबढी ज्वरोका बिरामी उपचारमा आएको अहेब महताराले बताउनुभयो ।
कोरोनासँगै मिल्दोजुल्दो लक्षण भए पनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाँच गर्न समस्या भएको बताइएको छ । देशभरि कोभिड–१९ शिथिल बन्न लागे पनि हुम्लामा उक्त भाइरससँग मिल्दो लक्षणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । हुम्लाको अदानचुलीमा मात्र नभई अन्य गाउँपालिकामा पनि यो बिमारीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।
सात स्थानीय तह रहेको हुम्लामा प्रायः भाइरल ज्वरोका बिरामी भेटिन थालेका हुन् । जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा यतिबेला किटको अभाव भएको छ । किट अभाव हुँदा स्वास्थ्यकर्मीलाई जाँच गर्न असहज भएको छ । यो बिरामी हुनेको सङ्ख्यामा वृद्धि भएपछि यस क्षेत्रका नागरिकलाई झनै समस्या भएको पाइएको छ ।रासस
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल गर्दै हुनुहुन्छ ।
आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लाग्नुभएको । प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको हो ।
महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगायतलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एमसीसीको पक्षमा मतदान गर्ने ठाउँमा उभ्याउने प्रधानमन्त्री देउवाको प्रयास छ ।
आजको छलफलमा एमसीसीको पक्षमा बहुमत जुटाउन गठबन्धनभित्र र बाहिरको गृहकार्यका लागि केही नेताहरूलाई जिम्मेवारी दिने देउवाको तयारी छ ।
उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो ।
जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका हुद्दा चिरण कुमार बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेका थिए । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।
२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए ।
कुटपिटपछि गम्भिर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।
सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।
ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो । सर्वोच्च अदालतले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नू भनी आदेश दिएको हो ।
यो मुद्दाको जवाफ दिने क्रममा सरकारले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठनको गृहकार्य भइरहेको जानकारी गराएको थियो । अरु छ वटा प्रदेशमा प्रदेश राजधानीमा र बाग्मती प्रदेशको हकमा काठमाडौंमा उपभोक्ता अदालत गठन गर्ने सरकारको तयारी थियो ।
सर्वोच्चले त्यही तयारी कार्यान्वयन गर्नू भनी आदेश दिएको हो ।
२०७३ साल भदौ २३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै उपभोक्ताहरु अन्याय पर्दा सुनुवाइ गर्ने संयन्त्र नभएकाले सबै प्रदेशमा एक-एक वटा उपभोक्ता अदालत बनाउने घोषणा गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ ।
मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।
अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा आइतबार तीनवटै संस्थाको आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा चार कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
आईसीसी टी–२० विश्वकप छनोट खेल अन्तर्गतको आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
आज दिउँसो पौने ४ बजे हुने खेलमा नेपालले क्यानडासंग प्रतिस्पर्धा गर्नेछ। ओमानको अल अमेरत स्टेडियममा हुने आजको खेल पश्चात नेपाललाई सेमीफाइनल खेलको लागि बाटो खुल्नेछ । यसअघि भएको २ खेलमा नेपालले ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ फागुन ०९ गते (सोमवार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १० गते (मंगलबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ फागुन ११ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू-भागको केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
आइतबार दिउँसो पोखरामा असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण पोखरामा असिना पानी परेको हो । पोखरा नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र हो ।
बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको छ र सवारी साधन गुडाउन पनि समस्या भएको छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् ।
सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो ।
आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् ।
छलफलमा अध्यक्ष ओली, नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायत हुनुहुन्छ ।
यसअघि एमसीसीबारे नेपालका राजनीतिक दलहरु विभाजित भएका बेला कुनै निर्णय गर्न नसकेको एमालेले संसदमा टेबल भएपछि मात्र आफ्नो पार्टीले धारणा बनाउने बताउँदै आएको थियो ।
पाहुना टोली श्रीलंकाले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा जित हात पारेको छ ।
मेलवर्नमा भएको अन्तिम खेल श्रीलंकाले ५ विकेटले जितेपछि सिरिज क्लिन स्विप हुनबाट बचेको छ । यस अघिका चारवटै खेल अष्ट्रेलियाले जितेको थियो । आइतबार अष्ट्रेलियाले दिएको १ सय ५५ रनको लक्ष्य श्रीलंकाले निर्धारित २० ओभरको एक बल बाँकी छदै ५ विकेट गुमाएर पुरा गर्यो ।
श्रीलंकालाई जित दिलाउन कुशल मेन्डिसले अविजित रहदै सर्वाधिक ६९ रनको योगदान गरे । मेन्डिसले ५८ बल खेल्दै ५ चौका र १ छक्का हिर्काए । कप्तान दनुस सनाकाले ३५ तथा चरिथ असालांकाले २० रनको योगदान गरे । अष्ट्रेलियाका केन रिचर्डसनले सर्वाधिक २ तथा एस्टन अगरले १ विकेट हात पारे ।
विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ ।
आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ । चीनले ९ स्वर्ण, ४ रजत र २ कास्यसहित जम्मा १५ पदक जितेको छ ।
चौथों स्थानमा रहेको अमेरिकाले ८ स्वर्ण, १० रजत र ७ कास्यसहित २५ पदक हात पारेको छ । स्वीडेनले ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित १८ पदक जितेर पाँचौ भएको छ ।
छैठौं स्थानमा रहेको नेदरल्यान्ड्सले पनि ८ स्वर्ण, ५ रजत र ४ कास्य हात पारेको छ । सातौं स्थानको अष्ट्रीयाले समान ७ स्वर्ण, ७ रजत र ४ कास्य जित्दा आठौं स्थानको स्वीट्जरल्यान्डले ७ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ ।
नवौं स्थानको रुस ओलम्पिक कमिटिले ६ स्वर्ण, १२ रजत र १४ कास्य पदक प्राप्त गरेको छ । १० औं स्थानमा रहन सफल भएको फ्रान्सले ५ स्वर्ण, ७ रजत र २ कास्य प्राप्त गर्यो ।
नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
“पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ”, उहाँले भन्नुभयो । ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मङ्गलबजारबाट चोरी गरेको स्वीकारेको प्रवक्ता मैनालीले बताउनुभयो ।
पक्राउ परेका ठकुरीसँग प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । रासस
सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो ।
स्थानीय तहबाट गरिब घरपरिवारको विवरण आउनासाथ राहत वितरण सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहले नै गरिब घरपरिवारको पहिचान गरी प्रतिघरपरिवार रु दश हजार दिन सुरु गरेको मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सहसचिव बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय तहबाट विवरण आएसँगै काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन् । “स्थानीय तहबाट राहत वितरणको विवरण आउन ढिलाइ हुँदा रोकिएको हो । केही तहबाट विवरण आएपछि हामीले राहत वितरण गर्न दिर्नेशन दिइसकेका छौँ”, उहाँले भन्नुभयो, “विवरण आएका सबै स्थानीय तहमा वितरण सुरु भइसकेको छ । अन्यको विवरण आएलगतै वितरण सुरु हुन्छ ।” उहाँका अनुसार २० भन्दा बढी स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन् भने अन्य प्रक्रियामै छन् ।
गत असोज महिनामा नै अर्थ मन्त्रालयले प्रतिघरपरिवार राहतस्वरुप एक पटकका लागि रु दश हजार वितरण गर्नका लागि ७५३ वटै स्थानीय तहको खातामा रकम जम्मा गरिसकेको थियो । मन्त्रालयले सबै तहका गरी करिब पाँच लाख परिवारलाई राहतमा समावेश गर्न भन्दै रु पाँच अर्ब बजेट विनियोजन गरेको थियो ।
गत कात्तिकमा नै कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ गत मन्त्रिरिषद् बैठकबाट स्वीकृति भएको थियो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सो कार्यविधि अर्थमन्त्रालयले कात्तिक १५ गते राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यक्रम कार्यान्वयनको बाटो खुलेको थियो । गत कात्तिकमा नै राहत वितरणको बाटो खुले तापनि स्थानीय तहले राहत वितरणको विवरण सङ्कलन लगायतका काम गर्दा वितरणमा ढिलाइ भएको थियो ।
कसले पाउँछन् राहत
राजपत्रमा प्रकाशित सूचनाअनुसार विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएका र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठीत क्षेत्रका मजदूर वा कामदारले सरकारले दिने राहत पाउनेछन् ।
यस्तै खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाड्लो डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला–मजदूरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदूर, सार्वजनिक यातायातका मजदूर र पर्यटकलाई राहत दिइनेछ ।
कोभिड–१९ सङ्क्रमणका कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत राहत पाउनेछन् ।
यस्तैगरी सरकारले एक घरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्घसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको परिवारले सरकारले दिने राहत पाउँदैनन् ।
यस्तै परिवारको कुनै सदस्स्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा ९ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्गता०बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण पाएकाले राहत पाउने छैनन् ।
यस्तै विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतका रुपमा नगद प्राप्त गरेका परिवारले सो कार्यविधिमा सहभागी हुन पाउने छैनन् ।
काठमाडौँमा १४७ परिवारले राहत पाए
कोभिड प्रभावितलाई दिने सरकारी राहतअन्तर्गत काठमाडौँ महानगरपालिकाले १४७ घरपरिवारलाई राहत उपलब्ध गराएको छ । राहतका लागि आएका १६० घरपरिवारको निवेदन आएकामा निवेदन पुष्टि गर्दा १४७ परिवारयोग्य भएको महानगरले जनाएको छ ।
महानगरअन्तर्गतको रोजगार केन्द्रका अनुसार २४ बैंकमार्फत उक्त परिवारलाई राहतस्वरुप रु १४ लाख ७० हजार रकम जम्मा भइसकेको छ । रासस
सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ अंकमा झरेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ५७ हजार कारोबारबाट २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार कारोबार रकम ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ भएको छ । कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्था देखिएको छ ।
७० प्रतिशत बोनस सेयर घोषणा गरेपछि यो संस्थामा लगानीकर्ताहरूको आकर्षण देखिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताउनुभएको छ ।
संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायतका नेतहरू पनि जोडिएकाले सांसदहरूले यसको विरोध गर्नु सुहाउँदो विषय नभएको बताउनुभयो ।
संसदमा एमालेको अवरोध पनि अब सकिएको मानिएको गगन थापाको भनाइ छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ
उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने र देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।
पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले रु पाँच करोडमध्ये चार करोड बक्यौता बुझाएसँगै हाल सम्म सरकारको खातामा ७६ करोड ४५ लाख राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ ।
यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ ।
अब छ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड बाँकी रहेको र उक्त होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिनुभयो ।
यसैगरी सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एन्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा रु एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ । रासस
विद्युत् नियमन आयोगका अध्यक्ष तथा सदस्यको कार्यक्षमताका विषयमा छानबिन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष र सदस्यको कार्यक्षमता अभाबका कारण आफ्नो काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्न नसकेको विषयमा उच्च अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत् नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले २०७८ पुस ८ गते सो समिति गठन गरेको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहाँले अब एमसीसी पारित हुने बताउनुभएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि सत्तारुढ दलका सांसदहरु कै विरोधका बीच टेबल गरेका गर्नुभएको छ ।
निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको छ ।
चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो ।
परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ ।
मतदाता परिचयपत्र लिनको लागि कुनै शुल्क लाग्दैन । यसअघि लिइएको मतदाता परिचयपत्र भएकाहरुले भने त्यही परिचयपत्र लिएर मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।
सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेका छन् ।
प्रश्नपछि सभामुख अग्नि सापकोटाले नेपाली समाजलाई धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताउनुभएको छ ।
सांसदहरु देव गुरुङ, भीम रावल र दुर्गा पौडेलले एमसीसी टेवल गर्न लागेकेमा आपत्ति जनाउदै जवाफ मागेपछि सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।
‘दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ’, सभामुख सापकोटाले भने, ‘सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गर्दछु । साथै कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु ।’ सभामुख सापकोटाले भन्नुभयो ।
अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।
६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको भन्दै देशभर प्रदर्शन गर्ने भएको छ ।
जुनसुकै मुल्यमा पनि एमसीसीको खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु आफ्नो कर्तव्य भएको भन्दै संघर्षको कार्यक्रम सार्वजनिक गरेको ७ राजनीतिक दल र एक मोर्चाले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आज संसद भवन र सबै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताएको छ ।

आज दिउंसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
संघिय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयाेगकाे तेस्राे वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यसूची रहेको बताउनुभएको छ । यधपी आज ११ बस्ने कार्यव्यवस्था समितीको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने विषय थप्न सकिने गठबन्धनका नेताहरुले बताएका छन् ।
समाजवादीको हिजोको स्थायी समितिको बैठकपछी प्रचण्ड र नेपालले आजको संसद बैठकमा एमसीसी टेबल गर्न दिने कुरामा सहमति जनाएपछी आजको संसद बैठकमा एमसीसी टेबल गर्ने सम्भावना लगभग सुनिश्चित बनेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।
नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको निगमले बताएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८ रुपैयाँ पुगेको छ । मूल्य वृद्धि पश्चात पनि निगमले १५ दिनमा २ अर्ब ४० करोड घाटा हुने जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भोली बिहान ११ बजेको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आहवान गर्नुभएको छ ।
भोली १ बजे बस्ने भनिएको संसद बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितीको बैठक राखिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भोलीको कार्यव्यवस्था समितीको बैठकबाट एमसीसीलाई संसदको कार्यसूचीमा राखिने बताइएको छ । प्रचण्ड र नेपालले आज एमसीसी सम्झौता भोलीको संसद बैठकमा टेबल गर्न दिने सहमती जनाएपछी कार्यसूचीमा एमसीसी सम्झौताको विषय थप गर्न सकिने बताइएको हो ।
टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ ।
ओमानको अल अमेरत स्टेडियममा भएको खेलमा नेपालले फिलिपिन्स विरुद्ध आफ्नो सान्दार प्रदर्शन गर्दै फराकिलो अन्तरले खेल जित्न सफल भएको छ । आजको खेलमा कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय खेल मार्फत किर्तिमान कायम गर्दै सबैको मन जित्न सफल भएका छन् । भुर्तेल, पारस खड्कापछी टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१८ रन जोड्न सफल भएको थियो ।
नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने निर्णय गरेको छ।
समाजवादीको आज बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर छलफलका लागि संसदमा पेस गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताउनुभएको छ । कतिपय प्रावधान संसोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने छ र त्यसको लागि संसदबाटै छलफल गरिने कुरामा सहमत गरेको समाजवादीले बताएको छ ।
नेकपा समाजवादीको यो निर्णयसंगै भोलीको संसद बैठकमा एमसीसी पेश गर्ने सम्भावना भने बढेको छ ।
तस्बिर : मोहन गौतम
मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेस प्रदेशको सिरहा र सप्तरीमा नेपाल- भारत सीमा को निरीक्षण गर्नुभएको छ ।
आयोगमा सीमासम्बन्धी विभिन्न प्रकारको उजुरी आएपछि अध्यक्ष डा.दत्त स्वयं सो सीमाहरूमा पुगी स्थलगत निरीक्षण गरेका गर्नुभएको हो ।
निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई सशस्त्र प्रहरी बलका बीओपी कमान्डरहरूले त्यहाँ रहेका समस्या र अवस्थाहरू बारे जानकारी गराउनुभएको थियो ।
निरीक्षणको क्रममा अध्यक्ष डा।दत्तले लागूपदार्थहरू को ओसार-पसार, आपराधिक क्रियाकलापहरू हुन् नदिन निर्देशन दिनुभयो ।
अध्यक्ष डा.दत्तले सीमा सँग जोडिएको क्षेत्रहरूमा विभिन्न रणनीति बनाएर सुरक्षामा कमी-कमजोरी आउन नदिन तथा जनताको समस्या लाई प्राथमिकता मा राखेर समाधान गर्न समेत स्थानीय प्रहरीलाई निर्देशन दिएका दिनुभएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो ।
प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।
दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए ।
शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य ‘युद्ध दृश्य’ जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए ।
स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताउनुभयो ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गर्नुभयो ।
स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको तिव्र गतिमा लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए । त्यस अवसरमा उनले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ । सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन सङ्क्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौति सिर्जना गरेको छ ।
तुलनात्मक रुपमा कम मृत्यु र अस्पतालमा भर्ना भएका समय पनि नौ हप्ताका लागि कडा सामाजिक दूरीसम्बन्धी गत नौ हप्ताका लागि गरिएको दिशानिर्देशले साना व्यवसाय र लगानीकर्तालाई आर्थिक दबाव परेको मन्त्रालयले बताएको छ ।
नयाँ निर्देशिकाअनुसार निजी जमघटका लागि अनुमति लिएका व्यक्तिको अधिकतम सङ्ख्या देशव्यापी रूपमा छ जनाको रहेको छ । तर व्यवसायीक घन्टे कर्फ्यु भने एक घण्टा लम्बिने छ ।
रेस्टुरेन्ट, क्याफे, भित्री खेलकुद भवन र कराओकेका साथै रात्रिकालीन मनोरञ्जनका साथै बार र रात्रिकालीन मनोरञ्जन सुविधाहरू स्थानीय समयको १०ः०० बजेसम्म खोल्न अनुमति दिइनेछ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनुभएको हो ।
यसअघि नेपालका राजनीतिक दलहरु मिलेर धेरै समस्या समाधान गरेको भन्दै उहाँले यसपटक पनि समाधान गर्ने विश्वास विश्वास व्यक्त गर्नुभयो ।
जनताले अपेक्षा गरे अनुसारको अवस्थामा परिवर्तन अझै आउन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सबै राजनीतिक दलले आर्थिक र सामाजिक पक्ष सुधारमा जोड दिनुपर्ने धारणा पनि राख्नुभएको थियो ।
नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक केहीबेर अघिबाट सुरु भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले आजको बैठकमा एमसिसीको विषयमा आफ्नो पार्टिले अधिकारिक धारणा बनाएर अघी बढ्ने भन्दै पार्टिभित्रै बाट निर्णय गर्नको लागि आजको बैठक राखिएको बताउनुभएको छ । यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउँदै आएको समाजवादीले आफ्नो अडानकै कारण गठबन्धन टुट्ने देखिपछी आजको बैठकमा सो विषयमा पार्टिले वार कि पारको लागि अन्तिम निर्णय गर्ने समाजवादीका नेताहरुले बताएका छन् ।
आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपाल खेल मैदानमा उत्रिएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा भैरहेको फिलिपिन्स बिरुद्दको आजको खेलमा टस हारेर नेपाल ब्याटिङ्ग गर्दैछ। आजको खेलमा कमलसिंह ऐरी र विवेक यादवको सट्टा कुशल मल्ल र गुलसन झा मैदानमा उत्रिएका छन्।
यसअघि हिजो भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो।
सम्बत २०७८ फाल्गुन ७,आज ७२औं प्रजातन्त्र दिवस । देशभर विभिन्न संघसंस्थाले फरक- फरक कार्यक्रम आज गरी यो दिवस मनाउने गरेका छन् ।
२००७ सालको क्रान्तिपछी १०४ वर्षिय निरंकुश राणाशासनको अन्त्य हुन पुग्यो । त्यसपश्चात हरेक वर्ष फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । नेपाल र नेपालीको त्याग र बलिदानबाट देशले प्रजातान्त्रिक शासन व्यवस्था पाएको हुनाले आजको दिनलाई गौरबपूर्ण ईतिहासको रुपमा सम्झिने गरिन्छ ।
प्रजातन्त्र दिवसकै अवसरमा आज राष्ट्रपति बिद्या देवी भण्डारीले शुभकामा ब्यक्त गर्दै,प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै प्रजातन्त्रमा जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत भएको उहांले बताउनुभएको छ ।
त्यसैगरि प्रधानमन्त्री शेर बहादुर देउवाले पनि प्रजातन्त्र दिवसको अवसरमा आफ्नो शुभकामना व्यक्त गर्दै, आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहको पनि बताउनुभएको छ ।
तस्विर : गुगलबाट
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले “जबरदस्ती कूटनीति” को विरोध गर्ने बताएको छ ।
चीनले नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिन अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ, तर यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ, वाङले भने।
नेपालको एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न र आफ्नो देशको हित र जनताको इच्छा देखाउने निर्णय गर्न नेपाललाई समर्थन गर्न र विकासमा सहयोग गर्न जारी राख्नेछ, वाङले भने।
