एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ।

एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक विवेक सुदले एक्जियटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

एनसेलमा ८० प्रतिशत सेयर रहेको एक्जियटाले आफ्नो सेयर बिक्रीका लागि राखेको र उक्त सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ ।

नेपालमा पहिलो पटक २००४ मा ‘मेरो मोबाइल’ को रूपमा स्थापित भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई चार वर्षपछि टेलिया कम्पनी (पहिले स्विडेनको टेलियासोनेरा समूह भनेर चिनिन्थ्यो) द्वारा अधिग्रहण गरेर २०१० मा ‘एनसेल’ को रूपमा पुन: ब्रान्ड गरिएको थियो । १२ अप्रिल २०१६ मा आजियाटाको हिस्सा बन्न पुगेको एनसेल पछि गएर पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो र ३ अगस्ट २०२० मा यसको नाम ‘एनसेल आजियाटा लिमिटेड’ राखियो।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

काठमाडौँ — रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि सरकारले आगामी माघ ११ गते निर्वाचन गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसदको कार्यकाल सकिँदै छ ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ भने, नेपाल इञ्जिनीयरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने र सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

टिकटक बन्द नगर्ने सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे–नगरेकाे विषयमा २४ घन्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिँदै, यस अवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घन्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उपनिर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले बताएका छन् ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड आज दुबई जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप २८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन्। प्रधानमन्त्री आज राति ९:३० बजे नेपाल एयरलाइन्सको विमानबाट प्रस्थान गर्नेछन्।

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२ औँ सङ्घीय दिवस समारोह र‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ?’शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ।

प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ। उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनेछन्। – रासस

नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण सेयर कारोबार नै बन्द

काठमाडौँ – नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार नेप्सेको सेयर कारोबार नै बन्द हुन पुगेको छ। विधुत आपूर्तिमा आएको अवरोधको कारण सिस्टम डाउन हुँदा सेयर कारोबार केहि समयको लागि बन्द हुन पुगेको नेप्सेले जनाएको छ।

साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा बुधबार प्रिओपनिङ कारोबार र ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन। निर्माण कार्य चलिरहेको र काम गर्ने क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टम डाउन हुन गई कारोबार हुन नसकेको नेप्सेले जनाए पनि ब्याकअप सिस्टम समेत नहुनुले नेप्सेको लापरबाहीलाई प्रष्ट पारेको छ।

एमसीसी आयोजना तोकिएकै समयमा पूरा हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाली आयोजना समयमै सम्पन्न हुने बताएका छन्।

बिहीबार अमेरिकाको वासिङ्टन डिसीमा मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँगको भेटमा मन्त्री साउदले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।भेटमा एमसीसीका आयोजना समयमै कार्यान्वयन गर्ने विषयमा एमसीसीका पदाधिकारीहरूसँग छलफल भएको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले जनाएको छ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, एमसीसीका युरोप एसिया प्यासिफिक र ल्याटिन अमेरिकाका सह उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन र दूतावासका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रिगल प्रहरी नियन्त्रणमा: के अब रेशम चौधरीको आममाफी पनि बदर हुन्छ ?

काठमाडौँ -संविधान दिवसको दिन राष्ट्रपतिले आम माफी दिएपछि कारागारबाट मुक्त भएका नेपालगंजका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले पुन: पक्राउ गरेको छ । पक्राउ पर्नुअघी रिगलले सामाजिक सञ्जाल मार्फत, सम्मानित अदालतले गरेको निर्णयको सम्मान गर्दै, कानुनमाथि फेरि पनि विश्वास राख्दै र भोलि फेरि न्याय पाउनेछु भन्ने विश्वास राख्दै आफूले कानुन समक्ष आत्मसमर्पण गर्न लागेको बताएका थिए।

राष्ट्रपतिले आममाफी दिएपछि गाडीको लस्कर र फूलमालाले भव्य स्वागत गरेको उनको रिहाइको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निकै आलोचना समेत भएको थियो। सोहिबिच मृतक चेतन मानन्धरकी पत्नी भारतीले काठमाडौंमा अनशन बसेपछि उनको पक्षमा देखिएको जनसमर्थन बढ्दै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलको आममाफीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो।

यता सोहि प्रकृतिमा राष्ट्रपतिबाट आममाफी पाएका टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीलाई पनि अब प्रहरीले पक्राउ गर्नेछ या राजनीतिक आवरणमा उनमुक्ति दिइनेछ भन्ने कुरा आम चासोको विषय बनेको छ। चौधरीलाई आममाफी दिनु संविधान, कानुन र न्यायको मान्य सिद्धान्तविपरीत भएको सर्वोच्चको पूर्णपाठ सार्वजनिक भएको पनि तीन महिना बितिसकेको छ।

राष्ट्रपतिबाट कैद माफी पाएसँगै चौधरी रिहा भए लगत्तै मृतक प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले रिट निवेदन दायर गरेकी छिन्। रेशमलाई जन्मकैदको सजाय माफी दिँदा पीडितहरूसँग कुनै सहमति नलिइएको उल्लेख गर्दै राष्ट्रपतिबाट दिइएको माफी मिनाहाको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग रिटमा गरिएको छ। रिट निवेदनमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, कारागार व्यवस्था विभाग र रेशम चौधरीलाई विपक्षी बनाइएको छ। यो मुद्दा विचाराधीन अवस्थामै रहेको छ।

नेपाल–भारत सीमा छुट्याउने साढे ८ हजार सीमा स्तम्भमध्ये २ हजार ७ सय १६ स्तम्भ गायब

