अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।

विश्वभर प्रजातन्त्र र मानवअधिकारको वकालत गर्ने कार्टर सेन्टरले आइतबार दिउँसो उनको जर्जियाको प्लेन्सस्थित घरमा निधन भएको जनाएको छ ।

सन् १९७७ देखि १९८१ सम्म उनि अमेरिकाको राष्ट्रपतिको रूपमा रहे।
कम अनुमोदन मूल्याङ्कनका साथ व्हाइट हाउस छोडेपछि, उनको प्रतिष्ठा मानवीय कार्यको माध्यमबाट पुनर्स्थापित भयो जसले उनलाई नोबेल शान्ति पुरस्कार प्राप्त गर्यो।

कार्टर राष्ट्रपति हुनु अघि जर्जियाका गभर्नर , अमेरिकी नौसेनामा एक लेफ्टिनेन्ट र एक किसान थिए। उनका चार छोराछोरी, ११ नातिनातिना र १४ पनाति-पनातिनाहरू छन्।

७७ वर्ष लामो वैवाहिक जीवन संगै बिताएकी उनकी श्रीमती रोजालिनको भने नोभेम्बर २०२३ मा निधन भएको थियो।

नेपाल–भारत संयुक्त सैन्य अभ्यास मंगलबारदेखि

काठमाडौं – सुरक्षा र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल–भारत संयुक्त सैन्य अभ्यासको १८औँ संस्करण रुपन्देहीको सालझण्डीमा मङ्गलबारदेखि सुरु हुँदैछ ।

‘सूर्यकिरण’ नामक बटालियन स्तरीय संयुक्त सैन्य अभ्यास जंगल युद्ध, कठिन भूगोलमा आतंकवाद विरोधी, संयुक्त राष्ट्र संघको बडापत्र अनुसार शान्ति स्थापना , विपद् व्यवस्थापन र राहत परिचालनमा मानवीय सहायता, आन्तरिक क्षमता निर्माण र वातावरण संरक्षणमा केन्द्रित रहनेछ ।

दुई सातासम्म चल्ने उक्त अभ्यासमा नेपाली सेनाको श्रीजंग गण र भारतीय सेनाको ११औँ गोर्खा राइफलको सहभागिता रहने छ ।नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले संयुक्त सैन्य तालिमले मैत्रीपूर्ण सम्बन्ध प्रगाढ हुने अपेक्षा गरिएको जानकारी दिए । संयुक्त सैन्य अभ्यासले नेपाल र भारतबीचको विश्वास र सांस्कृतिक सम्बन्धलाई पनि विस्तार गर्ने र यसले व्यावसायिक सहकार्य पनि बढाउने उनले बताए ।

संयुक्त अभ्यासको १७ औं संस्करण गत वर्ष भारतको पिथौरागढमा भएको थियो ।
हालसम्म यो संयुक्त अभ्यासमा सहभागी नेपाली सेनाको संख्या ४ हजार २ सय १५ पुगेको छ भने भारतीय पक्षबाट ४ हजार ४ सय ४२ पुगेको छ ।
यो संयुक्त अभ्यास विसं २०६७ मा सुरु भएको थियो ।

यस्तो छ राष्ट्र बैंकले आजको लागि निर्धारण गरेको बिदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ ।

निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

एमसीसीले करिब ५ करोड अमेरिकी डलर रकम थप गर्ने

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) लागत वृद्धि गर्ने भएको छ ।

एमसीसीले लगानी गरेका आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण बढेको लागत धान्न एमसीसीले रकम वृद्धि गर्न लागेको हो ।

एमसीसीले रकम थप गर्ने बारे डिसेम्बर १८ मा अमेरिकी कंग्रेसलाई जानकारी गराइसकेको छ ।

एमसीसीले प्रसारण लाइन निर्माणका लागि श्रोतको अभाव पूर्ति गर्न र एमसीसीको लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउन अमेरिका र नेपालबीच भएको सम्झौता (कम्प्याक्ट) परिमार्जन गर्न अमेरिकी कंग्रेसलाई जानकारी गराएको छ ।

एमसीसीले लागत बढाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । निर्माण हुने आयोजनाको लागत बढेको देखेर एमसीसीले थप ५ करोड डलरसम्म रकम थप गर्ने प्रक्रिया अघि बढाएको छ,’ अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने । “उनीहरूले स्वीकृत गरेपछि हामी नेपाल सरकारले उक्त रकम स्वीकार गर्ने प्रक्रिया अघि बढाउँछौं।”

