ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,”उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त।”

आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको उनले बताएका छन्।

अख्तियार कसैको दबाब र प्रभावमा चुक्न र झुक्न हुँदैन : राष्ट्रपति

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठुलो वा सानो नभनी काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुक्न र झुक्न नहुने बताएका छन्।

भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्ने र भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या तथा गुनासो आइरहेकोले सो विषयमा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण हुनुपर्ने पनि बताएका छन्।

उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको समेत बताएका छन्।

पोखरा भ्रमण वर्ष-२०२५

पोखरा- चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ ।

पोखरा भ्रमण वर्षको लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ ।

महानगरले भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

भ्रमण वर्ष अवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह समेत गरेको छ । प्याकेजहरु माघ २८ गतेसम्म महानगरमा उपलब्ध गराउन महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्षभरि नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने र विदेशमा समेत पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।

काँग्रेस-एमालेको अधिनायकवादी सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिएको छ: झलनाथ खनाल

विराटनगर – नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस एमालेको अधिनायकवादले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताएका छन् ।

हाल देश राजनीतिक रुपमा संकटग्रस्त बनिरहेको र समग्र अवस्थामा देश कम्जोर बन्दै गइरहेको भन्दै दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ नभई अधोगतितर्फ धकेलिरहेको बताएका छन्।

सरकारको रवैयाले लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने स्थिति देखा परेको र काँग्रेस एमालेको गठबन्धन सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको भन्दै संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा संविधान संसोधनको कुनै औचित्य नरहेको पनि उनले बताएका छन्।

प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैबिच दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गरी पारित गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।  

बन्दुकको बलमा राज्य आतंक सिर्जना गरेर गरिने बिकास, बिकास होइन: रेणु चन्द

काठमाडौँ- राष्ट्रिय सभा सदस्य रेणु चन्दले पाथिभरा केबलकार निर्माण विवाद र त्यसमा भइरहेको सरकारको कामको निन्दा गर्दै,धार्मिक स्थलमा सुरक्षाको नाममा भइरहेको शैनिकीकरण र राज्य आतंक तुरुन्त बन्द गर्नु पर्ने बताएकी छन् ।बन्दुकको बलमा राज्य आतंक सिर्जना गरेर गरिने बिकास, बिकास नहुने भन्दै, धार्मिक इतिहास बोकेको भूगोलमा व्यापारिक दृष्टिकोण राख्नु मुन्धुम र हिन्दु धर्म दुवैको आस्थाको अपमान भएको पनि उनले बताएकी छन्।

मुकुम्लुंग पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्ने कुरा एकातिर आध्यात्मिक, आर्थिक र पर्यावरणको दृष्टिले गलत छ भने अर्कोतिर सवैधानिक, कानुनि र प्रक्रियागत रुपमा पनि उक्त प्रक्रिया गलत रहेको र सरकारले संविधानको धारा ३२ को उपधारा ३ लगायत व्यवस्थाको उल्लङ्घन गरेको उनले बताएकी छन्।

कन्चनजंघा संरक्षण क्षेत्र अन्तरगत रहेको मुकुम्लुंग क्षेत्रलाई तत्कालिन ओली सरकारले २०७५ सालमा संरक्षित क्षेत्र बाट हटाएको र जसको उदेश्य आफु नजिकको व्यापारीलाई केवलकार निर्माण गर्न दिन मात्र भएको हालको घटनाले पुष्टि भएको र एउटा व्यापारीलाई थप धनि बनाएर समाजवाद आउँदैन भन्दै,’यसरी सुखी नेपाली सम्वृद्ध नेपाल होइन, दुखि नेपाली सम्वृद्ध दलाल बन्छ’, भन्ने अभिव्यक्ति दिएकि छन्।

२०७५ साल पुष १६ को मन्त्रिपरिषदले वन ऐन २०४९ को दफा ६८अनुसार पाथिभरा केबलकार दर्शन प्रा लि लाई ४.९७ हेक्टर वन क्षेत्र जग्गा प्रयोग गर्न दिने स्वीकृति दिएको तर सोहि ऐनको दफा ३८ को उपदफा २ अनुसार समुदायको हानि नोक्सानी हुने भए राज्यले उपयुक्त व्यवस्था गर्नु भन्ने कुराको को उल्लङ्घन भएको बताएकी छन्। गठबन्धन सरकारले व्यापारी र विचौलियाको स्वार्थलाई महत्व दिएर बिकासको नाममा समुदायलाई विभाजन गर्ने विज छरेको भन्दै,विचौलियाले निर्धारण गर्ने बिकासको प्राथमिकताले विनाश मात्र निम्त्याउने र यसको बदला राज्यले ठुलो मूल्य चुकाउनुपर्ने उनले बताएकी छन्।

केवलकार कम्पनि संघको सम्झौताको बुँदा नम्बर ३ अनुसार अनुसार सट्टा भर्ना स्वरुप जग्गा उपलब्ध गराउने व्यवस्था को कार्यान्वयन भयो कि भएन भनेर उनले सरकारलाई प्रश्न समेत गरेकी छन्।

त्यसैगरी सम्झौताको बुँदा नम्बर १४ अनुसार सम्झौता भएको २ वर्ष भित्रमा निर्माण सुरु नभए जग्गा प्रयोग अनुमति स्वतः समाप्त हुन्छ भनिएको र वन क्षेत्र प्रयोग सम्बन्धि कार्याविधि २०७४ को दफा १३ को उपदफा २ अनुसार नभएको भन्दै , शर्त उल्लङ्घन हुँदा पनि सम्झौता खारेज नगरी निर्माण प्रक्रिया अगाडी बढाइनु को कारण के हो सरकारले जवाफ दिनुपर्ने भन्दै, मिन दरबार र ढकाल कार बनाउनु भन्दा जनताको जीवनस्तर उकास्नेगरि सरकारले काम गर्नुपर्ने उनले बताएकी छन्।

आदिवासी जनजातिहरुको अधिकारसम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार पनि ति समुदायलाई असर गर्ने कुनै पनि परियोजना निर्माण अघी उनीहरुको सहमति अनिवार्य रहेको तर, केवल कार निर्माण अगाडी पाथिभरा बिकास समिति लगायत अन्य निकाय संग हुनुपर्ने सहमति पनि नभएको भन्दै बिकास जनताको पहुँचमा हुनुपर्यो बिचौलियाको खल्तीमा होइन भन्ने अभिव्यक्ति दिएकि छन्।

नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- पदको दुरुपयोग गरी करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको दाबी अनुसार, कुल २८ करोड ६५ लाख रुपैंयाको सम्पत्ति जोडेका बस्नेतले १९ करोड ९५ लाख रुपैयाँ मात्रै कानुनी रुपमा कमाएका थिए । अरु बाँकी रकम भ्रष्टाचारबाट आर्जन भएको अख्तियारको दाबी छ ।

यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरुको विवाहको भोजमा गैरकानुन रुपमा खर्च गरेको अख्तियारको दाबी छ ।

उनी नागार्जुन नगरपालिकाको मेयर भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ ।

नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

सरकारद्वारा १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ ।

मन्त्रालयले आइतबार विद्यार्थीलाई दिइएको छात्रवृत्तिको विवरण सार्वजनिक गरेको हो । जसअन्तर्गत आवासीय छात्रवृत्ति १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको छ ।

अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले दिइएको हो ।

गैरआवासीय छात्रवृत्ति १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख दिइएको मन्त्रालयले जनाएको छ । कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको हो ।

दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड दिइएको छ । विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ । कक्षा ११–१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६–१० का लागि वार्षिक ६ हजार दिइएको छ ।

प्राविधिक शिक्षा छात्रवृत्ति दलित, मुस्लिम, सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख दिइएको छ । यसमा मासिक निर्वाह भत्ता तीन हजार पाँच सय, यातायात खर्च वार्षिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक दुई हजार पाँचसय रहेको छ ।

उच्च शिक्षा छात्रवृत्तिमा स्नातक/स्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको छ ।

आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ । चिकित्सा शिक्षा छात्रवृत्ति १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड दिइएको मन्त्रालयले जनाएको छ ।

‘नो केबलकार’ समूह र सरकारी टाेलीबिचको वार्ता निष्कर्षविहीन

ताप्लेजुङ — ‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले सरकारसंग बसेको वार्ता बिनानिष्कर्ष टुंगिएको बताएका छन् । यधपी सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद महराईले विज्ञप्ति जारी गरेर थप जानकारी उपलब्ध गराउने बताएको छ।

आफूहरूको माग केबलकार खारेजी मात्रै रहेको अवस्थामा सरकारी टोलीले वार्तामा पोल कता राख्ने तथा केबलकारको संरचना कसरी बनाउने भन्ने विषय उठाएपछि वार्ता निष्कर्षमा नपुगेको नो केबलकार समूहले बताएको छ।

आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समिति बनाउन प्रस्ताव गर्दै वार्ता सफल नभए आन्दोलनरत समूहले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

निजी मेडिकल कलेजद्वारा आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन अस्वीकार

काठामाडौं – निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ ले अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता नदिने निर्णय गरेको छ।

यसअघी, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी, १४ माघमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षा मन्त्री विद्या भट्टराईले तीनबुँदे निर्णय गर्दै निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने पहिलो बुँदाको निर्णय थियो ।दोस्रो बुँदामा शैक्षिक सत्र २०८१र ०८२ देखि स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिकाअनुसार निर्वाह भत्ता प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकले अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियत गरी सेवा गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको थियो ।

सरकारको उक्त निर्णयमा असहमती जनाउँदै निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने स्रोत सुनिश्चित नभई आठौं तह बराबरको निर्वाह भत्ता सहित स्नातकोत्तर अध्यापन गराउन नसकिने जनाएको छ।

स्नातकोत्तर तहमा अध्ययन गर्ने (पिजी) आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय र मेडिकल काउन्सिल एवं प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सुविधा उपलब्ध गराउने निर्णय गरिएको थियो र उक्त निर्णयपछि आवासीय चिकित्सकले असन्तुष्टि जनाउँदै आन्दोलन सशक्त बनाएपछि सरकारले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता दिने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन्।

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ। यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।

वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे । ‘यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

दोलखामा सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

दोलखा — नेपाली सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । लामो समयदेखि स्थानीयले मेलुङ गाउँपालिका–६ टुडिखेल वरपर अतिक्रमण गरेर बनाएका ३९ वटा घरटहरा हटाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

नेपाली सेनाको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा नेपाली सेनाको गरुड दल, जनपद र सशस्त्र प्रहरीसहितको टोलीले हटाएको हो । सेनाको जग्गामा बनेका घरटहरामा डोजर लगाएर भत्काइएको उनले बताए ।

‘सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन सूचना जारी गरेर अतिक्रमण हटाउने अभियान अर्न्तगत काम थालेका छौं,’ उनले भने, ‘जिल्लाभर सार्वजनिक जग्गा अतिक्रमण भएका क्षेत्रबाट स्थायी र अस्थायी संरचना हटाउन र नबनाउन भनेका छौं ।’

२००७ सालमा दोलखा र रामेछापको सदरमुकाम रहेको मेलुङमा तत्कालीन समयमा सेनाको टुकडी रहेको थियो । २०१८ सालमा दुई जिल्लाको प्रशासनिक ईकाई रहेको मेलुङ सोही वर्ष भएको राजनीतिक विभाजनपछि सदरमुकाम हटेको हो ।

नेपाली सेनाको गरुडदल गणले तालिम सञ्चालन गर्नका लागि आफ्नो जग्गामा भएको अतिक्रमण हटाइदिन प्रशासनलाई आग्रह गरेको थियो । मेलुङमा नेपाली सेनाको नाममा ६९ रोपनी जग्गा हेको छ । अतिक्रमण हटेपछि गरुडदल गणले तालिम सञ्चालन गर्ने जनाएको छ ।

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेस-एमाले गठबन्धन सरकारलाई सञ्चालनमा सुझाव दिन गत कार्त्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्तारुढ हलरूको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।

जनता समाजवादी पार्टी नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय नगर्दा दुवै सदनमा अध्यादेश निणयार्थ पेश हुन सकेको छैन्। अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारुढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रियसभामा बहुमत पुर्‍याउन जसपा नेपालको साथ आवश्यक छ।

यसअघि माघ २४ गते संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेश गर्ने कार्यसूची रहे पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रियसभामा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि अध्यादेश पेश गर्ने कार्यसूचीबाट नै हटाइएको थियो।

देश लुट्न र बिचौलियालाई फाइदा पुर्याउन अध्यादेश ल्याइयो : माधव नेपाल

पोखरा- पोखरामा आयोजीत एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेश अधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले देश लुट्न, बिचौलियालाई फाइदा पुर्याउन र भ्रष्टचारीलाई प्रोत्साहान गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

जनताको लागि अध्यादेश ल्याएको भए संसद अधिवेशन बोलाएर ल्याउनु पर्नेमा किन रातारात ल्यायो र के आवश्यकताले ल्यायो भन्ने प्रश्न गर्दै संसद छलेर ल्याएको ६ अध्यादेशमार्फत ३० वटा कानुन संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको उनले आरोप लगाएका छन् ।

उनले उपस्थित नेता कार्यकत्तालाई निराश नभई चुनौतिको सामना गरेर अघि बढ्न आग्रह गर्दै बजारमा चलेको हल्ला जस्तो एमाले वा माओवादी पार्टीसँग एकता नहुने प्रष्ट पारे । तर विचार मिल्ने पार्टीसँग सहकार्य भने हुनसक्ने उनले बताए ।

अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट चार सय प्रतिनिधि र आयोजक गरेर ५५० जनाको सहभागिता रहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र तीन सहसचिवसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । समितिको कार्यकाल चार वर्षको रहने बरालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्ने

काठमाडौँ- लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बाेधन गर्ने भएका छन्। फागुन ५ गते उनले विशेष सम्बोधन गर्ने प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए। उनका अनुसार फागुन ५ गते दिउँसो १ बजे प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

प्रदेश सभा बैठकमा विशेष सम्बाेधनका लागि प्रधानमन्त्री ओलीलाई सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रदेश सभाको तर्फबाट निमन्त्रणापत्र पठाएका छन्। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेश सभाको बैठकलाई विशेष सम्बाेधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बाेधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि

काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुँदैछ।

माघ २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र महाधिवेशनमा देशभरबाट करीब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने
महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले बताएकी छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने र साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने भन्दै नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ।

संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताएकी छन्।

अध्यादेशमा माओवादीको साथ खोज्दै एमाले

गुल्मी- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले संसदमा अध्यादेश पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको साथ् खोजेको छ।एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेशमा सहयोग माग्न आग्रह गरेका छन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले महासचिव शंकर पोखरेलले अध्यादेशमा सहयोग माग्न फोन गरेको बताएका छन् । माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पोखरेलले फोन गरेको पुनले बताए तर कुराकानीका क्रममा उनले अध्यादेशमा सरकारलाई सहयोग गर्न नसक्ने स्पष्ट पारे। उपमहासचिव पुनले अध्यादेश खारेज हुनेमा एमाले चिन्तित रहेको टिप्पणी गर्दै अध्यादेश मार्फत शासन गर्न अहंकारी भएर आफूलाई बाइपास गरेको एमाले समस्यामा परेपछि सहयोग माग्न थालेको पुनले बताएका छन् । देशको समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिनुपर्ने र विधेयक प्रक्रियागत रूपमा ल्याउनुपर्ने उनले आग्रह गरे।

अध्यादेशहरू बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा निर्णयार्थ पेश गर्नुपर्ने थियो। तर, प्रतिनिधि सभामा बहुमत भए पनि, राष्ट्रिय सभामा अल्पमतमा परेकाले सरकारले अन्तिम समयमा सभामुखलाई कार्यसूचीबाट हटाउन अनुरोध गरेको थियो।

जनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी रुपमा सञ्चालन

जनकपुर- जनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइएको छ । जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका अधिकांश निजी अस्पताल गैरकानुनी सञ्चालन भएको पाइएको हो ।

उपचारमा गम्भीर लापरबाही बढेको गुनासो लगातार आएपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार एकैदिन जनकपुरधामका २० वटा अस्पतालको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा अधिकांश अस्पताल दर्ता बिना नै सञ्चालन भएको तथा दर्ता भएकाहरू पनि मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीले शनिबार जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको अनुगमन गरेका थिए ।

यस्तै, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालिमा पनि मुख्यमन्त्रीले छड्के गरेका थिए ।

अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालि पनि पुगेका थिए ।

कानुन अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिई सञ्चालन भइरहेको अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिंदै, जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएको पाइएपछि मुख्यमन्त्रीले आइतबारसम्ममा आफैंले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अनाधिकृत तवरले खेलिएका तथा स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पूरा गरेको अवस्थामा नदेखिएका अस्पतालका सञ्चालकहरूलाई सबै कागजपत्र लिएर आइतबार सरकारको सम्पर्कमा आउन निर्देशन दिएका छन् ।उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने विधेयक पास हुँदैन- गगन थापा

काठमाडौँ — सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने गरी ल्याएको सामाजिक सञ्जाल विधेयकबारे बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा कांग्रेसको नेतृत्व रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कुनै पनि कानुन पारित नहुने बताएका छन् ।

काठमाडौंमा भएको अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले कांग्रेस रहँदासम्म नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका विषयमा धेरै चिन्ता लिन नपर्ने पनि बताएका हुन् ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी अहिलेको संसदबाट कुनै पनि कानून पारित हुन सक्दैन । कांग्रेस अहिले मुलुकको सबैभन्दा ठूलो दल हो । हामी प्रेस स्वतन्त्रताको कुरामा, लोकतन्त्रको कुरामा, अभिव्यक्ति स्वतन्त्रताको कुरामा, विधिको शासनको पक्षमा स्पष्ट हौँ । यी कुराहरू नेपाली कांग्रेसका आधारभूत मूल्यमान्यताका विषय हुन् । यी विषयबाट कांग्रेस पछि हट्न सक्दैन,’ उनले भने। कांग्रेस रहँदासम्म चाहे त्यो सत्तामा हुँदा होस् वा विपक्षमा हुँदा होस् कुनैपनि अवस्थामा यी विषयहरूको बर्खिलाप हुने गरी कानून बन्न सक्दैन र बन्दैन भन्दै उक्र कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका छन्।

मानव मुटुको हेरचाह कसरी गर्ने ?