अमेरिकी सहायक सचिव डोनाल्ड लुले हालै नेपालका नेताहरूसँग छुट्टै टेलिफोन वार्ता गरेर फेब्रुअरी २८ सम्ममा एमसीसी सम्झौतालाई अनुमोदन गर्न वा वाशिंगटनले “नेपालसँगको सम्बन्धको समीक्षा गर्ने र नेपालको कम्प्याक्ट अनुमोदन गर्न असफल हुनु पछाडि चीनको हात रहेको बुझ्ने भन्ने अभिव्यक्ति समाचारहरुमा आउन थालेको भन्दै पत्रकारहरुले राखेको जिज्ञासामा वाङले, अमेरिकाको आलोचना पूर्णतया आधारहीन रहेको बताएका छन् । अमेरिकाले चीनले नेपाल र चीनबीच असमझदारी बोकेर आफ्नै भू-रणनीतिक लक्ष्य हासिल गर्ने प्रयास गरेको भन्दै आलोचना समेत गरेका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ ।
फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको मुख्यसचिव ढकालले जानकारी दिनुभयो ।
आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
अमेरत क्रिकेट मैदानमा नेपालले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउँदै ओमानले निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो ।अमेरतइमिरेट्स क्रिकेट मैदानमा नेपालले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउँदै ओमानले निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो ।
ओमानका लागि नसिम खुशीले १८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २४ रन बनाए । त्यस्तै जितेन्द्र सिंहले ९, खवर अली ७, आमिर कलिम ९, अयान खान ३, जसिम मक्सुदले २ रन मात्र जोड्न सकेनन् ।
टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा रहेका छन् । सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने टोली यसै वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्नुहुने भएको छ ।
७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको आज जानकारी दिँदै उहाँले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गर्नुभएको हो ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल)फर्किएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सासंदहरुले नाराबाजी गर्दै अवरोध गरेको छन् । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका दिनुभएको थियो ।
सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गर्नुभएको छ । त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गर्नुभयो ।
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ ।
देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो ।
“मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ”, उहाँले भन्नुभयो, “एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।”
पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उहाँले बताउनुभयो । “त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निक्र्यौल हुन्छ”, उहाँले भन्नुभयो, “स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।”
स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उहाँले जानकारी दिनुभयो । चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।
चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका)चराको सूची राखिएको छ । रासस
भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् ।
यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ६६ हजार २५४ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।
भारतमा कोरोनाका चार करोड १९ लाख ७७ हजार २३८ जना सङ्क्रमण मुक्त भएका छन् । अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ४९२ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ९०५ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।
ूपश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो,ू रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
यसैगरी यसले १० युद्ध विमानहरू मस्को(विलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ।
सरसफाइ कार्यक्रमपछि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरिएको थियो ।
झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् ।
७२औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेर महेन्द्र पार्कलगायत सरकारी कार्यालय आसपासका क्षेत्रमा सफाइ गरिएको हो ।
जिसस प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षमा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतले प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुले पु¥याउनुभएको योगदानको कदर गर्नुभएको थियो ।
नजिकिरहेको स्थानीय तहको निर्वाचनबारे चर्चा गर्दै त्यसलाई मर्यादित बनाउन सबै तहबाट जिम्मेवार बनेर लाग्न र लामो समय बिदा नबस्न सरकारी कार्मचारीलाई आग्रह गरिएको थियो ।
तीन दिनसम्म मनाइने प्रजातन्त्र दिवसमा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, आज साँझदेखि तीनसम्म दीपावली गर्ने कार्यक्रम रहेको प्रजिअ रिजालले जानकारी दिनुभयो । रासस
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ ।
ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदलयात्रु तथा सवारीसाधन खाल्डोमा पर्दै आएका छन् ।
ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिनारड गिट्टी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो ।
खानेपानी आयोजनाका कारण सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा ९माओवादी केन्द्र०का युवानेता मिलनचन्द्र राईले आरोप लगाउनुभयो ।
भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउने गरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो ।
नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको पाँच करोडको लागतमा दिक्तेल बजारस्थित किराँत चोकबाट मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । क्रमागत योजनाअन्तर्गत मानवअधिकार चोकबाट हाटडाँडासम्मको बाँकी सडकमा अहिले ढलान भइरहेको छ ।
जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा सदरमुकामसमेत रहेको दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।
निर्माणाधीन अवस्थामा रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पाइप दिक्तेल बजारको सडक ढलान हुनुअघि जडान गर्दा नै ठेकेदार कम्पनीले कमजोरी गरेको उपभोक्ताको आरोप थियो । पुरानो खानेपानी आयोजनाको पाइप हटाइ सकिएकाले दिक्तेल बजारका कतिपय ठाउँमा अहिले पानी पुग्दैन ।
दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको थियो । ती धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँबाट पानी ल्याएर उपभोग गर्न बाध्य छन् । रासस
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला ५ हजार ६०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले वृद्धि भएर रु एक हजार ३०५ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९१ डलर आसपास कारोबार भइरहेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको बताउनुभयो ।
उहाँले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताउनुभयो ।
सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उहाँले सार्वभौम संसद्को अधिकार हो भन्नुभयो ।
उहाँले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गनुभयो ।
भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।
सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् ।
१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।
अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।
आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ ।
सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीले जनाएका छन् ।
यो घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।
काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो ।
अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।
पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।
सहमतिको प्रयासमा आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठक विना निष्कर्ष टुंगिएको छ ।
एमसीसी अनुमोदन गर्ने विषयलाई लिएर आज ५ बजे सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबिच बसेको बैठकमा नेताहरुले आ-आफ्नै अडान लिएपछी बैठक विना निष्कर्ष टुँगिएको छ । नेपाली कांग्रेसले सहमति नजुटे पनि भोलीको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने बताएको छ भने माओवादी र समाजवादी लगायतक अन्य दलहरुले भने एमसीसीमा समर्थन गर्न नसकिने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा सत्ता गठबन्धनको बैठक सुरू भएको छ ।
केहीबेर अघी सुरु भएको बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरूको उपस्थिती रहेको छ ।
प्रधानमन्त्री देउवा भोलीको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहंदै गर्दा आजको यो निर्णायक र अन्तिम बैठक हुने गठबन्धनका नेताहरुले बताएका छन् । आजको बैठकमा एमसीसी अनुमोदनको विषयमा सहमति नभए देउवाले सभामुखको रजिनामा र गठबन्धन तोडेर एमालेसंग सहकार्य अगाडि बढाउन सक्ने कांग्रेस नेताहरुले बताएका छन् । प्रचण्ड र नेपालले धोका दिएको भन्दै कांग्रेस नेताहरु बिहान बालकोट पुगेर एमाले अध्यक्ष ओलिसंग भेट गरेको र आजको गठबन्धनको निर्णयपछी ओलीले आफ्नो निर्णय गर्ने पनि बताइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरेर गठबन्धनमा सहमति नभए पनि भोलीको संसद बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसले बताएको छ ।
लामो समयदेखी रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।
छनोट समितिको सिफारिसमा आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।
बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो।सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो। अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो।
नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ ।
एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भ¥याङ बनाउन नहुने बताउँदै उहाँले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्ने बताउनुभयो ।
नेत्री भुसालले नेकपा९माओवादी केन्द्र०, नेकपा९एमाले० र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसिसीलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसद्बाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाउनुभएको थियो ।
उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।
उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।
जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताएका छन् ।
गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताएका छन् ।
भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७ मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भईरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताउनुभयो ।
बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताउनुभयो ।
नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको उहाँले बताउनुभयो । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ ।
आज अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।
अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।
सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतलाई पनि कारबाहीको माग गरिएको छ।
यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ।
यस्तै, भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएकाे भेटवार्ता विना निष्कर्ष टुंगिएपछी आज ३ बजेको लागि आहवान गरिएको गठबन्धनको बैठक ५ बजे सारीएको छ ।सत्ता गठबन्धनका पांच दलबिच आज एमसीसी अनुमोदनको विषयमा सहमती जुटाउन निर्णयक बैठक बस्ने भएको छ ।
हिजो जारी संसद बैठकमा एमसीसी पेश गर्न गठबन्धनकै दलहरु बिच असहमती बढेको कारण संसदमा एमसीसी पेश गर्न प्रधानमन्त्री देउवा असफल भएपछी एमसीसीको बिषयमा आज गठबन्धनका दलहरुबिच ३ बजे बस्ने भनिएको बैठक ५ बजे सारीएको छ र यो निर्णायक र अन्तिम बैठक हुने गठबन्धनका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै पारीत गर्ने भन्ने अडानमा कायम रहंदै गर्दा समाजवादी र माओवादी केन्द्र भने पारीमार्जन नगरि एमसीसी कुनै पनि हालतमा पारीत नगर्ने पक्षमा रहेका छन् ।
त्यसो त सभामुख विरुद्ध अदालतमा रहेको विचाराधिन मुद्दा र नेपाल सहित १४ सांसद खारेजीको मुद्दामा र ललिता निवास जग्गा काण्डको मुद्दामा सर्वोच्चले मुदा अगाडि बढाउने संकेत पाएपछी प्रधानन्यायधिश विरुद्धको महाअभियोग लगाउने र एमसीसी पास गर्न सहयोग गर्ने वाचाबाट महाअभियोग लगतै नेपाल र प्रचण्डले देउवालाई एमसीसीमा समर्थन गर्न नसकिने बताएपछि राजनीतिले अर्कै मोड लिएको छ । एमसीसीकै पक्षमा देउवालाई साथ दिंदै आएको जसपाले पनि हिजो बाट आफ्नो धारणा परिवर्तन गरेर एमसीसी अनुमोदनमा देउवाको साथ छोडेको छ । यध्पी बाबुराम भट्टराई भने एमसीसी पारीत गर्नुपर्छ भन्ने अडानमा छन् । राष्ट्रिय जनमोर्चाले भने पहिलेदेखी नै एमसीसी खारेजीको माग राख्दै आएको छ ।
यसैबिच प्रचण्डले एमसीसी जबर्जस्ती संसदमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय समेत सार्वजनिक गरिसकेका छन् । कांग्रेस अहिले गठबन्धन भित्रै एमसीसीको पक्षमा एक्लो देखिएको छ । यता नेकपा एमालेभित्रै पनि एमसीसीको विषयमा सांसदहरु विभाजित छन् । यध्पी अध्यक्ष ओलीले भने गठबन्धन तोड्ने र सभामुखको रजिनामाको शर्तमा एमसिसि पास गर्न सहयोग गर्ने बताउंदै आएको छ ।
स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ।
दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरेको छ । आयोगले, राजनीतिक दलका तर्फबाट औपचारिकपत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमुना सहित दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्न आग्रह गरेको छ ।
आयोगमा हाल करिब ११९ दल दर्ता कायम रहेको छ ।
लामो समयको अवरोध पछी खुलेको संसदमा आज एमसीसी निर्णयार्थ पेश गर्ने सरकारको कदमको विरोध गर्दै विभिन्न राजनीतिक संगठन र विध्यार्थीहरुले संघिय संसद भवन अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा संसद भवन भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरुको समुहालाई प्रहरिले नियन्त्रणमा लिएको छ भने , भिड नियन्त्रण गर्ने क्रममा प्रहरिले प्रदर्शनकारी माथि पानीको फोहोरा र अश्रु ग्यांस प्रहार गरेको थियो । आक्रोशित प्रदर्शनकारीहरुको भिडले प्रहारिहरुलाई लक्षीत गरेर ढुङ्गा प्रहार गरेका थिए ।








प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको थियो ।
सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको थियो ।
एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आजै भएको छलफलबाट गठबन्धन बैठक बोलाउने निर्णय भएको मल्लले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आज एमसीसी टेबल नहुने भएको छ ।
आज एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।
सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले चेतावनी दिएसँगै प्रधानमन्त्री देउवा टेबल गर्ने योजनाबाट ब्याक हुनुभएको हो ।
संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ ।
सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।
माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी हुनुहुन्छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया हुनुहुन्छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुपस्थित रहेको छ ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलभित्र सहमित जुटाउने प्रयास भइरहेको बुझिएको छ ।
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार त्यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।
सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् । पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।
यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।
‘डिस्को किङ’ भनेर चिनिने भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।
उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने चेतावनी समेत माओवादीले दिएको छ ।
सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।
माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताएको छ ।
होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।
हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराउनुभएको थियो ।
कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने भन्दै उहाँले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसङ्गत हुने विषयमा समर्थन रहेको बताउनुभयो ।
नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतीको इजाजत खारेजीबारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक, कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा–सुविधा उपलब्ध गराउन समस्या रहेको बताउनुभयो ।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmुल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताउनुभयो । उपत्यकाको पूर्वी भेगस्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ ।
लामो समयको अवरोधपछी आज दिउंसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आम चासोको विषय बनेको छ । नेपाली कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठक र गठबन्धन संगको सहकार्यमा आज संसदमा एमसीसीलाई निर्णयार्थ पेश गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुचिमा एमसीसी उल्लेख नभएको भएपनी आज ११ बजे बस्ने कार्यव्यवस्था समितिको बैठकबाट संसद बैठकको कार्यसुचिमा एमसीसी पनि समावेश गरिने कांग्रेस निकट नेताहरुले बताएका छन् ।
यता प्रमुख प्रतिपक्ष दल एमालेले भने आज बस्ने प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने बताएको छ । नेकपा एमालेले सभामुखको रजिनामा र नेपाल सहित समाजवादीका १४ सांसदको बर्खास्तीको माग गर्दै यस अघिका बैठकहरु पनि बहिष्कार गर्दै आएको छ ।
सरकारले एमसीसीको विरोधमा हुनसक्ने सम्भावित प्रदर्शनलाई ध्यानमा राखी सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई उच्च सतर्कताका साथ शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो।
एमसीसीसँगको सम्झौताको विरोधमा आज नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायत विभिन्न पार्टी र मोर्चाले विरोधको कार्यक्रम आयोजना गरेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।
छनौट समिती र मुख्य प्रशिक्षक बिचको परामर्श पछि आइसीसी टि२० पुरुष विश्वकप छनोटका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको क्यानले जानकारी दिएको छ । साथै क्यानले रिजर्भ खेलाडी र प्रशिक्षक सहित पदाधिकारीहरुको नाम पनि सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको सुचि अनुसार छनौटमा परेका खेलाडीहरुको नाम निम्नानुसार रहेको छ ।
अन्तिम नामावली : सन्दीप लामिछाने (C),शरद भेसवकर,दिपेन्द्र सिंह ऐरी,कुशल भुर्तेल,मोहम्मद आरिफ शेख,मोहम्मद आसिफ शेख,अविनाश बोहरा,जितेन्द्र कुमार मुखिया,कमल सिंह ऐरी,विवेक कुमार यादव,लोकेश बहादुर बम,सागर ढकाल,गुलशन कुमार झा
रिजर्भ: कुशल मल्ल,शाहब आलम,प्रदीप ऐरी
टोली पदाधिकारीहरु: पुबुदु बाथिया दासानायके (मुख्य प्रशिक्षक),धम्मिका प्रसाद (सल्लाहकार प्रशिक्षक),विक्रम न्यौपाने (फिजियो),रमन शिवाकोटी (विश्लेषक),सुमनराज कार्की (व्यवस्थापक)
नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको आजको बैठकले एमसीसी भोलीको संसदिय बैठकमा पेश गर्ने भएको छ । संसदको कार्यसुचिमा भने एमसीसी नभएको भन्ने प्रश्नमा प्रवक्ता प्रकाश शरण महतले कार्यसुचीमा थप्न मिल्ने बताउंदै कांग्रेसले प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारी गरेको बताएको छ । एमसीसीको विषयलाई लिएर नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आफ्नो विचार प्रष्ट पार्दै तयार गरेको १२ बुंदे धारणाको पूर्णपाठ यस्तो रहेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाको तस्विर राखिएको सरकारको सय दिन भन्ने पुस्तिकाको मुख्य पृष्ठमा राखिएको नेपालको निशान छापमा, नेपालको चुच्चे नक्सा गाएब भएको छ ।
सो विषयमा टुइट गर्दै एमाले नेता भिम रावलले,”पुस्तिकाको मुखपृष्ठमा नेपालको निशान छापमा नेपालको नक्सा चुच्चो रहित किन?”भनेर प्रश्न गर्नुभएको छ । सरकारको १०० दिनको उपलब्धि यही हो त भन्दै नेता रावलले संसदले सर्वसम्मतिबाट पारित गरेको नक्सा नराखिनु राष्ट्रिय अखण्डताको अपमान भएको बताउनुभएको छ । साथै पुस्तिकाको मुखपृष्ठमा राखिएको नेपालको निशान छापमा नेपालको चुच्चे नक्सा गाएब भएको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री देउवालाई नेता रावलले, देशभक्ति खै भनेर प्रश्न समेत गर्नुभएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले मुस्लिम संघ बाहेकका आफ्ना सबै भातृ संगठनको केन्द्रिय कार्यसमिति विघटन गरेको छ ।
कांग्रेसको विधान अनुसार नेपाल विद्यार्थी संघ,नेपाल तरुण दल लगायतका ९ वटा भातृ संगठनको वर्तमान केन्द्रिय कार्यसमिति स्वतः विघटन भएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी फागुन मशान्तभित्र ति सबै संगठनको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि महतले जानकारी दिनुभएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले तरुण दल , नेविसंघ, नेपाल प्रजातान्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रिय कार्यसमिति विघटन गरेको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।
बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो ।
एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको एमाले सांसद शेरबहादुर तामाङले बताउनुभयो ।
आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।
सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।
अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार १२७ रहेको छ ।
अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने चार करोड १७ लाख ६० हजार ४५८ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ३४७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको काँग्रेसले जनाएको छ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान छलफल भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने बिषयमा पनि छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहनुभएको छ ।
बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरुको भनाइ रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले जानकारी दिनुभयो ।
बैठकमा आफ्नो धारणा राखेर बाहिरिनुभएका नेता डा. महतले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा भन्नुभयो, “एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ ।”
उहाँले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताउनुभयो ।
