पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ ।
२७औं जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभयो ।
संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गर्नुभयो ।
प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उहाँले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताउनुभयो ।
नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उहाँले सङ्घर्षका लागि ऊर्जा प्राप्त गर्न मधेसी जनताका बीचमा जाने पार्टीले निर्णय लिएको सुनाउनुभयो । जनयुद्धको थालनी मधेसबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले आवश्यक परे पुनः मधेसी जनताका बीचमा जाने र ऊर्जा प्राप्त गर्ने योजना रहेको बताउनुभयो । रासस
आफ्नो प्रतिक्रिया दिनुहोस्