मुटु शरीरको एक महत्त्वपूर्ण अंग हो जसले निरन्तर रक्त संचार गरेर शरीरभरि अक्सिजन र पोषण पदार्थ पुर्‍याउँछ। तर,पछिल्लो समय विश्वभरि मुटु रोग मृत्युको एक प्रमुख कारण बन्न पुगेको छ। मुटुको हेरचाह कसरी गर्ने, मुटु रोगका कारणहरू के हुन् र तिनीहरूको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी हुनु आवश्यक छ।

मुटु रोग विभिन्न कारणहरूका कारण विकसित हुन्छन्। अस्वस्थकर भोजन, बढी मात्रामा बोसो, कोलेस्ट्रोल र ट्रान्स फ्याटयुक्त खाना सेवनले मुटुको धमनी बन्द हुन सक्छ। शारीरिक व्यायाम नहुँदा मोटोपन, उच्च रक्तचाप र मधुमेहको जोखिम बढ्न जान्छ धूम्रपान र अत्यधिक मदिरा सेवनले रक्त नलीहरूलाई क्षति पुर्‍याउँछ। उच्च रक्तचापले हृदयमा थप दबाब पुर्‍याउँछ भने मधुमेहले रक्तनली र हृदय नियन्त्रण गर्ने स्नायु प्रणालीलाई असर पार्छ। मोटोपनले हृदयलाई बढी परिश्रम गर्न बाध्य पार्छ। मानसिक तनाव उच्च रक्तचाप निम्त्याउन सक्छ। साथै, परिवारमा मुटु रोगको इतिहास भएमा यसको सम्भावना अझ बढी हुन्छ ।

सामान्य रूपमा पाइने मुटु रोगहरूमा कोरोनरी आर्टरी डिजिज, हृदयाघात, अनियमित हृदयगति (एरिद्मिया), उच्च रक्तचाप, जन्मजात हृदय रोग र कार्डियोमायोपेथी मुख्य छन्। कोरोनरी आर्टरी डिजिज धमनीहरूमा चिप्लो पदार्थ जमेर रक्त प्रवाह अवरुद्ध हुँदा हुन्छ। हृदयाघात रक्त प्रवाह अवरुद्ध हुँदा हृदयमा अक्सिजन नपुगेर हुने अवस्था हो। हार्ट फेलुअर भनेको मुटुले पर्याप्त रक्त पम्प गर्न नसक्ने अवस्था हो। उच्च रक्तचाप दीर्घकालीन रूपमा मुटु र रक्तनलीहरूलाई क्षति पुर्‍याउने समस्या हो।

मुटु रोगको रोकथाम गर्न स्वस्थ आहार आवश्यक छ। फलफूल, सागसब्जी, साबुत अन्न, प्रोटिनयुक्त खाना र स्वस्थ बोसोयुक्त पदार्थ खानुपर्छ। नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ। धूम्रपान छोड्नुपर्छ। मदिरा कम मात्रामा मात्र सेवन गर्नुपर्छ। मानसिक तनाव कम गर्न ध्यान, योग, गहिरो सास फेर्ने जस्ता अभ्यास गर्नुपर्छ। स्वस्थ शारीरिक तौल राख्नुपर्छ। रक्तचाप र कोलेस्ट्रोल नियमित रूपमा जाँच गर्नुपर्छ। नियमित स्वास्थ्य परीक्षणले मुटु रोगको सम्भावना कम गर्न सहयोग गर्छ। पर्याप्त पानी पिउनु र दैनिक ७-९ घण्टा निद्रा पुर्याउनु पनि आवश्यक छ।

अत्यधिक चिल्लो र नुनिलो खानेकुरा कम खानु पर्छ। प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा जस्तै ओट्स, सिमी, हरियो तरकारीहरू उपयुक्त हुन्छन्। प्रशस्त मात्रामा नुन खानाले उच्च रक्तचाप बढाउने सम्भावना रहन्छ, जसले गर्दा मुटुमा नकारात्मक असर पुर्‍याउँछ। अत्यधिक तनाव तथा अवसादले पनि मुटु रोगको खतरा बढाउने भएकाले मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

मुटुको हेरचाह गर्नु लामो र स्वस्थ जीवन जिउनका लागि आवश्यक छ। स्वस्थ जीवनशैली अपनाएर, हानिकारक पदार्थहरूबाट बचेर, तनाव कम गरेर र नियमित स्वास्थ्य जाँच गरेर मुटु रोगको जोखिम घटाउन सकिन्छ। आजैबाट मुटुको हेरचाह गर्न सुरु गर्दा भोलि स्वस्थ रहन सकिन्छ।

अदालतद्वारा ‘युएसएआईडी’का कर्मचारीहरूलाई बिदामा राख्ने ट्रम्पको योजना खारेज

अन्तिम समयमा आएको अदालती आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडी २,२०० कामदारहरूलाई तलबी बिदामा राख्नबाट अस्थायी रूपमा रोक लगाएका।

न्यायाधीश कार्ल निकोल्सले एजेन्सीलाई बचाउन खोज्ने दुई युनियनहरूले दायर गरेको अन्तिम मिनेटको मुद्दाको जवाफमा अन्तरिम आदेश जारी गर्दै ट्रम्पको योजना खारेज गरिदिएका छन्। उक्त अन्तरिम आदेश एक हप्ताको लागि, फेब्रुअरी १४ मध्यरातसम्म लागू रहनेछ।

ट्रम्पले विदेशी सहायता एजेन्सी, युएसएआईडी ६११ कामदारहरू बाहेक एजेन्सीका लगभग सबै १०,००० कर्मचारीहरूलाई बिदामा राख्ने योजना बनाएका थिए । लगभग ५०० कर्मचारीहरूलाई पहिले नै प्रशासनिक बिदामा राखिएको थियो र अन्य २,२०० लाइ भने शुक्रबारदेखि बिदामा राख्ने तयारि गरिएको थियो।

तर शुक्रबार अन्तिम समयमा भएको मुद्दामा सरकारले अमेरिकी संविधानको उल्लङ्घन गरिरहेको र कामदारहरूलाई हानि भइरहेको तर्क गर्दै ट्रम्पको योजना खारेज गरिएदिएको हो। बुधबार हुने अर्को सुनुवाइमा न्यायाधीशले उक्त अन्तरिम आदेशलाई दीर्घकालका लागि बढाएर ट्रम्पको योजना खारेज गर्न सक्ने अनुमान गरिएको छ।
अदालतको आदेशबाट बाँकी कर्मचारीहरूको जागिर के हुनेछ भन्ने कुरा स्पष्ट छैन। फैसला आउँदा, अमेरिकी अधिकारीहरूले वाशिंगटन डीसीमा रहेको उक्त संस्थाको मुख्यालयमा रहेको युएसएआईडी का चिन्हहरू हटाउँदै र छोप्दै आएका थिए।

हराएको अमेरिकी विमान अलास्कामा दुर्घटनाग्रस्त भेटियो: विमानमा रहेका सबै १० जनाको मृत्यु

नालाक्लीटबाट नोम जाँदै गरेको बेरिङ एयरको विमान अलास्कामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ।

नोमबाट ३४ माइल (५५ किलोमिटर) दक्षिणपूर्वमा विमानको भग्नावशेष फेला परेको छ भने दुर्घटनाको कारण के हो भन्ने अझै खुल्न सकेको छैन।

दुई हप्ताभन्दा कम समयमा अमेरिकामा भएको यो तेस्रो गम्भीर विमान दुर्घटना हो। जनवरी ३१ मा, पेन्सिलभेनियाको फिलाडेल्फियामा लिअरजेट ५५ मेडिकल उडान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तिमा ७ जनाको मृत्यु भभएको थियो भने १९ जना घाइते भएका थिए।

त्यसैगरी ,जनवरी २९ मा, वाशिंगटन, डीसीको रोनाल्ड रेगन विमानस्थल नजिकै अमेरिकन एयरलाइन्सको जेटलाइनर र आर्मी ब्ल्याक हक हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो । बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेको र आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । ‘बिहान ८:४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो भने खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ र अन्य क्षतिको विवरण भने यकिन हुन सकेको छैन।

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि प्रहरीले जनाएको छ।

मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर- उपचारमा लापरबाही गरेको र दर्ता भन्दै मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको मुस्कान अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

पित्तथैलीको शल्यक्रियामा लापरवाही भएको र शल्यक्रियाको २० दिनसम्म पनि बिरामीको होस् नआएको भन्ने समाचार प्रकाशित भएपछी अस्त्पतालाको अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले अस्पताल दर्ता समेत नगरी अवैध रुपमा संचालन गरिरहेको भन्ने बुझेपछि उनले अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।

दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन निर्देशन दिंदै बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादवको अहिलेसम्म होस् आएको छैन ।

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अध्यागमन विभागको जिम्मा लगाएको छ ।

सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड पक्राउ परेका हुन् । त्यस्तै भारतको पश्चिम बंगाल राज्यका नागरिक वसन्त लामा पनि पक्राउ परेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर अनुसन्धानका लागि उनीहरूको राहदानी अध्यागमन विभागमा पठाइएको छ । प्रहरीका अनुसार गत माघ २२ मा भवन निर्माणका लागि धरान पुगेको थाहा पाएपछि उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । एक अधिकारीले भने, ‘निजहरूको राहदानी चेक गर्दा पर्यटक भिसामा नेपाल आएको तर भिसाको अवज्ञा गरी चर्चको भवन बनाउन श्रमदान गरेको पाइएकाले निजहरूका नाममा जारी भएको राहदानी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका अमेरिकी नागरिक १५ दिने भिसा लिएर मात्र नेपाल प्रवेश गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताए । अध्यागमन स्रोतका अनुसार उनीहरूलाई कसुरको मात्रा हेरी के कारबाही गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अध्यागमन ऐन-२०४९ मा उनीहरूलाई निश्चित अवधिका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ ।

अमेरिकी प्रतिबन्धको निन्दा गर्दै न्याय प्रदान गर्ने काम जारी राख्ने आईसीसीको वाचा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कर्मचारीहरूमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी सरकारको उक्त कदमको निन्दा गर्दै आफ्नो न्यायिक कार्य जारी राख्ने वाचा गरेको छ।

आईसीसीले आफु आफ्ना कर्मचारीहरूको पक्षमा दृढ रूपमा उभिने र आफ्नो र स्वतन्त्र र निष्पक्ष कामलाई अमेरिकी प्रतिवन्धले कुनै प्रभाव नपर्ने बताएको छ।

आईसीसीले गाजामा कथित युद्ध अपराधको आरोपमा इसरायाली नेता नेतान्याहूको विरुद्ध पक्राउ पुर्जी जारी गरेको विषयलाई ट्रम्पले अदालतको उक्त आदेशलाई अवैध र आधारहीन भएको बताएका छन्।

आईसीसी एक अन्तराष्ट्रिय अदालत भएपनि अमेरिका र इजरायल सो को सदस्य छैनन्, जससँग नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधको लागि अभियोजन ल्याउने शक्ति छ।

आईसीसी यसअघी युक्रेनमा कथित युद्ध अपराधको आरोपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, “अफगानी केटीहरू र महिलाहरूलाई सताएको” लागि तालिबान नेताहरू र रोहिंग्या मुस्लिमहरू विरुद्धको अपराधको लागि म्यानमारको सैन्य नेतालाई पनि पक्राउ पुर्जी जारि गरेको थियो।

ट्रम्पले आईसीसी विरुद्द लगाएको प्रतिबन्धले अमेरिकी नागरिक वा उसको सहयोगी राष्ट्रहरु विरुद्ध आईसीसी अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरू र उनीहरूका परिवारहरूमाथि आर्थिक प्रतिबन्ध लगाएको छ,जसअनुसार सम्पत्ति जफत गर्ने, साथै आईसीसी अधिकारीहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूको संयुक्त राज्य अमेरिकामा प्रवेश निलम्बन गर्ने सम्भावना समेत रहन्छ।

यसअघी,सन् २०२० को आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले युद्ध अपराध गरेको छ कि छैन भनेर अनुसन्धान गरिरहेका आईसीसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका थिए । यसमा पूर्व प्रमुख अभियोजक फतोउ बेन्सौदालाई संयुक्त राज्य अमेरिका प्रवेशमा निलम्बन गर्दै उनको सम्पत्ति रोक्का समेत गरेको थियो । ती प्रतिबन्धहरू पछि राष्ट्रपति जो बाइडेनको प्रशासनले हटाएको थियो।

राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा गर्न सरकारलाई निर्देशन

काठमाडौं – सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति अम्मर बहादुर थापाले समिति बैठकले कर्णाली प्रदेशमा आगामी चैत्र २३ गतेदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् ।

फाल्गुनमा नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनिएपनि विविध कारण चैत्रमा सार्नुपरेको भन्दै बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको समस्याका कारण समयमा नै पूर्वाधार लगायतको तयारी गर्न नसकेको र मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच समन्वयन हुन नसकेको बताएका छन् ।

बैठकमा समिति सदस्यहरूले खेलकुद निकायबीच समन्वयन गरेर समयमा नै प्रतियोगीता सम्पन्न गर्न सरकारलाई सुझाव दिएका थिए । आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा समितिले युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरेको हो ।

आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबर सेवा सुविधा दिने निर्णय

काठमाडौं- निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भएका छन् ।

शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा मासिक ४८ हजार सात सय कायम गर्नुपर्ने निर्णय गरेको हो ।हाल निजी मेडिकल कलेजले मासिक २० हजार निर्वाह भत्ता दिँदै आएका छन् ।

अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने सचिवालयले बताएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख शुल्क लिने विषयमा पनि छलफल गरेको छ ।

बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा डा ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गरेका थिए ।तर प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गरेको सचिवालयले बताएको छ ।

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन

काठमाडौं – सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ गरिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजिनामा र उनको कारबाहीको माग गर्दै दलित अधिकारकर्मीहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले गृहमन्त्रीको राजनीनामा र उनलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका नेताद्वारा सांघातिक आक्रमण

काठमाडौं – ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोलीले गए राति सांघातिक आक्रमण गरेका छन् ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि गए राति १२ बजे आक्रमण गरिएको र उनीहरूलाई एमालेनिकट अनेरास्ववियुका नेताहरूले आक्रमण गरेको दरबारमार्ग प्रहरी स्रोतले जनाएको छ ।

विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्नहरु हालसम्म फरार रहेको र उनीहरूको विरुद्ध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

बेलायती सेनामा नयाँ भर्ती भएकाहरूलाई राजकुमार एडवर्डले पद तथा गोपनीयताको शपथ गराए

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवर्डले बेलायती सेनामा नयाँ भर्ती भएका २७४ नेपालीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

हिन्दू धर्मशास्त्र अनुसार स्वस्तिशन्ति मन्त्रको पाठ गरेपछि, एडिनबर्गका ड्यूक र डचेसले पोखराको ब्रिटिश क्याम्पमा आयोजित एक समारोहमा नेपाली सैनिकहरूलाई शपथ गराएका छन् । उनीहरूले लामो समयदेखि सेवा गरिरहेका ब्रिटिश पूर्व सैनिकहरूलाई पदक तथा सम्मान समेत प्रदान गरेका छन् ।

राजकुमार एडवर्ड र उनकी श्रीमती निजी भ्रमणमा गत मंगलबार काठमाडौं आइपुगेका थिए। उनीहरू माघ २७ मा स्वदेश फर्कनेछन्।

अध्यादेशको धमिलो पानीमा माछा मार्ने दाउ छोप्दै उपेन्द्र यादव

काठमाडौं – सरकारले २४ गतेको प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको अध्यादेश अन्तिम समयमा आएर संसद् बैठकको कार्यसूचीबाट हटाइयो।उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अध्यादेशमा सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा ठोस निर्णय दिन नसक्दा संसदमा अध्यादेश निर्णयार्थ पेश हुन नसकेको बताइएको छ।

सरकारले ल्याएका अध्यादेश र अन्य विधेयकहरु प्रतिनिधि सभाबाट बहुमतका साथ पारित गर्न सक्ने अवस्था रहेपनि अङ्कगणितिय हिसाबले सांसद संख्यामा भने सरकार राष्ट्रिय सभामा अल्पमतमा नै देखिन्छ । त्यसैले वर्तमान अवस्थामा सरकारले ल्याएका विधेयक र अध्यादेशहरुलाई पारित गराउन सरकारले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ् खोजिरहेको छ।राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालसँग तीन सांसद छन् । राष्ट्रिय सभामा सत्तापक्षसँग कांग्रेसका १६, एमालेका १० र लोसपाको एक सांसद छन् । ५९ सदस्यीय राष्ट्रियसभामा सत्तापक्षलाई बहुमत पुर्याउन तीन सांसद आवश्यक पर्छ । राष्ट्रिय सभामा विपक्षीको तर्फबाट माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ सांसद रहेका छन् ।

यसअघी, जसपा नेपालले अध्यादेश अध्ययन कार्यदल नै गठन गरेर अध्यादेश सहि छ या गलत छ भनेर अध्ययन गर्ने भन्दै एउटा समिति नै बनायो। तर उक्त समितिले आफ्नो कार्यदलले तयार पारेको प्रतिवेदन आज भन्दै – भोलि भन्दै सार्वजनिक गर्न आलटाल गरिरह्यो। सरकारलाई अध्यादेश पारित गराउन आफ्नो साथ चाहिने बुझेका यादवले सरकारलाई अध्यादेशमा समर्थन जनाउन सत्ताको बार्गेनिङ्ग गरिरहेको चर्चा चलिरहेको छ। जसपा नेपालले आफ्नो अध्ययन कार्यदलले संसद बैठक सुरु हुने ३-४ अगाडी देखि नै अध्यादेश अध्ययन कार्यदल र सो कार्यदलले तयार पारेको प्रतिवेदनको ‘ट्रंम्प कार्ड ‘ प्रयोग गर्दै सत्तारुढ दलका शिर्ष नेता शेर बहादुर देउवा र प्रधानमन्त्रीसंग पटक-पटक भेटघाट र छलफल समेत गरिसकेका छन्।

जसपा नेपालले सरकारले ल्याएको अध्यादेशलाई समर्थ गर्छ या गर्दैन भनेर सामान्य रुपमा आफ्नो धारणा व्यक्त गर्नसक्ने अवस्था रहंदा-रहँदै पनि यादवले कहिले पार्टीभित्रको छलफल त कहिले अध्यादेश अध्ययन कार्यदलको प्रतिवेदनको नाममा आफ्नो निर्णायक शक्तिको फाइदा उठाउँदै सत्ताको बार्गेनिङ्ग गरिरहेको चर्चा चलिरहेको छ।

काँग्रेसका एक नेताको अनुसार उपेन्द्र यादवले काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसंग भएको छलफलमा सरकारलाई अध्यादेशमा समर्थन गरेबापत सरकारमा आफ्नो सम्मानजनक सहभागीता वा मधेश सरकारको मुख्यमन्त्री पाउनुपर्ने शर्त अगाडी सारेका छन् र त्यहि शर्तमा सत्तारुढ दलले टुङ्गो लगाउन नसक्दा उपेन्द्र यादवसंग कुरा मिल्न गाह्रो भैरहेको बुझिएको छ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि अध्यादेशमा सघाउनको लागि जसपा नेपालले केही शर्त राखेको संकेत गर्दै भने,”कुरा मिलिसकेको छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । उहाँहरुबाट सहयोग हुन्छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । शर्त अहिले छाडिदिनुस् । भोलिका दिनमा थाहा पाउनुहुन्छ ।”

यसैबीच, जसपा नेपालले अध्यादेशबारे आज निर्णय गर्ने, भोलि निर्णय गर्ने भन्दै र पार्टीको अर्को बैठकबाट ठोस निर्णय लिने भन्दै म्याद सारिरहेको अवस्थामा जसपा नेपालले आफुलाई सत्तामा उभ्याउन सरकारसंग आफ्ना शर्तहरु राखेर बार्गेनिङ्ग गरिरहेको घाम जत्तिकै छर्लंग छ भनेर राजनीतिक वृतमा चलिरहेको हल्ला के कति सत्य छ त्यो भने भोलिको दिनमा पक्कै पनि खुल्दै जानेछ। अध्यादेशमा जसपा नेपालले जनाउने सहमति र विमतिको निष्कर्ष र त्यसपछि सत्ता र राष्ट्रिय राजनीतिमा देखिने उसको सहभागिताले पक्कै पनि त्यो कुरालाई पुष्टि गर्नेछ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन्।

चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दासमेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक नरहेको र अर्कोतर्फ तारन्तार हुने प्रदेशस सचिव परिवर्तन, आवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी नदेखिएकोले, विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

करिब एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

अर्धवार्षिक समीक्षामार्फत १ खर्ब ६७ अर्ब रुपैयाँले घट्यो बजेट

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएको जानकारी गराएका छन्। सरकारले चालू आव ०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान १ खर्ब ६७ अर्ब रुपैयाँले घटाएको छ।

चालू आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ। यो रकम शुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो।

चालूतर्फ १० खर्ब २९ अर्ब ३० करोड रुपैयाँ अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख रुपैयाँ अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख रुपैयाँ अर्थात् विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान छ।

चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख रुपैयाँ, वैदेशिक अनुदानतर्फ ३६ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ।

अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ५० अर्ब २६ करोड ८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ।

चालू आवमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३६ दशमलव १७ प्रतिशत र स्थानीय तहमा ४८ दशमलव १० प्रतिशत हस्तान्तरण भएको छ। समीक्षा अवधिमा प्रदेश र स्थानीय तहमा गरी कूल अनुदानको ४५ दशमलव २८ प्रतिशत हस्तान्तरण भएको छ।

अर्थ मन्त्रालयकाअनुसार यो अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट सङ्कलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र स्थानीय तहलाई सूत्रअनुसार ( १५ प्रतिशतले हुने) ३२ अर्ब २७ करोड ९० लाख रुपैयाँका दरले जम्मा ६४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ बाँडफाँट गरि पठाइएको छ। जुन गत वर्षको तुलनामा १४ दशमलव १७ प्रतिशतले बढी हो।

अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा गर्नुपर्ने सुधार पनि सरकारले औँल्याएको छ। जसअन्तर्गत सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने, खर्चको मापदण्ड बनाई चालू खर्चमा मितव्ययिता कायम गर्नेलगायत विषय रहेका छन्।

स्रोतमा परेको चापलाई दृष्टिगत गरी अनिवार्य दायित्वबाहेक चालू खर्चतर्फ विनियोजित सरकारको स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।

जग्गा प्राप्ति र मुआब्जा वितरण, वन क्षेत्र उपयोगको स्वीकृतिलगायतका तयारी पूरा गरेर मात्र पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयनका लागि खरिद प्रक्रियामा लैजाने, राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाउनेलगायत विषय रहेका छन्।

आईसीसी विरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

“म, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले रोम विधानद्वारा स्थापित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिका र हाम्रो नजिकको सहयोगी इजरायललाई लक्षित गरी अवैध र आधारहीन कार्यहरूमा संलग्न भएको पाएको छु । आईसीसीले वैध आधार बिना नै संयुक्त राज्य अमेरिका र इजरायल सहित यसका केही सहयोगीहरूका कर्मचारीहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरेको , र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ ग्यालेन्टलाई लक्षित गरी आधारहीन गिरफ्तारी वारेन्ट जारी गरेर आफ्नो शक्तिको थप दुरुपयोग गरेको छ,” दस्तावेजमा भनिएको छ।

“संयुक्त राज्य अमेरिकाले आईसीसीको कुनै पनि क्षेत्राधिकारमा सहमति जनाएको छैन र आफ्ना सहयोगीहरूले संयुक्त राज्य अमेरिका, इजरायल, वा संयुक्त राज्य अमेरिकाको कुनै पनि अन्य सहयोगी विरुद्धको आईसीसीको कुनै पनि कार्यहरूको विरोध गर्न आग्रह गर्दछु। संयुक्त राज्य अमेरिका जवाफदेहिता र अन्तर्राष्ट्रिय व्यवस्थाको शान्तिपूर्ण खेतीप्रति प्रतिबद्ध छ, तर आईसीसी र रोम विधानका पक्षहरूले संयुक्त राज्य अमेरिका र अन्य देशहरूको निर्णयहरूको सम्मान गर्नुपर्छ जसले आफ्ना कर्मचारीहरूलाई तिनीहरूको सम्बन्धित सार्वभौम विशेषाधिकार अनुरूप आईसीसी को क्षेत्राधिकारमा अधीनमा नराख्ने, ,” कार्यकारी आदेशमा भनिएको छ।

“संयुक्त राज्य अमेरिकाले आईसीसीको उल्लंघनका लागि जिम्मेवार व्यक्तिहरूमाथि मूर्त र महत्त्वपूर्ण परिणामहरू लागू गर्नेछ, जसमध्ये सम्पत्तिहरूरोक्का गर्ने, साथै आईसीसीको अधिकारीहरू, कर्मचारीहरू, र एजेन्टहरू, साथै तिनीहरूका नजिकका परिवारका सदस्यहरूको संयुक्त राज्य अमेरिकामा प्रवेश निलम्बन समावेश हुन सक्छ, किनकि हाम्रो राष्ट्रमा उनीहरूको प्रवेश संयुक्त राज्य अमेरिकाको हितको लागि हानिकारक हुनेछ,” दस्तावेजमा भनिएको छ।

“त्यसैले म यो निर्धारण गर्छु कि संरक्षित व्यक्तिहरूको अनुसन्धान, गिरफ्तारी, हिरासत वा मुद्दा चलाउने आईसीसीको कुनै पनि प्रयासले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिको लागि असामान्य र असाधारण खतरा हो, र म यसद्वारा त्यो खतरालाई सम्बोधन गर्न राष्ट्रिय आपतकाल घोषणा गर्दछु,” ट्रम्पले आफ्नो कार्यकारी आदेशमा भने।

नोभेम्बर २१ मा, आईसीसी प्रि-ट्रायल चेम्बरले कम्तिमा अक्टोबर ८, २०२३ र मे २०, २०२४ बीचमा गाजा पट्टी लगायत प्यालेस्टिनी क्षेत्रहरूमा गरिएको कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व इजरायली रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ वारेन्ट जारी गरेको थियो ।

जुन २०२० मा, ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा यस्तै कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका थिए, जसले आईसीसी सदस्यहरूमा प्रतिबन्धहरू लागू गर्न पनि अनुमति दिएको थियो। त्यसपछि जो बाइडेनको नेतृत्वमा रहेको अर्को अमेरिकी प्रशासनले २०१७-२०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले लगाएको आईसीसी विरुद्धको प्रतिबन्ध हटाइदिएको थियो ।

आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १४ पैसा र बिक्रीदर चार रूपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७४ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

संसदमा प्रचण्डको आक्रोश राजनीतिक कुण्ठा कि यथार्थ ?

