प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धन तोडेरै भएपनी एमसीसी पास गर्ने तयारी गर्नुभएको छ ।
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक हिजो सांझ अबेर मात्र सूचना जारी गरी स्थगित गरेपछी देउवाले सभामुखको विकल्पको बारे छलफल गर्नुभएको जानकारी प्राप्त भएको छ । आजको बैठकमा एमसीसी बारे छलफल गर्ने तयारी गरिरहेका बेला गठबन्धन भित्रै सहमती हुन नसकेको भन्दै सभामुखले आजको प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको थियो । एमसीसी पास गर्न सभामुख तगारो बन्ने देखिएपछी देउवाले सभामुखको विकल्प बारे छलफल अगाडि बढाउनु भएको जानकारी प्राप्त भएको छ । त्यसो त केही समय अगाडि बालुवाटारमा देउवा र महन्थ ठाकुरबिच भएको भेट वार्तामा पनि प्रधानमन्त्रीले ठाकुरलाई सभामुखको विकल्प खोज्नु पर्ने हुनसक्छ भन्दै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
यता प्रतिपक्ष एमालेले भने सभामुखको रजिनामा माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ । यो अवस्थामा सभामुख हटाउने सवालमा प्रतिपक्ष एमालेले पूर्ण रुपमा समर्थन जनाउने देखिन्छ ।हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै नागरिक समाजका अगुवाहरुले समेत विरोध गरिरहेका छन् । एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले समेत सभामुख सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव दर्ताको तयारी भइरहेको जानकारी दिनुभएको छ ।
सभामुख हटाए गठबन्धन टुट्न सक्ने सम्भावना उच्च रहंदै गर्दा पनि प्रधानमन्त्री देउवा भने गठबन्धन तोडेरै भएपनी एमसीसी पास गराउन तयार रहेका छन् । यता गठबन्धन तोडेर सभामुखको रजिनामा आए एमसीसी पास गर्न सहयोग गर्ने एमालेले बताउंदै आएको छ ।
EN