यो अन्धो सरकार बहिरो सरकार अनी लाटो सरकार: बाठो बन्दैछ

  • नेपाल राष्ट्रिय दैनिक
  • February 25, 2022
press relese ukraine

Statement on the Recent Developments in Ukraine भनेर परराष्ट्र मन्त्रालयले हिजो,”नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ” भन्ने सन्देशका साथ एक विज्ञप्ती जारी गर्‍यो । विज्ञप्तीको अन्तिम हरफमा लेखिएको छ,”नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्ति प्रयोगको विरोध गर्दछ”।

वाह ! नेपालको सरकार पनि अन्तरराष्ट्रिय मुद्दा मामिला र युद्धको विषयमा विश्वका अन्य ठुला मुलुकहरु जसरी नै बोल्न, लेख्न र प्रतिवाद गर्न सक्ने भैसकेछ भनेर मलाई अचम्म लाग्यो । सांच्चिकै मेरो देशको सरकारले यती सम्म पनि बोल्न, लेख्न र प्रतिवाद गर्न सक्ने रहेछ भनेर कता-कता खुशी पनि लाग्यो । संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नेपालले त्यो विज्ञप्ती जारी गर्नु एक हिसाबले ठीक पनि हो, तर भारतले आफ्नै देशको सिमाना मिच्दा चुइक्क बोल्न नसक्ने सरकारले आज अचानक रुसको कदमको विरोध गरेर विज्ञप्ती जारी गर्दै गर्दा, सरकार र सरकारमा बस्नेहरुले के खान्छन र यस्तो वुद्धी लगाएर हतार हतार प्रतिकृया जनाउन आतुर हुन्छन् भन्ने लाग्छ । भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिङ धामीहरुलाई खोलामा झार्दै गर्दा,भारतीय सेनाको हेलिकप्टर विना अनुमती सिमाना नाघेर नेपाली आकाशमा उडिरहंदा , बर्दी र हतियार सहितका भारतीय प्रहरीहरु सिमा पार गरेर नेपाली भुमीमा बुट बजार्दै गर्दा भारत सामु कुनै जवाफ माग्न नसक्ने सरकार आज कसको ईशारामा रुस जस्तो शक्तिशाली देशको विरुद्ध विष वमन गर्दैछ ?

आफ्नै देशको सिमानामा बसोबास गर्दै आएका नेपाली नागरिकको जनगणना गर्न भारतको अनुमती लिनु पर्ने सरकारले आज कस्को अनुमती लिएर विज्ञप्ती जारी गर्‍यो सरकार ? संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नै विज्ञप्ती जारी गरेको हो भने, सरकार अर्को विज्ञप्ती भारतले सिमानामा गर्दै आएको अत्याचार र दादागिरीको विषयलाई लिएर पनि जारी गर्नुपर्‍यो । निर्वाध रुपमा सिमानामा अन्तराष्ट्रिय सम्झौता र कानुनको उल्लंघन गर्दै एक्लौटी रुपमा निर्माण गर्दै गरेको सडक र ड्यामको विरोधमा विज्ञप्ती जारी गर्ने हैसियत छ सरकार ? लिपुलेक, कलापानी र लिम्पियाधुरा लगायतका नेपाली भुमीमा बर्षौं देखी सैनिक क्याम्प खडा गरेर बसेको भारतको विरोधमा विज्ञप्ती जारी गर सरकार, कुनै विदेशीको बुइ चढ्नु पर्दैन,हामी आंफै तिमीलाई कांधमा बोकेर हिंड्नेछौं ।

शक्तिशाली राष्ट्र विरुद्ध बोल्न नहुने होइन बोल्नुपर्छ र परी आएमा युद्धमा होमिएर लड्न पनि तयार हुनुपर्छ । तर नेपाल जस्तो देशले कुनै एउटा शक्ती राष्ट्रको बुइ चढेर अर्को शक्ती राष्ट्रको विरोध गर्दै गर्दा त्यसले भोली दिर्घकालिन रुपमा पार्ने असरबारे सोच्नु जरुरी छ । ति देशहरुसंगको भोलीको हाम्रो सम्बन्ध कस्तो हुन्छ र यसले हाम्रो अन्तराष्ट्रिय कुटनितिमा के असर पार्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । नेपालीमा एउटा उखान छ सरकार,”लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ दुई बल्ड्याङ । हामी जुन चन्द्रमालाई भगवान भनेर पुज्छौं नि, हो यि फिरिङ्गीहरुले त्यहां खुट्टाले टेकेर आइसके । त्यसैले को कती बाठो छ विचार गर्नु सरकार । हामी बाठो भएर बहादुर भएका होइनौं, मुर्ख भएर बहादुर बनेका हौं भन्ने फिरिङ्गीहरुको कुरा नबिर्सनु ।

राजनीतिक स्वार्थ र भागवण्डाको चपेटामा एमसीसीले आफ्नै देश तानवग्रस्त बनेको अवस्थामा संयमता बिर्सिएर नागरिक माथि अश्रुग्यांस र रबरका गोली बर्षाउंदै गर्दा, तिमी कुन नैतीकताले रुसलाई संयमता अप्नाउन आग्रह गर्न सक्छौ सरकार ?अर्काको बुइ चढेर भुंइको टिप्न खोज्दा पोल्टाको पोखिन सक्छ सरकार,पटुकी राम्रोसंग कस्नु । कहिलेकहीं देखेर पनि नदेखेजस्तो गर्नुपर्छ अनी सुनेर पनि नसुने जस्तो गर्नुपर्छ सरकार । आजसम्म संधै यही नै गर्दै आएको होइन र ? बिर्सिएको हो र?

आफ्नो देशको सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको विषयमा आज सम्म मौनधारण गरेर बसेको यो अन्धो सरकार,यो बहिरो सरकार अनी यो लाटो सरकारलाई मेरो आग्रह, विन्ती छ, अनावश्यक चासो र आफ्नो बुता भन्दा परको विषयमा पनि मौन बस्ने बानी गर । एउटालाई खुशी पार्ने बहनामा अर्कोलाई चिढ्याउनु नेपालको लागि घातक सावित हुनेछ ।

कसैसंगको सम्बन्ध संधै राम्रो हुन्छ र हुनुपर्छ भन्ने छैन र कसैसंगको राम्रो सम्बन्ध संधैभरीलाई हुन्छ भन्ने पनि छैन । कहिलेकहीं अहित हुने सम्बन्धहरु बाट टाढै बस्न सिक्नुपर्छ । हरेक सम्बन्धहरुको एउटा निश्चित सिमा हुन्छ । देशको अस्तित्व लीलामीमा राख्दै कसैको बुइ चढेर सती जान सकिन्न । त्यसैले नेपालले अप्नाउंदै आएको असंलग्न परराष्ट्र नितीलाई विचार गरेर स्वतन्त्र, निस्पक्ष र निर्वाध रुपमा अन्तराष्ट्रिय कुटनितीको ख्याल गर्दै अन्य विदेशी राष्ट्रहरुसंगको आफ्नो सन्तुलन कायम राख्न सक्नुपर्छ सरकार । सरकारको यसमा ध्यान पुगोस,कहिलेकहीं नबोलेरै जितिन्छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५