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै शालीन देखिएका थिए। यधपी, संसदमा उनले बोलेका शब्दहरु र उनले दिएका अभिव्यक्ति निकै आक्रोशपुर्ण थियो। उनले सरकार र सरकारको कदमको आलोचना मात्रै गरेनन् , उनले सरकार र प्रधानमन्त्री लक्षित गम्भीर आरोप समेत लगाए।

सरकार संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिएको र आफुहरुले पटक -पटक संसद अधिवेशन बोलाउन आग्रह गर्दा समेत संसद छलेर रातारात अध्यादेश ल्याएको र पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भन्दै अध्यादेश ल्याएर सार्वभौम संसदको उपेक्षा गरिएकोप्रति आपत्ति जनाए।”संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो ? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ?”, भनेर उनले सरकारलाई प्रश्न समेत गरे।पहिलो र दोस्रो दलको सरकार प्रतिगमन र निरंकुशतातिर अग्रसर भएको प्रमाणित भएको उनले बताएका छन्।

“राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग गरेर अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराएर कडा कडा मुद्दा लगाउने सरकारलाई सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? टिसर्टमा कसैको फोटो देखियो भनेर नागरिकलाई नियन्त्रणमा लिने,सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई थुनेर मुद्दा चलाउने र सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोजेको,नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएकोप्रति आपत्ती जनाउँदै, नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?”, भनेर प्रश्न गरेका छन्।नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्ने गरी विधेयक दर्ता गरेर प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न भन्ने कुरालाई पुष्टि गरेको र उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । तर, के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ? भनेर काँग्रेसलाई लक्षित गर्दै उनले प्रश्न गरे।

आफै आफ्नो पीठ थप्थप्याएर आफैले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको र नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं भन्दै, ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? भन्ने प्रशं गर्दै सरकारको तथ्याङ्क मिथ्याङ्क मात्र भएको भन्दै धेर-थोर सरकारको कामकाज र देशको वर्तमान आर्थिक स्थितिको समिक्षा समेत सुनाए। यधपी, संसदमा बोल्ने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उनले सुनाएको आर्थिक विवरण गलत भएको बताएका थिए।

सरकारले जारि गरेको भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको अध्यादेशले गिरीबन्धु टि–स्टेट सहित देशभरका हदबन्दी भन्दा धेरैका जग्गाहरूको किनबेच स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने आधारहरू प्रदान गर्ने,भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पुर्याउने वातावरण तयार गर्न खोजिएको उनले आरोप लगाए।

सरकारले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलाई २०७३ सालको घटनामा जोडेर झुठा मुद्दा लगाउन खोजेको र पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको समेत उनले आरोप लगाए।

अदालती विवाहको प्रमाण हुँदा समेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरेर प्रताडित गर्ने काम भएको,कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ मा संशोधन गरी व्यापारीहरुले बस्तुको व्यापार गर्दा सयकडा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यबस्थालाई खारेज गरेर मुनाफाखोरहरुलाई खुला छुट दिएको भन्दै अध्यादेशहरुमा जनता होइन, स्वार्थ समूहहरुको हित हेरिएको उनले बताए।

आफ्नो सरकार ढलेसंगै अब अब त्रिभुवन विश्वविद्यालयको जग्गा खोजिने छैन,ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया रोकिनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान अवरुद्ध हुनेछ, अतिक्रमण गरिएका सरकारी जमिन अब खोजिनेछैनन् भन्दै उनले केहीबेर संसदमा आँफै सवाल-जवाफ गरे र भने, “सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं ऋण दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो । मिलाइयो, चोख्याइयो, जोगाइयो ।” ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दैछ भन्दै सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट र अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको आरोप समेत लगाए।

सरकारले उधोगी-व्यापरिसंग विधुत महशुल उठाउने कुरामा व्यापारीकै पक्ष लिएर कुलमान घिसिङलाई बर्खास्त गर्न पटक-पटक दुख दिने नियतले स्पष्टिकरण सोधेको , सरकारी स्वामित्वका विधुत उत्पादन कम्पनीहरु कौडीका भाउमा बेचेर कमिसन खानखोजेको, ४ सय ५४ मेगावाटको अर्धजलाशययुक्त किमाथाङ्का अरुण र १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविधुत आयोजनाहरु सार्वजनिक–निजी साझेदारी नाममा सिधै सुम्पिन खोजेको, जगदुल्ला हाइड्रोपावरमा पनि १६ अर्बको ठेक्कामा ऊर्जामन्त्री जोडिएको भन्दै मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ? भन्ने अभिव्यक्ति समेत दिए।

यो सरकारले सरकार र गठबन्धनका लागि कानुनका फरकफरक मापदण्ड तयार गरेको छ ,त्यसैले त सत्ताका मान्छे घरमै बसेर फरार हुन पाउँछन् । अन्तिम दिन अदालतमा हाजिर हुन पाउँछन् । त्यही दिन पेशी पाउँछन्, वयान दिन पाउँछन् । सरकारी वकिलले त्यही दिन टुंग्याउँछन् अनि त्यही दिन फैसला आएर आरोपी घर जान्छ भन्ने अभिव्यक्ति दिंदै, “राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अर्ब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमिपूजन गर्छन । कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को अर्ब खर्चेर त्यो कार्यालय बनाइदिने, नैतिक छ ? कानुनी छ ?”, भनेर समेत उनले संसदमा उभिएर सरकारलाई प्रश्न गरे।

अहिलेको सरकारले नेपालको हित अनुरूप कुटनीतिक क्षेत्रमा भूमिका खेल्न नसकेको र राष्ट्रिय स्वार्थका आधारमा विश्वमञ्चमा नेपालको दरिलो उपस्थिति बनाउनुको साटो सरकार आफ्नो स्वार्थमा परराष्ट्र सम्बन्ध ध्वस्त बनाउन लागेको आरोप समेत लगाए।

प्रचण्डले सरकार र प्रधानमन्त्री लक्षित गरेर लगाएका गम्भीर आरोप उनको आक्रोश र राजनीतिक कुण्ठा मात्र हो?, त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन।उनले लगाएका आरोप केवल मित्थ्या आरोप मात्र हुन् या यथार्थ हो त्यो आगामी बैठकमा पक्कै पनि प्रधानमन्त्रीले स्पष्ट पार्नेछन् र पार्नु पनि पर्नेछ। अन्यथा यो आरोपलाई आम जनताले सरकारले मौन रुपमा स्वीकार गरेको सत्यताको रुपमा बुझ्नेछन।

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्।

सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले आरोप पुष्टि पनि गर्नसक्नुपर्छ र यदि होइन भने यहि रोष्टममा उभिएर प्रधानमन्त्रीलाई लगाएका आरोपप्रति नेपाली जनतासंग माफी माग्नुपर्ने उनले बताएका छन्।

अध्यादेश कानुन र संविधानलाई टेकेर आएकोले अध्यादेशको विषयलाई लिएर कुण्ठाको अभिव्यक्ति नदिन पनि उनले आग्रह गरेका छन्। प्रचण्डको आक्रोश र अभिव्यक्तिको सार भन्दै , प्रचण्ड जनता तिर नभएर सत्तातर्फ नै फर्किएको तर उनले सत्ता प्राप्त गर्ने सम्भावना नरहेको बताएका छन्। प्रचण्डबाट सत्ता कोसौँ-कोस टाढा पुगेको छ र आजको राजनीतिको निर्मम सत्य यहि हो भन्ने अभिव्यक्ति समेत उनले दिएका छन्।

प्रचण्डले आफ्नो सरकारमा देशमा आर्थिक उन्नति भएको भन्ने कुरा र वर्तमान सरकारले आर्थिक उन्नतीलाई ऋणात्मक तर्फ लागेको भनेर तथ्यलाई तोडमोड गरेको र त्यस प्रकारको तथ्य तोडमोड गरेर जनतामा भ्रम छर्नु उचित नहुने पनि उनले बताएका छन्।समग्रमा प्रचण्डले रेमिट्यान्स, मूल्य वृद्धि,पुँजीगत खर्च र सार्वजनिक ऋणका सन्दर्भमा गलत तथ्य संसदमा प्रस्तुत गरेको बताएका छन्।

धितोपत्र बोर्डका सन्दर्भमा पनि वर्तमान सरकारलाई आरोप लगाएको भन्दै, पौडेलले प्रचण्ड सरकारले सुरु गरेको प्रक्रियालाई नै वर्तमान सरकारले अगाडी बढाएको र त्यो यदि गलत हो भने हिजो कसको प्रभावमा अगाडी बढाएको र फेरी किन प्रक्रिया रोकेको भनेर प्रश्न समेत गरेका छन्।अगिल्लो सरकारले ७००० योजनामा विना कुनै योजना र अध्ययन ११००० योजना थपेको र १० देखि ७५ हजारको योजना केन्द्र सरकारबाट पारित गरेर बजेटको नाममा तमासा देखाएको भन्दै अरुलाई दोष थुपार्नु भन्दा आफ्नो सरकारको कार्यकालको समिक्षा गर्नपनि आग्रह गरेका छन्।

३ करोड घुस लिएको आरोपमा सुनील पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- ठेकेदार कम्पनीसँगको मिलेमतोमा सामान आपूर्ति गरी घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७४/७५ मा आह्वान ‍गरिएको बोलपत्र सप्लाइ, डेलिभरी, इन्स्टलेसन अफ सेक्युरिटी अप्लाइएन्सेस एन्ड नेटवर्क इक्विपमेन्टको खरिदमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले मिलेमतोमा बोलपत्र तयार गरी प्रस्तावसमेत स्वीकार गरेको पाइएको र १२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा उनले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएकोअख्तियारको अभियोगपत्रमा उल्लेख छ।घुस दिने आपूर्तिकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दीपक आनन्दलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

घुस रकम अमेरिका, सिंगापुर र भारतको बैंक खातामा लिएको अभियोगपत्रमा उल्लेख छ। पौडेलसँग बरामद भएको मोबाइल तथा ल्यापटपमा गरिएको प्राविधिक परीक्षणमा यसरी उनीहरूले सुरुदेखि घरको सेटिङ र घुसको लेनदेनसम्बन्धी कुराकानीको विश्लेषण गरेर त्यसलाई प्रमाणित गरी आयोगले मुद्दा दायर गरेको हो। ह्वाट्सएप तथा इमेलमा उनीहरूबिच यसबारे श्रृंखलाबद्ध कुराकानी भएको थियो। त्यसलाई समेत आयोगले प्रमाण मानेर मुद्दा दायर गरेको हो।

हाल डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका मुद्दा दायर भएका थिए। केही मुद्दामा उनी दोषीसमेत ठहर भइसकेका छन्।

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

चितवन- चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

एलपी ग्यास उद्योग संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ- नेपाल एलपी ग्यास उद्योग संघले लगानीको संरक्षण गर्नुको सट्टा एकतर्फी ढंगबाट निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने भन्दै विभिन्न १९ बुँदे माग राखेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने , एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानूनी व्यवस्था लागू गरिनुपर्ने ,विगत ६ वर्ष देखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग गर्दै संघले आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको छ।

संघका अध्यक्ष शिव घिमिरेले नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको र नेपाली ढुवानी साधन नहुँदा बार्षिक खर्बौं रुपैयाँ विदेशीएको समेत बताएका छन्।

संघले माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने ,फाल्गुण १ गते बिहिबार देखि २०८१ फाल्गुण ५ गते सोमवारसम्म सबै ग्याँस उद्योगहरूले बिरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचारप्रसार गर्ने ,फाल्गुण ६ गते मंगलवारदेखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने ,फाल्गुण १२ गते सोमवारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनैपनि भन्सार नाकाबाट नछुटाउने ,फागुन १८ गते आइतवारदेखि सबै नेपालका ५९ उद्योगहरू अनिश्चितकालिन बन्द गर्ने र फाल्गुण २२ गते शनिवारदेखि देश भरका ग्यास विक्रेता डिपोहरूले सम्पूर्ण बन्द गर्न अनुरोध गर्ने बताएको छ।

संसद बैठकमा प्रचण्डको आक्रोश:यस्तो छ उनले संसदमा गरेको सम्बोधन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदलाई सम्बोधन गर्दै सरकारसंगको आक्रोश व्यक्त गरेका छन्।

यस्तो छ उनले संसदमा गरेको सम्बोधन:

सम्माननीय सभामुख महोदय, 
सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु । 

संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति सुस्त भयो, विधेयकहरु अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं, मेरो शुभकामना छ । प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध छौं । तर, सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो, तर बोलाइएन । सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ ।  

माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ? 

रातारात अध्यादेशको चोरबाटोले भन्छ, तपाईहरुको नियत सही छैन । अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो । 

यी अध्यादेशहरु विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो ? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसदले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ । देश र जनताका लागि सोचेको भए तपाईहरु संसदसँग डराउनुहुने थिएन । स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?

सभामुख महोदय,
अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ । अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? 

पाथिभरा केवलकारको विवादमा तपाईहरुले सिधै जनतालाई गोली चलाउनुभयो । पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरुले नागरिकलाई नियन्त्रणमा लिनुभयो । सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो । अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ । यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ । सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्दैन, प्रेसको स्वतन्त्रता पनि नियन्त्रण गर्छ । यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको छ । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ? 

सभामुख महोदय,
प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ । अस्ति हामीले यो संसदमा सुन्यौं, पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ भयो । उहाँ भावुक हुनुभयो, अनि उहाँले संकल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो । २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुती कति कमजोर छ ? 

नारायणघाट सडक खण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै छ । प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफै आफ्नो पीठ थप्थप्याएर आफैले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन् । नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं । बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौं, हामी सहभागी हुन्छौं । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।  

प्रधानमन्त्रीजी, म सुनाउँछु तपाईलाई तथ्याङ्क । त्यो पनि तपाई मातहतकै निकायहरुबाट प्राप्त । सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पुरा गर्न सक्ने छैन । यो विपक्षले लगाएको आरोप होइन, तपाईकै अर्थमन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो । छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । छ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स । अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ । यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ । 

मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ । खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, जबकि मैले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो। श्रमिक तथा कामदारले आफ्नो ज्यालामा २.८५ प्रतिशत मात्र वृद्धि पाएका छन्, तर महँगीको दर झण्डै ३० प्रतिशत पुगेको छ । छ महिनाअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ । मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ । प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ– यो तथ्यांकले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास घटेको देखाउँछ कि बढेको देखाउँछ ? 
अहिलेसम्म समग्र पूँजीगत खर्च जम्मा १६ प्रतिशत छ । यो पनि विपक्षको आरोप वा अनुमान होइन, अर्थमन्त्रालयकै प्रतिवेदन हो । मन्त्रालयहरुले न पुरानो ठेक्काको भुक्तानी दिन सकेका छन् न नयाँ आयोजनाको ठेक्का लगाउन सकेका छन् । भौतिक, शहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरुको प्रगति २० प्रतिशत पनि पुग्न सकेको छैन । सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ। तर, प्रधानमन्त्री यसरी संसदमा पेश हुनुहुन्छ कि छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो । 
 
सभामुख महोदय,
प्रधानमन्त्रीका रुपमा मैले अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारीकरण हुन दिइनँ । मेरो नेतृत्वको सरकारले सामाजिक सञ्जालका प्रयोगकर्तालाई स्वनियम र सञ्चालक कम्पनीलाई जवाफदेहि बनाउनमात्र सैद्धान्तिक स्वीकृति दिएको थियो । अहिले त नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्ने गरी विधेयक दर्ता भएको छ । खासमा यो विधेयकमा सरकारको नियत प्रकट भएको छ । प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ?

मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस पछिल्ला दिनमा अलि धेरै नै ‘गतिशील’ देखिन थालेको छ । माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरु पनि थिए कांग्रेसमा । कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए । पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए । देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईहरुले नयाँ सत्तागठबन्धन गर्नुभयो । तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो । गठबन्धनमात्र होइन, तपाईहरुले एकअर्कालाई आफ्ना चुनावचिन्ह भाडामा पनि दिनुभयो ।  एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नुभयो । कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै सुनिएन । पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईहरुलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो । 
अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं । तपाईहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं । अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ….। तपाईहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँडदैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो ।
 
त्यसैले, अब हाम्रा डरले तपाईहरुले एकअर्काका कुर्सी मिलाउन पर्दैन । स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस्  । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । हामी सरकार बनाउनेछौं तर आफ्नै सामथ्र्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।  

सभामुख महोदय, 
यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि तथा  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो ?  संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन् कठिन, जटिल र महंगो हुन्छ ? मध्यवर्ती क्षेत्रको जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकरात्मक सूचीमा राखेर लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको छ । भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको के औचित्य छ ? अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा भूमिको वर्गीकरण र मूल्यांङ्नमा रहेको अवैज्ञानिक प्रणाली सच्चाउने, गरिबहरू, ग्रामीण क्षेत्र र कृषिको प्रयोजनमा भएको जग्गाको थोरै शुल्क तिरे हुने र धनी, सहरी क्षेत्रका र आवासको प्रयोजनका लागि दिने जग्गालाई धैरै शुल्क असुल गर्ने व्यवस्था गर्नुपर्ने हो । तर सरकारले संशोधनमार्फत् ठिक उल्टो गर्न खोजिरहेको छ । बरू यस अध्यादेशका केही व्यवस्थाहरूले गिरीबन्धु टि–स्टेट सहित देशभरका हदबन्दी भन्दा धेरैका जग्गाहरूको किनबेच स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने आधारहरू प्रदान गर्दछ । 

भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र त्यसको परिवर्तन गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउनुपर्ने व्यवस्था लागु गर्न खोजिएको छ । किसानहरूको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पु¥याउने वातावरण तयार गर्न खोजिएको छ । एकातिर भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन वन ऐन २०७६ को संशोधन गरिएको भनिँदै आएको छ भने अर्कोतिर प्रधानमन्त्रीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर सर्लाही जिल्लाको बागमती नगरपालिकाका हजारौँ सुकुम्बासीले तिसौँ वर्षदेखि जोतभोग र आवाद कमोत गरेको जग्गा खाली गराउने निर्णय गरिएको छ भने नगर प्रमुख, उपप्रमुखसहित ५ जनालाई वन मुद्दामा फसाउन खोजिएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलाई २०७३ सालको घटनामा जोडेर झुठा मुद्दा लगाउन खोजिँदैछ । पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको छ । यो हदसम्मको अराजनीतिक षडयन्त्र र जालझेल मान्य हुन्छ ?

