वार्षिक बजेट कार्यान्वयनमा केन्द्रित हुन विकासमन्त्री सिंहको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 15, 2022
Karnali Sarkar

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको अन्तक्र्रियामा ऊर्जामन्त्री सिंहले कार्यालय प्रमुखहरूलाई पाँच महिनाको समयलाई व्यवस्थित गरी काम गर्न निर्देशन दिनुभएको हो ।

दशवटै जिल्लाका कार्यालय प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनबाट जिल्लाको खानेपानी, सिँचाइलगायत क्षेत्रको चित्र आएको र यसले आगामी दिनका लागि मार्गदर्शन गराएको मन्त्री सिंहले बताउनुभयो ।

आज १० जिल्लाका विद्युत् कार्यालयका प्रमुखहरूसँग विद्युत्का विषयमा छलफल गरी ग्रामीण क्षेत्रको विद्युतीकरणको समस्या समाधानको खाका तयारी गर्ने उहाँले बताउनुभयो ।

कार्यसम्पादनअनुसार काम गरी उत्कृष्टता हासिल कर्मचारीलाई प्रोत्साहित र पुरस्कृत गरिने उहाँले विश्वास दिलाउनुभयो । रु पन्ध्र लाख मुनिका सम्झौता भएर कार्यान्वयन क्रममा गएका योजनाबाहेक अन्य योजना रोक्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले अधिकांश कार्यालयको भौतिक तथा वित्तीय प्रगति अपेक्षित नभएको भन्दै एक वर्षमा गरिने काम पाँच महिना गर्नुपर्ने अवस्था आएकाले कार्यालय प्रमुखहरूलाई युद्धस्तरमा काम गर्न निर्देशन दिनुभयो ।

योजना महाशाखाका इञ्जीनियर प्रमुख प्रेमबहादुर ओलीले योजना तर्जुमा र त्यसले ल्याउने प्रभावकारिता, प्रशासन शाखाका प्रशासकीय अधिकृत लोकप्रसाद पौडेलले कर्मचारी व्यवस्थापनबारे जानकारी दिनुभयो । कार्यक्रममा निर्देशनालयसहित १० जिल्लाका कार्यालय प्रमुखले भौगोलिक विकटता, टुक्रे योजना, राजनीतिक दबाब, स्पष्ट कार्यविधि नहुनु र विशेषगरी जनशक्ति अभावले बजेट कार्यान्वयनमा समस्या भएको औँल्याएका थिए ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका निर्देशक श्रीधर भट्टराई, ऊर्जा विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापा, हुम्लाका अकलबहादुर महत, मुगुका राजीव रिमाल, जुम्लाका अनुप श्रेष्ठ, कालीकोटमा मङ्गल शाही, जाजरकोटका ज्वाला शाही, दैलेखका अशोकराज गौतम, रुकुमपश्चिमका तेजनारायण महतो र सल्यानका पदमराज देवकोटाले आ–आफ्ना जिल्लाको बजेट कार्यान्वयन, आइपरेका समस्या, चुनौती र समाधानसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५