सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ ।
भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा. रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउनुहुन्छ । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उहाँको भनाइ छ ।
नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डिएम गर्नुभएका श्रेष्ठले नेपालमा नौ जनाले मात्रै हेपाटोलोजिमा डिएम गरेका चिकित्सक रहेको जानकारी दिनुभयो । वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आउनु भएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिनुभएको छ ।
सामान्य भाषामा भन्नु पर्दा जण्डिस् ९पहेँलो रोग० लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उहाँको भनाइ छ । कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रङ्ग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताउनुभयो ।
बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिने चिकित्सकको भनाइ छ । कतिपयमा कलेजोको क्यान्सरसमेत हुन्छ । मादक पदार्थ सेवा नगर्नेमा पनि कलेजोको सिरोसिस हुनसक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
मोटोपन, मधुमेह, उच्च रक्तचाप भएका, कोलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उहाँको भनाइ छ । समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिइरहनु राम्रो हुने चिकित्सकको सुझाव छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्