गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : अध्यक्ष प्रचण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • February 13, 2022
Pushpa Kamal Dahal 1

पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ ।
२७औं जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभयो ।

संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गर्नुभयो ।

प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उहाँले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताउनुभयो ।

नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उहाँले सङ्घर्षका लागि ऊर्जा प्राप्त गर्न मधेसी जनताका बीचमा जाने पार्टीले निर्णय लिएको सुनाउनुभयो । जनयुद्धको थालनी मधेसबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले आवश्यक परे पुनः मधेसी जनताका बीचमा जाने र ऊर्जा प्राप्त गर्ने योजना रहेको बताउनुभयो । रासस

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५