काठमाडौँ — नापी विभागको अभिलेखअनुसार नेपाल–भारत सीमा छुट्याउने करिब साढे ८ हजार स्तम्भमध्ये २ हजार ७ सय १६ वटा गायब छन् । दुई देशबीच ठूला (जंगे) स्तम्भको संख्या ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना स्तम्भ ५ हजार १ सय ५६ छन् । भएका सिमा स्तम्भहरुमा पनि १ हजार ५ सय ५६ जीर्ण र २ हजार ८ सय ९१ स्तम्भ सामान्य मर्मत गरी दुरुस्त राख्न सकिने अवस्थामा रहेका छन् ।सीमा स्तम्भ दुरुस्त अवस्थामा नहुँदा,भारतीय पक्षबाट सीमा अतिक्रमणका घटना पटक पटक दोहोरिने गरेका छन् ।तराई क्षेत्रमा भारतीय पक्षबाट बनेका अनधिकृत भौतिक संरचनाका कारण निम्तिने बाढी, डुबान र कटानले पनि सीमा स्तम्भ बगाउने, गायब हुने र हराउने गरेका छन् ।

३ वर्षअघि समझदारी भए पनि कार्यविधि निर्माण र समन्वय अभावमा रोकिएको सिमा स्तम्भ निर्माणको काम, दुई देशबीच भएका समझदारीअनुसार सरकारले सशस्त्र प्रहरीलाई साधन स्रोत उपलब्ध गराउने र सोहि अनुरुप कार्यविधि तय गरिदिएसँगै नेपाल र भारतबीच जीर्ण सीमा स्तम्भ मर्मतको कार्य सशस्त्र प्रहरी बल (एपीएफ) ले अगाडी बढाउने भएको छ। त्यसमध्ये पनि नवलपरासी र दार्चुलाको सीमा विषय टुंगोमा पुग्न नसकेकोले त्यसबाहेकमा मात्रै स्तम्भ मर्मतको काम हुनेछ ।

सीमा अनुगमन, नियमन र व्यवस्थापनका लागि नेपाल र भारतका गृह, परराष्ट्र, नापी, स्थानीय प्रशासन तथा सीमा सुरक्षा गर्ने निकायका अधिकारी सम्मिलित संयुक्त संयन्त्र ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) क्रियाशील रहेको छ ।

त्यही संयन्त्रको बैठकले जोर स्तम्भ भारत र बिजोर स्तम्भ नेपालले मर्मतसम्भार र रंगरोगन गरी दुरुस्त अवस्थामा राख्ने निर्णय गरेको थियो । त्यसकै आधारमा बिजोर स्तम्भ मर्मतको काम नेपालले सशस्त्र प्रहरीमार्फत सुरु गरेको हो ।

सिंहदरबारभित्र र आसपासका क्षेत्रमा शनिबार चार घण्टा विधुत आपूर्ति बन्द हुने

काठमाडौं – सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विधुत आपूर्ति बन्द हुने नेपाल विधुत प्राध्करणले जनाएको छ।

प्राधिकरणले जारि गरेको सूचनामा ,स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विधुत आपूर्ति बन्द हुने उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ।

bidhut pradhikaran

संसद अधिवेशन अन्त्य : ६ महिनामा एउटा विधेयक पारित

काठमाडौँ — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन अन्त्य भएको छ ।

२०८० वैशाख २४ बाट सुरु भएको ६ महिने लामो लामो अधिवेशनमा प्रतिनिधिसभा ६१ दिन र राष्ट्रिय सभा ३९ दिनमात्रै चलेका थिए भने उक्त अवधिमा प्रतिनिधिसभाका ६५ बैठक र राष्ट्रिय सभाका ४८ बैठक बसे । उक्त अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको ६ वटा संयुक्त बैठक बसेका थिए । संसद्को चालु अधिवेशनबाट पारित भएका तीन विधेयकमा आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन् । यसका अलावा चौतर्फी दबाब र सरकारको चर्को आलोचना भएपछि, मिटरब्याजीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिनका लागि ल्याइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गर्नेबाहेक अन्य काम हुन सकेन ।

यो अधिवेशनमा पशुपतिनाथको जलहरी प्रकरण, प्रधानमन्त्री दाहालले प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति,सुन तस्करी प्रकरण,भुटानी शरणार्थी र ललिता निवासको जग्गा हिनामिना प्रकरण लगायतका घटनाहरुले पटक- पटक संसद अवरुद्द हुँदा संसद्को चालु अधिवेशनले विचाराधीन रहेका कुनै पनि विधेयकलाई प्रकृयागत रुपमा अगाडी बढाउन सकेन।

प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पारित भइआएका ७ विधेयकसमेत अल्झाएर राखेको छ । संसदमा विचाराधीन रहेका विधेयकहरुमा ,भन्सार विधेयक,बैंकिङ कसुर तथा सजाय विधेयक,औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक,
विधुत विधेयक,विद्यालय शिक्षा विधेयक,केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक,संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक,सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,विधायनसम्बन्धी विधेयक,विद्युतीय व्यापार विधेयक
नेपाल विश्वविद्यालय विधेयक,राष्ट्रिय मर्यादासम्बन्धी विधेयक (गैरसरकारी विधेयक)
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,सुरक्षण मुद्रणसम्बन्धी विधेयक,सार्वजनिक सेवा प्रसारण विधेयक,अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,अनुगमन तथा मूल्यांकन विधेयक,अध्यागमन विधेयक,भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक रहेका छन्।