साथै उहाँले बैठकमा एमसिसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी गराउनुभयो ।
नेता डा महतले एमसिसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताउनुभएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० ले बढेर ९६ हजार ७०० पुगेको छ ।
फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० कायम भएको छ ।
जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक ७ फागुनमा बोलाइएको महासचिव डा. वेदुराम भुसालले जानकारी दिनुभयो ।
समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालको भनाइ रहेको छ ।
साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्न लागेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ । सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने सूचना अधिकारी कमानसिंह थापामगरले जानकारी दिनुभयो ।
सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ ।
विसं २०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुईतिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णयानुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो ।
राजधानी व्यवस्थापन र प्रदेशसभाको बैठक सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार माहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ । प्रदेश सरकारले आज फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । रासस
सहिद स्मारक एु डिभिजन लिग फुटबल अन्तर्गत आज ११ औं चरणको खेलहरु सुरु हुँदैछ ।
लिगको ११ औं चरण अन्तर्गत आज दुई खेलहरु हुने छन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पुछारका दुई टोली ब्रिगेड र च्यासल जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।
शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ ।
चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराइनेछ ।
नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।
साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताउनुभयो ।
देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।
देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका केही भूभागमा हुस्सु लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोली बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
देशको पहाडी भू-भागका एक(दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ ।
बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो ।
“कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भन्नुभयो । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।”
नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताउनुभयो । उहाँले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशनसमेत दिनुभयो ।
नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । ७ गतेसम्म सङ्गठन विस्तार अभियानअन्तर्गत वडास्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ ।
पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको १३५ वडामा सङ्गठन विस्तार गरिने उपाध्यक्ष रमेशप्रसाद हुमागाईँले जानकारी दिनुभयो । रासस
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको अन्तक्र्रियामा ऊर्जामन्त्री सिंहले कार्यालय प्रमुखहरूलाई पाँच महिनाको समयलाई व्यवस्थित गरी काम गर्न निर्देशन दिनुभएको हो ।
दशवटै जिल्लाका कार्यालय प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनबाट जिल्लाको खानेपानी, सिँचाइलगायत क्षेत्रको चित्र आएको र यसले आगामी दिनका लागि मार्गदर्शन गराएको मन्त्री सिंहले बताउनुभयो ।
आज १० जिल्लाका विद्युत् कार्यालयका प्रमुखहरूसँग विद्युत्का विषयमा छलफल गरी ग्रामीण क्षेत्रको विद्युतीकरणको समस्या समाधानको खाका तयारी गर्ने उहाँले बताउनुभयो ।
कार्यसम्पादनअनुसार काम गरी उत्कृष्टता हासिल कर्मचारीलाई प्रोत्साहित र पुरस्कृत गरिने उहाँले विश्वास दिलाउनुभयो । रु पन्ध्र लाख मुनिका सम्झौता भएर कार्यान्वयन क्रममा गएका योजनाबाहेक अन्य योजना रोक्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले अधिकांश कार्यालयको भौतिक तथा वित्तीय प्रगति अपेक्षित नभएको भन्दै एक वर्षमा गरिने काम पाँच महिना गर्नुपर्ने अवस्था आएकाले कार्यालय प्रमुखहरूलाई युद्धस्तरमा काम गर्न निर्देशन दिनुभयो ।
योजना महाशाखाका इञ्जीनियर प्रमुख प्रेमबहादुर ओलीले योजना तर्जुमा र त्यसले ल्याउने प्रभावकारिता, प्रशासन शाखाका प्रशासकीय अधिकृत लोकप्रसाद पौडेलले कर्मचारी व्यवस्थापनबारे जानकारी दिनुभयो । कार्यक्रममा निर्देशनालयसहित १० जिल्लाका कार्यालय प्रमुखले भौगोलिक विकटता, टुक्रे योजना, राजनीतिक दबाब, स्पष्ट कार्यविधि नहुनु र विशेषगरी जनशक्ति अभावले बजेट कार्यान्वयनमा समस्या भएको औँल्याएका थिए ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका निर्देशक श्रीधर भट्टराई, ऊर्जा विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापा, हुम्लाका अकलबहादुर महत, मुगुका राजीव रिमाल, जुम्लाका अनुप श्रेष्ठ, कालीकोटमा मङ्गल शाही, जाजरकोटका ज्वाला शाही, दैलेखका अशोकराज गौतम, रुकुमपश्चिमका तेजनारायण महतो र सल्यानका पदमराज देवकोटाले आ–आफ्ना जिल्लाको बजेट कार्यान्वयन, आइपरेका समस्या, चुनौती र समाधानसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस
मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।
प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।
सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस
आईतबार बिहानै सतारुढ दल नेपाली कांग्रेस, समाजवादी र माओवादी केन्द्रका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता गरे । गठबन्धनको यो अप्रत्याशित कदमले नेपाली राजनीतिक वृतमा एक किसिमको भुइंचालो नै ल्याइदिएको छ । एमसीसीले गिजोलेको नेपाली राजनीतिलाई महाअभियोगले झनै अन्यौल बनाएको छ । आम नेपाली जनताहरु अब देशको राजनीतिले कस्तो मोड लिने हो भनेर विभिन्न अड्कलबाजिहरु गरिरहेका छन् ।
महाअभियोग लगत्तै सभामुखको आहवानमा हिजो सर्वदलिय बैठक बसेको छ । तर एमालेले सर्वदलिय बैठक बहिष्कार गरेर बानेश्वरमा पार्टिको संसदिय दलको बैठक बोलायो । यता एमाले विनाको सर्वदलिय बैठकमा महाअभियोग, संसद सुचारु र एमसीसी अनुमोदनको बिषयमा छलफल हुंदै गर्दा एमाले संसदिय दलको बैठकमा भने नेताहरुले महाअभियोगको सवालमा आफुहरु जबराको मुद्दा बोकेर नहिंड्ने तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय गर्ने बताएका छन् । गठबन्धन तोड्ने र सभामुख हटाएर भएपनी एमसीसी पास गर्ने देउवाको चेतावनी र यो बिचमा सभामुख र नेपाल सहित समाजवादीका १४ सांसदको बचाउ गर्दै प्रधानन्यायधिश विरुद्ध आएको महाअभियोगको रणनितीपछी एक कदम पछाडि हटेर संसदमा एमसीसी अगाडि बढाउन सहयोग गर्ने बताउंदै आएका प्रचण्ड र नेपाल भने सर्वदलिय बैठकमा यथास्थितिमा एमसीसी पास नगर्ने आफ्नो अडानमै कायम रहेपछी कांग्रेसले आज ९ बजे संसदिय दलको बैठक आहवान गरेको छ ।
प्रधानन्यायधिश विरुद्धको अप्रत्याशित महाअभियोग प्रस्तावले एमाले कुहिरोमा हराएको कागजस्तै बनेको छ । गठबन्धनले अब न्यायपालिका कब्जा गरेर सर्वोच्चलाई एमालेविरुद्ध प्रयोग गर्न सक्ने भन्दै एमाले सशंकित बनेको छ । महाअभियोग प्रस्तावले जबरा निलम्बित भएपछी तत्कालिन के पि ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा बदर गर्ने र परमादेश जारी गर्ने फैसलामा संलग्न चार न्यायाधीश, मीरा खड्का, आनन्दमोहन भट्टराई ,दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडा मध्यकै दीपककुमार कार्की कामु प्रधानन्यायधिश बन्नुले पनि एमालेलाई यो कुरामा झनै सशंकित बनाएको छ ।
त्यसैले गठबन्धनले अब के गर्छ त्यही अनुसार निर्णय गर्नुपर्ने भन्दै एमालेले फरक फरक ६ वटा खाली पन्नामा सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । केही सांसदहरुले भने सर्वोच्चलाई एमालेविरुद्ध प्रयोग गर्न सक्ने भन्दै, कामु प्रधानन्यायधिश दीपककुमार कार्की विरुद्ध महाअभियोग दर्ता गर्न सकिने बताएका छन् भने केही सांसदहरुले सभामुख विरुद्ध पनि महाअभियोग दर्ता गर्ने बताएका छन् ।
त्यसो त गठबन्धन तोड्ने ओली रणनिती अनुरुप सभामुख विरुद्ध महाअभियोग दर्ता गरेर अगाडि बढ्न सक्ने सम्भावना भने प्रवल रहेको छ । सभामुख विरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेको र विभिन्न नागरिक समाज र मानव अधिकारवादी संगठनले पनि सभामुख विरुद्ध आवाज उठाउंदै आएकोले, गठबन्धनको आगामी कृयाकलाप हेरेर खाली पन्नामा गरेको आफ्नो सांसदहरुको हस्ताक्षरलाई एमालेले गठबन्धन विरुद्धको हतियारको रुपमा प्रयोग गर्ने देखिन्छ । गठबन्धनलाई पनि खाली पन्नामा गरिएको त्यो हस्ताक्षरले कुनै निर्णय गर्नु अघी एक पटक सोच्न वाध्य बनाउनेछ ।
समग्रमा यो लडाईं यो राजनीतिक खिचातानी ओली र गठबन्धनबिचको नभई, ओली भर्सेज नेपाल र प्रचण्ड हो । यि तीन नेताहरुबिचको लडाईंमा देउवाको अहिलेको एकमात्र स्वार्थ भनेको एमसीसी पास गराउनु हो । जो सुकैसंग मिलेर होस्, जे सुकै गर्न परोस, देउवालाई एमसीसी पास गराउन पाए हुन्छ भने, जे सुकै गरेर होस् ओलीलाई गठबन्धन तोडेर प्रचण्ड र नेपालको राजनीतिलाई कम्जोर बनाउन पाए हुन्छ । यो बिचमा ढिलो चांडो एमालेले खाली पन्नामा संकलन गरेको सांसदहरुको हस्ताक्षरले,दलहरुबिचको खिचातानीमा फेरी अर्को कुनै महाअभियोगलाई भने सुनिश्चित गरेको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेका नेता भिम रावलले पार्टी संसदिय दलको बैठकमा एमसीसीको सवालमा पार्टिको धारणा स्पष्ट हुनुपर्ने माग राख्नुभएको छ ।
अमेरिकि सहयोग परीयोजना संसदबाट पास गराउने बिषयलाई लिएर राजनीतिक दलहरुबिच चर्को विवाद बढीरहेको बेला नेकपा एमालेका नेता भिम रावलले पार्टिको संसदिय दलको बैठकमा एमसीसी सम्झौता बारे गम्भिर छलफलको आवश्यकता भएको भन्दै कार्यसुची तय गरेर छलफल अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । सम्झौता र कार्यन्वयनका कतिपय बुंदाहरु राष्ट्रिय स्वाधिनता,स्वतन्त्रता ,स्वाभिमान र देशको संविधान अनुकुल नभएको र यस्तो संवेदनशिल बिषयमा एमालेले दलको स्वाधिनता र हितको पक्षपोषण गर्दै एमसीसी बारे आफ्नो स्पष्ट धारणा जनता सामु राख्नुपर्ने पनि बताउनु भएको छ ।
यता,अधक्ष के पि ओली लगायतका केही नेताहरुले भने गठबन्धनले पहिले सहमती गरेपछी मात्रै आफ्नो धारणा राख्ने बताउंदै आएका छन् । तर केही समय अगाडि, गठबन्धन तोड्ने र सभामुखको रजिनामाको शर्तमा भने एमसीसी अनुमोदन गर्न सहयोग गर्ने अध्यक्ष ओलीले बताउनुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ९ बजे बस्ने भएको छ ।
नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको छ ।
सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि गठबन्धन साझेदार कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा संसदमा देखिएको गतिरोधको अन्त्य, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, एमसीसीलगायतका पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।
प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो ।
विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् । उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण रुपमा हुन नसकेको जनाएका छन् । प्रणय दिवसका अवसरमा सौराहाका व्यवसायीले खाना महोत्सव (फुड फेस्टिबल) गर्दै आएका थिए । यस वर्ष उक्त महोत्सव हुन सकेको छैन । १६औँ संस्करणको खाना महोत्सव भइरहनुपर्नेमा कोरोनाका कारण कार्यक्रम स्थगित भएको छ ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले गत वर्षसम्म यतिबेला सौराहामा भीडभाड हुने भए पनि यस वर्ष खासै चहलपहल नरहेको बताउनुभयो । गत वर्ष फागुन १ देखि ३ गतेसम्म १५औँ सडक खाना महोत्सव गरिएको उहाँले जानकारी दिनुभयो ।
अघिल्ला वर्षमा माघका दुई दिन र फागुनका तीन दिन गरी पाँचदिने महोत्सव गर्ने गरिन्थ्यो । यस वर्ष कोभिडका कारण कार्यक्रम स्थगित भएसँगै सौराहा सुनसान देखिएको हो । खतिवडाको भनाइमा खाना महोत्सव अनुकूल समय भए पनि यस वर्ष गरिएन ।
क्षेत्रीय होटेल सङ्घका अध्यक्ष दीपक भट्टराईले ९० प्रतिशत हाराहारी बुकिङ हुने समयमा सुनसान रहेको बताउनुभयो । सोधखोज बढ्दै गएकाले पर्यटन क्षेत्र लयमा फर्किनेमा आफूहरु आशावादी भएको भट्टराईको भनाइ छ । पर्यटन व्यवसायका लागि यो मौसम महत्वपूर्ण हो । प्रणय दिवसमा सौराहामा राम्रो व्यवसाय हुने गर्दथ्यो ।
स्थानीय प्रशासनले कोभिडका कारण गरिने निषेधाज्ञा र बन्दका विषयमा प्रचार गर्ने तर खुलेका बारेमा जानकारी नगराउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । क्षेत्रीय होटेल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समय महत्वपूर्ण भए पनि पर्यटक खासै नआएको बताउनुभयो । होटेलमा बस्नेभन्दा घुमफिर गर्न आउने अरू धेरै हुने समय यो हो ।
होटेलमा पाहुना नपाएपछि व्यवसायीले पालैपालो कर्मचारी मजदुरलाई बिदा दिएका छन् । थोरै कामदार कर्मचारीको भरमा होटेल चलाइरहेका छन् । होटेल चल्ने मुख्य समयमा कोभिडका कारण अवरोध पुगेपछि व्यवसायी निराश छन् । कोभिडका कारण अबका दिनमा फेरि दुःख नपाए पूर्ववत् अवस्थामा फर्काउन सकिने आशा व्यवसायीमा छ ।
सौराहा क्षेत्रमा १२० हाराहारी पर्यटकीय होटेल रहेका छन् । ती होटेलमा पाँच हजार ५०० शय्या रहेका छन् । रासस
सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग ९एमसीसी० जसरी पनि पास गर्न र चुनाव सार्नका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव आएको नेकपा एमालेले ठहर गरेको छ ।
नयाँ बानेश्वरमा आज सोमवार बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव गलत भएको र यसलाई सडक, संसद् र न्यायालयबाट प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर भएको हो, माओवादी पनि त्यति बेला सरकारमा थियो ।
चोलेन्द्रशम्शेर जबरा असल र विवादरहित व्यक्ति भएकाले उहाँमाथिको महाअभियोगको प्रस्तावको विरोध गरेको नभइ सत्तारुढ गठबन्धनले थुप्रै षड्यन्त्रका साथ प्रस्ताव ल्याएकाले विरोध गर्नुपरेको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।
प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले राससलाई जानकारी दिनुभयो । सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन ।
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताउनुभयो ।
सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८-७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।
पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७-८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५े लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ ।
यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो ।
चालू आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।
उहाँले गत आवको पहिलो छ महिनाको तुलनामा चालू आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन तीन हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताउनुभयो ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु २३ अर्ब १० करोड ३४ लाखको पाँच लाख चार हजार ४१७ केल डिजल, रु सात अर्ब ४८ करोड २१ लाखको एक लाख ६४ हजार १६६ केल पेट्रोल, रु एक अर्ब पाँच करोड ९८ लाखको २६ हजार ११२ केल हवाई इन्धन र रु २४ करोड ६६ लाखको छ हजार १४० केल मट्टितेल आयात भएको थियो ।
चालू आवको सोही अवधिमा रु ४४ अर्ब ४१ करोड ८१ लाखको छ लाख १४ हजार ३४८ केल डिजल, रु १६ अर्ब १२ करोड नौ लाखको दुई लाख पाँच हजार २५२ केल पेट्रोल, रु चार अर्ब ४३ करोड २३ लाखको आठ लाख ८४ हजार ७६४ केल हवाई इन्धन र रु ३४ करोड ३७ लाखको चार हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।
उहाँले गत वर्ष इन्धन आयातबाट रु २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको छ महिनामा रु ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको बताउनुभयो । त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपि ग्यासको आयात १५ प्रतिशत बढी भएको छ ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा रु सात अर्ब ४९ करोड ४८ लाख मूल्यको एक लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु १५ अर्ब २५ करोड ६३ लाखको एक लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । रासस
डोटीमा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ ।
अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो ।
जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ३० देखि ४० जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।
जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । रासस
युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्।
ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् ।
मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार भनिरहेको छ यसले कसैलाई धम्की दिएको छैन तर रूसी सिमाना नजिक नाटोको सैन्य गतिविधि बारे भने कडा चिन्ता व्यक्त गरेको छ।
रुसले नाटोको यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ । अर्कोतिर मस्कोले पनि रुसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ ।
सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् ।
बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताउनुभएको छ ।
बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने बताउनुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि बोलाइएको संसदीय दलको बैठकमा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताउनुभएको हो ।
चितवनमा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।
कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो ।
यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ । रासस
प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ ।
महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावको विरोध गर्ने निर्णय गरेको छ ।
महाभियोग दर्ता भएपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको भन्दै विरोध गर्ने निर्णय गरेको हो ।
बैठकले सत्तारुढ गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ ।बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै महाभियोगको विरोध गर्ने र त्यसको विरुद्धमा जनतालाई उभिन आग्रह गरेको बताउनुभएको छ ।
महासचिव पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकले महाभियोगबारे प्रतिवाद गर्नेगरी महत्वपूर्ण निर्णय गर्ने पनि बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले नयाँ इन्डो-प्यासिफिक रणनीति सार्वजनिक गरेको छ ।चीनको प्रभावलाई रोक्न आफ्ना सहयोगीहरूसँग मिलेर बलियो शैन्य रणनीतिक नीतिहरू लागू गर्दै अमेरिकाले नयाँ इन्डो-प्यासिफिक रणनीति सार्वजनिक गरेको हो ।
ह्वाइट हाउसले १२ पृष्ठको इन्डो-प्यासिफिक रणनीति सार्वजनिक गर्दै , नयाँ इन्डो-प्यासिफिक रणनीतिले विश्वभर चीनको बढ्दो सम्बन्ध र प्रभावलाई सुरक्षा र आर्थिक गठबन्धनमा संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूका लागि ठूलो चुनौतीको रूपमा वर्णन गरेको छ।
रणनीतिले चीनको बढ्दो सक्रियतालाई रोक्न अमेरिका र इन्डो-प्यासिफिक साझेदारहरूबीच सामूहिक क्षमता निर्माण गर्न आह्वान गरेको छ। रणनीतिमा चिनियाँ व्यवहार संयुक्त राज्य अमेरिका र इन्डो-प्यासिफिक क्षेत्रमा त्यसका साझेदारहरूका लागि हानिकारक रहेको उल्लेख छ।
त्यस्तै, इन्डो–प्यासिफिक क्षेत्रमा रणनीति कार्यान्वयनमा दक्षिण एसियामा शान्ति र स्थायित्वका लागि भारतको भूमिकामा जोड दिइएको छ ।उक्त रणनीतिमा अमेरिकाले भारतलाई आफ्नो ‘मुख्य रक्षा साझेदार’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ। रणनीतिमा दक्षिण एसियामा भारतको उदीयमान स्थितिलाई अमेरिकाले समर्थन गर्ने पनि उल्लेख छ ।
बाइडेन सत्तामा आएको तेह्र महिनापछि वाशिंगटनले नयाँ इन्डो-प्यासिफिक रणनीति सार्वजनिक गरेको छ। बाइडेनको इन्डो-प्यासिफिक रणनीति अघिल्लो ट्रम्प प्रशासनले अपनाएका अधिकांश नीतिहरूको निरन्तरता हो।
विश्व रणनीतिक, आर्थिक र भूराजनीतिक मुद्दामा अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण विश्व झन् ध्रुवीकरण हुँदै गएको बेला बाइडेन प्रशासनले इन्डो–प्यासिफिक रणनीति ल्याएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीले यो रणनीतिले विश्वभर जबरजस्ती अमेरिकी सैन्य प्रभुत्व विस्तार गरेर चीनको प्रभावलाई कमजोर बनाउन मद्दत गर्ने विश्वास लिएका छन्।
आफ्नो रणनीतिक योजना कार्यान्वयन गर्न, संयुक्त राज्य अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा नयाँ दूतावास र वाणिज्य दूतावास खोल्ने, शान्ति सेनाको उपस्थिति बढाउने, र इन्डो-प्यासिफिक आर्थिक संरचनालाई अगाडि बढाउने नीति अपनाएको छ। अमेरिकी रणनीतिमा इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी नौसेनाको भूमिका बढाउने योजना पनि समावेश छ।
यसैबीच, वाशिंगटनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा रूसको सम्भावित आक्रमणलाई समर्थन गरे चीनले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पु¥याउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक पहल गर्न आवश्यकता भएको उल्लेख छ ।
“महाअभियोग प्रस्तावलाई पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूलाई हार्दिक आह्वान पनि गर्दछौँ ।” बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बारले न्यायालय शुद्धीकरण गर्न माग गर्दै १०७ दिनसम्मदेखि आन्दोलन गर्दै आएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध आजै संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । रासस
आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ ।
आयोगद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव गोकर्णमणि दवाडीले निर्वाचनलाई सफल तुल्याउन सघन तयारीमा जुट्नका साथै कार्यतालिकासमेत स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।
निर्वाचनको अन्तिम मतदाता नामावली तयारी गर्ने, सामग्रीको व्यवस्थापन गर्ने, राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्नेलगायतका क्रियाकलाप निर्वाचन कार्यतालिकामा समेटिएको छ ।
निर्धारित मतदानस्थलमा मतदान केन्द्र तोक्ने, निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने कार्यतालिका छ ।
मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्नेलगायतका क्रियाकलाप समावेश गरी कार्यतालिका स्वीकृत गरिएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगको परामर्शमा उक्त मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारले मिति घोषणा गरिसकेको छ । रासस
देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५६ हजार १२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियुमा १८१ रहेको छ । होम आइसोलेशनमा २१ हजार ६९२, संस्थागत आइसोलेशनमा ८९२ र क्वारेन्टिनमा ११८ रहेका छन् ।
हाल देशभर कूल तीन करोड ५३ लाख १५ हजार ७१५ खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ । रासस
उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो ।
“अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६ र०१र३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु÷नगराउनु भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, फैसलामा भनिएको छ ।
कोषसँग नेपाल–भारतमैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द प्रालिले निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोषविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले छलफलका लागि दुवै पक्षलाई यही फागुन ९ गते उपस्थित हुन आदेश दिएको छ । रासस
पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ ।
२७औं जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभयो ।
संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गर्नुभयो ।
प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उहाँले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताउनुभयो ।
नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उहाँले सङ्घर्षका लागि ऊर्जा प्राप्त गर्न मधेसी जनताका बीचमा जाने पार्टीले निर्णय लिएको सुनाउनुभयो । जनयुद्धको थालनी मधेसबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले आवश्यक परे पुनः मधेसी जनताका बीचमा जाने र ऊर्जा प्राप्त गर्ने योजना रहेको बताउनुभयो । रासस
फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ ।
संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
बैठकमा प्रमुख विपक्ष नेकपा (एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो ।
महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।
कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नुहुनेछ ।
संविधानको धारा १०१ ९६० अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।
सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन् ।
आज विश्व रेडियो दिवस ‘रेडियो र विश्वास’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ ।
नेपालमा राणा शासन अन्त्यका लागि सङ्घर्षरत नेपाली कांग्रेसले वि।स। २००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो । औपचारिक रूपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।
निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ । विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।
आज एकै दिन सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो ।
सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राख्नुभएको थियो ।
प्रधानमन्त्रीसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्ड आइतबार नै जनयुद्ध दिवसका विभिन्न कार्यक्रममा सहभागी हुन मधेस प्रदेश तर्फ लाग्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आज बिहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ।
नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित तीन दलका ९८ जना सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। ।संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम, जबराविरुद्ध प्रमुख सत्तारुढ नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।
जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ भने सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो इजलास बहिस्कार गर्दै आएका थिए ।
संसद सचिवालयमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा स्वत: निलम्बनमा पर्ने छन्। महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।
भारतबाट करिब ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरि तामझामसहित ल्याइएको रेल इनरुवामा त्रिपाल ओढाएर राखिएको लामो समय पछी आजबाट परीक्षणको लागि चल्ने भएको छ ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्गमा आजबाट परीक्षणको लागि यात्रु नबोकी खाली रेल चलाइने भएको छ । १४ जना भारतीय र ६० जना नेपाली आजबाट काममा खटाइने तयारी भएको जानकारी प्राप्त भएको छ । तयारीको लागि भारतीय प्राविधिक टोली पनि नेपाल आइसकेको छ । परीक्षणकालिन अवधीमा दिनको एक पटक रेल गुडाइने छ र झण्डै एक सातासम्म परीक्षणको लागि रेल गूड्ने बाताइएको छ ।
नेपाली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने भनिएको भएपनी अहिलेसम्म उद्घाटनको कुनै टुँगो भने लागेको छैन । तर फागुनमै उद्घाटन गरेर सेवा प्रारम्भ गर्नेगरी काम थालिएको रेल्वे कम्पनीले बताएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनु भएको हो ।
अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उहाँको भनाइ छ । एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उहाँको तर्क छ ।
नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताउनुभयो । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उहाँले बताउनुभयो ।
स्थानीय दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उहाँको भनाइ थियो । रासस
कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् ।
पछिल्लो समय एक हजार ८२६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, विगत २४ घण्टामा चार जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ८८२ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की,बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १२ जिल्ला रहेका छन् । ति जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, दाङ र र कन्चनपुर रहेका छन् ।
शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा २५ हजार १४१ ,संस्थागत आइसोलेसनमा १६१ , आइसियुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ ।
विगत २४ घण्टामा आज दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज सात लाख १३ हजार ९०५ मात्रा लगाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।
स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने छ ।
देशव्यापीरूपमा राजनीतिक कार्यक्रम सञ्चालन गरी स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजकत्वमा स्थानीय तह निर्वाचन विशेष कार्ययोजना निर्माणका क्रममा छ ।
पार्टीले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी र सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा समान विचार भएका सङ्गठनसँग एकता तथा सहकार्यका लागि वार्तालाई निरन्तरता दिएको छ भने समावेश भइसकेका र हुने व्यक्ति, समूहलाई उचित जिम्मेवारी दिने छ । रासस
नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गर्नुभएको हो ।
दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ ।
त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसङ्घीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान–प्रदान गर्नुभएको थियो ।
प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो । तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो । नेपाल र टिमोर–लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन् । रासस
समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उहाँहरूबीच परामर्श भएको थियो ।
प्रमुख विपक्ष नेकपा९एमाले०का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गर्नुभएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो ।
सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उहाँहरूबीच मतैक्यता रहेको थियो । रासस
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिकरुपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो । दैनिकरुपमा हुने प्रेस मीटले निर्वाचन सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ ।
दैनिक प्रेस व्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ । निर्वाचनसँग सम्वन्धीत सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहजरुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिकरुपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सवै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । आयोगले प्रेस मिट सम्बन्धी सूचना वेभ साइटमा राख्नेछ । रासस
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा जारी चार देशिय टी २० सिरिजको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ।
१९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटिन पुगेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले १० रन जोड्न सफल भएका थिए।
यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान २-२ तथा जान्यूद सिद्दीकीले १ विकेट लिएका थिए।
नेपालले अब अर्को खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।
गृहमन्त्रालयमा आज भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाड कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा र नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल सरकार र नेकपा (माओवादी)बीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनमा अहिलेसम्म भएको प्रगतिका विषयमा वार्ता केन्द्रित भएको जानकारी दिनुभएको छ ।‘सरकार र नेकपा (माओवादी)बीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनमा अहिलेसम्म भएको प्रगति र कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहार्दपूर्ण छलफल भएको छ,’ पोखरेलले बताउनुभयो ।
वार्ताका क्रममा नेकपा (माओवादी)का प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टीका कार्यकर्तामाथि परेका मुद्दा र जेलमा परेका कार्यकर्ताको विवरण बारे सरकारलाई जानकारी गराएका थिए भने सरकारले पनि कारागारमा रहेका कार्यकर्ताको मुद्दाको विवरण बुझाएको छ ।
भेटपछि नेकपा (माओवादी)का प्रवक्ता विश्वकर्माले वार्ताका क्रममा तीनबुँदे सहमति कार्यान्वयनको समयसीमा तय भएको जानकारी दिएका छन् । हाम्रा माग कार्यान्वयनमा सरकार सकारात्मक छ । कतिपय विषय टुंगो लागिसकेका छन्, कतिपय अन्तिम चरणमा छन् । आशा छ, छिट्टै निष्कर्षमा पुग्छ,’ प्रवक्ता विश्वकर्माले भने।
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा जारी चार देशिय टी २० सिरिजको दोस्रो खेलमा नेपाल १९३ रनको लक्ष्य सहित युएईसंग प्रतिस्पर्धा गर्दैछ ।
टस हारेर पहिला ब्याटिङकमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन जोड्न सफल भएको छ ।
युएईका लागि ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेलेका थिए भने रोहन मुस्तफा ३५ बलमा ४९ रन बनाएर पभेलियन फर्किएका थिए ।
आईसीसी टी(२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएकाे छ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पाेरेसन एमसीसी अनुमोदन गर्ने सवालमा गठबन्धनबिच नै मतभेद बढेको समयमा गठबन्धनका तीन शीर्ष नेताबिचको यो भेटले एमसीसी र गठबन्धनको सवालमा के निष्कर्ष निकाल्नेछ त्यो निकै चासोको बिषय बनेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।
पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ । यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो । कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताउनुभयो ।
पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ मङ्सिर ३ गते पाल्पा दरबार सङ्ग्रहालयका रुपमा स्थापना गर्न सरकारले निर्णय गरेको थियो । सङ्ग्रहालयमा परिणत भएपछि लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएपछि जिल्लावासी उत्साहित छन् । विसं २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन गरिएको थियो ।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यसले पाल्पाको पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको छ । पाल्पा दरबार सङ्ग्रहालय विकास समिति गठन गरी सञ्चालन गर्दा यसको संरक्षणमा टेवा पुग्ने सरोकारवाला निकायको भनाइ छ । रासस
आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । रासस
ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी २० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।
खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११:४५ बजे सुरु हुनेछ ।
आईसीसी टी(२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।
यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधन प्रयोग बन्द गरिने भएको छ । रासस
नाटोले रुसको सिमाना नजिक आफ्नो सैन्य उपस्थिति बढाउन “बहाना” को रूपमा संकटको प्रयोग गरेको, रुसले आरोप लगाएको छ।
रुसले नाटोमा सामेल हुने आफ्नो छिमेकीको प्रयासको कडा विरोध गरेको छ तर युक्रेनमा आक्रमण गर्ने हल्लालाई पनि अस्वीकार गर्दै आएको छ। अमेरिकी नेतृत्वको नाटो गठबन्धनले पूर्व सोभियत गणतन्त्रहरूमा आफ्नो विस्तार गर्न खोजेको प्रयासलाई रोक्ने कुरामा आफुले सतर्कता अपनाएको भएपनि युक्रेनमा आक्रमण गर्ने हल्ला निराधार भएको रुसले बताएको छ। यहि बहानामा अमेरिकाले आफ्नो सेना रुसको सिमानामा उतार्न चाहेको रुसले आरोप समेत लगाएको छ।
यसैबीच, नाटोले युक्रेन संकट र युरोपमा नयाँ सशस्त्र द्वन्द्वको लागि वास्तविक जोखिम” को चेतावनी दिंदै , पूर्वी युरोपमा दीर्घकालीन उपस्थिति कायम राख्ने भन्दै रोमानियाको एयरबेसमा अस्थायी रूपमा अमेरिकी सैनिकहरू तैनाथ गरेको छ।
अनिवार्य खोपको विरोधमा उत्रिएका क्यानडाका ट्रक चालकहरुले आफ्नो माग पुरा नभएसम्म प्रदर्शन जारी राख्ने बताएका छन्।
सीमा पार गर्नु अघि ट्रक चालकहरूलाई पूर्ण रूपमा खोप लगाउन आवश्यक पर्ने नियमको विरोध गर्दै क्यानडामा सुरु भएको ट्रक चालकहरुको सरकार विरोधी प्रदर्शनले उग्र रुप लिएको छ। प्रदर्शन उग्र बन्दै गएपछि ओन्टारियो प्रमुख डग फोर्डले शुक्रबार आपतकालिन अवस्थाको घोषणा गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै फोर्डले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा नाकाबन्दी अन्त्य गर्न आग्रह समेत गरेका छन्। तर यता केही प्रदर्शनकारीहरूले भने सेप्टेम्बरको तेस्रो जनादेशबाट निर्वाचित प्रधानमन्त्री जस्टिन ट्रुडोलाई हटाउन माग गरिरहेका छन्। प्रदर्शनकारीहरूले अमेरिकासंगको तीनवटा सीमा नाका र अन्य ठूला सडक र पुलहरू बन्द गरिदिएका छन्। स्थितिलाई नियन्त्रणमा लिन सो क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको भएपनि प्रदर्शनकारिहरुले त्यसको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्। आफ्नो माग पुरा नभएसम्म प्रदर्शन जारि राख्ने पनि उनीहरुले बताएका छन्।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेका छ ।
बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको भन्दै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति गरेका छन् । कर्जाको माग बढेपनी निक्षेप संकलन हुन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको संघले जनाएको छ ।
संघको निर्णय अनुसार व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको छ । यसअघि बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका थिए । बैंकहरले संस्थागतमा निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् भने बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत व्याजदर दिने सहमती कायम गरिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।
यसअघि माघ १५ गतेका लागि तोकिएको अधिवेशन स्थगित भएपछी अन्यौल बन्दै गएको कांग्रेसको जिल्ला अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ ।
मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर,बारा, पर्सा, सिन्धुली, बाँके,सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट,कैलाली र अछाम गरी १६ कांग्रेसको जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ ।
आज देशभर १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो
आज देशभर १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।
फागुन १ गतेदेखि सर्वोच्च अदालतले नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।
सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक ९फुलकोर्ट०ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । यसअघि यही माघ ४ गते बसेको पूर्र्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।
सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो ।
उक्त अवधिमा मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ भएका थिए । अब आइतबारदेखि सबै प्रकारका सेवा सञ्चालन हुनेछन् ।
प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका–८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले टोखा नगरपालिका–९ आनन्द टोलबाट क्षेत्रीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले भालुको आखेटोपहार अवैध रुपमा ओसारपसार गरेर बेचबिखन गर्न लागेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका क्षेत्रीको साथबाट २४० ग्राम पित्त बरामद गरिएको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारको जिम्मा लगाइएको महतोले बताउनुभयो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । योसँगै फ्रेन्डसले प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । फ्रेन्डसका लागि आजको खेलमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई तथा श्यामबाबु केप्छ्याकीले एक गोल गरे ।
ब्रिगेड ब्वाइजका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा सुशीलले फ्री–किकमार्फत गोल गर्दै फ्रेन्डसलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो जीतसँगै अङ्क तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस तत्कालका लागि रेलिगेसन जोनबाट जोगिएको छ । दश खेलबाट ६ अङ्क जोडेर फ्रेन्ड्स १२औँं स्थानमा उक्लिएको छ । हारसँगै समान ६ अङ्क नै रहे पनि बिबिसी अङ्क तालिकाको १३औँ स्थानमा छ । त्यस्तै ५ अङ्क बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।
एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताउनुभएको हो ।
यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई भूराजनीतिक द्वन्द्वमा फसाइएको बताउँदै सत्तारुढ गठबन्धनका नेताले फरक फरक धारणा राख्ने, एमसीसी र नेपाली नागरिकसँग फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना समेत गर्नुभयो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका अमेरिकीहरूलाई जति सक्दो चाँडो देश छोड्न आग्रह गरेको छ । विदेश मन्त्रालयले पछिल्लो घटनाक्रमको विश्लेषण गर्दै सो आग्रह गरेको हो ।
जनवरी २३ मा विदेश मन्त्रालयले अमेरिकी कूटनीतिज्ञहरूका परिवारका सदस्यहरू र प्रत्यक्ष काममा काम गर्ने कर्मचारीहरूलाई बाहिर निकाल्ने अनुमति दिएको थियो । अप्रत्याशित सुरक्षा अवस्थाका कारण युक्रेनमा रहेका अमेरिकी नागरिकहरूले तुरुन्तै प्रस्थान गर्नेबारे विचार गर्न पनि विदेश मन्त्रालयले सिफारिस गरेको छ।
यसैबीच, पेन्टागनका प्रेस सेक्रेटरी जोन किर्बीको घोषणापछि ८२ औं एयरबोर्न डिभिजनबाट अमेरिकी सैनिकहरूको पहिलो समूह फेब्रुअरी ५ मा पोल्याण्ड आइपुगेको थियो। यसअघि किर्बीले रुससँग बढ्दै गएको तनावका बीच अमेरिकाले युरोपमा अस्थायी रूपमा थप सेना तैनाथ गर्ने बताएका थिए।
एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले आरोप लगाएका छन् ।
बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।
‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्नुभएको हो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबार सामाजिक सञ्जालमार्फत बताएका छन् ।
तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको छ पुष्टि गरेका छन् ।
सोमबार, बेलायतका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार बेलायतले पोल्याण्डमा ३५० सेना पठाउने छ जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ जुन गत वर्ष पोलिश–बेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका थिए ।
जोनसनका अनुसार भर्खरै आएका सेनाहरू पोल्याण्डमा नाटोको फर्वार्ड उपस्थिति बढाउन योगदान गर्ने १५० बेलायती सेनामा पनि सामेल हुनेछन् ।
जोनसन ब्रसेल्सबाट वार्सा पुगेर नेटो महासचिव जेन्स स्टोल्टनबर्गसँग युक्रेनको अवस्थाबारे छलफल गर्न भएको थियो।युक्रेनको अवस्था हालैका हप्ताहरूमा बिग्रिएको छ वाशिङ्गटन, लन्डन र अन्य नाटो सहयोगीहरूले युक्रेनको सीमामा रुसको सैन्य निर्माणको बारेमा चिन्ता व्यक्त गर्दै, मस्कोले आक्रमणको तयारी गरिरहेको बताएका छन् ।
युरोपियन युनियनले पनि बढ्दो घटनामा रूसको युरोपमा ऊर्जा आपूर्तिमा सम्भावित अवरोधको बारेमा चिन्ता व्यक्त गरेको छ। रुसले युक्रेनलगायत कुनै पनि देशमा आक्रमण गर्ने आफ्नो योजना नभएको बताउँदै आएको छ ।
अविवाहित मानिस र वयस्कका कारण हुने भ्रूण हत्या नियन्त्रण गर्ने चीनको परिवार नियोजन संघले योजना ल्याएको छ ।
अनिच्छुक र अप्रत्यासित गर्भधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उदेश्यले सरकारले पछिल्लो कदम चालेको हो ।
चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संघको लक्ष्यसँग मेल खान्छ । एकभन्दा बढी पटक गर्भपतन गर्दा बाझोपन हुने संघले बताउँदै आएको छ ।
पछिल्लो कदम निश्चित समूहहरूको प्रजनन स्वास्थ्य सुधारतर्फ पनि लक्षित छ । यस योजनालाई जनवरीको मध्यतिर सार्वजनिक गरिएको थियो । योजनालाई लिएर चीनको सामाजिक सञ्जाल विबोमा बहस र विरोध बढेको थियो ।
नरम उपाय मानिएको प्रजनन स्वास्थ्य शिक्षाबाट पनि अनिच्छुक गर्भ र गर्भपतन न्यून गर्न सकिने केही विज्ञको भनाई छ । ग्लोबल टाइम्सका अनुसार चीनमा अनिर्णित गर्भपतनमा २० वर्षभन्दा कम उमेरका व्यक्ति बढी जिम्मेवार छन् ।
सरकारले ल्याएको पछिल्लो योजनामा चिनियाँ परिवारहरुलाई एक भन्दाबढी सन्तान जन्माउन आह्वान गरिएको छ ।
निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योग (डेरी) हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।
शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।
यसअघि दूग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरेको छ ।
जसअनुसार आधा लिटर दुधको मूल्य ४२.५० रुपैयाँ पर्न आउँछ । तर, बिक्रेताले प्रति आधा लिटर दूधको मूल्य ४३ रुपैयाँ लिने गरेको एसोसिएसनले जनाएको छ ।
यसअघि, संस्थानले उपभोक्ता मूल्य ८६ रुपैयाँ तोक्ने बताइएको थियो । तर, सो अनुसार मूल्य नतोकिएपछि संस्थानको निर्णय नमान्ने र उपभोक्ता मूल्य ८६ रुपैयाँ नै लिने दुई सस्थाले संयुक्त रुपमा बताएका हुन् ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ ।
