डोटीमा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ ।
अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो ।
जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ३० देखि ४० जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।
जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । रासस
आफ्नो प्रतिक्रिया दिनुहोस्