कानुनी रुपमा अहिलेसम्म कुनै ठोस व्याख्या नभएतापनी सामान्यतया, विवाहपुर्व कुनै केटा वा केटी संगै बस्नुलाई लिभिङ टुगेदर भनेर अर्थ लगाउने गरिन्छ । खासगरि युरोप र पश्चिमी समाजहरुमा लिभिङ टुगेदरको सम्बन्ध ज्यादा मात्रामा देख्न सकिन्छ । अविवाहित महिला वा पुरुषले आफ्नो एक्लोपनको समस्या, आर्थिक समस्या वा आफ्नो शारीरिक इच्छा र आकांक्षाहरुलाई सहज रुपमा अगाडि बढाउन लिभिङ टुगेदरमा बस्ने चलन रहेको छ । कोही भने विवाह निश्चित भैसकेपछि पनि विवाह अगाडि केही समय आफ्नो प्रेमी वा प्रेमिकासंगै बस्न चाहने भएकाले वा विवाह पुर्व आफ्नो प्रेमी वा प्रेमिकाको वानी व्यवहार बुझ्नको लागि र आफ्नो प्रेम सम्बन्धलाई अगाडी बढाउन पनि लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । युरोप र पश्चिमी समाजहरुमा लिभिङ टुगेदरको सम्बन्धलाई घर-परिवार र समाजले सहज् रुपमा स्विकार्ने गरेको छ । त्यहां यस्ता सम्बन्धहरुबारे खुलेर कुरा गरिन्छ र आजसम्म त्यहांको कानुनले पनि यसलाई सहज रुपमा स्विकारेको अवस्था छ ।
नेपालमा पनि पछील्लो समय लिभिङ टुगेदरमा बस्ने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा मात्रै नभएर नेपालबाट विभिन्न कारणले विदेश गएका नेपालीहरु पनि लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । तर विदेशी मुलुकहरुमा सामान्य रुपमा हेरिने लिभिङ टुगेदरको सम्बन्ध नेपाली समाजमा भने चुनौतीपूर्ण बन्दै गएको छ । नेपालमा बढ्दै गएको लिभिङ टुगेदर सम्बन्ध केबल प्रेमी र प्रेमिकाकाबिच मात्र सिमित हुने गरेको छ । अपवादका केही घटना बाहेक अधिकांश युवायुवतीहरुले लिभिङ टुगेदरको सम्बन्ध आफ्ना साथीभाइ तथा आफन्त र घरपरिवार अनी समाजबाट लुकाएर राख्ने, कसैलाई थाहा नदिने गरेको पाइन्छ । उनिहरु आफ्नो सम्बन्धको बारेमा कसैले थाहा नपाओस भन्ने चाहन्छन् । भोली लिभिङ टुगेदरमा बसेकै जोडीसंग विवाह नहुन पनि सक्छ र समाजले के भन्छ भन्ने डरले गर्दा प्राय यस्तो सम्बन्धलाई लुकाएरनै राख्ने गरिन्छ ।
लिभिङ टुगेदरका घट्नाहरुले धेरै महिलाहरु पीडित बनेको कारण यसबाट उत्पन्न हुने चुनौतीहरुलाई सम्बोधन गर्नेगरी कानुन बनाउनुपर्ने अधिवक्ता मोहनलाल आचार्य बताउनुहुन्छ।
जब पछील्लो केही वर्ष यता नेपालमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जान थाल्यो, त्यतिनै यसले सम्बन्ध र समाजमा चुनौती पनि बढाउंदै गएको छ । जीवनमा कसैसंग जोडीएको सम्बन्ध, कसैसंग गांसिएको सम्बन्ध संधै सहज र सफल हुन्छ भन्ने छैन । संगै मर्ने अनी संगै बांच्ने कसम खाएर लिभिङ टुगेदरमा बसेकाहरुको सम्बन्ध पनि बिग्रिन सक्छ र सबै सम्बन्ध संधै बिग्रिन्छ भन्ने पनि छैन । लिभिङ टुगेदरमै बसेर सम्बन्ध र आफ्नो जीवनलाई सफल रुपमा अगाडि बढाउनेहरु पनि छन् । तर सम्बन्धको जग जब स्वार्थ र आवश्यकताको परिधिमा खडा गरिन्छ तव ढिलो चांडो निश्च्यनै त्यो सम्बन्धमा दरार आउन थाल्नेछ । एक- दुई अपवाद बाहेक, नेपालमा हुंदै र देखिंदै आएको लिभिङ टुगेदरको सम्बन्ध भने माया र भावनात्मक भन्दा ज्यादा, स्वार्थ र क्षणिक आवश्यकताको आधारमा बढेको देखिन्छ । चाहे त्यो स्वार्थ भौतिक होस् या त्यो आवश्यकता शारीरिक होस् ।