राप्ती नगरपालिका ६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
कुखुरा मर्न थालेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो ।
बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो ।
सोहीअनुसार आज फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको कृषि विज्ञ केन्द्र चितवन, भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र भरतपुरका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो ।
अमेरिकी प्रशासनले एमसीसी छिटो अनुमोदन गर्न भनेर दबाब दिनुलाई ‘अस्वाभाविक सक्रियता’ भएको कांग्रेस उपसभापति धनराज गुरुङले टिप्पणी गर्नुभएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको उहाँको भनाइ छ ।
परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उहाँको भनाइ छ ।
कार्यान्वयन गर्ने नै भए अनुमोदन गर्नुपर्ने र नगर्ने नभए छिटो फिर्ता पठाउनुपर्ने गुरुङले बताउनुभयो ।
अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गर्दै एमसीसी परियोजना छिटो अनुमोदन गर्न दबाब दिएका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिमार्जनबिना एमसीसी पारित नहुने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, “सम्झौतामा अधिकांश विवादित दफाहरू रहेको वर्तमान अवस्थामा एमसीसीलाई आँखा चिम्लिएर समर्थन गर्न मिल्दैन । हाम्रो स्पष्ट दृष्टिकोण हो।”
एमसीसीमा सहमति नहुँदा सत्तारुढ गठबन्धन फुट्ने डर देखिए पनि सत्तारुढ गठबन्धनका प्रमुख सदस्य माधव नेपालले भन्नुभयो, ‘एमसीसीमा सहमति नभए गठबन्धन फुट्ने डर छ । प्रश्न उठेको छ, तर हामी यी सबै चुनौती सामना गर्न तयार छौं।’तर उहांले संशोधन नगरी एमसीसीलाई समर्थन नगर्ने स्पष्ट पार्नुभएको छ ।
नेपालले एमसीसीलाई लिएर जनता र राजनीतिक दलहरु विभाजित भएकाले एमसीसी सम्झौता स्थगित गर्नु उपयुक्त हुने पनि बताउनुभएको छ ।
सत्तारुढ नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सानेपामा आज बसेको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी परियोजना र भ्रातृ संगठनको अधिवेशनका विषयमा छलफल भएको बताइएको छ । आज छलफल भएको बिषयमा भोली सदस्यहरूले धारणा राखिसकेपछि मात्र निर्णयमा पुगिने कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभएको छ । महतका अनुसार भोली दिउँसो २ बजे बस्ने गरी आजको कार्यसम्पादन समिति बैठक स्थगित गरिएको छ।
बैठकमा एमसीसी संसदमा लगेर अनुमोदन गर्ने बिषयमा छलफल भएको भएपनी गठबन्धनको बिषयमा भने भोलिको कार्यसम्पादन समिति बैठकमा छलफल गरिने भएको छ । तर गठबन्धन तोडेरै भएपनी एमसीसी पारीत गराउन प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवाको जोडबल देखिएको कारण निर्वाचनमा पनि गठबन्धन नगरि एक्ला-एक्लै चुनावमा जाने सम्भावना बढेको कांग्रेस नेताहरुले बताएका छन् ।
बैठकमा कांग्रेस नेता डा. शशांक कोइरालाले, पार्टीले आफ्नो अस्तित्वका लागि पनि गठबन्धन गर्न नहुने र स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बोर्डले आगामी जेठमा कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । साथै केही दिनमा परीक्षा तालिका पनि सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
यसअघि बोर्डले वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी एसईई परीक्षाको तालिका सार्वजनिक गरेको थियो ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एकीकृत नेकपा माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार भोली र पर्सी गरी दुई दिनको लागि बोलाइएको केन्द्रीय कमिटी बैठक विशेष कारणले स्थगित गरिएको हो ।
एकीकृत नेकपा माओवादीको आठौं महाधिवेशनले पदाधिकारी छनोटको जिम्मेवारी केन्द्रीय समितिलाई दिएको थियो । महाधिवेशनपछि एकपटक बैठक बसे पनि पदाधिकारी छनोट हुन सकेको छैन । महाधिवेशन सकिएपछि पौष १९ गते बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।
त्यसपछि कोरोना महामारीका कारण केन्द्रीय कमिटीको बैठक बस्न सकेन । माओवादीको विधानले १५ सदस्यीय कार्यालयको व्यवस्था गरेको छ । संविधानअनुसार एकीकृत नेकपा माओवादीले बरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गर्न बाँकी छ ।
विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिएकी छन् ।
डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् ।
उनले खोपको दायरलाई बढाउने मात्र होइन सबै नियमको पालना गर्नुपर्नेमा जोड दिइन् ।
बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत जर्मन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जर्मनीले सर्वाधिक ५ स्वर्ण र ३ रजत पदक हात पारेको छ । दोस्रो स्थानमा झरेको नर्वेले भने ४ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ ।
स्वीडेनले ४ स्वर्ण, १ रजत र २ कास्य जित्दा नेदरल्यान्ड्सले समान ३ स्वर्ण, ३ रजत र १ कास्य हात पारेको छ । आयोजक चीनले ३ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ ।
अमेरिकाले २ स्वर्ण, ५ रजत र १ कास्य तथा अष्ट्रीयाले २ स्वर्ण, ४ रजत र ४ कास्य जितेका छन् । यस्तै, इटालीले २ स्वर्ण, ४ रजत र १ कास्य जित्दा रुस ओलम्पिक कमिटिले २ स्वर्ण, ३ रजत र ६ कास्य हात पारेका छन् ।
आगामी १ फागुनदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । आज त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत र्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो ।
सरकारलाई तिर्नुपर्ने करोडौं रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेलमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कारबाही बढाउनुभएको छ ।
सोही क्रममा उहाँले मंगलबार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गर्नुभएको छ ।
नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन ।
सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले बाट अन्याय भएको भन्दै बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सञ्चालन गर्ने तयारी गरेको क्याफ्टेरियालाई मन्त्री आलेले रद्द गरिदिनुभएको थियो ।
यस्तै, मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गर्नुभएको छ ।
केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले करोडौं रुपैयाँ घाटा भएको भन्दै क्षतिपूर्तिको माग समेत गरेको थियो ।
अगामी फागुन १ गते मधेस प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ ।
यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ ।
विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।
पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको उहाँको भनाइ छ ।
सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको जानकारी दिनुभयो ।
सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।
केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।
विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र ९एलसी० खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ । बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शतप्रतिशतसम्म क्यास मार्जिनु लिन बैंकहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, रक्सी तथा भिनेगर, निजी गाडी (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आगामी बैशाख ९ देखी २० गतेसम्म सन्चालन हुने परीक्षाको तालिका अनुसार परीक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म जारी रहने पनि राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार बिषयगत तालिका निम्नानुसार रहेको छ ।
बैशाख ९ गते शुक्रबार : अनिवार्य अङ्ग्रेजी । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।
वैशाख ११ गते आइतबार: अनिवार्य गणित
वैशाख १२ गते सोमबार : अनिवार्य नेपाली । गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ।
वैशाख १३ गते मंगलवार : अनिवार्य विज्ञान । वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ।
वैशाख १४ गते बुधवार : अनिवार्य सामाजिक । प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इन्जिनियरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।
वैशाख १५ गते बिहीवार : अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा । वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनीयरिङ सर्भेइङको परीक्षा हुनेछ।
वैशाख १६ गते शुक्रबार : साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेद विद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ ।
वैशाख १७ गते शनिबार : साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेद विद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।
वैशाख १८ गते आइतबार: प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इन्जिनियरिङको परीक्षा हुनेछ।
वैशाख १९ गते सोमबार: प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ।
वैशाख २० गते मंगलवार: प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याब्राेटरी टेक्निक, इन्ड्रस्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, सङ्गीत, वाद्य वादन र नृत्यको परीक्षा हुने भएको छ।
यस वर्षको परीक्षामा करिब पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।
दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बुधबार बसेको सभापति शेरबहादुर देउवा बाहेकको पदाधिकारी बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकमा कोभिड(१९ को महामारीका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने विषयमा पनि छलफल हुने प्रवक्ता महतले बताउनुभएको छ ।
कांग्रेसले हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो ।
कोरोना भाइरसको कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि शुक्रवारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।
कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।
कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले हिजो जारी गर्नुभएको सूचनामा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर भोलिदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।
डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो ।
बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।
बैशाख ९ गते बाट एसईई परीक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षाको समयतालिका भने भोली बोर्डको वेबपेजमा सार्वजनिक गरिने पनि बोर्डले जानकारी दिएको छ ।
देशभर आज २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।
मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।
यसैबीच मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन । खेलको ५२औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।
त्यसपछि खेलको ७०औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे । यस जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिको दशौँ स्थानमा उक्लिएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा आज विभिन्न सात वटा पार्टीले प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो ।
अबको केही दिनभित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको छ ।
बुधबार नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले तेस्रो चरणमा सबै नेपाली नागरिकलाई बुस्टर डोज खोप दिइने बताउनु भएको हो ।
अबको केही दिनभित्र नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपाली नागरिकलाई बुस्टर डोज दिने सरकारको योजना रहेको उहाँको भनाइ थियो ।
विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने भन्दै उहाँले विद्यार्थीहरुलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। ।
विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरु गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरुलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको उहाँको भनाइ थियो ।
फागुन ७ गते ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन प्रचारप्रसारका हिसाब सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिका संयोजक डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । प्रजातन्त्र दिवसका दिन घर, कार्यालय र मण्डलालगायतमा दिपावली गर्ने, घर–घरमा राष्ट्रिय झण्डा फहराउने तथा विद्युतीय सञ्चार माध्यमबाट जागरणसम्बन्धी गीत प्रसारण गरिने भएको छ ।
जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते पर्वकैरुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले बलिदानी दिनुभएको थियो । राष्ट्रिय समाचार समिति९रासस०ले प्रजातन्त्र दिवसका अवसरमा दिवस केन्द्रित सामग्री तयार गरी अन्य सञ्चार माध्यमलाई उपलब्ध गराउने छ ।
विद्युतीय सञ्चार माध्यमबाट प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद प्रसारण गर्ने तथा छापा माध्यम अर्थात राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रजातन्त्र दिवस विशेषाङ्क, स्मारिका र लेख रचनाको सङ्गालो प्रकाशन गरिनेछ । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक संस्थाबाट शुभकामना एसएमएस गर्ने, नेपाल टेलिभिजन र रेडियो नेपाल तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट पनि प्रजातन्त्र दिवसको महत्वबारे कार्यक्रम र सामग्री प्रकाशन तथा प्रसारण गरिने छ ।
रेडियो र टेलिभिजनलगायतका सञ्चार संस्थाले प्रजातन्त्र मूल समारोहसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउने छन् । बैठकमा मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्ष, राष्ट्रिय समाचार समिति९रासस०का महाप्रबन्धक, रेडियो नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकमका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकलगायत सहभागी हुनुहुन्थ्यो । रासस
किसान आन्दोलनको माग पूरा नभए सिके राउतले स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।
किसानका विभिन्न माग राख्दै मधेशमा लगातार आन्दोलन गर्दै आइरहेका सिके राउतले वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै राउतले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचन गर्न नदिने बताएका छन् ।
‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’
सिके राउतले विभिन्न ११ वटा माग राख्दै तराई मधेशमा आन्दोलन गर्दै आएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै उहाँले पार्टीमा पु¥याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गर्नुभएको हो ।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । रासस
बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक नम्बर ब्लकमा नौ , दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य रु ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो ।
निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मङ््िसर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो । बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । रासस
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धन तोडेरै भएपनी एमसीसी पास गर्ने तयारी गर्नुभएको छ ।
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक हिजो सांझ अबेर मात्र सूचना जारी गरी स्थगित गरेपछी देउवाले सभामुखको विकल्पको बारे छलफल गर्नुभएको जानकारी प्राप्त भएको छ । आजको बैठकमा एमसीसी बारे छलफल गर्ने तयारी गरिरहेका बेला गठबन्धन भित्रै सहमती हुन नसकेको भन्दै सभामुखले आजको प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको थियो । एमसीसी पास गर्न सभामुख तगारो बन्ने देखिएपछी देउवाले सभामुखको विकल्प बारे छलफल अगाडि बढाउनु भएको जानकारी प्राप्त भएको छ । त्यसो त केही समय अगाडि बालुवाटारमा देउवा र महन्थ ठाकुरबिच भएको भेट वार्तामा पनि प्रधानमन्त्रीले ठाकुरलाई सभामुखको विकल्प खोज्नु पर्ने हुनसक्छ भन्दै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
यता प्रतिपक्ष एमालेले भने सभामुखको रजिनामा माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ । यो अवस्थामा सभामुख हटाउने सवालमा प्रतिपक्ष एमालेले पूर्ण रुपमा समर्थन जनाउने देखिन्छ ।हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै नागरिक समाजका अगुवाहरुले समेत विरोध गरिरहेका छन् । एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले समेत सभामुख सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव दर्ताको तयारी भइरहेको जानकारी दिनुभएको छ ।
सभामुख हटाए गठबन्धन टुट्न सक्ने सम्भावना उच्च रहंदै गर्दा पनि प्रधानमन्त्री देउवा भने गठबन्धन तोडेरै भएपनी एमसीसी पास गराउन तयार रहेका छन् । यता गठबन्धन तोडेर सभामुखको रजिनामा आए एमसीसी पास गर्न सहयोग गर्ने एमालेले बताउंदै आएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले खोप लगाउनुपर्ने उमेर समूहका विद्यार्थीलाई तत्काल खोपको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले कोभिड १९ को नयाँ भेरियन्टको प्रभाव बढ्दै गएको अवस्थामा विभिन्न कार्यालयबाट सेवा प्रवाह गर्दा हाल लागु गरिएको आलोपालो र बार प्रणाली हटाइ पूर्ववत रुपमा सेवा प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिने बताउनुभयो ।
बैठकले वीरेन्द्रनगरस्थित सबै किसिमका पार्कहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खुला राख्ने निर्णय गरेको छ । कोभिडको नयाँ भेरियन्टको प्रभाव बढ्न थालेपछि यहाँका बुलबुले उद्यान, सहिद पार्क लगायतमा प्रवेश रोक लगाइएको थियो । रासस
एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् ।
अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।
एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।
एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ ।
केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाग्मती प्रदेश तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ६९,५४४ मामिला भेटिएका छन् ।
यस्तै सोमबार ६७,५९७ नयाँ संक्रमित भेटिएका थिए । सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्यामा साधारण वृद्धि भएको छ ।
यतिबेला १।७२ लाख बिरामी निकोसमेत भएका छन् र १,२१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८।८३ लाख जना संक्रमित कोरोनाको उपचार गराइरहेका छन् ।
यस्तै, भारतमा ८ दिनमा छैटौँ पटक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजारभन्दा बढी रहेको छ । यद्यपि, संक्रमितमा लगातार गिरावट आइरहेको छ । फेब्रुअरीको ८ दिनमा कोरोनाका दैनिक संक्रमितमा ५७ प्रतिशतको गिरावट आएको छ ।
नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन हुनुभएको छ । नेकपा एमाले चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको हो ।
जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
२०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा रहनुभएको छ ।
स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताउनुभयो । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ ।
कार्यदललाई आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । आर्थिक र प्राविधिक दृष्टिकोणले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त देखिएमा राजनीतिक सहमति कायम गरेर अघि बढ्ने आयोगको तयारी छ ।
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।
बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै आज ७ कम्युनिस्ट पार्टीले संयुक्त रूपमा संसद् भवन घेराउ गर्ने भएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित जनमोर्चा, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आज दिउँसो संघीय संसद घेराउ गरी एमसीसीको बिरोधमा प्रदर्शन गर्ने भएका छन् । आज दिउंसो १ बजे माइतीघर मण्डलामा भेला भएर विरोध र्यालीसहित संसद भवन अगाडि गएर कोणसभा गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभाको भोली बस्ने भनिएको बैठक स्थगित भएको छ ।
संघिय संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक स्थगित भएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा पेश गर्ने तयारी भइरहेका बेला दलहरुमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो । संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेपछी अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ ।
बिभिन्न कारण देखाउंदै पटक पटक स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पछीलो पटक माग १६ गते १० दिनको लागि स्थगित गरिएको थियो । एमसीसी सम्झौतालाई टेबल गर्ने विषयमा गठबन्धन विभाजित भएपछि भोली बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ ।
गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् । तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् ।
कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ ।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् । तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो ।
सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ । रासस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो । छानबिन समितिले छ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।
मन्त्रालयले खोपको एकीन तथ्याङ्क नभेटेपछि माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
यसअघि समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो । रासस
कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ ।
नेपालको संविधानको १६८ ९९० बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले आज उच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार संविधान १६८ ९९० र १७० ९१० बमोजिम मन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गत कात्तिक १६ गते कांगेस नेता शाहीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले तीन महिनापछि पूर्णता पाएको थियो । आठ सदस्यीय मन्त्रिपरिषद्मा महिला र दलित समुदायको प्रतिनिधित्व छैन् । कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धन आवद्ध दलका सात महिला सदस्य छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको रिट निवेदनमा अन्तरिम आदेशसहितको उत्पे्रषण, प्रतिषेध परमादेश लगायतको आदेशको माग गरिएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले गरेको मन्त्रिपरिषद् गठन गर्ने निर्णय बदर गराउन, महिला तथा दलितको प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तबमोजिम पुनः मन्त्रिपरिषद् गठन गर्न विपक्षीका नाउँमा उत्पे्रषण, प्रतिषेध परमादेश लगायतको आदेश माग गरिएको छ ।