विगतमा शिक्षक लगायत विभिन्न आन्दोलनरत पक्षसँग गरिएको सहमति कार्यान्वयन नगर्दा उनीहरु आन्दोलमा उत्रिएका छन् । आवासीय चिकित्सकहरु पीडामा छन्, सरकारले उनीहरुको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको छैन । मोही किसानको मागलाई सम्बोधन गर्न नयाँ एकीकृत गुठी कानुन तर्जुमा नहुँदा उनीहरुले आन्दोलन सुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान गर्ने दावी गरेर अध्यादेश ल्याउने सरकारले स्वर्गद्वारी गुठीलगायतका विषय सम्बोधन गर्न सकेन । संविधानको धारा ४० मा प्रत्याभूत गरिएको दलितको हक कार्यान्वयनमा सरकारको चासो छैन, उल्टै अदालती विवाहको प्रमाण हुँदा समेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरेर प्रताडित गर्ने काम भएको छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ मा संशोधन गरी व्यापारीहरुले बस्तुको व्यापार गर्दा सयकडा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यबस्थालाई खारेज गर्नुभएको छ । यसबाट सुशासन कायम हुन्छ कि मुनाफाखोरहरुलाई खुला छुट पाइन्छ ? सहकारी ऐन–२०७४ लाई अध्यादेशमार्फत संशोधनको नाममा सहकारी अपचलनको समस्यालाई सम्बोधन गर्नुभएको छ कि अन्तरराष्ट्रिय सहकारी एलायन्स को ७ बुँदे सैद्वान्तिक मान्यता र नेपालको  क्षेत्राधिकार विभाजनको संबैधानिक व्यबस्था भन्दा विपरित ढंगले ल्याउनुभएको छ ? स्वास्थ्य विमा ऐन–२०७४ को संशोधन विमा ऐनको स्वायत्तता विपरित हुने गरी अघि बढाउनुभएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय ऐन–२०७९ मा विश्वविद्यालयकै ऐतिहासिक मान्यताभन्दा प्रतिकूल ढंगले संशोधन भएको छ । अध्यादेशहरुमा जनता होइन, स्वार्थ समूहहरुको हित हेरिएको छ । 

सभामुख महोदय,
अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो । मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा । अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो । 

आज सरकार सामाजिक सञ्जालसँग डराएको छ । ऊ आफ्ना श्रृंखलावद्ध अपराधसँग डराएको भए आज यो अवस्था आउने थिएन । पछिल्ला सात महिनामा सरकारले जनताको केही सुनेन, त्यसैले आज जनता सरकारलाई नसुन्ने ठाउँमा पुग्यो । सरकारले पछिल्ला सात महिनामा जनताको मनमा बस्ने एउटै काम गरेन तर जनताको मन बिझाउने सयौं काम गर्यो । अहिले त्यता विस्तृतमा जाने समय छैन । मेरो नेतृत्वको सरकारले भिआइपी कल्चर भत्काउँदै सुशासन र लोकतन्त्रको सर्भिसिङ सुरु गरेको थियो । त्यसले जनतामा लोकतन्त्रप्रति भरोसा जगाएको थियो । जनतामा भरोसा जगाउने त्यही सर्भिसिङ नै कांग्रेस एमालेका लागि सबैभन्दा ठूलो आतंक भयो र तपाइहरु रातारात एक ठाउँमा उभिनुभयो ।  

आज म सरकारलाई सोध्छु, सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं क्रृणको दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो ।  मिलाइयो, चोख्याइयो, जोगाइयो । 

सत्तापक्षका माननीयहरु, दुःख नमान्नुहोला, तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ । 
म तपाईहरुलाई यही रोष्टमबाट भन्छु, दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ । दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति । त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ । 

सभामुख महोदय,
यसबीचमा विद्युत् प्राधिकरणमा सरकारले जे गर्यो, त्यो हाम्रो राजनीतिक इतिहासमै सरकारमा माफियाहरुको नियन्त्रणको सबैभन्दा नांगो टेस्ट केस् हो । डेडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको लज्जास्पद अवरोधबाट के प्रमाणित भयो? माफियाहरुको शक्ति र सरकारको निरीहता स्थापित भयो । विचौलियासँग मिलेर प्रधानमन्त्रीसहितले महसुल असुली रोक्न त्यो सबै गर्नुभयो । जे गर्न सक्नुहन्थ्यो र जे गर्न हुँदैनथ्यो । यसबीचमा के भएन ? प्रधानमन्त्रीले रोस्टमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ? महसुल उठ्ने सुनिश्चितता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरुलाई बर्खास्त गरिएन कि ? विद्युत् नियमन आयोगको दुरुपयोग गरिएन कि ? विद्युत प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष बनाइएन कि ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटकपटक स्पष्टीकरणसहित दुव्र्यवहार गरिएन कि ? पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएन कि ? त्यो अवैध समितिको खर्च व्यहोर्न प्राधिकरणलाई अनावश्यक दवाव दिइएन कि ? 

ऊर्जा मन्त्रालयमा अरु पनि यस्ता साहसपूर्ण पौरख भए । मन्त्रिपरिषद्बाट पारित नै नभएको ऊर्जा विकास मार्गचित्रलाई देखाएर सरकारी स्वामित्वका  विद्युत उत्पादन कम्पनीहरु कौडीका भाउमा बेचेर कमिसन खान खोजियो । ४ सय ५४ मेगावाटको अर्धजलाशययुक्त किमाथाङ्का अरुण र १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाहरु सार्वजनिक–निजी साझेदारी नाममा सिधै सुम्पिन खोजियो । जगदुल्ला हाइड्रोपावरमा पनि १६ अर्बको ठेक्कामा ऊर्जामन्त्री यसैगरी जोडिनुभयो । अरु मन्त्रालयमा पनि यस्ता विकृति छँदैछन् । तर यसमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरु, मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ? 
अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुसी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि सुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिक नेतृत्वको गठजोड ।

सभामुख महोदय,
मेरो नेतृत्वको सरकारले जगाएका सबै आशा यो सरकारले समाप्त पार्यो । विश्वविद्यालयहरूमा निकै पछि निकै ठूलो दुःखले लागू गरिएको मेरिटोक्रेसी प्रधानमन्त्री आफैंले अत्यन्त भद्दा तरिकाले भत्काउनुभयो । नेपालमा आर्थिक विकासको नयाँ चरण सुरू भएको घोषणासहित पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रमसहितको बजेट करिबकरिब दिशाहीन बनाइयो ।  राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणका आधारमा आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्र पहिचान गरी उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने बजेटको प्रतिवद्धता,  एकीकृत आर्थिक करिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको निर्माणको प्रतिवद्धताबाट पनि सरकार विचलित भयो ।  
दुई वर्षअघि म प्रधानमन्त्री हुँदै गर्दा अनियमितता, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा कमजोर भन्दै देश फाइनान्सियल एक्सन टास्कफोर्सको नकारात्मक सूचिमा पर्दै थियो । मेरो नेतृत्वको सरकारले तत्काल कानूनी र संरचनात्मक व्यवस्था मात्र गरेन, त्यसको कडाईका साथ पालना गरायो ।  विना भेदभाव भ्रष्टाचारका फाइल खोल्न थालियो, वित्तीय अपराधीलाई कानूनी दायरामा ल्याउन थालियो । सम्पत्ति शुद्धीकरणका क्रियाकलापलाई नियन्त्रण गर्न थालेपछि देश तत्काल नकारात्मक सूचिबाट जोगियो । तर सरकार ढलेपछि फेरि अनियमितता र संस्थागत भ्रष्टाचारले संरक्षण पाउन थाले । त्यो पनि सरकारको शीरबाटै ।  अवैध आर्थिक गतिविधिहरु बढे । बिगतमा गरिएका सुधारका कदमबाट टेक्निकल कम्प्लायन्स पूरा भए पनि  वर्तमान सरकारले त्यसको कार्यान्वयन पक्षमा वेवास्ता गर्यो । परिणामस्वरुप आज देश एफ्एटीएफ्को ग्रे लिष्टमा पर्ने खतरा छ । देशको अर्थतन्त्रलाई अझ संकटतिर धकल्ने सरकारको यो कृयाकलापलाई सदनले रोक्नुपर्छ । 

स्रोतसाधनको अधिकतम लाभका पूर्वाधार होइन, भ्यूटावरहरु रोजाइ भए, ऋण थपियो तर त्यसको प्रतिफल आएन । विगतका हस्तक्षेपहरुबाट शोधनान्तर बचत, उच्च विदेशी मुद्राको सञ्चिति, बैंकिङ क्षेत्रमा तरलताको प्रचूरता, ब्याजदरमा कमी, नियन्त्रणभित्रै रहेको मूल्यवृद्धी जस्ता सकारात्मक नतिजा आएका थिए । तर, पछिल्ला छ महिनाको अवधिमा सरकारको सुस्त गति र अकर्मण्यताको कारण पूंजिगत खर्च दयनीय अवस्थामा पुग्यो । अवाञ्छित गतिविधिले प्रश्रय पाउँदा पुँजी पलायन बढ्न थाल्यो । 

सभामुख महोदय, 
मैले मेरो कार्यकालमा अत्यन्तै मेहनतका साथ छिमेकीहरूसँगको सम्बन्ध ऐतिहासिकरूपमै अघि बढाएको थिएँ । भारतसँग नेपालको रणनीतिक विकासका क्षेत्रमा कैयन महत्वपूर्ण समझदारि भएका थिए । चीन भ्रमणका क्रममा बिआरआइ लगायत द्विपक्षीय हितमा महत्वपूर्ण सहमति भएको थियो । अल्पविकसित राष्ट्रहरूको नेतृत्व गर्दै जलवायु परिवर्तन लगायतका एजेण्डामा नेपालले संयुक्त राष्ट्रसंघ र अन्य मञ्चहरूमा नेपालको नेतृत्वदायी भूमिका स्थापित भएको थियो । तर अहिलेको सरकारले नेपालको हित अनुरूप कुटनीतिक क्षेत्रमा भूमिका खेल्न सकेन । राष्ट्रिय स्वार्थका आधारमा विश्वमञ्चमा नेपालको दरिलो उपस्थिति बनाउनुको साटो सरकार आफ्नो स्वार्थमा परराष्ट्र सम्बन्ध ध्वस्त बनाउन पुग्यो । विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीकै तहबाट पहल हुनुपथ्र्यो, त्यो भएन । बदलिएको विश्व परिस्थितिमा मध्यपूर्वलगायतका देशमा नेपालीहरूमाथि आइपर्ने समस्या र उनीहरुको संरक्षण गर्ने तत्परता सरकारले देखाउन सकेन । सामन्ती शोषणको अवशेषका रूपमा रहेको मिटरब्याजलाई कानूूनतः अपराध घोषणा गरिएको थियो । जिल्लास्तरमा नै संयन्त्रमार्फत सयौं पीडितका समस्या हल हुँदै थिए । अहिले अचानक रोकियो । लघुवित्त क्षेत्रका समस्या फेरि बल्झाइदै छ । सहकारी पीडितहरुको माग र पीडा सम्बोधन गर्नुको साटो सरकारले सहकारी ्ठगहरुलाई नै उन्मुक्ति दिने गरी सहकारी अध्यादेश ल्याइएको छ । 

मैले नेतृत्व गरेको सरकारले यो आर्थिक वर्षमा पाँच लाख भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनको पूर्ण तयारीसहित बजेटको व्यवस्था गरेको थियो । अहिले तिनको व्यवस्थापनको वहाना बनाएर भूमाफियाका स्वार्थ पूरा गर्न अध्यादेश नै ल्याइएको छ । म सोध्न चाहन्छु, बैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान सीप र पुँजीमार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने रिटर्नी उद्यमशीलता कार्यक्रम के भयो ? राष्ट्रिय रोजगार बैंकका लागि सुनिश्चित गरिएको बजेट के भयो ? कम्तीमा एक लाख स्वउद्यमलाई समर्थन गर्ने तयारी के भयो ? युगौंदेखि जातीय विभेद सहेर आत्मसम्मानको सङ्घर्ष गर्दै आएका दलित समुदायको समग्र आर्थिक रूपान्तरण र संविधानप्रदत्त अधिकार अनुभूतिजन्य तहमा कार्यान्वयनमा ल्याउन विशेष प्रकृतिको दलित विकास प्राधिकरण स्थापनाको निर्णय भएको थियो । त्यो किन स्थापना भएन ? दलित समुदायको सिप र पेशा आधुनिकीकरण गरी रोजगारी सुनिश्चित गर्न सिल्पी उद्यमशीलता कार्यक्रम बजेटमार्फत सुनिश्चित गरिएको थियो । त्यो किन कार्यान्वयन भएन ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको काम किन रोकियो ? के भूमिहीन, दलित, महिला, श्रमिक, घाइते र अपांगका  कार्यक्रम च्यातेर तपाईहरुले प्रचण्डसँग लिइरहनुभएको हो प्रतिशोध? 

हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं ।  म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालिन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ । त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन ।  यो  कागजको खोस्टो सरह भयो भनेर उहाँहरुले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ। संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरासुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरित छैन र ? यसले  एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेश्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई जोडदार आग्रह पनि गर्छु र खबरदारी पनि गर्दछु । अहिले संविधान कार्यान्वयनको गति प्रभावित भएको छ किनकि संघलाई प्रदेशका अधिकारको कुनै मतलव छैन । सङ्घीयताको सबलीकरण त सरकारको प्राथमिकतामै छैन । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना केवल भाषणमा सीमित छ । भ्रष्टाचार नियन्त्रण त प्रधानमन्त्रीले भन्न पनि नछाड्ने र जनता हाँस्न पनि नछाड्ने विषय भएको छ । सायद प्रधानमन्त्रीलाई यो हेक्का छैन होला ।

प्रधानमन्त्रीजी बेलाबेला संसदको दुईतिहाइ सम्झाउनुहुन्छ र बलियो सरकारको घमण्ड गर्नुुहुन्छ । व्यवहारमा कति बलियो छ त यो सरकार ? बाढीपहिरोमा देखिन्न, बलियो सरकार । प्राकृतिक विपत्तिमा देखिन्न, भूकम्पमा देखिन्न । नागरिक सेवा र सुशासनमा देखिन्न । शिक्षा, स्वास्थ्य र रोजगारीमा देखिन्नँ । गएको वर्षामा टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । हेलिकोप्टरको भिजिबिलिटी पुगेन भनेर टक्टकिने कोशिस भयो । भिजिबिलिटी त हेलिकोप्टरको होइन, सरकारको नपुगेको हो । उद्धार कार्यमा मात्रै होइन, अहिले पुननिर्माणमा पनि सरकारको काम पुगेको छैन । विपी लोकमार्गमा जनताले अहिले निकै पीडा भोगिरहेका छैनन् । यो लोकमार्ग आगामी वर्षातभित्रै पुनर्निर्माण गरिसक्नुपर्ने छ । 

सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ । हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइछाड्ने षड्यन्त्रमा छन् । त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ । म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ ? यसको समीक्षा गरियोस् । राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ? 

सहकारी ठगीमा सरकारको मापदन्ड अन्यायपूर्ण मात्र छैन, पूरै गलत छ । सत्ताका मान्छे घरमै बसेर फरार हुन पाउँछन् । अन्तिम दिन अदालतमा हाजिर हुन पाउँछन् । त्यही दिन पेशी पाउँछन्, वयान दिन पाउँछन् । सरकारी वकिलले त्यही दिन टुंग्याउँछन् अनि त्यही दिन फैसला आएर आरोपी घर जान्छ । उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएको मन्त्रीलाई मुद्दा नचलाएर उन्मुक्ति दिइन्छ । अहिले त तपाईहरु बलियो भएकाले बहादुरी गर्यौं पनि भन्नुहोला तर यसलाई जनताले गहिरो गरी नियालिरहेको छ । एकातिर प्रतिपक्षी पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालयमार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानविन गरिन्छ । अर्कोतर्फ त्यहिदिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारुढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्छ । सत्ताको यो तहको दुरुपयोग र मत्स्यन्यायले हामीलाई कहाँ पुर्याउँला ?

सरकार र गठबन्धनका लागि कानुनका फरकफरक मापदण्ड छन्, फरकफरक व्याख्या छन् । राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अर्ब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमिपूजन गर्छन । कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को अर्ब खर्चेर त्यो कार्यालय बनाइदिने, नैतिक छ ? कानुनी छ ? 
उता, सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्को एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलाइन्छ । यदि दोस्रो नेतालाई संगठित अपराधी मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ ? कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन ? यो सदनले गम्भीर रुपले विचार गर्नुपर्ने विषय ठान्छु म । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन ? 

अहिले यो बीचमा प्रधानमन्त्रीजीमा थुप्रै प्रश्न उठेका छन् । तपाईहरुलाई थाहै छ, यसवीचमा म सुदूर पूर्व झापादेखि सुदूर पश्चिम कन्चनपुरसम्म पुगेँ । सातै प्रदेशका कार्यकर्ता र जनतासँग अन्तक्र्रिया गरेँ । सत्ता पक्षका नेता कार्यकर्ताहरुले पनि मसित धेरै नै संवाद गर्नुभएको छ र अपेक्षा राख्नुभएको छ । यसबीचमा बन्द कोठामा होइन, ठूल्ठूला सभाहरुमा ठूलाठूला अन्तरसंवाद भए । म आज दावीका साथ भन्न सक्छु, जनताको मनोविज्ञान मैले अरु नेताका तुलनामा बढी बुझेको छु भन्ने मेरो दाबी छ । सातै प्रदेशको निष्कर्ष के छ त ? तपाईहरुले जसरी शासन चलाउँदै हुनुहुन्छ, त्यसले जनतामा एकदमै वितृष्णा थपेको छ । स्वार्थसमूहहरुप्रति तपाईहरुको वफादारी देखेर जनता उकुसमुकुस भएको छ । विचौलियासँगको सरकारको सम्बन्ध देखेर जनता विचलित भएको छ । मलाई डर छ, तपाईंहरुप्रतिको आक्रोश कतै व्यवस्थाप्रतिको आक्रोशमा नबदलियोस् । दोष तपाइको हो, व्यवस्थाको होइन । 

सभामुख महोदय,
अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई । शेरा दरबारमा संलग्नता देखिन्छ भने मबाटै छानविन गर्नुहोस् । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं । म आज सम्मानित रोष्टममा भन्न चाहन्छु, शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानविन गरियोस् । अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने ? उहाँ यसमा तयार हुनुहुन्छ ? तपाई ढुक्क नहुनुहोला, जनताले निकायलिरहेको छ ।

म अलिकति संविधान संशोधनबारे पनि बोल्न चाहन्छु । यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो । के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो । अहिले लोडसेडिग भयो कि के भयो, त्यो फिल्म धेरै चलेको देख्दिनँ । प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ । आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ ।  
कांग्रेस र एमालेका केही नेताले यसबीचमा अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो । म ती नेताहरुलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईहरुको दया मायाले हो ? तपाईको करुणाले बनेको हो नेकपा (माओवादी केन्द्र) ? तपाईले दयाले खोलिदिएको हो कुनै बेलाको मधेशी जनअधिकार फोरम ? तपाईहरुले बक्सिस् दिएर आएको हो, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट ? तपाईले चाहेर बनेको हो, सिके राउतजीले नेतृत्व गरेको जनमत पार्टी ? तपाईहरु चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति ? हामीहरु देशका मालिक हौं भन्ने ग्रन्थीबाट निस्कनोस् साथीहरु । छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस् । यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईहरुलाई नै धेरै हुँदैछ, अरुको चिन्ता नगर्नोस् । आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमन्डबाट ब्युँझनोस् । कुनै बेला सोह्र वर्षमा पन्ध्र सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईहरुले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न त परेको कुरा, छुन पनि सक्नुहुन्न । यो मेरो खुला चुनौती भयो ।
सभामुख महोदय,
मैले यो चुनौती राष्ट्रिय सभामा माओवादीको पोजिसनका कारणले दिएको होइन । दलित, महिला, मधेशी, आदिवासी, जनजाति, थारुलगायत उपेक्षित, उत्पीडित वर्गले पाएको अहिलेको अधिकार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना पार्टीहरुका स्थापना दिवसमा उपहार दिएका होइनन् । अहिलेको सम्मानपूर्ण समानुपातिक प्रतिनिधित्व र समावेशिता उत्पीडित वर्गले आफ्नै रगत बगाएर ल्याएको हो। सीमान्त वर्गको आत्मसम्मान र प्रतिनिधित्व खोस्न अब सम्भव छैन । भोलि माओवादीको एकै सिट मात्र बाँकी नरहे पनि तपाईहरु अब पुरानो ठाउँमा फर्किन सक्नुहुनेछैन । हिजो माओवादीले जगायो होला तर अब उत्पीडित वर्ग र वर्ण आफ्नो लडाइ आफै लड्न सक्ने भइसकेको छ । तपाईहरु पहिला आ–आफ्नै पार्टीभित्रका सरोकारवाला सम्हालेर देखाउनोस् अनि हामीसँग कुरा गर्नुहोला । दलहरुबीच आजसम्मका ऐतिहासिक र युगान्तकारी सहमतिहरु मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतिर लैजाने चेष्टा नगर्नोस् । 
संघीय लोकतान्त्रिक गणतन्त्र तपाईहरुका लागि राजनीतिक सम्झौता होला, माओवादीका लागि त आफ्नै रगतले जन्माएको सन्तान हो । समानुपातिक समावेशिता तपाईहरुले शान्तिका लागि स्वीकार गर्नुभएको होला, माओवादीका लागि त्यो आफ्नै रगतले लेखेको संकल्प हो । एउटा अभिभावकका रुपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ । त्यसैले संविधान संशोधन नै गर्ने हो भने महिलालाई ५० प्रतिशत, जनसंख्या र विशेषधिकारका आधारमा दलितलगायतको प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं । प्रत्य क्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं । यसमा छलफल गर्न तपाईहरु तयार हुनुहुन्छ ?