नेकपा एमालेकी सांसद विन्दा पाण्डे , लिभिङ टुगेदर बारे शीर्ष नेताहरुको मानसिकता नै परिवर्तन हुनुपर्ने र लिभिङ टुगेदरमा बस्दा पनि ती व्यक्तिको रजिस्ट्रेसन गर्नुपर्ने ढंगले कानूनि व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ ।
पछील्लो अध्ययनले के देखाउंछ भने, जब यसरी लुकिछिपी गांसिएका सम्बन्धहरुमा कुनै दिन कहीं कतै एक अर्कालाई बुझ्न र बुझाउन नसकिने स्थिती आउंछ, तव लिभिङ टुगेदरका सम्बन्धहरु समस्या बन्दै जान्छ । यस्तो बेला लिभिङ टुगेदरमा बसेकाहरुले खुलेर आफ्नो समस्याबारे न त अरुलाई सुनाउन सक्छन न त कसैको सल्लाह र सहयोग नै लिन सक्छन् । कतिपय यस्ता सम्बन्धहरुमा पीडित भएकाहरु खुलेर कानुनी उपचारको बाटो पनि रोजन नसक्ने हुन्छन् । कतिपय घट्नाहरुमा लिभिङ टुगेदरबाट अलग भएर बसेकाहरुलाई प्रेमी वा प्रेमिकाले पुराना तस्विर र भिडियोहरु देखाएर पैसाकोलागी बार्गेनिङ समेत गर्ने गरेको घटनाहरु सुन्नमा आएको छ । लिभिङ टुगेदरमा बस्दा गर्भवती भएको अवस्थामा यसले झनै ठुलो समस्या निम्त्याउने गरेको छ । गर्भपछी पुरुषले छोडेर हिंडेको घटनाहरु उत्तिकै छन् । कतिपयले कानुनी उपचारको बाटो खोज्छन भने कतिपय परिवार र समाजको डर र लाजले आत्महत्याको स्थितीसम्म पुगेका छन् । अझ पछील्लो समय विवाहित पुरुषहरु पनि लिभिङ टुगेदरमा बस्ने गरेको पाइएको छ । नेपालको संविधानले बहुविवाहलाई गैरकानुनी करार गरेको तर विवाहित पुरुषहरुनै लिभिङ टुगेदरमा बस्ने गरेकोले यसले नेपालको संविधान र घरेलु कानुनलाई नै प्रभावित गरेको विज्ञहरुले बताएका छन् । लिभिङ टुगेदरको सम्बन्धमा प्राय महिलाहरु नै पीडित हुने गरेको पाइएको छ ।
नेपाली कांग्रेसकी सचेतक पूष्पा भुषाल, लिभिङ टुगेदरले वैवाहिक तथा घरेलु कानुनलाई नै प्रभावित बनाएको कारण कस्तो अवस्थामा संगै बस्न पाउने र कस्तो अवस्थामा संगै बस्न नपाउने भनी कानुन बनाउनुपर्ने बताउनुहुन्छ ।
समग्रमा नेपालमा बढ्दै गएको लिभिङ टुगेदरको क्रम अध्ययन गर्दा, क्षणिक आकर्षण,कम्जोर आर्थिक स्थिती/आर्थिक प्रलोभन र युवा अवस्थामा आउने शारीरिक परिवर्तन र यौन चाहनाले नै खासगरी युवापुस्तालाई लिभिङ टुगेदर तर्फ आकर्षित गर्दै लगेको देखिन्छ । अत: लिभिङ टुगेदर र यसले निम्त्याउन सक्ने चुनौतीहरुलाई ध्यानमा राखेर कानुनी रुपमा यसलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्