साथै रिटको टुङ्गो नलाग्दासम्म नियुक्त मन्त्रीलाई सम्बन्धित मन्त्रालयमा कुनै कामकाज नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।
संविधानको धारा १६८ ९९० मा “प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कूल सङ्ख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ” भन्ने उल्लेख छ ।
मुख्यमन्त्री शाहीले यही माघ २३ गते आफ्नो दल कांगे्रसबाट हिमबहादुर शाही, यज्ञबहादुर विसी, नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद सिंह, छिरिङ डम्डुल लामा र नेकपा एकीकृत समाजवादी बाट पदम रोकायालाई मन्त्री नियुक्त गर्नुभएको थियो । माओवादी केन्द्रका विन्दमान विष्ट र एकीकृत समाजवादीका चन्द्रबहादुर शाही यसअघि नै मन्त्री नियुक्त हुनुभएको थियो । रासस
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेका ५ विद्यालयहरुमा न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
“सानाे पाइला अभियानमा हातेमालाे, हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं,” भन्ने नाराका साथ अभियानकाे सुरुवातमा गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तरगतका ५ विद्यालयमा ७५ र दाेरपाटन नगरपालिका अन्तर्गत लुकुरबन माविमा १० गरि जम्मा ८५ थान कपडा वितरण गरिएकाे अभियानका सह- संयाेजक सुरेश छन्त्यालले जानकारी दिनुभएकाे छ । साथै उहांले हाम्रो अभियान निरन्तर चलिरहने हुँदा छिट्टै यश अभियानलाई आधिकारिक रुपमा कम्पनी दर्ता गरि संचालन गर्ने र यस्तै विभिन्न क्षेत्रमा सहयोग गर्ने तयारी रहेकाे बताउनु भयाे। कार्यक्रममा सम्पुर्ण शिक्षकहरुकाे प्रतिनिधित्व गर्दै नविन भावुक, वरिष्ठ समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्याल, कमला थापा, वडा सदस्य रामप्रसाद वि.क लगाएतले मन्तव्य राखेका थिए । आयोजकले, सामान्य चिया गफबाट सुरुवात गरेकाे अभियानले आज ठुलाे कार्य गरेकाे र यस्ता कार्यलाई निरन्तरता दिन र आ-आफ्नो स्थानबाट सहयाेग गर्न आग्रह समेत गरेको छ । पांच विद्यालयका प्रअ, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभियानका सदस्य तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका सचिव दिप घर्ति लगाएतकाे सहयोगमा सम्पन्न उक्त कार्यक्रम, अभियानका सदस्य ज्ञान श्रीसले संचालन गर्नु भएको थियाे ।
दिप घर्ति/ गलकाेट
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नुभएको छ ।
पार्टी भित्र देखिएको सैद्धन्तिक विचलनको कारण आफुले पार्टी छोड्ने निर्णय गरेको थापाले बताउनुभएको छ । पार्टीमै आफ्नो जीवन समर्पण गर्ने चाहना हुंदाहुंदै पनि पार्टिले आफ्नो कुरा सुन्न छोडेको हुंदा आफुले यस्तो अप्रिय निर्णय लिएको पनि थापाले बताउनुभएको छ ।
आज हेटौडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।

बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत आयोजक चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चीनले तीन स्वर्ण र दुई रजत पदक हात पारेको हो । स्वीडेनले पनि तीन स्वर्ण पदक जितेको छ ।
रुस ओलम्पिक कमिटिले दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक हात पारेको छ । नेदरल्यान्ड्सले समान दुई स्वर्ण र दुई रजत तथा एक कास्य जितेको छ । जर्मनीले दुई स्वर्ण र एक रजत पदक प्राप्त गर्न सफल भएको छ ।
नर्वेले भने दुई स्वर्ण र तीन कास्य प्राप्त गरेको छ । स्लोभेनियाले दुई स्वर्ण र एक कास्य जितेको छ ।इटालीले एक स्वर्ण, तीन रजत र एक कास्य हात पारेको छ । अष्ट्रीयाले एक स्वर्ण तथा दुई रजत र दुई कास्य प्राप्त गरेको छ ।
क्यानाडाले एक स्वर्ण, एक रजत र चार कास्य जितेको छ । जापानले एक स्वर्ण, एक रजत र दुई कास्यमा चित्त बुझाएको छ ।
स्वीट्जरल्यान्ड एक स्वर्ण र दुई कास्य प्राप्त गरेको छ । अष्ट्रेलियाले एक स्वर्ण र एक कास्य हात पारेको छ । न्यूजिल्यान्डले केवल एक स्वर्ण जितेको छ । फ्रान्स र अमेरिकाले समान चार–चार रजत पदक जितेका छन् ।
हंगेरीले दुई कास्य तथा फिनल्यान्ड र पोल्यान्डले एक–एक कास्य जितेका छन् ।
अमेरिकी सहायता परियोजना एमसीसी अमेरिकाले फिर्ता लैजानु नै उपयुक्त हुने नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गौतमले आज विज्ञप्ति जारी गरी एमसीसीकै कारण नेपालको सार्वभौम संसद र नेपाली मनोविज्ञान नै विभाजित हुने अवस्था आउने हो भने यसको फिर्ती नै उत्तम विकल्प हुने बताउनुभएको हो ।
एमसीसीसँग गएिको सम्झौतापछि नेपालमा अमेरिकाप्रति गम्भीर आंशका पैदा हुन थालेको पनि गौतमको भनाइ छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गौतमको छ ।
(एमसीसीकै कारण नेपाली जनता, नेपालका राजनीतिक पार्टी, नेपालको सार्वभौम संसद र नेपाली मनोविज्ञान नै विभाजित हुने अवस्था आउने हो भने यसको फिर्ती नै उत्तम विकल्प हुनसक्छ) गौतमले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ ।
बैठकमा महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, अजयबावु सिवाकोटी सहभागी भएको बताइएको छ ।
कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा समूहगत धारणा बनाएको हो ।
२७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्डा छन् । यस विषयमा समूहगत धारणा बनाउन सोमबार बसेको कोइराला समूह निकट पदाधिकारीसहितको बैठक बसेको थियो ।
सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
संयुक्त राज्य अमेरिकाले स्वशासित टापुले प्रयोग गरेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलाई ‘दिगो, मर्मत र सुधार’ गर्न ताइवानलाई सम्भावित १० करोड अमेरिकी डलरको उपकरण र सेवाहरू बिक्री गर्न स्वीकृत गरेको चीनले दाबी गरेको छ।
‘विदेश मन्त्रालयले प्याट्रियट इन्टरनेशनल इन्जिनियरिङ सर्भिसेस प्रोग्राम र फिल्ड सर्भेलेन्स प्रोग्राम मा सहभागितालाई समर्थन गर्न उपकरण र सेवाहरूको संयुक्त राज्य अमेरिकाको ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालयलाई सम्भावित विदेशी सैन्य बिक्रीलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
एफएसपी पाँच वर्षको लागि, इन्जिनियरिङ सेवा समर्थनसहित, पैट्रियट एयर डिफेन्स प्रणालीलाई १०० मिलियन अमेरिकी डलरको अनुमानित लागतमा दिगो, मर्मत र सुधार गर्न डिजाइन गरिएको हो’, एक विज्ञप्तिमा जनाइएअनुसार रक्षा सुरक्षा सहयोग एजेन्सीले ताइवानको ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालयद्वारा अनुरोध गरिएको बिक्रीको लागि विदेश मन्त्रालयको स्वीकृतिपछि काङ्ग्रेसलाई सूचित गर्न आवश्यक प्रमाणीकरण प्रदान गरेको छ।
‘यो प्रस्तावित बिक्रीले आफ्नो सशस्त्र बललाई आधुनिकीकरण गर्न र विश्वसनीय रक्षात्मक क्षमता कायम राख्न प्राप्तकर्ताको निरन्तर प्रयासलाई समर्थन गरेर अमेरिकी राष्ट्रिय, आर्थिक र सुरक्षा हितहरू पूरा गर्दछ। प्रस्तावित बिक्रीले प्राप्तकर्ताको सुरक्षा सुधार गर्न र यस क्षेत्रमा राजनीतिक स्थिरता, सैन्य सन्तुलन, आर्थिक र प्रगति कायम गर्न मद्दत गर्नेछ’, विज्ञप्तिमा भनिएको छ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरेको छ । स्थानीय तहको चुनावको मिति तोकिएसँगै आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिएको आयोगले जनाएको छ ।
निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।
आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताउनुभयो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दैछन् ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्मको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् ।
जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम– २’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो ।
रुस–युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए ।पाइपलाइनको काम सेप्टेम्बर 2021 मा पूरा भएको भएपनी रुसले ग्यास आपूर्ति पुन: सुरु गर्नु अघि युरोपेली नियामकहरूको स्वीकृति पर्खिरहेको छ।
गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गर्नुभएको हो ।
गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले निगरानी बढाएको बताएको छ ।
प्रवक्ता पोखरेलले गैरकानुनीरूपमा काम गरेका व्यक्ति एवं संस्थामाथि नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली कूटनीतिक नियोगमा जानकारी, सूचना वा उजुरी दिन आग्रहसमेत गर्नुभएको छ । रासस
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो रहेको छ।
आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, भोली बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ ।
शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ ।
उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिनुभयो । हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो । एक वर्षको मृत मृग खाडलमा पुरिएको छ ।
शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जङ्गली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन् । तल्लो क्षेत्रमा झरेको बेला बाक्लो हिउँ पर्दा जङ्गली जनावर चिसोका कारण मर्ने गरेका छन् । लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकको कारण पनि मर्छन् ।
अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शिकार आरक्ष जाने बुर्तिवाङ–ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरूपले अवरुद्ध बनेको छ । यातयात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ । रासस
संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवैतनिक वाणिज्यदूतहरुको सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालका लागि किर्गिस्तानका मानार्थ राजदूत सुलभ अग्रवालले कालोबजारीमा कूटनीतिक सुविधाको गाडी प्रयोग गरेको पाइएपछि सरकारले दुई वर्षअघि उक्त सुविधा खारेज गरेको थियो । तर, परराष्ट्रमन्त्री नारायण खड्काले उक्त निर्णय उल्ट्याएर अवैतनिक वाणिज्यदूतहरुको गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न पाउने अनुमति दिएका थिए ।
समितिको बैठकले यो सुविधा पुनरावलोकन गर्दा कुनै पनि परामर्श नभएको भन्दै अवैतनिक वाणिज्यदूतहरुको गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न नदिन आग्रह गरेको छ । सरकारले यस सम्बन्धमा मापदण्ड बनाएर छिट्टै समितिमा पठाउन पनि निर्देशन दिएको छ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को जारी बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते एकै चरणमा निर्वाचनमा जाने निर्णय सरकारले लिएको बताएका छन्।
यसअघि जेठ ४ गते स्थानीय चुनावका लागि निर्वाचन आयोगले मिति प्रस्ताव गरेको थियो ।
सरकारले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदमा पेस गर्ने तयारीबारे प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएको छ ।
सरकारले एमसीसी सम्झौता पेस गर्न तयार रहेको बताउँदै आवश्यक प्रक्रिया अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको छ । यो खबर पाएलगत्तै सभामुख सापकोटाले सोही अनुसारको तयारी गर्दै, आफू नजिकका केही व्यक्तिसँग परामर्श गरेका थिए । यसअघि आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख सापकोटालाई भेटेर एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने सरकारको निर्णयबारे जानकारी गराएका थिए ।
स्रोतका अनुसार सभामुख सापकोटाले एमसीसी सम्झौता संसदमा पेस गर्ने प्रक्रियामा आफूले अवरोध नगर्ने बताए । तर, संसदमा भइरहेको अवरोधबीच एमसीसीलाई टेबुल गर्नुभन्दा छलफलबाटै निर्णय लिनु राम्रो हुने उनको तर्क छ ।
यसैबीच, एमसीसीको मुख्यालयले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई नेपाल कम्प्याक्ट सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न पत्राचार गरेको थियो ।
साताको पहिलो दिन आइतबार घटेको शेयर बजार आज सोमबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ ।
आज ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज निफ्राको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले र छ्याङ्दी हाइड्रोको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।
कार्यभार समालेको ६ महिनापछि गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।
आज सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्नुभएको हो ।
मन्त्रीको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।
अध्यागमन नीति तर्जुमा गरेर लागू गर्ने मन्त्रालयको योजना छ ।
एमाले सांसद भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर लेखेको पत्रबारे छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेका गर्नुभएको छ ।
नेपालको कूटनीति कमजोर पार्नेगरी देशको उच्च ओहोदामा बसेको व्यक्तीद्वारा जुन आशयको पत्र लेखियो त्यो अत्यन्तै आपत्तिजनक भएको आजको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रावलले बताउनुभएको छ । उहांले भन्नुभयो,”कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र कसरी देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने कुराको यो नमुना हो.”
‘यस्तो तरिकाले कूटनीति चल्छ ?’ रावलको प्रश्न थियो । देउवा र दाहाललाई कस्ता कूटनीतिज्ञले यस्तो सुझाव दिएको हो भन्ने जिज्ञासा राख्दै, प्रतिनिधिसभामा विचाराधीन सम्झौता यस्तो र उस्तो गर्छौं भनेर पत्र लेख्ने अधिकार कुनै नेतामा नभएको उहांले बताउनुभएको छ ।
‘प्रतिनिधिसभामा दर्ता गरिएको सम्झौता यस्तो र उस्तो गर्छौं भन्ने अधिकार उहाँहरूसँग हुन्छ ? आफ्नो देशका जनताका कुरा नसुन्ने तर अर्कोलाई यस्तो पत्र लेख्ने ? यसमाथि छानबिन भएर कारबाही हुनुपर्छ, नेता रावलले भन्नुभयो ।
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।
महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो ।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो । संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना सङ्क्रमित भएका छन् ।
सोही अवधिमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ९९ हजार ५४ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ । त्यसैले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ११ लाख आठ हजार ९३८ रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुका अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै ८९५ जनाको मृत्यु भएको छ ।
चितवनमा पहिलो दिन १६ हजार २२८ विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । चितवनका पालिकाहरुमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आइतबारदेखि खोप लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले २७ गतेसम्म विद्यार्थीलाई खोप दिने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालयमै खोप केन्द्र राखेर विद्यार्थीलाई खोप दिने कार्यक्रम चलिरहेको छ । खोप लगाउने उमेर समूहका २०० विद्यार्थी भएका प्रत्येक विद्यालयमा खोप केन्द्र राखिएको छ ।
चितवनका ४ पालिकामा आइतबार खोप लगाइएको थियो । खैरहनी नगरपालिकाले यसअघि नै खोप लगाइसकेको छ । आइतबार भरतपुर महानगरपालिकामा ११ हजार १५७ विद्यार्थीले खोप लगाएका छन् । माडीमा १ हजार ६३२, रत्ननगरमा २ हजार ५१६ र कालिकामा ९२३ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले आइतबार महानगरका ३२ विद्यालयमा खोप केन्द्र बनाएर विद्यार्थीलाई खोप लगाइएको र आज सोमबार पनि त्यतिकै हाराहारीमा खोप केन्द्र बनाइएको बताउनुभयो ।
बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत क्यानाडाले पहिलो स्वर्ण हात पारेको छ । क्यानाडाले सोमबार पुरुषको स्नोवोर्ड स्लोपस्टाइल अन्तर्गत स्वर्ण जितेको हो ।
म्याक्स प्यारोटले क्यानाडालाई स्वर्ण दिएका हुन् । दक्षिण कोरियामा चार वर्ष अघि भएको ओलम्पिकमा रजत पदक जितेका प्यारोटले भने क्यानाडालाई स्वर्ण दिलाउन सफल भए ।
चीनका १९ वर्षीय सु यिमिङले रजत हात पारे । क्यानाडाकै मार्क माईकमोरिसले कास्य जिते । यससँगै क्यानाडाले एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको छ ।
कोरोना माहामारीका कारण दोस्रोपटक बन्द गरिएका सिनेमा हल फागुन १ गतेदेखि खुल्ने भएका छन्।
सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको हो। कोभिड (१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको हो।
कारोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हल बन्द गराएको थियो।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।
अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डेसहित केही घाइते भएका छन् ।
विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान ७ बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ ।
पुरानो बुकिङ भएकाहरुलाई बिहान ७ बजेदेखि १० बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ ।
यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान ७ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो ।
नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको विभागका सूचना अधिकारी शरदराज अरनले जानकारी दिनुभयो ।
यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।यस्तैस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।
बेलायतबाट थप ८ लाख ६२ हजार ८० डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार सोमबार बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो।
कोभ्याक्स सुविधामार्फत खोप नेपाल आइपुगेको खोपलाई हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिनुभएको छ । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित हुनुभएको थियो ।
त्यसपछि सभापति देउवाले उहाँलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।
सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ।
विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ ।
ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताएका छन् ।
कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्टि राख्दै ट्रक चालकहरुले केही दिनयता लगातार त्यहाँ प्रदर्शन गरिरहेका छन् ।
लगातारको प्रदर्शनले नागरिकको शान्ति सुरक्षामा खलल पुगेको भन्दै आपत्काल घोषणा गरिएको हो । आपत्कालको समयमा प्रदर्शन गर्न रोक लगाइएको छ ।
अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना विरुद्धको खोप अनिवार्य गरिएपछि चालकहरुले विरोध प्रदर्शन गरेका हुन् ।
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।
पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।
अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।
पाकिस्तानले आतंकवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ । साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो संख्यामा आतंककारीहरु पनि मारिएको बताइएको छ ।
रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ ।
युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदै हुनुहुन्छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । यूएई जाने मिति र समय भने खुलाइएको छैन ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि ९यूएई० का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए ।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।
सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुल्ने छन् । सरकारी सेवा नियमित अवस्थामा फर्किएको छ ।
आजदेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ ।
यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् ।
दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् । भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ ।
आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो ।
आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
सेतक चिनी नामको जडिबुटी टिप्न करीब दुई साताअघि हिंडेका जुम्लाका ३४ जना हिउंमा फसेको खबर पाएपछी उनिहरुको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण रित्तै फर्किएको छ ।
उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टर बाक्लो हिमपातका कारण अवतरण गर्न नसकेर फर्किएको हो । अवतरण गर्ने ठाउँ नभएपछि उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टरले खानेकुरा खसालेर फर्किएको हो । हिउँमा फसेकाहरू अस्थायी टहरा बनाएर बसेका र उनिहरु सकुशल रहेको उद्धार टोलिले बताएको छ । अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको जानकारी प्राप्त भएको छ । तत्काल फर्किन असम्भव रहेको तर हिमपात रोकिएपछी पनि फर्किन सकेनन् भने उनिहरुको उद्धारको लागि आवश्यक तयारी गरिने बताइएको छ ।
सेतक चिनी संकलन गर्न गएका मध्य फर्किने क्रममा भारी हिमपातका कारण अत्यधिक चिसोले २ जनाको भने मृत्यु भएको छ । तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले संसद सुचारु गर्न आफ्नो शर्तहरु अघी सारेको छ ।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले संसद सुचारु गर्नको लागि सभामुख अग्नी सापकोटाले राजिनामा दिनुपर्ने शर्त राख्नुभएको छ । दल विभाजनमा सहयोग गरेको आक्षेप लगाउंदै, सभामुखले गल्ती स्वीकारेर राजिनामा नदिएसम्म संसद नखोल्ने अडान अधक्ष ओलीले दोहोर्याउनु भएको छ । त्यस्तै गरी एमालेले कारबाही गरेका १४ जना गैर सांसदमाथि कारबाहीको सुचना जारी गरिनुपर्ने अन्यथा दलले कारबाही गरेका नेपालसहितका १४ जना गैर सांसदहरु संसदमा उपस्थित हुंदासम्म संसद सुचारु गर्न नदिने पनि ओलीको अडान रहेको छ । त्यसो त गठबन्धन तोडेर सभामुखलाई कारबाही गरे एमालेले एमसीसी अनुमोदन गर्न पनि सहयोग गर्ने बताउंदै आएको छ ।
त्यसै गरी,अबको मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिती घोषणा गरेर जेठ ५ गतेभित्रै निर्वाचन गर्नुपर्ने एमालेको माग रहेको छ । साथै गठबन्धन भित्रै विवाद देखिएको भन्दै, अमेरिकी परियोजना एमसीसीमा पहिले सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने अनी मात्र नेकपा एमालेले आफ्नो धारणा अघी सार्ने अध्यक्ष ओलीले बताउनुभएको छ ।
गौर अभिव्यक्ति प्रती मन्त्री रेणु यादवलाई र २४ लाख कोरोनाविरुद्धको खोपमा अनियमितता आरोप लागेका स्वास्थ्य मन्त्री विरोध खतिवडालाई कारबाही गर्नुपर्ने माग पनि एमालेले अघी सारेको छ । वर्तमान सरकारले चालु आर्थिक बर्षको ६ महिना बितिसक्दा पनि १५ प्रतिशत पनि विकास खर्च गर्न नसकेको कारण मुलुकमा वित्तिय संकट सुरुभएको बताउंदै यसतर्फ सरकार गम्भिर भएर अघी बढ्नुपर्ने पनि अध्यक्ष ओलिले बताउनुभएको छ ।
उपत्यकामा जारी यातायातको जोरबिजोर प्रणाली आजबाट हट्ने भएको छ ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आजदेखी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले काठमाडौं उपत्यकामा निजी सवारी र ट्याक्सीमा रहेको जोर बिजोर प्रणाली हटाउन जिल्ला प्रशासन कार्यालयहरूलाई सिफारिस गरेको हो ।