सभामुख महोदय,
हुन त सरकारमाथिका हाम्रा रचनात्मक आलोचनालाई एक थरी साथीहरु सत्ताबाट बाहिरिनुको छटपटी भनेर सामान्यीकरण गर्न खोज्नुहुन्छ । जनताको आवाजलाई पनि सोसल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला तर सत्तारुढ पार्टीहरुकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ तपाईहरु ? सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरुसँग मनोवल ? किनकि, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर गइरहेको छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगमा रमाइरहेको छ । अलिकति पनि लज्जाबोध नगरी स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा लागिरहेको छ । यसले जनतामा सरकारमात्र होइन, समग्र प्रणालीमाथि नै असन्तोष जगाइरहेको छ । 

पछिल्ला सात महिनामा जनताको आक्रोश ज्यामितीय रुपमा बढेको छ । सरकारको यो तहको कमजोरी प्रतिपक्षी नेताका रुपमा मेरो सन्तोषको विषय हुनुपर्ने हो, तर म चिन्तित छु । म सरकारलाई यही रोष्टमबाट भन्न चाहन्छु, जनताका बीचमा अब सरकारको कुनै क्रेडिबिलिटी बाँकी छैन, कुनै विश्वास बाँकी छैन । जनताप्रति सरकारको हदैसम्म गैरजिम्मेवारी तर विचौलिया र स्वार्थसमूहको खुला तरफदारीले देश आक्रोशित छ । सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ। उद्योगीबाट विजुलीको अर्वौं बक्यौता उठाउनै नखाजेको तर भुँइमान्छेका घरको लाइन काटेको देखेर देश रन्थनिएको छ । त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ । यही सत्य स्वीकार गरेर सरकार सुध्रियो हो भने हामी सहयोग गर्न तयार छौं । यो राजनीतिक आलोचना मात्र होइन, समस्या समाधानका लागि दिएको औषधिको रुपमा लिइयोस् । मेरो शुभेच्छा छ। धन्यवाद !

सामाजिक सञ्जाल विधेयकले नागरिकको अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्यो : प्रचण्ड

काठमाडौं – संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लिएर आएको सामाजिक सञ्जाल विधेयकले नागरिकको अभिव्यक्तिलाई अपराधको श्रेणीमा राखेको भन्दै बोलेको भरमा नागरिकलाई हत्कडी लगाएर सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई हस्तक्षप गर्न खोजेको बताएका छन्।

रचनात्मक आलोचना समेत सहन नसक्ने प्रधानमन्त्रीले सामजिक संजाल नियमनको नाममा नागरिक र प्रेस स्वतन्त्रता हस्तक्षप गर्न खोजेको उनले बताएका छन्।

बोलेको भरमा नागरिकलाई हत्कडी लगाएर जिल्ला जिल्ला घुमाएर नागरिकको अभिव्यक्ति स्वतन्त्रतासंग डराएको सरकारले,आफुले आफैलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउन तिर लागेको समेत बताएका छन्।

नागरिकको अभिव्यक्ति स्वतन्त्रा खोस्नु र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनु प्रधानमन्त्री ओलीको लागि नौलो कुरा नभएको र यसअघिको सरकारमा पनि उनले त्यो प्रयास गरेको, तर हिजो प्रतिपक्षमा छँदा सामाजिक सञ्जाल विधेयकको विरोध गरेको नेपाली काँग्रेस किन र के कारणले ओलिपथमा लागेको भनेर प्रश्न समेत गरेका छन्। “के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ?”,उनले प्रश्न गरेका छन्।

सरकारले रातारात चोर बाटोबाट अध्यादेश लिएर आएको प्रचण्डको आरोप

काठमाडौं – संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदलाई अवमुल्यन र अपमान गर्दै संसद छल्न खोजेको आरोप लगाएका छन्।

आफुहरुले संसद सूचारु गर्न आग्रह गर्दा पनि सरकार जिम्मेवार नदेखिएको तर एकपक्षीय रुपमा बैठक बसेर संसद छल्दै अध्यादेश लिएर आएकोप्रति आपती जनाएका छन्।

रातारात चोर बाटोबाट अध्यादेश लिएर आएको र अध्यादेशबाट सरकार चलाउन खोज्नु संसदको अवमुल्यन भएको उनले बताएका छन।

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं – संघीय संसदको बैठक यतिबेला चलिरहेको छ। यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको भएपनि अन्तिम समयमा आएर सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको बताइएको छ ।

“नो केबलकार” अभियानका १७ प्रदर्शनकारी रिहा

काठमाडौँ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका “नो केबलकार” अभियानका १७ जना प्रदर्शनकारी रिहा भएका छन् ।

माघ १२ गते प्रदर्शनको क्रममा प्रहरीले ताप्लेजुङबाट ३ जना , झापा दमकबाट ८ जना र धरानबाट ६ जना पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रदीप मादेनलाई १० हजार र सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बुलाई जनही ५ हजार धरौटीमा छाडिएको छ बहने झापाको दमकबाट पक्राउ परेका ८ जनालाई साधारण तारेखमा छोडिएको प्रहरीले जनाएको छ।

यसअघी, सरकार र आन्दोलनरत पक्षबीच ६ बुंदे सहमति भएपछी हालको लागि केबलकार निर्माण प्रक्रिया समेत स्थगित गरिएको छ।

अध्यादेशमा समर्थन खोज्दै सत्तारुढ दलका शिर्ष नेता र उपेन्द्र यादवबीच भेटघाट

काठमाडौं – सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभामा ६ वटा अध्यादेश पेस गरिसकेको छ। प्रतिनिधि सभाको आजको बैठकमा ति अध्यादेशहरू निर्णयार्थ पेस हुँदैछन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

प्रतिनिधि सभामा सत्तारुढ दलको बहुमत रहेपनि राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन सरकारलाई बहुमत नपुग्ने भएपछी सतारुढ दलका शिर्ष नेताहरु काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले जसपा नेपाललाई अध्यादेशको पक्षमा समर्थन जनाउनको लागि आग्रह गर्दै आएका छन्।
यो बिचमा यादव र सत्तारुढ दलका शिर्ष नेताहरुबीच पटक-पटक छलफल समेत चलिरहेको छ।

त्यसो त अध्यादेशबारे अध्ययन गर्न जसपाले राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएको थियो। कार्यदलले गएको मंगलबार र बुधबार विज्ञसँग छलफल गर्दै उक्त छलफलबाट आएको प्रतिवेदन आजको संसदीय दलको बैठकमा पेस गर्ने पनि जनाएको छ। यधपी, सरकारले ल्याएका अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा जसपाले अझै निर्णय गरिनसकेको अवस्थामा सत्तारुढ दलका शिर्ष नेताहरु जसपा नेपाललाई आफ्नो कित्तामा ल्याउन भरमग्दुर प्रयासमा लागेका छन्।

अध्यादेशबारे निर्णय लिनुअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका काँग्रेस नेताहरू र प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई समेत भेटेर छलफल गरिरहेका छन्।

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट:१४ जना घाइते

काठमाडौँ- काठमाडौंको कमलपोखरी स्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

आज बिहान पौने ९ बजे भएको उक्त विष्फोटमा परि १४ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

घाइतेमध्ये एक जना उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

सार्वजनिक खर्चमा कडाइ :सरकारले अबदेखि बैठक भत्ता नदिने

काठमाडौँ- सरकारले अबदेखि बैठक भत्ता नदिने भएको छ। सार्वजनिक खर्च मितव्ययितासम्बन्धी मापदण्डले नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, पारित गर्दै यस्ता सुविधामा कटौतीको व्यवस्था गरेको हो। 

कानुनबमोजिम बाहेक कुनै पनि प्रकारको प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेबापतको भत्ता, जोखिम भत्ता, विशेष भत्तालगायतका भत्ता प्रदान नगर्ने उल्लेख छ। तर, अर्थ मन्त्रालयले स्रोत उपलब्धताको आधारमा जोखिम भत्ता वितरण गर्न पाउनेछ।कानुनबमोजिम गठन भएको समिति वा कार्यदलको लागि कार्यालय समयअघि वा पछि काम गरेको अवस्थामा बैठक भत्ता भुक्तानी गर्न नपाइने व्यवस्था छ।कुनै निश्चित कामको लागि गठन भएको छानबिन वा अनुसन्धान समिति, कार्यदल वा आयोगका पदाधिकारीले पूर्वनिर्धारित कामका लागि बैठक भत्ता पाउने छैन।नियमित प्रकृतिको कामलाई कार्यक्रम खर्चमा राखी सञ्चालन गर्न पाइने छैन। कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ताजस्ता शीर्षकमा खर्च लेख्न पाइने छैन।

विदेशी अतिथि तथा पाहुनाको लागि गरिने अतिथि सत्कारका लागिबाहेक अन्य अवस्थामा सरकारी खर्चमा भोजभतेर गर्न नपाइने व्यवस्था छ।

त्यसैगरी, सरकारी आवास प्रयोग गर्नेले आवास सुविधा रकम नपाउने,आर्थिक सहायता तथा अनुदान अर्थको सहमतिमा मात्रै दिने ,विधुतिय उपकरण कम्तीमा ५ वर्ष प्रयोग गर्नुपर्ने ,सरकारी काममा बाह्य परामर्श सेवा लिन नपाइने,सवारी सुविधा लिने कर्मचारीलाई थप इन्धन नदिइने,सरकारी स्रोत र वैदेशिक ऋणबाट आवासीय गोष्ठी गर्न नपाइने र स्वदेशी वस्तु उपयोग गर्नुपर्ने, औषधिको खरिद वेवसाइटमा राख्नुपर्ने लगायतका प्रावधानहरु समेटेर सरकारी खर्च कटौती गर्ने व्यवस्था गरिएको छ।

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।यसअघिको बैठकमा पनि पार्टी केन्द्रिय कमिटीले सांसदहरुलाई अध्यादेशको विषयमा एक भएर बोल्न आग्रह गरेको थियो। यधपी, अध्यादेशको विषयमा भने सांसदहरु विभाजित देखिएका छन्।

सरकारले ल्याएको अध्यादेश र अन्य विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, ८४ को निर्वाचन अगाडी पार्टीको महाधिवेशन गर्ने विषयमा पार्टीका सांसदहरुबीच अन्यौलता बढिरहेका बेला त्यस विषयमा पनि छलफल हुने बताइएको छ।

आज प्रतिनिधि सभा बैठक बस्दै: यस्तो छ आजको बैठकको कार्यसूची

काठमाडौँ: हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दैछ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।

आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि आजको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिपक्षी दलका सांसदहरुले अध्यादेश अस्वीकृत गर्न भन्दै प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा प्रस्ताव दर्ता गरेका छन्।

प्रितिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुने देखिएको छ। यधपी,राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूको बहुमत पुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालको साथ खोजेका छन्। त्यसका लागि सत्तारुढ दलका शिर्ष नेताहरु उपेन्द्र यादवलाई अध्यादेशको पक्षमा ल्याउन सक्दो कोशिस गरिरहेका छन्।

pratinidhi sabha karyasuchi
karyasuchi

यस्तो रहनेछ आगामी तीन दिनको देशभरको मौसम

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

२०८१ माघ २४ गते (बिहिबार)

दिउँसोː कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २५ गते (शुक्रबार)

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहनेछ।

रातीː कोशी प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २६ गते (शनिबार)

दिउँसोː कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर जंगली हात्तीको मृत्यु

चितवन- निकुञ्जका सुरक्षाकर्मीकै गोली लागेर मकुना नामक जंगली हात्तीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मकुनाले चितवनको सौराहा आसपासका बस्तीमा छिरेर त्रास फैलाइरहेकोले हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जले बताएको छ।

निकुञ्जले विज्ञप्तिमार्फत स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको तर हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको र घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न आएपछी अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले बताएको छ।

‘हवाई फायर गर्दा पनि नभागेपछि हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको र पछि खोज्दै जाने क्रममा करिब १ किमी टाढा ढलेको अवस्थामा साढे १ बजे फेला परेको विज्ञप्तिमा भनिएको छ।

पोस्टमार्टमका क्रममा हात्तीको दाहिनेपट्टी घाँटीमा एउटा गोली लागेको कारण मृत्यु भएको पुष्टि निकुञ्जले गरेको छ।

makuna hatti

रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने चितवन अदालतको आदेश

चितवन : साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको छ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय पठाइएको हो।

थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन्। यता मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशील कुमार पन्त र धर्मराज आचार्य र अधिवक्ताहरू डा. नारायण दत्त कडेल,चुडामणी सापकोटा,रामचन्द्र देवकोटा,सुवर्ण सापकोटा, सञ्जय गोले,गोपीलाल देवकोटा,केदारराज पन्त र दिपकराज तिमल्सेनाले वकालतनामा भरेको जनाइएको छ।

यसैगरी सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन्। लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जना, रामबहादुर खनाल ,रबिना रिमाल , बिशाल तामाङ ,नविन अछामी ,कबिता तामाङ , दिपक लामा ,असरफअलि सिद्दिकी ,भगवति बम्जन,लक्ष्मीप्रसाद पौडेल , विज्ञान राई ,नेत्रपाणी बास्तोला ,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

यसअघि असोज ८ गते बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।

अहिलेको १५ जना गरी ३२ जनाबाट ३८ करोड ९ लाख ८९ हजार १७७ रुपैयाँ बिगो दाबी गरिएको छ । कम्पनी तर्फ ६ वटा कम्पनी बाट ४४३ करोड ९४ लाख माग दाबी गरिएको छ । थप अनुसन्धानका क्रममा जोडिएका १५ जना विरुद्ध पुरक मुद्दा दर्ता गरिएको हो।

मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए। लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनीरसञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन्।

उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् । सहकारीको रकम अपचलन मुद्दामा लामिछाने कास्की ,रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। कास्कीमा ६५ लाख ,काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका हुन्।

अध्यादेशबारे छलफल गर्न सभामुख र प्रमुख सचेतकको बैठक

काठमाडौं – अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध चलिरहेका बेला बिहीबार हिउँदे अधिवेशनको दोस्रो संसद बैठक बस्दैछ। त्यसैले विवादित विषयहरुमा छलफल गर्नका लागि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको हो ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

पाथीभरा केबलकार निर्माण स्थगित

काठमाडौं : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण कार्य स्थगित गर्ने भएको छ। केबलकार निर्माणको विषयमा केही समयदेखि भइरहेको विवादको विषयमा सहमति भएपछि निर्माण कार्य रोक्ने भएको हो।

मंगलबार राति गृह मन्त्रालयको वार्ता टोली र केबलकार निर्माणको विरोध गरिरहेका टोलीको प्रतिनिधिहरुबीच वार्ता भएको थियो। उक्त वार्तामा ६ बुँदे सहमति भएको हो ।

सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।

सहमतिमा सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने विषय समावेश छन्।

पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजेको समय तोकिएको छ।

बाँसबारी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं – महान्यायाधीवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता रमेश बडालले अनुमोदन गरेका हुन् ।

सीआईबीले पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने भनी राय तयार गरेको थियो । त्यो फाइल उच्च सरकारी वकिलको कार्यालयबाट अनुमोदन हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको हो ।

२८ पुसमा महान्यायाधिवक्ता कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधीवक्ता रमेश बडालले राज्यको सम्पत्ति फिर्ता आइसकेको अवस्थामा मुद्दा चलाउनुको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा मुद्दा नचलाई अनुसन्धान टुंग्याउनु उचित हुने बताएका थिए ।

‘राज्य नै पीडित भएका घटनामा सम्पत्ति फिर्ता भएपछि बिगो शुन्य भएका कैयौं उदाहरण छन् । बिगो शून्य भएमा अदालतले नै सफाई दिने गरेको बताएका थिए।

मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु:

१. नेपाल–भारतीसीमादेखि भारतको मुजफ्फुरपुरसम्म प्रसारण लाइन निर्माणका लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको नेपाल विद्युत् प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार एक सय ६३ कित्ता संस्थापक सेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति दिने

२. काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने

३. राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने

४. २०८१ फागुन ६ देखि ८ गतेसम्म मोरक्कोमा हुने ‘फोर्थ ग्लोबल मिनिस्टिल कन्फरेन्स अन रोड सेफ्टी’ विषयक कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति दिने

५. बाल सुधारगृह भक्तपुर, मोरङ, कास्की बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिकाा तथा जेष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाको लागि शैक्षिक कार्यक्रमबिच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मको लागि थप गर्ने

६. सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने

७. २०८२ जेठ २, ३ र ४ गते ‘क्लाइमेट चेन्ज, माउन्टेन्स् एन्ड फ्युचर अफ ह्युमानिटी’ विषयमा काठमाडौंमा ‘सगरमाथा संवाद’ आयोजना गर्ने

८. भेरी पम्पिङ उपआयोजना निर्माणका लागि सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८, ११ र १२ तथा लेखबेँसी नगरपालिका वडा नम्बर १० मा रहेको राष्ट्रिय वनको ३.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने

९. २०८१ माघ २९ देखि फागुन १ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने दी वल्ड गर्भमेन्ट समिट २०२५ मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई स्वीकृति प्रदान गर्ने

१०. वीरगन्जको पोखरिया, कपिलवस्तुको बोडगाउँ र जुम्लाको नराकोटा सिँजामा नयाँ मालपोत तथा नापी कार्यालय स्थापना गर्न संगठन संरचना दरबन्दी तेरिज स्वीकृति दिने

११. सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि आर्थिक वर्ष ०८१-८२ का लागि अधिकृतस्तरका थप १० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने

१२. विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि-नियमावली २०८१ स्वीकृत गर्ने

१३. आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८१ स्वीकृत गर्ने

१४. सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०८१ स्वीकृत गर्ने

१५. नेपाल सरकार कार्यसम्पादन आठौँ संशोधन नियमावली २०८१ स्वीकृत गर्ने

१६. सुशासन, व्यवस्थापन तथा सञ्चालन तेस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने

१७. विशेष आर्थिक क्षेत्र दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने

१८. बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा समूह तथा उपसमूह राजपत्रांकित द्वितीय श्रेणीका सातजना अधिकृतहरूलाई सम्बन्धि सेवा, समूह तथा उपसमूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने ।

उपत्यकाभित्रका मुद्दा हेर्न उपभोक्ता अदालत गठन

काठमाडौँ- सरकारले उपत्यकाका तीन जिल्लाभित्रका सम्बन्धित मुद्दाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयबारे जानकारी गराउंदै र उक्त उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहने बताएका छन् ।

एआई नीतिको मस्यौदा तयार : ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौं- सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ मस्यौदा तयार पारेकाे छ । मस्याैदामा एआई नियमन परिषद्, एआई केन्द्र, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने उल्लेख छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नो वेबसाइटमार्फत ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको छ ।

मस्यौदामा सरकारले एआईको विकास र प्रयोगका लागि नीतिगत दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग अनुकूल हुने गरी कार्य गर्न सरकारले ‘एआई नियमन परिषद्’ गठनको प्रस्ताव अघि सारेको उल्लेख छ । जसमा एआईसम्बन्धी मुख्य निकायका रूपमा ‘राष्ट्रिय एआई केन्द्र’ स्थापना गर्ने, प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य निमाण गर्ने तथा एआईको अध्ययन, अनुसन्धान र विकासका लागि ‘एआई एक्सिलेन्स सेन्टर’ स्थापना गर्ने उल्लेख छ ।

मस्यौदाको रणनीति ८.२ र ८.३ मा मा एआईको अनुसन्धान, विकास, प्रयोग, नियमन र प्रवर्द्धन गर्न परिषद्, केन्द्र र सेन्टरजस्ता संस्थागत संरचना निर्माण गर्ने तथा एआईको विकास र प्रयोगका लागि आवश्‍यक डिजिटल पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ ।

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति अन्तर्गत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा कांग्रेस सांसद डा. चन्द्र भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव राखेका छन्।

विश्वमा यस्तो चलन रहेको बताउँदै सांसद भण्डारीले,गरिमामय पदमा बसेको व्यक्तिलाई एक–एकवटा विश्वविद्यालय दिइयो भने समाज रुपान्तरण गर्दै एक कदम फड्को मार्न सकिने बताएका छन्।

यता, माओवादी सांसद महिन्द्र राय यादवले भने पूर्वराष्ट्रप्रमुखहरू नै पार्टी बैठकमा आउन खोजिरहेको अवस्थामा कुलपति बनाउँदा विश्वविद्यालयलाई राजनीतिबाट बाहिर राख्न नसकिने भन्दै शिक्षामन्त्रीलाई कुलपति राखेर विज्ञहरूको प्रतिस्पर्धाबाट उपकुलपति राख्न उनले सुझाव दिएका छन्।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमा कुलपति प्रधानमन्त्री हुने प्रावधान राखिएको छ । यसमा सांसदहरूले फरक–फरक प्रस्ताव राखेका छन् ।माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीलाई संरक्षक राखेर शिक्षामन्त्रीलाई बढी जिम्मेवार बनाएर जान सकिने तर उपकुलपति चाहिँ विज्ञलाई नै बनाउनुपर्ने राय दिएकि छन।

