स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताउनुभयो ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गर्नुभयो ।
स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको तिव्र गतिमा लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए । त्यस अवसरमा उनले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्