त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ महामारीको नयाँ लहरका कारण यसअघि स्थगित भएका सबै परीक्षा फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय (ओसीई)ले बुधबार त्रिवि अन्तर्गतका विभिन्न आठ वटा शैक्षिक कार्यक्रमको परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । त्रिविद्वारा प्रकाशित सूचना अनुसार बिएस्सी र बीएड चौथो वर्षको वार्षिक परीक्षा फागुन १ गतेबाट हुने भएको छ ।
त्यस्तै एलएलबी प्रथम वर्षको वार्षिक र सेमेस्टर परीक्षा र एलएलबी तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने सूचनामा उल्लेख छ ।
त्यसैगरी त्रिविले तीन वर्षे बीएड तथा मानविकी तथा सामाजिक शास्त्र संकायको तेस्रो वर्षको परीक्षा र व्यवस्थापन विभाग, मानविकी तथा सामाजिक विज्ञान विभाग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चार वर्षे कार्यक्रमको प्रथम वर्षको परीक्षा तालिका फागुन २ गतेदेखि तय गरेको छ ।
ललितकला संकायको चौथो वर्षको परीक्षा फागुन ९ गतेबाट र तीन वर्षे बीएड तेस्रो वर्षको परीक्षा र व्यवस्थापन विभाग, मानविकी तथा सामाजिक विज्ञान विभाग अन्तर्गतका चार वर्षे कार्यक्रमको प्रथम वर्षको परीक्षा फागुन १३ गतेदेखि सञ्चालन हुँदैछ ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्रिविले यसअघि माघ १० गतेपछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएका कारण स्थगित भएका सबै परीक्षा फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्