साथै सिसिएमसीले १ फागुनदेखि विद्यालय, सिनेमा घर र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई पनि सिफारिस गरेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।
सेयर बजार परिसूचक नेप्से आज एकैदिन ४० अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा ४०.५७ अङ्कको पहिरो गएको छ । सूचक २८३६.१७ अङ्कमा झर्दा सबै उपसमूहका सूचक ऋणात्मक छन् ।
एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा कारोबार भएको छ । जीवन बीमा उपसूचक ३.५७ प्रतिशतले घटेको छ ।
आज नेपाल हाइड्रो डेभलपर लिमिटेड (एनएचडीएल)को सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्नेबारे विवाद चुलिँदा नेपालको पुँजीबजारसम्म परेको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुग्नुभएको छ ।
प्रधानमन्त्रीबाट हटेपछि नेकपा एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार जानुभएको हो ।
आजको भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायतका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चितवनको रत्ननगरका बिकर्ण कुमार श्रेष्ठले विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर विश्व किर्तिमान राख्न सफल हुनुभएको छ ।
आइतबार स्कोलाष्टिक फाउडेशन नेपालले भरतपुरमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि श्रेष्ठले विश्व किर्तिमान राख्न सफल भएको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले किर्तिमान राख्दै देशलाई विश्व सामु चिनाउन सकेकोमा खुशी लागेको बताउँदै दृढ इच्छाशक्ति तथा आध्यात्मिक बलले नै आफू सफल बनेको बताउनुभयो ।पानीमा तैरिनु मात्रै नभइ हरेक क्षेत्रमा मिहिनेत र इच्छाशक्ति हुने हो भने सफलता प्राप्त हुने उहाँको भनाइ छ ।

२०७८ साउन १८ गते स्कोलाष्टिक फाउडेशन नेपालको आयोजनामा धुलिखेलमा आयोजित द स्कोलाष्टिक टल्क २०२१ (शिक्षा सम्बन्धी)कार्यक्रममा पानीको सतहमा १ घण्टा ३० मिनेट लगातार तैरिएर वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गर्नुभएको हो ।
उहाँलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरिसक्नुभएको छ । कार्यक्रममा बोल्दै यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।

विश्व किर्तिमान राख्न सफल चितवनका श्रेष्ठ अटो पाट्र्स व्यवसायी, बिजुली प्राविधिक प्रशिक्षक, लायन्स क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष, रत्ननगर जेसिजका पूर्व महासचिव, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य समेत रहनुभएको छ । यस्तै, उहाँले अहिले सम्म ८३ पटक रक्तदान गरिसक्नु भएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताउनुभयो ।
संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि केहीलाई प्रहरीले नियन्त्रण लिएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आरोप लगाउनुभएको छ ।
नेता ज्ञवालीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई गिजोलेको बताउनु भएको हो ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा यो सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला यो बढ्ता विवादास्पद बनाइएको बताउनु्भयो ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे तीन नेताबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएको हो । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाँको स्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको बताउनुभयो ।
स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् । उनीहरु सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका हुन् ।
शाहीका अनुसार उहाँकी बुहारी जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताउनुभयो ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जोहो गरिएको तर हेलिकोप्टरबिना खाद्य सामगी त्यहाँ पु¥याउन असम्भव भएको बताउनुभयो । रासस
सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुनः तोकता गरेको छ ।
मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पतिविवरण बुझाउन ताकेता गरेको हो ।
०७८ र ०७९ को सम्पतिविवरण पटकपटक मौखिक र लिखित रुपमा बुझाउन अनुरोध गर्दा समेत प्राप्त नभएकाले राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा प्रतिवेदन पठाउन वाधा परेकाले अनिवार्य रुपमा मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने इमेलमा पठाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ ।
कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताउनुभयो । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक शाहीले विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति तीन हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख गर्नुभयो ।
सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले जनाएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२ चालक सुर्खेत भित्र्याएको छ ।
बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ऋणको जालू मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ।
शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।
सिन्ह्वाका अनुसार मन्त्रीले ूऋण जाल चिन्ताू भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्नको लागि गरिएको स्पष्ट प्रयास हो भनेका छन्।
ऋण(जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बङ्गलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशत भन्दा बढी छ। मोमेनले भने कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ ।
बङ्गलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन ।
हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।
जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुनसञ्चालनमा आएका छन् । रासस
मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु¥याएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका बताउनुभयो ।
स्थानीय तहहरूबाट विवरण आउन ढिलाइ भएको र विवरण सङ्कलन भएसँगै राहत वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो । वर्षाका कारण भएको क्षतिको विवरणका आधारमा किसानलाई राहतस्वरुप खातामै रकम पठाइने उहाँको भनाइ छ । पीडित किसानलाई राहत दिने प्रदेश सरकारले घोषणा गरेको थियो ।
यसैबीच प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवका संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय समितिको सदस्यमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मालाई चयन गरिएको छ ।
समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको अर्थमन्त्री साहले जानकारी दिनुभयो । रासस
प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा आज निधन भएको छ ।
लामो समय देखी उपचारको क्रममा रहेकी मंगेशकरको आज ब्रीच कैंडी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । क्रममा कोरोना संक्रमण पुष्टी भएपछी उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था झन बिग्रंदै गएपछी उनलाई वेंटिलेटरमा राखेर उपचार गरिएको भएपनी २ दिन देखी उनलाई वेंटिलेटर बाट निकालेर सामान्य निमोनियाको उपचार गरिंदै आएको थियो र आज अचानक स्वास्थ्यमा थप समस्या देखिएपछी उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
अमेरिकी अन्तर्रा्ष्ट्रिय विकास नियोग (एमसीसी) ले नेपालसँगको सम्झौतामा संशोधन हुन नसक्ने बताएको छ । सत्तारुढ गठबन्धनले सम्झौतालाई संसदबाट अनुमोदन गर्नुअघि परिमार्जन गर्ने विकल्पमा बहस गरिरहेको बेला एमसीसीको हेडक्वार्टर डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसनकी उपाध्यक्ष फातिमा सुमारले नेपाललाई सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान आग्रह गरेकी छन् ।
“म एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताको रूपमा मान्यता दिने निर्णय संसद र नेपालको कानून मन्त्रालयबाट पारित हुनुपर्छ भन्ने स्मरण गराउन चाहन्छु। नेपाल सरकारले सबै प्रावधानमा सहमति जुटाएर चार वर्षअघि २०७४ सेप्टेम्बर १४ मा सम्झौता गरेको थियो । अहिले कुनै पनि बुँदा परिमार्जन गर्न सम्भव छैन,’ उनले भनिन्।
एमसीसी सम्झौता फेब्रुअरी २८ गते अनुमोदन गरिसक्नुपर्ने अमेरिकी शर्तबारे चर्चा गर्दै सुमारले प्रधानमन्त्री देउवा र एकीकृत नेकपा (माओवादी) केन्द्रीय समितिका अध्यक्ष पुष्पकमल दाहालले समयसीमा तोकेको बताए । ‘प्रधानमन्त्री (देउवा) र अध्यक्ष (प्रचण्ड)ले सेप्टेम्बर २९ गतेको पत्रमा पाँच महिनाभित्र सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन्, हामी त्यही दिनभित्र सहमति अनुमोदन भएको हेर्न चाहन्छौं,’ उनले भनिन् ।
उनले तोकिएको मितिभित्र नेपालको संसदबाट अनुमोदन नभए सम्झौताको भविष्यबारे निर्णय गर्ने अधिकार एमसीसी बोर्डलाई हुने पनि बताइन् । उनका अनुसार आगामी मार्च २२ मा बस्ने बोर्ड बैठकले यस विषयमा निर्णय गर्नेछ । नेपालले अनुमोदन नगरे खारेज गर्ने अधिकार एमसीसी बोर्डलाई छ । बोर्डको यो निर्णयले नेपाल र एमसीसीबीचको सहकार्य समाप्त हुनेछ,’ सुमारले भनिन ।
एमसीसी र नेपाल सरकारबीच २०७४ साल भदौ २९ गते ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५० करोड अमेरिकी डलर अनुदान दिने सम्झौता भएको थियो । देउवा नेतृत्वको सरकारले सम्झौता गरेको डेढ वर्षपछि केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ माघ २५ गते सहमतिका लागि संसदमा पेस गर्ने निर्णय गरेको थियो । दलहरूले अनुदान सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिजस्तै संसदबाट पारित गरी प्रचलित कानुनभन्दा बाहिर जान खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेपछी विवाद सुरुभएको हो ।
विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ ।
वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वतीका मन्दिरहरुमा पूजा गर्ने गरिन्छ ।सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन रहेको छ ।सरस्वतीको पूजा गर्नाले ज्ञान प्राप्त हुन्छ भन्ने पनि विश्वास रही आएको छ ।
आजै हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि तय भएको छ ।
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ।
आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
मधेस प्रदेशले किसानका समस्या पहिचान गरी समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश श्राफ सदस्य छन् ।
समितिलाई मल, सिँचाइ, बीउ, डुबान, बीमालगायतका समस्या पहिचान गरी थप रणनीति बनाउने, मधेस प्रदेशको भूउपयोग नीति तर्जुमा गर्ने र कृषि सुधारका लागि भएका गतिविधिको समीक्षा गर्ने जिम्मेवारी दिइएको छ । मधेस प्रदेशका प्रवक्ता शैलेन्द्र साहले जानकारी दिए ।
समितिलाई १५ दिनभित्र अन्तरिम प्रतिवेदन र एक महिनाभित्र पूर्ण प्रतिवेदन बुझाउन निर्देशन जारी गरिएको छ ।
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएपछि बन्द विद्यालय पुनः खोल्न गृहकार्य सुरु भएको छ ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले शुक्रबार विद्यालयसँगै विभिन्न सेवा क्षेत्र सञ्चालन र सहजीकरणका विषयमा शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालासँगको छलफलमा यो विषयलाई अगाडि बढाएको हो । प्राप्त सुझावका आधारमा राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा आगामी आइतबार सीसीएमसीको बैठक बसेर थप सुझाव दिने बताइएको छ ।
बैठकमा सीसीएमसीका प्रमुख तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया सहभागी थिए । दीपक शर्मा, सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रममा राष्ट्रिय प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार फाल्गुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सीसीएमसी र सरकारलाई ठोस निर्णय गर्न सुझाव दिइएको छ ।
काठमाडौंसहित विभिन्न जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय तथा अन्य सेवा बन्द गर्न निर्देशन दिए पनि गोकर्णेश्वर लगायत नगरपालिकामा भने विद्यालय खुल्न थालेका छन् ।
नेपाली समय अनुसार शुक्रबार साँझ बेइजिङ ओलम्पिकको भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार स्थानीय समय अनुसार राति ८ बजे २४औँ शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन गर्नुभएको छ।चीनले शुक्रबार साँझ सुरु भएको शीतकालीन ओलम्पिकलाई पनि आफ्नो वैभव देखाउने माध्यमको रूपमा प्रयोग गरेको छ।शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले विश्व प्रसिद्ध बर्ड्स नेस्टको रंगशालामा भइरहेको छ ।

ओलम्पिकको उद्घाटन समारोहमा विश्वका ९७ देशको उपस्थिति रहेको छ । उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि उपस्ठिती रहेको छ ।अमेरिका र भारतसँगको राजनीतिक तनावका बीच चीनले शीतकालीन ओलम्पिकलाई भव्य बनाउन हरसम्भव प्रयास गरेको छ ।

भारत र अमेरिकाले चीनले शीतकालीन ओलम्पिकमा राजनीतिकरण गरेको आरोप लगाएका छन् । त्यसैले ओलम्पिकको उद्घाटन र समापन समारोहमा भारतीय प्रतिनिधिको उपस्ठिती छैन ।

यसपटकको शीतकालीन ओलम्पिकमा नेपालका कुनै पनि खेलाडी सहभागी भएका छैनन् ।



मधेस प्रदेशमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकामा रुख ढलेर तीन जनाको मृत्यु भएको छ ।
हावाहुरीले धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रुख ढलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चण्डेश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
हावाहुरीका कारण विद्यालय परिसरमा रुख ढलेर दुवैको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गएरातिदेखि परेको हावाहुरी र अविरल वर्षाका कारण रौतहटमा आफ्नै घरमा च्यापीएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका–१ अजगबी निवासी राममंगल राय यादवकी ४५ वर्षीया श्रीमती फुलमति या देवी रहेकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनको उपचारका लागि मौलापुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
सीके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले मौसम प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।
पार्टीका महासचिव चन्दन सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ २० गते रातीबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूलहुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिकारनगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ । त्यस अन्तर्गत किसानसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हुन अनुरोध छ ।’
मौसममा सुधार भएपछि २०७८ फागुन १ देखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।
आज बिहान पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई प्रहरीले सार्वजनिक गरेको हो ।
कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एसियाली मुलुक चीनको बेइजिङमा २४ औं शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु हुँदैछ ।
कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।
९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ आज आज विश्व क्यान्सर दिवस मनाइँदै छ ।
क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन ।
नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताएको छ । बर्सेनि १९ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।
वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका बिरामी बढ्दै गएका चिकित्सकको भनाइ छ। धूम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था म्यान पावर कम्पनीको वर्गीकरण गर्ने भएको छ ।
मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘म्यान पावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हो।
वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
सो कार्यदलले ‘म्यानपावर कम्पनी’ लाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्नेछ ।
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान निम्नानुसार राहेको छ ।
२०७८ माघ २१ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ २२ गते (शनिबार)
दिउँसो : देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ माघ २३ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा कृष्णबहादुर कार्कीलाई नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय गरेको बताइएको छ ।
छनोट समितिले यसअघि तीन जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । ११ आवेदकहरुमध्ये छनौट समितिले कृष्णबहादुर कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा राखेको थियो ।
नेप्से विगत लामो समय देखी प्रमुख विहिन बन्दा पाईपलाईनमा रहेका झन्डै दुई दर्जन भन्दा बढी कम्पनीको आइपीओ जारी हुन सकेको छैन । नेप्से प्रमुखको नियुक्ती संगै ति सबै समस्या समाधान गर्न सहज हुने भएको छ ।
सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् ।
ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए । किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ ।
प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।
झन्डै एक करोड बराबरको सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।
प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट तीन जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका(१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरी नगरपालिका(७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(३का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्।
दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा बरामद गरेको थियो। त्यस्तै ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको कार्यालयले जनाएको छ।
परियार पनि दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका थिए। उनीबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ।
यस्तै शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७।५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको थियो।
कार्यालयका अनुसार जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको सुन बरामद गरेको हो।
साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १४.६० अंकले घटेर २८७६.७४ मा झरेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स समेत ३.२५ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।
१५,७८०,७१३ कित्ता शेयर किनबेच हुंदा आज ८,६१२,१७४,१६२ रकम बराबरको कारोबार भएको छ ।
प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयमा लोसपाको भूमिका महत्वपूर्ण हुने भन्दै सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको बताइएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले, सभामुख सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प समेत खोज्न सकिने र त्यसका लागि पनि लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको तर पहिला सरकारले एउटा ठोस निर्णय गरेर आए मात्र आफ्नो भूमिका प्रष्ट हुने बताउनुभएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धक रहेको उक्त आईपीओको लागि आवेदन दिने अन्तिम मिती २५ माघ सम्म रहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव ल्याएमा आफुहरुले एमसीसी अनुमोदन गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै एमाले सचिव रायमाझीले विधिसम्मत तरिकाले नचलेको भन्दै कांग्रेसले सभामुख सापकोटालाई हटाउन महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धनले एमसीसीको बारेमा आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रष्ट पार्ने तर एमसीसी पास गर्न पनि सभामुख अवरोध हुने भन्दै सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव ल्याएमा आफुहरुले एमसीसी अनुमोदन गर्न सहयोग गर्ने पनि रायमाझीले बताउनुभएको छ ।
सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ ।
सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ । सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् ।
गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने जानकारी दिनुभयो ।
बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो । मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका बताउनुभयो ।
तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि अझै समय लाग्ने भएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।
सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।
कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।
पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ । आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।
प्राप्त आवेदनमध्येबाट उत्कृष्ठ उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सुदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।
यसप्रकारका सम्मानबाट उनीहरुलाई आयमुलक तथा रोजगारमुलक कार्यमा लाग्न थप प्रेरणा मिल्ने मन्त्रालयको विश्वास छ । प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने छ ।
छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिश समितिको गठन गरिएको छ ।
सातै प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले रु एक लाख ५० हजारसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले रु ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् । रासस
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ महामारीको नयाँ लहरका कारण यसअघि स्थगित भएका सबै परीक्षा फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय (ओसीई)ले बुधबार त्रिवि अन्तर्गतका विभिन्न आठ वटा शैक्षिक कार्यक्रमको परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । त्रिविद्वारा प्रकाशित सूचना अनुसार बिएस्सी र बीएड चौथो वर्षको वार्षिक परीक्षा फागुन १ गतेबाट हुने भएको छ ।
त्यस्तै एलएलबी प्रथम वर्षको वार्षिक र सेमेस्टर परीक्षा र एलएलबी तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने सूचनामा उल्लेख छ ।
त्यसैगरी त्रिविले तीन वर्षे बीएड तथा मानविकी तथा सामाजिक शास्त्र संकायको तेस्रो वर्षको परीक्षा र व्यवस्थापन विभाग, मानविकी तथा सामाजिक विज्ञान विभाग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चार वर्षे कार्यक्रमको प्रथम वर्षको परीक्षा तालिका फागुन २ गतेदेखि तय गरेको छ ।
ललितकला संकायको चौथो वर्षको परीक्षा फागुन ९ गतेबाट र तीन वर्षे बीएड तेस्रो वर्षको परीक्षा र व्यवस्थापन विभाग, मानविकी तथा सामाजिक विज्ञान विभाग अन्तर्गतका चार वर्षे कार्यक्रमको प्रथम वर्षको परीक्षा फागुन १३ गतेदेखि सञ्चालन हुँदैछ ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्रिविले यसअघि माघ १० गतेपछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएका कारण स्थगित भएका सबै परीक्षा फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ ।