विधेयकको दफा ६ मा विश्वविद्यालयको पदाधिकारीमा कुलपति, सहकुलपति, उपकुलपति, रजिस्ट्रार, डीन, प्रिन्सिपल र अस्पतालको निर्देशक हुने भनिएको छ । तर समितिमा प्रमुख पदाधिकारी कसलाई बनाउने भन्नेमा समितिका पदाधिकारीहरुबीच नै फरक मत देखिएको छ। कुलपति कसलाई बनाउने भन्नेमा समिति निचोडमा पुग्न नसकेपछि थप परामर्श गर्ने भन्दै दफा ६ लाई होल्ड गरिएको छ।

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित विधेयकको दफा ७ मा सभाको गठनको व्यवस्था छ । उक्त दफाको उपदफा २ को उपदफा क र ख मा कुलपति सभाको अध्यक्ष र सहकुलपति उपाध्यक्ष हुने भनिएकोमा पनि समितिले निचोड निकाल्न नसकेपछि उक्त दफालाई पनि अन्तिममा टुंगो लगाउने निर्णय समितिले गरेको छ । तर, सभा २५ सदस्यीयको हुने जसमा ९ जना महिला अनिवार्य हुने व्यवस्था समितले पारित गरेको छ । बौद्धिक चोरी गरेको व्यक्ति सभाको सदस्य हुन नपाउने पनि समितिले पारित गरेको छ ।

विश्वविद्यालयको सभा सदस्यमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षलाई राख्ने कि नराख्ने भन्नेमा सांसदहरूबीच मतभेद देखिएपछि रास्वपाकी सांसद डा. तोसिमा कार्कीले दलका विद्यार्थीका कारण विश्वविद्यालयमा दलीयकरण बढेको र दलको दलदलमा विश्वविद्यालय फसेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन राख्न नहुने मत व्यक्त गरेकी छन् ।यता, एमाले सांसद दीपा शर्मा ,समिति सभापति अम्बरबहादुर थापा र शिक्षामन्त्री विद्या भट्टराईले भने विद्यार्थी प्रतिनिधि राख्दा उपयुक्त हुने तर स्वतन्त्र विद्यार्थी युनियन कस्तो हुने मोडालिटी बनाउनुपर्ने बताएका छन् ।

त्यस्तै राष्ट्रिय सभाले ख्यातिप्राप्त विद्वान, विषय विज्ञ, विश्वविद्यालयमा कार्यरत प्राध्यापक वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रतिनिधिलाई सभाको बैठकमा आमन्त्रण गर्न सकिने भनेर पारित गरेको छ भने प्रतिनिधिसभाको शिक्षा समितिले पनि यसैलाई अनुमोदन गरेको हो । शिक्षा समितिले विधेयकको दफा ३, ४, ५, ७, ८, ९, १० र ११ दफा पारित गरेको छ ।

झापामा गोली चल्दा एक जना घाइते

झापा : झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन्।

झापाको कन्काई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।

कनकाईमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए।

त्यस क्रममा उनीहरू भागेपछि लखेटेर पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। प्रहरीले लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। एक जनाको भने खुट्टामा दुई गोली लागेको छ। दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन्। एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ।

पासपोर्ट छपाइको म्याद थप गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई निर्देशन दिएको छ।

धेरै प्रतिस्पर्धीहरु सहभागी हुनसक्ने आकलनसहित कार्यालयले आइतबार राहदानी विभागलाई पत्र पठाएको हो। बोलपत्र कगजपत्रमा संशोधन भएपछि म्याद थप गर्नुपर्नेमा विभागले नगर्दा कार्यालयमा उजुरी परेको थियो।

‘बोलपत्र दाखिला गर्ने अन्तिम मिति म्याद थप गर्दा धेरै प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने देखिएमा गुनासो सम्बोधन गर्नुहुन निर्देशानुसार अनुरोध छ’, खरिद अनुगमन कार्यालयले विभागलाई काटेको पत्रमा उल्लेख छ।

संशोधनअघि १ कम्पनीले मात्रै सहभागी हुन पाउनेमा अहिले ३ वटा कम्पनी संयुक्त उपक्रममा भाग लिन सक्नेछन्। संशोधनबाट व्यवस्थाहरु फेरिएकाले टेन्डरको म्याद थप गर्नुपर्ने उजुरीमा उल्लेख छ।

‘राहदानी विभागले टेन्डर डकुमेन्ट संशोधन गरेपछि तयारीको लागि २१ दिन मात्रै बाँकी छ’, उजुरीमा भनिएको छ, ‘संयुक्त उपक्रममा ठेक्का हाल्न पाउने व्यवस्थापछि कम्पनीहरुबीच प्राविधिक र वित्तीय जानकारीको लागि समय लाग्ने भएकाले म्याद थप गर्नको लागि आग्रह गर्दछौँ।’

उजुरीमा थप ४५ दिन माग गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरुले बोलपत्रमा आवेदन दिने योग्यतामै परिवर्तन भएकाले १ महिनासम्मको म्याद थप गर्दा उपयुक्त हुने बताएका छन्।

राहदानी विभागले अधिकांश गुनासोको विषय सम्बोधन भएकाले म्याद थपको विषय छलफलमै रहेको बताएको छ।

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवन – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । सरकारी वकिल कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ ला र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ ।

डुक र डचेस अफ एडिन्बर् नेपालमा

काठमाडौँ — बेलायती शाही परिवारका राजकुमार एडवर्ड र उनकी श्रीमती सोफी नेपाल आइपुगेका छन्।

महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा सन्तान राजकुमार एडवर्ड नेपाल भ्रमणका लागि आफ्नो श्रीमती सहित नेपाल आएका हुन्। डचेस सोफी भने एडवार्ड अगाडी नै आज बिहान नेपाल आइपुगेकी हुन्।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी थिइन् ।

पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।

नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।

‘यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।

प्रधानमन्त्रीद्वारा एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि देशैभर सुरू हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन्।

विश्व क्यान्सर दिवसको अवसर पारेर मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकृत हुन सरकारको आग्रह

काठमाडौँ — सरकारले सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकृत हुन आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीलाई आफ्ना प्लाटफर्म नेपालमा सूचीकृत गर्न सरकारले सूचना जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ ।

मन्त्रालयले एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरूअनुरूप सूचीकृत हुन प्लाटफर्म सञ्चालकहरूलाई पटक–पटक अनुरोध गर्दै आएकोमा हालसम्म नेपालमा टिकटक, भाइबर र विटकसहित तीनवटा मात्रै सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत भएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । सोही निर्देशिकाको दफा ६ ले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

नेपालमा सूचीकृत नभई र अनुमतिपत्र नलिई सामाजिक सञ्जाल एप सञ्चालन गरे सरकारले प्लाटफर्म नै बन्द गरिदिने प्रावधान प्रस्ताव गर्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लाइसेन्स लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ । लाइसेन्स लिनुअघि प्लाटफर्महरू मन्त्रालयमा अनिवार्य सूचीकृत भएको हुनुपर्छ ।

डचेस अफ एडिनबर् काठमाडौँमा

काठमाडौँ- बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेका छिन । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् ।

त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।

नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।

‘यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।

६ महिनामा २६ प्रतिशतले बढ्यो सेयर कर्जा

काठमाडौं – बैंक तथा वित्तीय संस्थामार्फत ६ महिनामै सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) २६.३ प्रतिशत बढेको छ ।

अन्य क्षेत्रमा कर्जा प्रवाह न्यून रहेका बेला सेयर धितो कर्जा भने उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।

पुस महिनामा मात्रै ५ अर्ब ८३ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह भएको छ । सेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक देखिएका छन् ।

पुस मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ७५ अर्ब ४४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ३४.९ प्रतिशत बढेको हो । असार मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ५५ अर्ब ९३ करोड प्रवाह भएको थियो । कुल मार्जिन कर्जामा १ करोडमाथिको कर्जा हिस्सा ६६ प्रतिशत हो ।

त्यस्तै ६ महिनाको अवधिमा ५० लाखदेखि १ करोडसम्मको मार्जिन कर्जा १४.९ प्रतिशत बढेको छ । पुस मसान्तसम्म यो सीमाको कर्जा १४ अर्ब २८ करोड रुपैयाँ गएको छ ।

२५ देखि ५० लाखसम्मको कर्जा पुस मसान्तसम्म १६ अर्ब १४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ११.९ प्रतिशत बढेको हो । २५ लाखमुनिको मार्जिन कर्जा पुस मसान्तसम्म ७ अर्ब ९० करोड प्रवाह भएको छ । सानो सीमाको यो कर्जा ६ महिनामा जम्मा ८.१ प्रतिशत बढेको छ ।

हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ ।

अहिले वाणिज्य बैंकहरुको कर्जामा ब्याजदर ७/८ प्रतिशतमा झरेको छ । जसले गर्दा कर्जा बढाएर सेयरमा लगानी बढाएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था छ । एक संस्थाले कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै यस्तो कर्जा दिन सक्ने व्यवस्था छ ।

मार्जिन प्रकृतिको यस्तो कर्जाको अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता (ब्याज) भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको १ वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।

कर्जा रकम दिँदा सेयरको मूल्यांकन र पाउने रकममा सीमा तोकिएको छ । धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत मात्रै बैंकहरुले सेयर धितोमा कर्जा दिने हुन् ।

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकी – गण्डकी प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो।

२०७४ साल माघ २२ गते गण्डकीको पहिलो प्रदेशसभा बैठक बसेको थियो। गण्डकीका संस्थापक मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङले चाहिँ फागुन ४ गते सपथ लिएका थिए।

यसअघि माघ २२ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ४ लाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आए पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले फागुन ४ को सार्वजनिक बिदा कटौति गर्दै माघ २२ गते नै प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो।

प्रदेश स्थापना दिवसको औपचारिक कार्यक्रमको लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी रहेका छन्। आज औपचारिक कार्यक्रम आयोजना गरिँदै छ।

असफल संघियता र बोझ बनेको प्रदेश सरकार

२०७२ को संविधान कार्यान्वयनसँगै सिङ्गो नेपाल संघीय संरचना अन्तर्गत सात प्रदेशमा विभाजन हुन पुग्यो । देश प्रदेशमा विभाजन भयो अनि नेपालीपन जात र समुदायमा। त्यति मात्र होइन, दिनानुदिन भारतले सिमा मिचेर सिमानाका जंगे पिल्लरहरु सारेर देशको आयतन खुम्चिंदै गर्दा पनि जिल्लाहरु बढेर ७५ बाट ७७ भए।

प्रादेशीक प्रणालीले शक्ति विकेन्द्रित गर्ने, क्षेत्रीय विकास सुनिश्चित गर्ने, र समावेशीकरणलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको थियो। तर, संघियता कार्यान्वयनको झण्डै एक दशक पछि, प्रादेशिक प्रणाली र तिनका सरकारले जनतालाई देखाएको सपना र वाचा भने पुरा गर्न सकेनन् , जसले गर्दा आज देशमा संघियता र प्रदेश खारेजीको माग सडक हुँदै सदनसम्म गुञ्जिन थालेको छ।

गाउँ- गाउँमा सिंहदरबारको नारा दिएर जन्मिएको प्रादेशीक सरकारले धेरैलाई जमिनबाट उठाएर सिंहदरबार जत्रो महलमा बस्न सक्ने बनायो तर जनतालाई भने रैती बाहेक केहि बनाउन सकेन। सायद यहि होला गाउँ- गाउँमा सिंहदरबार भनेको।
हिजो राजाले यति सम्पति थुपारेका छन् र भाग लगायो भने पनि एक जना नेपालीको भागमा यति रुपैया पर्छ भनेर झुट्टा सपना देखाएकाहरुले सिंहदरबारको सपना देखाएर धेरै छोटे राजाहरुको दर्शन मात्र गराए। हिजो लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाएछ। स्थापनाको ८ वर्षमा लुम्बिनी प्रदेशले ६ वटा सरकार, ४ जना प्रदेश प्रमुख र ७२ जना मन्त्रि जन्माएछ।

यो खाले संघियता र प्रदेश सरकारले राष्ट्रिय बजेटमा ठूलो वित्तीय भार थपेको छ। प्रादेशिक सभाहरू सञ्चालन, मन्त्रीहरू र कर्मचारीहरूको तलब, र पूर्वाधार निर्माणमा लाग्ने खर्चले स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकास जस्ता आवश्यक क्षेत्रमा लगानी घटाएको छ। निर्णय प्रक्रियालाई सरल बनाउनको सट्टा, यसले संघीय, प्रादेशिक, र स्थानीय निकायहरूबीच जिम्मेवारी दोहोरोपन र अन्योलता ल्याएको छ।संघीय र प्रादेशिक सरकारहरूबीच अधिकारको स्पष्ट परिभाषा नहुँदा एकातिर संघीय र प्रादेशिक सरकारहरूबीच शक्ती संघर्ष बढ्दै गएको छ भने अर्कोतिर देशमा राजनीतिक अस्थिरता बढेको छ जसले गर्दा सरकारले आफैले बनाएका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। नौकरशाहीको तह थपिनु र विभिन्न सरकारी तहहरूबीच समन्वयको अभावका कारण सार्वजनिक सेवाहरूको पहुँच सुधार्ने सट्टा झन् जटिल बन्न पुगेको छ। संघीय प्रणालीले राजनीतिक विखण्डनलाई बढावा दिएको छ, क्षेत्रीय दलहरूको प्रभाव बढेर बारम्बार सरकार परिवर्तन र नीतिगत असंगतिहरू पैदा भएका छन्। यसले दीर्घकालीन योजना र दिगो विकासमा अवरोध पुर्याएको छ। अनि कुन सरकार कति बेला फेरिन्छ थाहा हुँदैन। स्वास्थ्य मन्त्रीको हैसियतमा विदेशको कुनै कार्यक्रममा गएकाहरु फर्किंदा कानुन मन्त्रि भएर एयरपोर्टमा ओर्लिन्छन्।

करिब ३० लाख जनसंख्या र १,४७,५१६ वर्ग किलोमिटर क्षेत्रफल भएको नेपाल तुलनात्मक रूपमा सानो मुलुक हो। प्रादेशिक प्रणाली जस्ता जटिलताहरू ठूला, विविधतापूर्ण देशहरूका लागि उपयुक्त हुन्छ , जहाँ क्षेत्रीय असमानता उच्च हुन्छ। तर नेपालको प्रादेशीक प्रणालीले देशलाई सम्बोधन गर्ने र जोड्ने भन्दा पनि विभाजन गर्नेतिर अग्रसर गराएको देखिन्छ।

नेपालको भौगोलिकता, जनसंख्या र क्षेत्रफललाई आधार मान्ने हो भनेपनि स्थानीय सरकारहरूलाई सशक्त बनाएर नेपालको सघन भूगोल र जनसंख्या प्रभावकारी रूपमा केन्द्रित प्रणालीमार्फत व्यवस्थापन गर्न सकिने ठाउँमा प्रदेश सरकारको आवश्यकता देखिदैन, जसले केवल राज्यको सम्पतिको दोहन मात्र गरेको छ। आयातित अर्थतन्त्र रहेको नेपाल जस्तो देश जसले ऋण र अनुदान लिएर कर्मचारीको तलब र भरण पोषण गर्नुपरेको छ त्यो देशमा आखिर यो प्रदेश, पार्टीका नेता ठेगान लगाउने र कार्यकर्ता भर्ति गराउने थलो भन्दा माथि उठ्न नसक्ने हो भने यसले देशलाई आर्थिक र सामाजिक रुपमा निको गहिरो दलदलमा लैजाने देखिन्छ।

नेपालमा प्रादेशिक प्रणाली एक अप्रभावकारी र खर्चिलो प्रयोग सावित भएको छ। देशको आकार र प्रशासनिक आवश्यकताहरूलाई हेर्दा, बलियो स्थानीय सरकार र प्रभावकारी केन्द्र प्रशासनमा आधारित सरल शासन मोडेलले दिगो विकास र राजनीतिक स्थिरताका लागि उत्तम बाटो प्रदान गर्न सक्छ। यी सुधारहरू अपनाउँदा नेपालले राजनीतिक स्थिरता कायम गर्न, विकासलाई प्रोत्साहन दिन, र नागरिकहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्नेछ।

जसपा नेपालको संसदीय दलको बैठक बस्दै:अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दैछ। आजको संसदीय दलको बैठकमा जसपा नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने बताइएको छ।

सरकारले ल्याएको अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर अध्ययन गर्नका लागि जनता समाजवादी पार्टी, नेपालले सांसद राजकिशोर यादवको संयोजकत्वमा गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आजको बैठकमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर आफ्नो रायसहितको प्रतिवेदन पेश गर्ने बताइएको छ।

जसपा, नेपालले समर्थन गर्दा मात्रै राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुनसक्ने सम्भावना रहेपछी उपेन्द्र यादवलाई प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले लगातार फोन गरेर अध्यादेशमा समर्थन जनाउन आग्रह गरेको समेत बुझिएको छ।

रुससँग पराजित भएमा युक्रेन विश्व मानचित्रबाट हराउनेछ: जोस म्यानुअल अल्बारेस

स्पेनी विदेशमन्त्री जोस म्यानुअल अल्बारेसले रुससँगको द्वन्द्वमा पराजित भएमा युक्रेन विश्वमानचित्रबाट हराउने बताएका छन्।

युरोपा प्रेस एजेन्सीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “युक्रेन बिना युक्रेनको बारेमा केहि पनि निर्णय गर्न सकिँदैन र युरोपेलीहरू बिना युरोपेली सुरक्षाको बारेमा केहि पनि निर्णय गर्न सकिँदैन”। “त्यसैले यो युद्दमा पराजित भएमा युक्रेन हराउनेछ,” उनले भने।

“यदि रुसले यो युद्ध हारेमा, त्यो रुसको हार हुनेछ , तर यदि युक्रेनले यो युद्ध हारेमा, युक्रेन हराउनेछ,” उनले भने।

मेक्सिको विरुद्दको अमेरिकी कर नितीमा एक महिना लामो विराम

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम र उनका समकक्षी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्तामा मेक्सिकोले पनि अमेरिकालाई प्रतिकारको रुपमा निर्यातमा कर लगाउने बताएपछि अमेरिकी सरकारले उद्घोष गरेको करहरूमा एक महिना लामो विरामको घोषणा गरिएको छ ।

दुवै नेताहरूले सोमबार सामाजिक सञ्जाल (X) मार्फत स्टाटस राखेर वार्ता भएको पुष्टि गरेका छन् भने एक अर्का विरुद्द निर्यातमा लगाउने भनिएको कर एक अम्हिनाको लागि स्थगित गरिएको बताएका छन्।

राष्ट्रपति क्लाउडिया शेनबाउमले आफ्नो स्टाटसमा लेखेकी छन् “हामीले हाम्रो सम्बन्ध र सार्वभौमिकताको लागि ठूलो सम्मानका साथ राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्यौं र छलफलको परिणामस्वरूप, मेक्सिकोले “मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थको तस्करी रोक्न” आफ्नो उत्तरी सिमानामा १०,००० राष्ट्रिय गार्ड सेना पठाउनेछ र अमेरिकाले बदलामा, मेक्सिकोमा उच्च-शक्तियुक्त हतियारहरूको तस्करी रोक्न काम गरिरहेको छ र गर्नेछ ” ।

ट्रम्पले पनि शेनबाउमसँगको कुराकानीलाई “धेरै मैत्रीपूर्ण” भनेर वर्णन गर्दै मेक्सिकोको राष्ट्रिय गार्डको तैनाथीको प्रशंसा गरेका छन् ।

युरोप-अमेरिका व्यापार युद्धले चीनलाई फाइदा पुर्‍याउनेछ – काजा कालास

ब्रसेल्स- युरोपेली विदेश नीति प्रमुख काजा कालासले युरोपेली संघ र अमेरिकाबीच सम्भावित व्यापार युद्धले चीनलाई फाइदा पुग्ने बताएकी छन्।

समुदायको अनौपचारिक शिखर सम्मेलनमा ब्रसेल्स पुगेकी कालासले पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएकी हुन्। पत्रकारहरुसंग कुरा गर्दै उनले भनिन्,”यदी युरोप र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध सुरु गरे भने त्यसको फाइदा चीनले लिनेछ ” ।

अमेरिकाले युरोपेली सामानहरूमा कर लगाउनाले दुवै पक्षले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने र अन्य धेरै नकारात्मक परिणामहरू निम्त्याउनेछ र यस्तो निर्णयले रोजगारीमा समेत नकारात्मक असर पार्ने उनले बताएकी छन्।

फेब्रुअरी २ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली राष्ट्रहरुलाई थप भन्सार शुल्क लगाउन सक्ने बताएका थिए।

अध्यादेशका कार्यसम्पादन नियमावली मन्त्रिपरिषदबाट पारित

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले, अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

१८ गते बसेको हिउँदे अधिवेशनको पहिलो दिन सरकारले कानुनमा संसोधन गर्ने गरि विभिन्न विधेयक र अध्यादेश संसदमा पेश गरेको थियो। सोहि कानुन र अध्यादेशलाई कार्यान्वयनका लागि सरकारले तयार गरेको कार्यसम्पादन नियमावली मन्त्रिपरिषद बैठकले पारित गरेको छ।

‘नो केबलकार समूह’ ले बनायो वार्ता समिति

ताप्लेजुङ — गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँगवार्ता गर्नका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ ।

अमर तुम्याहाङको संयोजकत्वमा नो केबलकार समूहले बनाएको वार्ता समितिमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक गरि चार जना सदस्य रहेका छन् ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले यो समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने तर सरकारले बनाएको सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन नसक्ने पनि उनीहरुले बताएका छन् ।