कैलाली जिल्लाको नेपाल–भारत सीमामा स्थापित नौ वटा सीमास्तम्भ खोलाले बगाएको छ ।
कर्णाली र मोहना नदीले दुई मुख्य र सात वटा साना सीमास्तम्भ बगाएको छ । सशस्त्र प्रहरी बल कैलालीका प्रहरी नायब उपरीक्षक धनबहादुर सिंहले यस वर्ष सशस्त्र प्रहरी बलले हेरचाह गर्दै आएका २८३ सीमा स्तम्भमध्ये नौ वटा बगाएको जानकारी दिनुभएको छ ।
२८३ सीमास्तम्भमध्ये १८४ स्तम्भ सुरक्षित अवस्थामा, २० वटा मर्मत गर्नुपर्ने, तीन वटा पुनर्निर्माणको आवश्यकता रहेका र ३२ वटा बेपत्ता र ३५ वटा पानीमा डुबेको पनि उहांले जानकारी दिनुभएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले नेपाल–भारत सीमानामा रहेका पिलर बगाएर बेपत्ता भएका र पुनःनिर्माण र मर्मत गर्नुपर्ने काम संयुक्त संयन्त्रको निर्णयअनुसार गरिने बताउनुभएको छ ।
कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमानामा सशस्त्र प्रहरी बलका १८ वटा सीमा चौकीले सीमा सुरक्षाका साथै सीमास्तम्भको निरीक्षण, अनुगमन र सुरक्षा प्रदान गर्दै आएका छन् ।
कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ुभाषण, मन्तव्य तथा वक्तव्य विज्ञुमा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।
यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो । रासस
केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी जेठमा प्रस्ताव गरिएको चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे प्रारम्भिक छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा अहिलेको अवस्थामा सीके राउतले किसानको नाममा तराई क्षेत्रमा जारी राखेको आन्दोलन, एमसीसीको विरोधमा विप्लवसहित विभिन्न पक्षले जारी राखेको आन्दोलन सुरक्षा चुनौतीको रुपमा रहेको ठहर गरिएको छ।
यस्तै विद्यार्थीको आन्दोलनबाट उत्पन्न भएको सुरक्षा चुनौतिका साथै यी समग्र विषयमा प्रभावकारी रुपमा शान्ति सुरक्षा दिने विषयमा छलफल भएको बैठकपछि एक अधिकारीले जानकारी दिनुभयो ।
यस्तै स्थानीय तहको निर्वाचनमा थप जनशक्ति आवश्यक पर्ने भएकाले म्यादी भर्ना गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ ।
बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताउनुभयो । मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।
जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिन प्रति दिन घट्दै गइरहेको छ ।
एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार १०९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । त्यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।
साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् ।कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।
साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
सचिवालयका अनुसार उहाँहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएका छ ।
आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्न मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।
मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल)लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६-७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले रु २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल)लाजिम्पाटले रु १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौँले रु ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौँले रु २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले रु १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।
गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।
स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।
काठमाडौँको साङ्ग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट रु १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।
क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित रु १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिनुभएको छ । रासस
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।
प्रदेश १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । बिहीबार प्रदेश मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आंशिक बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम चार दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस पाँच दशमलव शून्य तथा सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको थियो । रासस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आज विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।
मूल्यवृद्धिसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भीर नभए अखिल क्रान्तिकारी सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले तथा आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु। १० र अन्तर्राष्ट्रिय हवाईइन्धनमा अमेरिकी डलर १०० ले वृद्धि गरेको थियो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
साथै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ ।
परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ ।
परिषद्को अनुसार परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन हुनेछ ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।
यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ ।
मूल्यवृद्धि पश्चात पेट्राेलकाे मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेकाे छ भने डिजेल र मट्टितेलकाे मूल्य १२५ कायम भएकाे छ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर १०० अमेरिकी डलर बढाइएकाे छ।
याे सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फकाे प्रतिकिलाेलिटर १०९५ अमेरिकी डलर कायम गरिएकाे छ।

प्रतिनिधिसभा, अर्थ समितिमा भर्खरै सम्पन्न १२ औँ राष्ट्रिय जनगणनामा सङ्कलन भएको तथ्याङ्कको आधिकारिकतामाथि प्रश्न उठाइएको छ ।
समितिको आजको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनगणना सङ्कलनका लागि लिइएको विधि र सिद्धान्त नै ठीक नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “प्रश्न गुणस्तरीय भए उत्तर पनि गुणस्तरीय आउँछ, अनुसन्धान विधिमा क्वालिटी प्रश्नले क्वालिटीकै उत्तर खोज्छ, प्रश्न कस्तो बनाइन्छ त्यसअनुसारको उत्तरको पूर्वानुमान गर्न सकिन्छ ।”
कृषि उत्पादनमा कर नलाग्ने भएकाले धेरैले आयस्रोत कृषक देखाउने गरेको घटना सुनाउँदै पाण्डेले २० कुखुरा पाल्नेलाई कृषक मान्न सकिन्छ र भनी प्रश्न गर्नुभयो । पछिल्लो जनगणनाले ६८ प्रतिशत कृषिमा आश्रित रहेको देखाएको छ त्यो नै गलत भएको टिप्पणी गर्दै उहाँले १० वर्षयता जमिनको बिक्री खेतीका लागि नभई मुनाफा र घडेरी कारोबारका लागि हुँदैआएको बताउनुभयो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले वर्षमा १० महिना बस्ने स्थानमा होइन दुई महिना बस्ने स्थानमा मतगणना गर्ने पद्धतिमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सरकार र विभागको तथ्याङ्कबीच नै कसरी एकरुपता हुन सकेन भनी जिज्ञासा राख्नुभयो । समितिका सचिव डा सुरेन्द्र अर्यालले संसदीय समिति सदस्यबाटै जनगणनाको विश्वासनीयतामाथि प्रश्न उठाएको अवस्था रहेको बताउनुभयो । रासस
नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा मरिससलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको हो ।
भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पक्की पुल निर्माण हुने भएको छ । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गरी महाकालीमा गाडी गुड्ने पुल निर्माण हुन लागेको हो । पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा नेपाल र भारतबीच आज हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उक्त सम्झौतापत्रमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो ।
पुल सञ्चालनमा आएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार आवागमन सुदृढ हुनाका साथै दुवै देशका सीमा क्षेत्रका समुदायबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास भारत सरकारले गरेको छ ।
नेपाल र भारतबीचको प्रगाढ मैत्रीको सेतुको रुपमा रहने उक्त पुलले वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन र दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने नीतिअनुरुप रहेको तथा पुल निर्माण चाँडै सुरु गरिने यहाँस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रासस
आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि आयोगका पदाधिकारीले जानकारी गराएका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै आयोगले अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो ।
निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च र अन्य सुविधामा २०७४ सालमा भन्दा ३० प्रतिशत बढी खर्च हुने आयोगको अनुमान छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । आज थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।
हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिनका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।
सरकारको माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।
बैठकले हिमाल आरोहण दल ९नेपाली सेना०का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने, शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिनेलगायत निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यसैगरी नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग साहलाई बढीमा चार वर्षका लागि नियुक्ति दिने, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धरलाई नियुक्ति दिने, सरकारको सचिव पदमा सहसचिव रामेश्वर दङ्गाललाई बढुवा गर्ने, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिशमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने, कच्चा दूधको न्यूनतम् मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
स्थानिय तहको निर्वाचनमा नयाँ कोरा जनशक्ति भर्ना नगर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । आयोगले आज धानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा नयाँ कोरा जनशक्ति भर्ना नगर्न सुझाव दिएको छहो ।
सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने भएमा नयाँ कोरा जनशक्तिको साटो सेवा निवृत्त नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल र स्थानीय तहका नगर प्रहरी परिचालन गरी यस्तो जनशक्ति म्यादी रूपमा काममा लगाइ व्यवस्थापन गर्न सकिने आयोगको निष्कर्ष छ ।
अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गर्ने सरकारले निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्य अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।
आगामी जेठ ४ गते २०७९ मा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफरिस गरेको हो । स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भन्दै आयोगले भनेको छ, ‘त्यसअगावै स्थानीय तचहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।’
आयोगले यसअघि एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै आयोगले प्रस्ताव गरेको समयमा चुनाव गर्न चाहेन । फाुगन २०७९ मा तीनै तहको निर्वाचन गर्ने गठबन्धनको तयारी थियो ।
चौतर्फी दबावपछि गठबन्धनमा आवद्ध दलहरु जेठ तेस्रो वा चौथो साता स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रहेको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था संविधानसँग बाझिएकाले संशोधन गर्ने अडानमा छ ।
निर्वाचन आयोगले भने संविधान र ऐन नबाझिएको बताएको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै अर्को निर्वाचन गर्नुपर्छ भन्नु कानुनी त्रुटि नभई स्थानीय तहका पदाधिकारीहरुको अविच्छिन्नता कायम गर्न संविधान र कानुनले निर्देश गरेको उपयुक्त व्यवस्था भएको आयोगले बताएको छ ।
नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो ।
प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् ।
प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ ।
नेकपा एमालेको प्रदेश १ कमिटीका अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ति जारी गरी उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी मन्त्रालय थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको ढुकुटीमा ब्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने गठबन्धन सरकारको निर्णयको तीव्र निन्दा, घोर भर्त्सना र व्यापक विरोध गर्दछौं ।’
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय विभाजन गरी प्रदेशमा मन्त्रालयको संख्या १२ पुर्याउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको प्रहरीले जनाएको छ ।
नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार नाइजेरियाको विशेष गरी जामफारा राज्यबाट अधिकांश अपहरित व्यक्तिहरु मुक्त भएका हुन् ।
खोजीका क्रममा उनीहरुलाई गएको बुधबारदेखि आइतबारसम्ममा मुक्त गराइएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।
नाइजेरियामा त्यहाँका बोको हराम आतंककारीहरुले धेरैजसो विद्याथी र शिक्षक तथा कहिलेकाहीँ सर्वसाधारण नागरिकलाई अपहरण गरी बेपत्ता बनाउने गरेका छन् ।
स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले ‘आलटाल’ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘जनदबाब र संघर्ष’ को रणनीति अघि सार्ने भएको छ ।
माघ १९ गते बुधबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताउनुभयो ।
नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक यही हप्ताभित्र बस्ने तयारी गरेको छ ।
पार्टीको भ्रातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ताभित्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइरहेको नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङलेजानकारी दिनुभयो ।
उनले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्न पार्टीका महामन्त्रीहरूले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहेको जानकारी समेत दिए ।
उपसभापति गुरुङले पार्टीका तत्कालीन केन्द्रिय सदस्य एनपी साउद नेतृत्वको टोलीले भ्रातृ संस्थाहरुको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि गहन छलफल गरेर सबै भातृ संस्थाहरुलाई गतिशील बनाउने गरी त्यसका महाधिवेशन लगायतका कामहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नुभएको हो ।
रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको छ। यो निर्णयलाई राष्ट्रिय मानव अधिकार आयोगले समेत मानव अधिकार उपभोगमा असर गर्ने काम भनेको स्पष्ट गरिएको छ ।
सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार ९भोलि० सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको छ ।
सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनअनुसार वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेका कारण उनको कसुर पुष्टि भएको घटनालाई नैतिक प्रश्नका रुपमा लिइएको छ ।
उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न उठाइएको छ ।
यसका साथै २०७४ सालमा सुनको अवैध ओसारपसारमा कारवाही भोगेको घटना लुकाएर बोर्डलाई गुमराहमा राखेको समेत देखिएको छ । यसलाई उनको नैतिक प्रश्नसँग जोडेर प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नम्वर १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् ।
कावासोती नगरपालिका वडा नम्वर १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
\उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ । नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको छ ।
जन्मदेखि २८ दिनसम्मको शिशुलाई नवजात शिशु भनिन्छ । अन्य उमेर समुहको तुलनामा यस उमेर समुहमा मृत्युदर उच्च रहेकाले नवजात शिशु स्वास्थ्यको दुष्टिकोणले अत्यन्त जोखिमयुक्त समय मान्न सकिन्छ । नवजात शिशुको स्वास्थ्यमा धेरै कुराहरुले असर गर्छ जसमध्ये मौसम परिवर्तन पनि एक हो ।
चिसो मौसममा नवजात शिशुको तापक्रम कमि भई शिशुको मृत्युसम्म हुन सक्ने लगायत अन्य थुप्रै असरहरु देखिन सक्छ । साथै चिसो मौसममा बन्द कोठामा गुम्सिएर धेरै जना बस्ने र चिसोको कारणले बारम्बार हात धुने काममा पनी कमी आउने हुनाले कोभिड लगायत अन्य श्वासप्रश्वास सम्बन्धी सङ्क्रामक रोगहरु पनि बढी देखिन्छ । त्यसको साथै नवजात शिशुलाई आगो बालेर सेक्ने चलन हाम्रो गाउँघरमा चलिआएको छ । यसो गर्दा धुवाले श्वासप्रश्वासको समस्या बढाउने सम्भावना एकातिर छ भने बन्द कोठामा आगो बालेर सुत्दा कार्वनमोनोअक्साइडको विषले मृत्यु समेत हुन सक्छ ।
नवजात शिशुमा तापक्रमको कमी (हाइपोथर्मिया) किन हुन्छ ?
सामान्यतया शिशुको तापक्रम ३६.५ देखि ३७.५ डिग्री सेल्सियस हुन्छ । शिशु जन्मेने बितिकै आवश्यक स्याहार गरिएन भने जन्मेको २० देखि ३० मिनेटमा शिशुको तापक्रम २ देखि ४ डिग्री सेल्सियसले घट्छ । शिशुको तापक्रम यसरी घट्नुमा शिशुको छाला कमलो हुनु,जन्मदा पानीले भिजेर चिसो हुनु,तुलनात्मक रुपमा बढी सर्फेस यरीया (BSA) बढी हुनु तापक्रम उत्पादन गर्ने पद्धतिको राम्ररी विकास नहुनु,शरीरमा बोसोको मात्रा कम हुनु जस्ता कारणहरु हुन ।
तापक्रम कम भएर नवजात शिशुमा देखिने असरहरु :
विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार शिशुको तापक्रम ३६ डिग्रीदेखि ३७.५ डिग्री सेल्सियसलाई सामान्य (माइल्ड हाइपोथर्मिया कोल्ड स्ट्रेस्) ३२ डिग्रीदेखि ३६ डिग्रीलाई मोडरेट र ३२ डिग्री सेल्सियसलाई सिभर हाइपोथेमिया भनिन्छ । शिशुको तापक्रम जति कम भयो र जति लामो समयसम्म कम भयो उति बढी जोखिम हुन्छ । यसरी तापक्रम कम भएमा शिशुको सुगरमा कमी,संक्रमणको जोखिम,श्वासप्रश्वासमा समस्या,फोक्सो र दिमाखमा रगत बग्नुको साथै फोक्सो तथा मुटुमा असर गरी शिशुको मृत्यु सम्म हुनसक्छ ।
हाइपोथर्मिया रोकथामका उपायहरु :
(डा ओम कृष्ण पाठक नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञका रुपमा भरतपुर अस्पतालमा कार्यरत हुनुहुन्छ )
वन परिसर बबरमहलमा, संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको
प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले संघीय वन नियमावलीको मस्यौदा वन अधिकार विरोधी रहेको भन्दै आज बिहान सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले वन परिसर बबरमहलमा प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरिले उनिहरुलाई नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।
तत्कालिन अर्थमन्त्रीको हैसियतमा आफुले गरेको एमसिसी सम्झौता र अहिलेको एमसिसी सम्झौता फरक रहेको ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ ।
अर्थमन्त्रीको हैसियतमा अमेरिका पुगेर आफुले गरेको एमसिसी सम्झौता र अहिलेको एमसीसी सम्झौता एउटै नभएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । सन् २०१७ मा मैले गरिसकेको सम्झौता हुँदाहुँदै फेरी २०१९ मा अर्को सम्झौता किन गरियो र कसको स्वार्थमा गरियो आफुलाई थाहा नभएको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभएको छ । सन् २०१७ सेप्टेम्बर १४ मा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्रीको हैसियतमा मैले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशले गरेको सम्झौतामा एमसीसीलाई संसदमा लगेर अनुमोदन गर्ने कुरै थिएन तर केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २९ सेप्टेम्बर २०१९ मा कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेको र परिमार्जन गरेर संसदबाट पारित गर्ने प्रावधान समावेश गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभएको छ ।
त्यसो त प्रधानमन्त्री ओलीकै पालामा गठित एमसीसी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनमा, नेपालको कानून, हित, स्वाधीनता र सार्वभौम समानता विपरीतका प्रावधानहरु अन्तर्गतको ३१ नम्बर बुंदामा कम्प्याक्ट अर्थात् मूल सम्झौताका कतिपय प्रावधानहरुसंग मेल नखाने वा अझ तिनलाई नेपालको अहितमा हुनेगरी अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष अन्थोनी वेलचरसंग पदीय मर्यादा समेतको हेक्का नराखी सेप्टेम्बर २०१९ मा कार्यान्वयन सम्झौता गर्नुभयो भनी उल्लेख गरिएको छ । त्यसै गरी ३२ नम्बर बुंदामा संसदमा मूल सम्झौता अनुमोदनका लागि पेश भइरहेको समयमा यसरी कार्यान्वयन सम्झौता गर्नु स्वयं गैरजिम्मेवार काम त हुँदै हो,अँझ मूल सम्झौताको अनुसूची १ को बी (एच्) मा संशोधन गर्ने पत्राचार गरी संसदको विशेषाधिकारको हनन समेत गरिएको कुरा पनि उल्लेख गरिएको छ ।
यता नेता झलनाथ खनालले भने ओली प्रधानमन्त्री हुँदा झण्डै ८ सय बढी पृष्ठको एमसीसीको ९ वटा पुरक सम्झौता लुकाइएको दावी गर्नुभएको छ र प्रधानमन्त्री ओलीकै पालामा गठित एमसीसी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनमा पनि पुरक सम्झौता उपलब्ध नगराइएको र तिनको अध्ययन पनि आवश्यक रहेको कुरा उल्लेख गरिएको छ । ओली प्रधानमन्त्री हुँदा झलनाथ खनालको संयोजकत्वमा नेता भिम रावल र प्रदिप ज्ञावली सहितको ३ सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन गरिएको थियो । अहिले प्रधानमन्त्री देउवाले पनि झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्कि सम्मिलित ३ सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन गर्नुभएको छ । अहिले बनेको एमसीसी अध्ययन कार्यदलले ति लुकाइएको भनिएका पुरक सम्झौताको पनि अध्ययन गरेर प्रतिवेदन पेस गर्ने नेता झलनाथ खनालले बताउनु भएको छ ।
जनवरी २०१२ (माघ २०६८) मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहनुभएको बेला पहिलो पटक औपचारिक रुपमा एमसीसीसंग पत्राचार भएको थियो ।
ओली सरकारले एमसीसीको सहायक सम्झौता लुकाएको झलनाथ खनालको आरोप
लिन्क क्लिक गरेर यो पनि पढ्नुहोस् https://nepalrastriyadainik.com/1323/
प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनका नेताहरु र प्रतिपक्ष एमालेसंग शर्तहरुको सम्झौता गर्दै संसद बाट एमसीसी पास गराउन दौडधुप गर्न थालेपछी एमाले नेता भिम रावलले प्रधानमन्त्री, सभामुख , राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुल्ला स्मृति- पत्र लेख्नुभएको छ ।
नेता रावलले एमसीसी देशको हितमा नभएको र नेताहरुले चलाखीपूर्ण ढंगबाट यसलाई अनुमोदन गर्न खोजेको बताउनुभएको छ । नेता रावलले, यो मेरो मात्र नभई चीरकालसम्म नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन, अखण्ड र स्वाभिमानी देशको रुपमा रहोस् भन्ने आकांक्षा राख्ने सम्पूर्ण देशभक्त नेपालीहरुको आवाज हो भन्दै खुल्ला स्मृति- पत्र लेख्नुभएको छ ।