समूहले वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनालाई रिहा गर्नुपर्ने, निर्माणाधीन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने अडान लिएका छन् ।

ड्यूक र डचेस अफ एडिनबर् नेपाल आउँदै

काठमाडौं- बेलायती शाही परिवारका राजकुमार एडवर्ड र उनकी श्रीमती सोफी भोलि नेपाल आइपुग्दैछन्।

महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा सन्तान राजकुमार एडवर्ड पाँच दिनको नेपाल भ्रमणका लागि आफ्नो श्रीमती सहित भोलि दिउँसो नेपाल आइपुग्ने तय भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार, उनीहरू मंगलबार दिउँसो आइपुग्नेछन् र शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टोलीको भ्रमणको लागि सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी मुख्यालयले उनीहरूको सुरक्षाका लागि पीएसओहरू तैनाथ गर्ने तयारी समेत गरेको छ।

स्रोतका अनुसार, ड्यूक र डचेस अफ एडिनबर्ग फेब्रुअरी ७ मा पोखराको ब्रिटिश गोर्खा क्याम्पमा नयाँ गोर्खा भर्तीहरूको प्रमाणीकरण परेडमा भाग लिनेछन्।
राजकुमार र उनको टोलीले भक्तपुरको माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल र एसओएस बाल ग्रामको भ्रमण गर्ने कार्यक्रम छ। पाँच दिने भ्रमणको क्रममा राजपरिवारका सदस्यहरूले उच्चस्तरीय सरकारी अधिकारीहरू र गोर्खा सैनिकहरूका परिवारहरूलाई भेट्ने कार्यक्रम रहेको छ भने उनीहरूले नेपालमा बेलायतद्वारा आर्थिक सहायता प्रदान गरिएको विकास परियोजनाहरूको पनि निरीक्षण गर्नेछन्। स्रोतका अनुसार, एडवर्ड र सोफीलाई सगरमाथा क्षेत्रमा पर्वतीय उडानका लागि लैजाने तयारी समेत भइरहेको छ।

गोर्खाली सेनाहरुले २०० वर्षभन्दा बढी समयदेखि ब्रिटिश सेनामा सेवा गर्दै आएका छन् र उनीहरु आफ्नो बहादुरी र साहसका लागि प्रख्यात छन्।

यसअघि, राजकुमार ह्यारीले मार्च २०१६ मा ११ दिनको लागि नेपालको भ्रमण गरेका थिए र काठमाडौं, बर्दिया र पोखराको यात्रा गरेका थिए। राजकुमार फिलिपले पनि सन् २००० मा नेपालको भ्रमण गरेका थिए।

गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ माइतीघर मण्डलामा

काठमाडौँ- पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित आन्दोलन गरिरहेको ‘नो केबलकार समूह’ ले आज गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

माघ १२ गते ‘नो केबलकार समूह’को प्रदर्शनमा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेपछि मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले देशका विभिन्न स्थानमा आन्दोलन चर्काउँदै आएको छ।

जल,जमिन,जंगल हाम्रो प्राण,मुन्धुमी मुक्कुमसुङबाट सशस्त्र प्रहरी फिर्ता गर,राज्य आतंक बन्द गरलगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर आज उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

ट्रम्पको ट्यारिफ नीति र यसको विश्वव्यापी प्रभाव

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक ट्यारिफ नीतिले छिमेकी देशहरूमा त प्रभाव पारेको छ नै, तर यसले अन्तर्राष्ट्रिय व्यापार र प्रमुख विश्व अर्थतन्त्रहरूमा झनै ठुलो र गहिरो प्रभाव पार्ने देखिन्छ । उनको प्रशासन अन्तर्गत, क्यानडा, मेक्सिको र चीनजस्ता देशहरूबाट आयात गरिने सामानहरूमाथि ट्यारिफ लगाइनुले अमेरिका र विश्व अर्थतन्त्रका अन्य शक्तिशाली मुलुकहरुबीच अन्तराष्ट्रिय व्यापार युद्धको अवस्थालाई बढावा दिएको देखिन्छ।

सन् २०१८ मा, ट्रम्पले राष्ट्रिय सुरक्षा कारण देखाउँदै स्टील र एलुमिनियम आयातमा ट्यारिफ लगाएका थिए । क्यानडा र मेक्सिको, अमेरिकाका नजिकका व्यापारिक साझेदारहरू, यसबाट गम्भीर रूपमा प्रभावित भए। स्टीलमा २५% र एलुमिनियममा १०% ट्यारिफ लगाइएपछि कूटनीतिक सम्बन्धहरू तनावपूर्ण बने र एक किसिमको आर्थिक अनिश्चितता उत्पन्न भयो।

ट्रम्पको ट्यारिफ नीतिले उत्तर अमेरिकी व्यापारको आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गरे भने , अमेरिकी उत्पादकहरूको उत्पादन लागत बढ्न गयो र उपभोक्ताहरूले मूल्य वृद्धिको सामना गर्नुपर्यो । क्यानडामा स्टील र एलुमिनियम निर्यातमा निर्भर उद्योगहरू समस्यामा परे, जबकि मेक्सिकोमा सीमा पार हुने व्यापारमा गिरावट आयो। उक्त नीतिले अमेरिकी अर्थतन्त्रमा मिश्रित प्रभाव पार्दै कतिपय घरेलु उद्योगहरू विदेशी प्रतिस्पर्धाबाट जोगिएर लाभान्वित भए भने अटोमोबाइल र निर्माण क्षेत्रजस्ता उद्योगहरूले लागत वृद्धिको सामना गर्नुपर्‍यो।

चीन, क्यानडा र मेक्सिकोले ट्रम्पको ट्यारिफ नीतिको जवाफमा अमेरिकी नीति विरुद्द प्रतिशोधात्मक ट्यारिफहरू लागू गरे। जस अन्तर्गत क्यानडाले १२.६ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि ट्यारिफ लगायो, जसमा ह्विस्की, सुन्तलाको जुस र डेरी उत्पादनहरू समावेश थिए, जसले राजनीतिक रूपमा महत्त्वपूर्ण अमेरिकी राज्यहरूलाई थोरै भएपनि असर गर्न पुग्यो।

त्यसैगरी,मेक्सिकोले पोर्क, चिज र स्याउजस्ता अमेरिकी कृषि उत्पादनहरूमाथि ट्यारिफ लगायो भने चीनले पनि ११० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि व्यापक ट्यारिफ लगायो, जसले सोयाबिन, अटोमोबाइल र रसायन उद्योगहरूलाई ठूलो असर पुर्‍यायो।

सन् २०२४ मा पुनः निर्वाचित भई अमेरिकाको ४७ औं राष्ट्रपति बनेपछि, ट्रम्पले आफ्ना अघिल्ला ट्यारिफ नीतिहरू पुनः लागू गरेका छन् । उनले २०२५ को सुरुवातमा नै , चीन, क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात गरिने थप सामानहरूमाथि नयाँ ट्यारिफहरू लगाएका छन् । चिनियाँ प्रविधि र इलेक्ट्रोनिक्समा ट्यारिफ ३५% सम्म बढाइएको छ भने क्यानडा र मेक्सिकोका कृषि उत्पादनहरूमाथि २०% सम्म ट्यारिफ शुल्क थपिदिएका छन् । प्रतिरोधमा क्यानाडा र मेक्सिकोले पनि पुन: अमेरिकी ट्यारिफ नीति विरुद्द थापा नयाँ ट्यारिफहरु घोषणा गरेका छन्।

त्यसैगरी,ब्रिक्स राष्ट्रहरू—ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका—ले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने प्रयास (डिडलराइजेशन) अघि बढाएपछि, ट्रम्पले यी देशहरूलाई पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन् । डिडलराइजेशन पहलले अमेरिकी डलरलाई विश्वको प्रमुख रिजर्भ मुद्राको रूपमा नरहन सक्नेगरी चुनौती दिएपछि ट्रम्प प्रशासनले कडा प्रतिक्रिया जनाएको थियो। यस्ता प्रतिबन्धहरूले अमेरिकी र उदाउँदो अर्थतन्त्रहरूबीचको तनाव बढाउन सक्छ र विश्वव्यापी वित्तीय बजारहरूअस्थिर बनाउन सक्ने आंकलन गरिएको छ ।

संगसंगै ट्रम्पले अटोमोबाइल र कृषि क्षेत्रमा अनुचित व्यापार अभ्यासहरू भैरहेको आरोप लगाउँदै युरोपेली संघ अन्तर्गतका विभिन्न राष्ट्रहरुलाई पनि ट्यारिफ लगाउने संकेत दिएका छन् , । युरोपेली कार र विलासी वस्तुमाथि प्रस्तावित ट्यारिफहरूले ईयू नेताहरूमा चिन्ता बढाएको छ भनेअर्कोतर्फ उनीहरुले पनि प्रतिशोधात्मक कदमहरूको चेतावनी दिएका छन् । ट्रम्पको यो नीतिले विश्व अर्थतन्त्रमा व्यापार युद्ध निम्त्याउन सक्छ भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ यी र यस्ता नीतिहरूले व्यवसायहरूको लागत बढाएको छ र विश्वव्यापी आर्थिक अनिश्चितता उत्पन्न गरेको छ।

ट्रम्पको ट्यारिफ नीति र प्रतिबन्धहरूको धम्कीले दुईपक्षीय व्यापार सम्बन्ध मात्र होइन, विश्वव्यापी व्यापारको समग्र गतिशीलतामा गहिरो प्रभाव पारेको छ। क्यानडा, मेक्सिको, चीन र अब युरोपेली संघका प्रतिशोधात्मक कदमहरूले विश्वव्यापी अर्थतन्त्रको आपसी निर्भरता र संरक्षणवादी नीतिहरूको जोखिमलाई उजागर गरेको छ। ब्रिक्स राष्ट्रहरूले डिडलराइजेशन प्रयास जारी राख्दा र युरोपेली संघ व्यापार विवादमा संलग्न रहँदा, यी व्यापार द्वन्द्वहरूको दीर्घकालीन प्रभाव अमेरिकी अर्थतन्त्र र यसको विश्वव्यापी प्रभावमा कस्तो पर्छ भन्ने कुरा नीतिनिर्माताहरू र अर्थशास्त्रीहरूका लागि महत्वपूर्ण मुद्दा बनेको छ।

ब्रिक्स: विश्व अर्थतन्त्रमा उदाउँदो शक्ति

२००६ मा स्थापना गरिएको ब्रिक्स पाँच ठूला उदाउँदो अर्थतन्त्रहरूको प्रभावशाली समूह हो: ब्राजिल, रुस, भारत, चीन, र दक्षिण अफ्रिका। प्रारम्भमा “ब्रिक” नामले चिनिएको यस समूहमा ब्राजिल, रुस, भारत, र चीन थिए, तर २०१० मा दक्षिण अफ्रिका सामेल भएपछि यसको नाम ब्रिक्स राखियो। यो गठबन्धनको उद्देश्य आर्थिक वृद्धि, राजनीतिक सहकार्य, र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा सुधारको पक्षमा वकालत गर्नु हो।

ब्रिक्सको गठनले विश्वव्यापी आर्थिक गतिशीलतामा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। यी राष्ट्रहरू, प्रत्येक आफ्नै आर्थिक शक्तिहरूसहित, विश्वको ४०% भन्दा बढी जनसंख्या र करिब २५% वैश्विक जीडीपी प्रतिनिधित्व गर्छन्। ब्राजिल, यसको प्रचुर प्राकृतिक स्रोतहरू र कृषिजन्य निर्यातका लागि परिचित छ, रुससँग मिलेर उर्जा क्षेत्रमा प्रमुख शक्ति बनाउँछ, जहाँ प्रशस्त तेल र प्राकृतिक ग्यास पाइन्छ। भारत छिटो बढ्दै गएको अर्थतन्त्र र प्राविधिक क्षेत्रसँगै उदाउँदै छ, भने चीन, विश्वको दोस्रो ठूलो अर्थतन्त्र, निर्माण र निर्यातमा अग्रणी छ। दक्षिण अफ्रिका, महाद्वीपको सबैभन्दा विकसित अर्थतन्त्र, खनिज सम्पदामा धनी र अफ्रिकामा प्रवेशद्वारको रूपमा कार्य गर्दछ।

ब्रिक्सका उद्देश्यहरू महत्वाकांक्षी र बहुपक्षीय छन्। समूहले सदस्य राष्ट्रहरूमा शान्ति, सुरक्षा, र विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ, साथै IMF र World Bank जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा उदाउँदो अर्थतन्त्रहरूको अधिक प्रतिनिधित्व सुनिश्चित गर्न वकालत गर्दै आएको छ। सदस्य राष्ट्रहरूबीच व्यापार र लगानी वृद्धि, विज्ञान, प्रविधि, शिक्षा, र स्वास्थ्य क्षेत्रमा सहकार्य प्रवर्द्धन, र बहुध्रुवीय विश्व व्यवस्था स्थापना गर्ने लक्ष्य ब्रिक्सको मुख्य मिशन हो।

विगतका वर्षहरूमा, ब्रिक्सले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। २०१४ मा स्थापित नयाँ विकास बैंक (NDB) प्रमुख उपलब्धिको रूपमा देखिन्छ। यस संस्थाले ब्रिक्स राष्ट्रहरू र अन्य उदाउँदो अर्थतन्त्रहरूमा पूर्वाधार र दिगो विकास परियोजनाहरूलाई वित्तीय सहायता प्रदान गर्दछ, पश्चिमी-प्रभावित वित्तीय निकायहरूको विकल्पको रूपमा कार्य गर्दै। साथै, सदस्य राष्ट्रहरूले भुक्तानी सन्तुलन संकट सामना गर्दा सहयोग गर्न सशर्त रिजर्भ व्यवस्था (CRA) को स्थापना गरिएको छ। वार्षिक सम्मेलनहरू नियमित रूपमा आयोजना गरिन्छ, जसमा अध्यक्षता सदस्य राष्ट्रहरूले पालैपालो ग्रहण गर्छन्, यसले सबै राष्ट्रहरूलाई समान प्रतिनिधित्व र प्रभाव सुनिश्चित गर्दछ।

व्यापारको सन्दर्भमा, ब्रिक्स राष्ट्रहरूले आन्तरिक व्यापार बढाउने र पश्चिमी मुद्रामा निर्भरता घटाउने पहल गरेका छन्। डलर निर्भरता घटाउने यो प्रयास समूहको व्यापक रणनीतिको हिस्सा हो, जसले विश्वव्यापी आर्थिक शक्ति विविधीकरण गर्न र अमेरिकी डलरको निर्भरता कम गर्न खोज्छ।

ब्रिक्सको उदयले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्दैछ। परम्परागत पश्चिमी अर्थतन्त्रहरूबाट आर्थिक शक्ति विविधीकरण गर्दै, समूहले विश्वव्यापी वित्तीय संरचनाहरूलाई पुनः आकार दिइरहेको छ। NDB र CRA जस्ता वैकल्पिक संस्थाहरूको निर्माणले IMF र World Bank जस्ता संस्थाहरूको प्रभुत्वलाई चुनौती दिइरहेको छ। साथै, व्यापारमा स्थानीय मुद्राको प्रयोगलाई प्रवर्द्धन गर्ने ब्रिक्सको प्रयासले अमेरिकी डलरको वैश्विक माग घटाउन सक्छ, जसले डलरलाई विश्वको प्रमुख रिजर्भ मुद्रा रूपमा कमजोर बनाउन सक्छ।

अमेरिकी अर्थतन्त्रका लागि, यसको प्रभाव गम्भीर हुन सक्छ। ब्रिक्सका डलर निर्भरता घटाउने प्रयासहरूले डलरको विश्वव्यापी प्रभुत्व कम गर्न सक्छ, जसले यसको मूल्य र प्रभावमा असर पार्न सक्छ। ब्रिक्स राष्ट्रहरूबाट आउने आर्थिक प्रतिस्पर्धाले अमेरिकी बजार, स्रोतहरू, र भू-राजनीतिक स्थितिमा चुनौती पुर्याउन सक्छ। साथै, अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधारको लागि ब्रिक्सको वकालतले विश्वव्यापी निर्णय गर्ने निकायहरूमा अमेरिकाको भूमिका कम गर्न सक्छ।

अन्त्यमा, ब्रिक्स केवल उदाउँदो अर्थतन्त्रहरूको गठबन्धन होइन; यो बहुध्रुवीय विश्व व्यवस्था तर्फको परिवर्तनलाई अघि बढाउने शक्तिशाली बल हो। आर्थिक सहकार्य प्रवर्द्धन गर्न र वैश्विक शासनमा सुधार ल्याउन यसको प्रयासले परम्परागत पश्चिमी शक्तिहरूको प्रभुत्वलाई चुनौती दिइरहेको छ। यसको प्रभावले विश्व अर्थतन्त्र र अमेरिकामा कति ठूलो परिवर्तन ल्याउने हो, त्यो समयले देखाउनेछ, तर ब्रिक्सले अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक नीतिहरूको भविष्य निर्माणमा निर्णायक भूमिका खेल्नेछ।

विदेशी मुद्रा सञ्चितिमा वृद्धि : वैदेशिक लगानीमा सुधार

काठमाडौं : राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्यांकअनुसार मुलुकको विदेशी विनिमय सञ्चितिको आकार बढेर २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यसबाट मुलुकले १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिति बनेको छ।

चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.१४ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको थियो।

त्यसैगरी,मुलुकसँग कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यो चालु आवको पुससम्मको तथ्यांक हो। अमेरिकी डलरमा यस्तो सञ्चिति असारको तुलनामा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको हो। जसमा नेपाल राष्ट्र बैंकमा २० खर्ब ७२ अर्ब ३४ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति कायम छ। यस्तो सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ।

समग्रमा आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा अधिक हुँदा ६ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ। गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा छ। यससँगै, मुलुकको चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा छ।

गत वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो। अमेरिकी डलरमा १ अर्ब ८ करोडले बचतमा छ। यस्तै खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ छ।

कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं – नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

हितेन्द्रमान शाक्यले आफूलाई जिम्मेवारीबाट हटाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

साढे तीन वर्षअघि दायर सो रिट निवेदनमा एकपटक प्रारम्भिक सुनुवाइ भएपछि मुद्दाको पालो नै नआएर रोकिएको र पटकपटक पेसी तोकिएको मुद्दा स्थगित भएपछी सर्वोच्च अदालतले त्यो मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश जारी गरेको थियो। ।

आफू नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदमा बहाल रहेको अवस्थामा मन्त्रालयमा तानेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको विरोधमा हितेन्द्रले मुद्दा दायर गरेका थिए ।उनले घिसिङलाई पदमुक्त गरी आफूलाई त्यही पदमा बहाल गर्नुपर्ने आदेशको माग गरेका छन् ।

आजदेखि काठमाडौं र ललितपुरका केही स्थानमा बिजुली अवरुद्ध हुने

काठमाडौं – नेपाल विधुत प्राधिकरणले विधुत वितरण तार भूमिगत गर्ने कार्यका लागि काठमाँडौं उपत्यकाका केही स्थानमा आजदेखि विधुत सेवा अवरुद्ध हुने जनाएको छ ।

विधुत प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म उल्लेखित स्थानहरुमा विधुत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विधुतीय तार भूमिगत गर्न लागेकोले उल्लेखित क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
विधुत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विधुत सेवा अवरुद्ध हुनेछ ।

यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ ।

bidhut pradhikaran

ओपीडी सेवा बहिष्कार गर्दै आवासीय चिकित्सक

काठमाडौं – सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।

आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सरकारी सरह सेवासुविधा पाउनुपर्ने लगायतका चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । विरामीलाई धेरै मर्का नपरोस् भनेर तत्काललाई तीन घण्टामात्र ओपीडी सेवा बहिस्कार गरेको भन्दै उनले आफूहरुको मागलाई बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिए ।

पाथीभरामा केबुलकार निर्माण विवाद सुल्झाउन वार्ता टोली गठन

काठमाडौं – सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता टोलि गठन गरेको छ।

गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ भने, टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन्।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने उल्लेख छ । साथै मन्त्रालयले आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न अपिल गरेको छ ।

केवलकार निर्माण विरोधमा हिजो आन्दोलनरत पक्षले अरुणपूर्वका ९ जिल्लामा बन्दको आहवान समेत गरेको थियो।

देवी सरस्वतीको पूजा गरेर आज श्रीपञ्चमी मनाइँदै

काठमाडौँ-विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ

वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वतीका मन्दिरहरुमा पूजा गर्ने गरिन्छ ।सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन रहेको छ ।सरस्वतीको पूजा गर्नाले ज्ञान प्राप्त हुन्छ भन्ने पनि विश्वास रही आएको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

आजै हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ।

राष्ट्रिय र अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारको तयारी

काठमाडौं – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ।

अब विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापन नेपाल हवाई सेवा प्राधिकरण मार्फत हुने भएको छ भने यो निकायले विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

यो विधेयक अनुसार प्राधिकरणले आफू अन्तर्गतका विमानस्थल नेपाल सरकारको स्वीकृतिमा कुनै सरकारी वा गैरसरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई समेत सञ्चालन व्यवस्थापन गर्ने जिम्मा दिन सक्ने गरी बाटो खुला भएको छ ।

प्राधिकरणले यात्रु सेवा, सुरक्षा र सुविधा तथा विमानस्थल सुरक्षा ध्यानमा राख्दै विमानस्थलमा कार्यरत सबै सरकारी वा गैरसरकारी संस्था, व्यक्ति वा सरोकारवालालाई आवश्यक निर्देशन दिन सक्ने भएको छ ।

वुमन्स टी२० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा पराजित नेपाल आजको दोस्रो खेलमा पनि पराजित भएको छ।

१४१ रनको लक्ष्य दिएको नेदरल्यान्ड्स विरुद्द खेलेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र जोड्न सफल भएको छ।

नेपालसँगै थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलामा नेपालले आजको खेलसँगै लगातार तिन वटा खेलमा पराजित हुन पुगेको छ।

हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौं – संसदमा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ ।

संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ दर्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि उक्त विधेयक ल्याइएको हो।

माइतीघरमा गुठी पीडित मोही किसानको धर्ना

काठमाडौँ — दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्याय पाउनुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर निश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङको संयोजनमा काठमाडौँ आएका गुठीपीडित किसानहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै हलो, कुटो कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर माइतीघरको सडकमा प्रदर्शन गरिरहेका छन् ।

स्वर्गद्वारी आश्रमका मोही किासनको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरूले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको तर रकारले सुनुवाई नगरेपछि काठमाडौँ केन्द्रित धर्नामा उत्रिएको उनीहरुले बताएका छन् ।

स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौका (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनस‌ङ्ख्याको बसोबास छ भने कुल १ हजार ५०बिघा जमिन गुठीअन्तर्गत रहेको छ । किसानले खेतीपाती गर्दै बसोवाससमेत गर्दै आएको पुस्तौं बितेको उक्त जग्गा आफ्नै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएको र आफुसंग मोहीयानी पुर्जा समेत रहेको तर स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन आफुहरुले प्रदर्शन गर्नुपरेको उनीहरुले बताएका छन् ।

सहकारी ठगीका आरोपमा म्याग्दीका जिसस प्रमुख राजकुमार थापा पक्राउ

काठमाडौँ- म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना भएको र थापा सहितको टोलीले उक्त रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उल्लेख गरिएको छ ।

०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गर्दै आएको भएपनि थापालाई अहिलेसम्म पक्राउ गरिएको थिएन। उनि एमालेबाट जिसस प्रमुख निर्वाचित भएका थिए।

४० अर्ब बराबर तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत नेपाल राष्ट्र बैंकले ४० अर्ब बराबर तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै नेपाल राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ ।आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ११ फागुनमा भुक्तानी हुनेछ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ ।

उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता

जनकपुर – रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

उनले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेको विषयमा अदालतको अपमान गरेको भन्दै बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले मुद्दा दर्ता गराएका हुन् ।

साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ । यसअघी बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो र सो विषयमा आदालतको आदेश आउनुअघि साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले बताएका छन्। उक्त मुद्दामा भने आज सुनुवाइ हुँदैछ ।

आहा रारा गोल्डकपको उद्घाटन खेल सहारा र पुलिस क्लबबीच

पोखरा- सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी मंगलबारदेखि पोखरामा सुरु हुने २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको बताएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र जर्सी अनावरण गर्दै मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच हुने पनि आयोजकले बताएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लब ,आयोजक सहारा, एपीएफ, ब्रिगेड ब्वाइज युके र थन्डरबोल्ट नर्थ युनाइटेड अफ सिक्किमले प्रतिष्पर्धा गर्नेछन।

मनाङ ७ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले यस पटक भने प्रतियोगितामा भाग लिएको छैन।

प्रतियोगिताको विजेताले रु. १,२०१,००० र उपविजेताले रु. ६,०१,००० प्राप्त गर्नेछ। प्रतियोगितामा प्रि-क्वार्टरफाइनल खेलहरूको टिकट मूल्य सामान्यको लागि रु. १०० र विशिष्टको लागि रु. २०० रहेको छ। सेमिफाइनलको टिकटको मूल्य सामान्यको लागि रु. २०० र विशिष्टको लागि रु. ४०० हुनेछ।

प्रतियोगिताबाट आएको पैसा क्लबद्वारा सञ्चालित सूर्य बहादुर केसी एकेडेमीमा अनाथ बालबालिकाहरूको लागि खर्च गरिने आयोजकले बताएका छन्। प्रतियोगिता माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुनेछ।

केबलकार निर्माणको विरोध गर्दै पूर्वी नेपालका जिल्लाहरुमा बन्दको आह्वान

विराटनगर – मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथिभरा केबलकार निर्माणको विरोधमा आज र भोलि अरुणपूर्वका झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर लगायतका जिल्लामा बन्दको आह्वान गरेको पहिलो दिन बन्दको सामान्य प्रभाव परेको देखिन्छ ।

बन्द आहवान गरिएको क्षेत्रमा आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् भने बन्दकर्ताहरु चोक र सडकमा निस्किएका देखिन्छन। बन्दले सबैभन्दा बढी प्रभाव पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा पारेको देखिन्छ। पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा सवारी आगमन ठप्प जस्तै छ।

केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, नो केबलकार आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै पहिचान पक्षधारहरुले बन्दको आह्वान गरेका हुन्।

जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु

जनकपुर- महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु भएको छ । कारागारमा रहेका धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।

पहिलेदेखि नै औषधि सेवन गरिरहेका महराको अचानक बेस्सरी पेटदुखेपछि मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको र उपचारको क्रममा शनिबार राति २:३० बजे मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिएका छन् ।

२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।

नेपाल र साउदीबीच श्रम सम्झौता गर्ने सहमति

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजी रियादमा भएको बैठकमा नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।

अन्तिम मस्यौदालाई दुवै पक्षले कानुनी प्रक्रिया पूरा भएपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुंगो लगाइनेछ । साउदीले नेपालसमक्ष साधारण श्रमिक, घरेलु श्रमिक र सीप प्रमाणीकरण कार्यक्रमसँग सम्बद्ध सम्झौता गर्ने प्रस्ताव गरेको छ । यी तीनमध्ये साधारण श्रमिकको भर्नासँग सम्बद्ध श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको बताइएको छ।

साउदीमा हाल घरेलु श्रमिक बाहेक करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् ।

टी-२० श्रृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं : त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल आज दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले यसअघि लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन्।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा तथा सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा तथा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १२ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा तथा कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४० पैसा तथा ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । रासस

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।हाल कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

२०८१ माघ २० गते (आईतबार)

दिउँसोː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २१ गते (सोमबार)

दिउँसोː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २२ गते (मंगलबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  लुम्बिनी प्रदेश र  गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ।    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत   गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको दुई वर्षको सम्झौता सकिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको बिदाइ गरेको छ।क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले गरेको प्रदर्शनको प्रशंसा गर्दै उनको विदाई गरेको छ।

क्यानले प्रशिक्षक देशाईको दुई वर्षे कार्यकाल समाप्त भएको र उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको समेत बताएको छ ।उनीसँग सन् २०२३‌ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा दुई वर्षको लागि सम्झौता गरिएको थियो।

सहकारी अध्यादेशका केही प्रावधान संशोधन गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएको छ।

एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले प्रधानमन्त्री निवास पुगेर प्रधानमन्त्रीलाई बेग्लाबेग्लै सुझावपत्र बुझाएका छन्।

उक्त सुझावमा कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताएको बताएका छन्।

तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रको त्यो “शाही सम्बोधन” !

काठमाडौँ – ठिक आजकै दिन, अर्थात माघ १९ गते २०६१ सालमा तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषित गरि आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल विस्तार गरेका थिए । सो घटनाको जगमा परिवर्तन भएको नेपाली राजनीतिमा अन्तत्व्गत्व २०६२–०६३ को जनआन्दोलनपछि देशबाट राजतन्त्रको अन्त्य भयो र देशमा गणतन्त्रको स्थापना भयो। तत्कालीन समयमा राजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएर देशवासीको नाममा गरेको सम्बोधन यस्तो थियो।

पार्टीको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुन्छ: गगन थापा

काठमाडौं – संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि मात्र गर्ने बताउँदै आएका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने २०८४ को चुनावअघि नै पार्टीको १५औं महाधिवेशन हुने बताएका छन्।

कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा भेलालाई सम्बोधन गर्दै केही नेताहरूले महाधिवेशन ८४ को चुनाव पछि मात्र हुन्छ कि भनेर बोल्दै हिंड्नु भएको छ, तर संविधानले पनि त्यसो गर्न मिल्दैन र सबैलाई यी यावत कुराहरुमा कन्फ्युज नहुन आग्रह गर्दै ८४ को चुनाव अगाडी नै पार्टीको महाधिवेशन हुने उनले बताएका छन्।

एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन भन्दै निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको उनले बताएका छन्।

पाथीभरा केबलकार निर्माण विवाद समाधानको लागि गृहले पठायो पत्र

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा देखिएको केबलकार निर्माण विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

केबलकार नियमनको विषय संघीय मामिलाअन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन गृहमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो।

स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहलकदमी अगाडि बढाइदिनु हुन भनि पत्रको व्यहोरामा उल्लेख गरिएको छ।

यसअघि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा माघ १२ गते प्रहरीको गोली लागेर आन्दोलनकारी समूहका दुईसहित पाँच जना र प्रहरीतर्फ २१ जना घाइते भएका थिए भने उक्त घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अछाममा मृत भेटिएका दुई किशोरीको हत्या भएको पुष्टि

अछाम —अछाममा मृत भेटिएका दुई किशोरी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले पत्रकार सम्मेलन मार्फत घटनाको विवरण सार्वजनिक गरेको छ।

प्रहरीले हत्याको अभियोगमा ढकारीकै गुरुकुल माविमा कक्षा १० र ८ मा पढ्ने १७ र १५ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार इशरा र सरस्वतीको ती किशोरहरूसँग फोन र सामाजिक सञ्जालमा कुराकानी भैरहेको र दुई दिनअगाडिबाट जङ्गलमा भेट्ने योजना रहेको र भेटमा एक युवकले सरस्वतीसँग प्रेम सम्बन्धका साथै यौन सम्बन्धका लागि प्रस्ताव गर्दा युवतीले अस्वीकार गरेपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको खुल्न आएको छ।

ढुंगा लागेर सरस्वतीको मृत्यु भएपछि हत्या लुकाउनको लागि इशराको पनि हत्या गरिको खुल्न आएको छ।

प्रहरीले घटनामा दुई किशोरले हत्या गरेको स्विकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै पोस्टमार्टमको अन्तिम रिपोर्ट र प्राविधिक रिपोर्टहरू आउन बाँकी रहेकाले अनुसन्धान चलिरहने बताएको छ। प्रहरीको नियन्त्रणमा रहेका किशोरहरूलाई जिल्ला अदालत अछामबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

१९५० को नेपाल भारत सन्धि खारेज हुनुपर्छ

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले १९५० को नेपाल भारत सन्धि खारेज गर्नुपर्ने बताएका छन्।

उनले संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै, सामन्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र विपरित भएको र संसदलाइ औचित्यहिन बनाउनु हो भन्ने अभिव्यक्ति दिएका छन्। मुर्खहरुले मुर्खहरु भेलागरि जनतामाथि शासन गर्नु प्रजातन्त्र र राजनीति नहुने पनि उनले बताएका छन्। सरकारले संधै देशमा विकास भएको दावी गर्दै गर्दा देशलाई २५ खर्ब भन्दा बढी रकमको ऋण भार बोकाएको कुरा किन नगरेको भनेर प्रश्न समेत गरेका छन्।

अमेरिकी सरकारले नेपालको मित्रराष्ट्र क्युबालाई राज्यप्रायोजित आतंकबादी आरोप लगाई अमानविय नाकाबन्दी गरेको, विश्व स्वास्थ्य संगठन र जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोमा नेपाल सरकारले विरोध गर्दै , कुनै पनि स्वतन्त्र र सार्वभौम राष्ट्रविरुद्द नाकाबन्दि, धम्कि, सेना तैनाथ र आक्रमण नगर्न नेपाल सरकारले अमेरिकालाई कुटनीतिक नोट पठाउनुपर्ने र क्यानाडा, पानामा र ग्रीनल्याण्ड कब्जा गर्ने अमेरिकी नेतृत्वको भनाइलाई खण्डन गर्ने सहास नेपाल सरकारले गर्नु जरुरी रहेको पनि उनले बताएका छन्।

त्यसैगरी,इजरायललाई प्यालेस्टिन भुमि कब्जा नगर्न र नगराउन नेपाल सरकारले आवाज उठाउनुपर्ने भन्दै , नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १८१६ को गोर्खा भर्ती सम्झौता र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल भारत सन्धि खारेज गर्नुपर्ने बताएका छन्।

उनले विधुत निर्यात नभई आन्तरिक खपतमा ध्यान दिनुपर्ने भन्दै, सर्वोच्च अदालतको आदेश विपरित माथिल्लो कर्णाली भारतको जिएमआरको सिफारिसमा इरेजा र सतलजलाई दिएको नेपाल सरकारको राष्ट्रघाती काम भएको र सरकारले भारत लगायत विदेशीलाई दिएको जविधुत परियोजनाहरु नेपालीकै लगानीमा निर्माण गर्नुपर्ने पनि बताएका छन्।

उनले पूर्वाधार नभएको विश्वविधालय बिधेयक अघि बढाएको तर पूर्वाधार भएको विश्वविधालयलाई कानुनमा छैन भनि स्वीकृत नदिने सरकारको कदमको आलोचना गर्दै ,२० प्रतिशत बढी मुनाफा राख्न नपाउने कानुनि व्यवस्था अध्यादेश मार्फत खारेज गर्दै ल्याएको विधेयकले कालो बजारीलाई मात्र फाइदा भएको र यसले उपभोग्य सामानको मूल्य बढाएको बताएका छन्।

भाई छोरा विदेशमा बेचेर आएको रकमलाई सरकारको उपलब्धी भन्न मिल्दैन:राजेन्द्र लिङ्ग्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले संघिय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै भाई छोरा विदेशमा बेचेर देशमा बढेको विदेशी मुद्रा संचितिलाई सरकारको उपलब्धी मान्न नमिल्ने बताएका छन्।

सुरुङ्ग मार्गको ब्रेक थ्रु र सडक अनि बाटोघाटो निर्माण जस्ता विषयलाई आफ्नो उपलब्धि भन्दै खुशी हुने अवस्था नरहेकोले नियमित रुपमा भएगरेका र हुने विकासलाई सरकारले आफ्नो उपलब्धि भन्न नमिल्ने उनले बताएक छन्।

उनले सरकार भ्रष्टाचार गर्न र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै प्रधानमन्त्री कार्यालय अन्तर्गतको केहि निकायले अझै पनि प्रधानमन्त्रीको आडमा व्यापारीलाई तर्साएर पैसा उठाइरहेको आरोप लगाउँदै तपाइले भ्रष्टाचार गर्नुहुन्छ या गर्नुहुन् त्यो मलाई थाहा छैन तर तपाइको वरपरका मानिसहरुले भ्रष्टाचार गरिरहेका छन् भन्दै सरकारले निर्माण व्यावसायीलाई दिने भुक्तानीमा समेत पैसा उठाइरहेको बताएका छन्। सरकारले एन कानुन नै बनाएर भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण गरिरहेको बताएका छन्। २० प्रतिशत मात्र मुनाफा लिन पाउने नियम खारेज गर्दै सरकारले महंगाई बढाएर व्यापारी पोस्ने काम गरेको समेत उनले बताएका छन्।

रवि लामिछाने गृहमन्त्री हुँदा राज्यव्यवस्था समितिमा आएर उनीमाथि सहकारी ठगीको कुनै मुद्दा,आरोप र प्रमाण छैन भन्ने अनि अहिले ८४ दिनसम्म के आधारमा हिरासतमा राखेको भन्ने प्रश्न गर्दै सत्ताको कुन प्रकारले दुरुपयोग हुन्छ भन्ने कुराको नमुना अहिलेका प्रहरी प्रमुखले देखाएको कारण उनि माथि पनि छानविन हुनुपर्ने उनले बताएका छन्।

अब यो प्रणालीले काम गर्दैन र नगरेको भन्दै अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने,अभिभावकीय संस्थाको रुपमा राजालाई राख्नुपर्ने , पूर्ण समानुपत्तिक संसद बनाउनुपर्ने ,प्रदेशको खारेज गर्नुपर्ने र स्थानिय तहलाई दलविहिन बनाउनुपर्ने उनले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा खुल्ने

काठमाडौँ — पूर्वाधार विस्तारका कारण राति १० बजेदेखि बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा खुल्ने (राति ११ बजेपछि बन्द भई बिहान ७ बजे खुला हुने) भएको छ ।

अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यागंर निर्माण लगायतका पूर्वाधार विस्तारका कामका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कार्तिक २३ गतेदेखि काठमाडौं विमानस्थलमा राति १० बजेदेखि उडानहरु बन्द गरेर निर्माण कार्य भइरहेका थिए ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न नोटाम निकालेर विमानस्थलभित्र तीनवटा फरक-फरक आयोजनाको काम गराउँदै आएको थियो ।

सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक ईन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार दैनिक १० घन्टा उडान बन्द गरेर रनवेसँग जोडिएका जटिल कामको निर्माण सकिएसंगै पूर्वाधार विस्तारको समय १० घन्टाबाट घटाएर ८ घन्टामा झारिएको छ । ‘धावनमार्गसंगै जोडिएका मुख्य जटिल काम सम्पन्न भएका छन्’, आयोजना निर्देशक श्रेष्ठले भने, ‘अब दुई घन्टा उडानको समय थपिएको छ ।’ उनका अनुसार विमानस्थलभित्र संचालित तीनवटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको छ ।

सन् २०२६ पछि वार्षिक झण्डै १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा उडान रोकेर तथा त्यसपछि दिनमा उडान नरोकेर पूर्वाधार विस्तारका काम हुँदै आएका छन् ।

विमानस्थलमा नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र उक्त एप्रोनलाई उत्तरतर्फको रनवेसंग जोड्ने ट्याक्सीवे निमार्ण भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको हो । यो २०२६ फेब्रुअरीमा सकिने छ । यो काम चिनियाँ ठेक्दार कम्पनी एभिक इन्टरनेश्नलले गरिरहेको छ ।

विमानस्थलभित्रको दोस्रो ठेक्का हो जहाजघर (ह्यांगर)का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वीभागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलायन्स, श्री एयरलायन्स लगायतका वायुसेवा कम्पनीहरुकालागि करिब ४ अर्ब रुपैयाँमा ह्यांगर क्षेत्र निर्माण भइरहेको छ ।

यो काम सन् २०२२ नोभेम्वरदेखि सुरु भएको हो । यो सन् २०२६ अक्टोबरमा सम्पन्न हुने छ । यसमा एशियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यो परियोजनामा चिनिया कम्पनीहरु एभिक/केडीएन/सीसीईसीसी जेभी रहेका छन् ।

विमानस्थलभित्रको तेस्रो परियोजना धावनमार्गसंग समानान्तर ट्याक्सी–वे निर्माण संचालन भइरहेको छ । सन् २०२२ डिसेम्बरदेखि सुरु भएको यो परियोजनाको समापन २०२६ अक्टोबरमा हुने छ । ४ अर्ब हाराहारी लगानीको यो परियोजना चिनियाँ कम्पनी गान्सुले निर्माण गरिरहेको छ ।

राष्ट्रिय परिचयपत्र नहुँदा सेवा प्रवाहमा हुने कठिनाई अन्त्य गर्नु : सर्वोच्च

काठमाडौँ- चरणबद्ध रूपमा राष्ट्रिय परिचयपत्र अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गर्दै सर्वोच्चले सरकारका नाममा ३ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।

सरकारले २०८१ जेठ २४ गते पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय गरेको थियो। दोस्रो चरणमा माघ १ गतेबाट ३८ जिल्लामा र बाँकी सबै जिल्लामा २०८२ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यस निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट परेका थिए। सर्वोच्चले सबै रिटलाई एकैठाउँमा राखेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले उक्त आदेश दिएको हो।

यस्तो छ तीन बुँदे निर्देशनात्मक आदेश:
१. राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने कार्य गर्न, नागरिकका वासस्थान नजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरणको कार्य यथाशीघ्र सम्पन्न गरी राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू।

२. सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा एकाइ खडा गरी कार्य गर्नू।

३. राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकाससमेत गर्नू गराउनू।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि बस्दैछ ।

आइतबारसम्म चल्ने उक्त बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल गर्ने बताएको छ।

उक्त बैठकमा पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी र कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित पेश गर्न र अनिवार्य उपस्थित हुन जसपा नेपालले निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।

ट्रम्पले पुटिनसँग वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना दोहोर्‍याएका छन्, रोयटर्सले रिपोर्ट गरेको छ।

रिपोर्ट अनुसार, ट्रम्पले शुक्रबार भने कि उनी पुटिनसँग कुरा गर्नेछन् र उनीहरूले सम्भवतः उनले उल्लेख गरेको महत्त्वपूर्ण कुरा गर्नेछन्। यद्यपि, अमेरिकी राष्ट्रपतिले विस्तृत रूपमा भन्ने बारेमा भने उल्लेख गरेनन्।

ट्रम्पले वाशिंगटनले मस्कोसँग गम्भीर छलफल गरिरहेको पनि बताएका छन्।

रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि मस्को दुई देशका राष्ट्रपतिहरूको स्तरमा अमेरिकासँग वार्ता गर्न तयार रहेको तर वाशिंगटनबाट यस विषयमा कुनै खबर प्राप्त नभएको बताएका थिए।