विसं २९ भाद्र २०७४ मा नेपाल सरकार र एमसीसीबीच प्रसारण लाइन र सडक पूर्वाधार निर्माणका लागि सम्झौता (कम्प्याक्ट) भएको थियो ।

त्यसबेला एमसीसीले नेपाललाई ५० करोड डलर लगानी गर्ने उल्लेख थियो । तर, उक्त सम्झौता कार्यान्वयनलाई लिएर नेपालमा लामो समयदेखि चलेको राजनीतिक विवादका कारण नेपालको संसदले सम्झौता अनुमोदन गर्न साढे ४ वर्षभन्दा बढी समय लगाएको थियो ।

एमसीसी कम्प्याक्टलाई नेपाली संसदले २०७८ फागुन १५ गते मात्र व्याख्यात्मक घोषणासहित स्वीकृत गरेको थियो र सम्झौता भएको ६ वर्षपछि एमसीसी परियोजना २०८० साल भदौ १३ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

एमसीए नेपालले गत नोभेम्बर २८, २०२२ मा प्रसारण लाइनको ठेक्का प्रक्रिया सुरु गरेको थियो। तर, लागत अनुमानभन्दा ६० प्रतिशत बढी महँगो टेन्डर आहवानपछि एमसीए नेपालले ठेक्का प्रक्रिया रद्द गरी दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो।

तर, एमसीसी सम्झौता र कार्यान्वयनको प्रारम्भ (प्रवेश) बीचको ६ ​​वर्षको अवधिमा विश्व परिस्थितिमा ठूला अवरोधका कारण आयोजनाको लागत बढ्न सक्ने नेपाल सरकार, एमसीए नेपाल र एमसीसीले स्वीकार गरेका छन् । नेपाल, एमसीसी नेपाल र एमसीसीले आयोजनाको लागत बढ्न सक्ने स्वीकार गरेकाले रकम बढाउनुपरेको एमसीसीको सूचनामा उल्लेख छ ।

एमसीसीले प्रसारण लाइनको पुरानो ठेक्का खारेज गरेपछि लागत घटाउन डिजाइन परिवर्तन र अन्य उपाय अपनाएर नयाँ बोलपत्र आह्वान गरेको छ । यस पटक आह्वान गरिएका बोलपत्र लागतका कारण रद्द गर्नु नपर्ने र एमसीए नेपालले समयमै ठेक्कामा हस्ताक्षर गरी आयोजना कार्यान्वयनमा ढिलाइ नगरी अघि बढ्न सक्ने गरी रकम वृद्धि गरिएको एमसीसीले जनाएको छ ।

एमसीसी परियोजना कार्यान्वयन गर्न नेपाल सरकारले सुरुमा १३ करोड डलर लगानी गर्न सहमत भएको थियो । तर, परियोजनाको लागत बढ्दै गएपछि नेपालले सन् २०२३ को मे महिनामा थप ६७ मिलियन डलरले लगानी बढाउने प्रतिबद्धता जनाएको छ। यसले नेपालको कुल लगानी १९७ मिलियन डलर पुगेको छ।

एमसीसी आयोजनाको योजनाअनुसार ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन र तीन ४०० केभी सबस्टेसन निर्माण गरिनेछ।

एमसीसी अन्तर्गत निर्माण हुने आयोजनामध्ये नयाँ बुटवलदेखि भारतीय सीमासम्म तीनवटा सबस्टेसन र १८ किलोमिटरको प्रसारण लाइन निर्माणको काम अगाडि बढाइएको छ ।

बाँकी २९७ किलोमिटर प्रसारण लाइनको पुनः बोलपत्र भइसकेको छ भने दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक मर्मत आयोजनाको बोलपत्र आउन बाँकी छ ।

नागार्जुनका मेयर बस्नेतमाथि ९ करोड रुपैयाँ घुस खाएको आरोप

काठमाडौं । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।

अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

त्यसरी हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।

त्यस्तै, शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएका अख्तियारको आरोपत्रमा उल्लेख छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।

अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।

अख्तियारले मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।

अख्तियारको आरोप पत्रमा मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानले मन्दिर बनाउने भनी जग्गा बिक्री गर्नका लागि स्थानीहरुलाई सहमत गराएको उल्लेख छ ।

पछि त्यो जग्गामा पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलले प्लटिङ गराइ हाउजिङहरु बेचेका थिए ।

मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।

साउदीबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स

काठमाडौँ — साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय एक पुरुषमा एमपक्स पुष्टि भएको हो ।

एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ । यसअघि पनि साउदैबाट फर्किएका एक जनामा एमपक्स देखिएको थियो । टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भएको छ ।

केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । नेपालमा एमपक्स देखिएको यो तेस्रो पटक हो ।

राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना तहाचलका शाखा अधिकृतलाई पक्राउ गरेको छ। आयोगको टोलीले ४५ वर्षीय अधिकृत धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

आइतबार प्रसाईको कार्यकक्षमै पुगेर आयोगको टोलीले सेवाग्राहीबाट लिइसकेको रकमसहित उनलाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रवक्ता घिमिरेले उनीविरुद्ध थप अनुसन्धान भइरहेको जानकारी दिए। घिमिरेका अनुसार पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा निवेदनका आधारमा टोली प्रसाईको कार्यकक्षमा पुगेको थियो।

लिपुलेक हुँदै तीर्थयात्रा र व्यापार मार्ग खोल्ने चीन–भारत सम्झौताले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको छ : महासचिव चन्द

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको लिपुलेक हुँदै भारत र चीनबीच हुने तीर्थयात्रा र व्यापार मार्ग पुनः खोल्ने सहमतिमा आपत्ति जनाउँदै उक्त सम्झौताले पालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको बताएका छन्।

शनिबार जारी विज्ञप्तिमा चन्दले गत हप्ता चीन भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले बेइजिङमा गरेको सम्झौतामा आपत्ति जनाउंदै
लिपुलेक नाका हुँदै तीर्थयात्रा र व्यापार मार्ग खोल्न चिनियाँ र भारतीय अधिकारीबीच बेइजिङमा भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपालले दाबी गरेअनुसारको प्रमाणिक दस्तावेज भएमा त्यसबेला चीन सरकारले भारतसँग गरेको सम्झौताको पुनर्मूल्याङ्कन गर्न सकिने बताएको पनि चन्दले स्मरण गराए । ‘२०७७ मा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नाकासहितको नक्सा सार्वजनिक गरेको छ,’ चन्दले भने, ‘नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सम्झौताले नेपालको भूभाग अतिक्रमण गरेको उनले बताए ।

नेपालले आफ्नो स्वाधीनता र अखण्डताप्रति गम्भीर हुनुपर्ने चन्दले बताए । चन्दले नेपाल सरकारसँग लिपुलेक नाका सम्बन्धमा भएको भारत–चीन सम्झौता खारेज गरी राष्ट्रिय अखण्डताको रक्षाका लागि आवश्यक कदम चाल्न माग गरेका छन् ।

एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था छ : घनश्याम भुसाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै,
एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेकोले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको र अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने उनले बताएका छन्।

एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको सुनाए ।

भिम रावललाई पार्टीबाट निष्काशन गरिएको सन्दर्भमा सञ्चारकर्मीहरूसंग कुरागर्दै उनले भने, ‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’

प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

कास्की — माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने र संशोधनका निम्ति संविधानको समीक्षा गरिने पनि उनले बताएका छन् ।
सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ र यो संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्ने रहेको पनि उनले बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना रहेको समेत उनले प्रष्ट पारेका छन्।

प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको र ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कार्यक्रममा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु

काठमाडौँ — भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको छ । पाइपलाइन विस्तारको काम पूरा भएसँगै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत समेत गरिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले बताएका छन्।

‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका र पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको उनले बताएका छन् । पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने उनले बताएका छन् ।

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगन्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरेको छ।
सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ ।

यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल निगमलेनै निर्माण गरिदिएको छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।

मेतिहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगन्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ ।

कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको माओवादी नेता पुनको दाबी

रुकुम – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग वाक्क भएर नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको बताएका छन्।

श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको र देशमा अहिले पनि सरकारका कारण कुनै पनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको समेत उनले बताएका छन्।

रुकुम पूर्वको भूमेमा माओवादीको अधिवेशनको उद्‍घाटन गर्दै कांग्रेस नेताहरूले वर्तमान सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताएका छन् । तर कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन आफुहरु तयार नरहेको र २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताएका छन्।

मन्त्रिपरिषदको निर्णय अख्तियारको क्षेत्राधिकारमा रहने विषयलाई लिएर कांग्रेसभित्र विवाद

काठमाडौं – नीतिगत निर्णयका नाममा जस्ता विषय पनि मन्त्रिपरिषद्बबाट पारित गर्ने गरेकोले त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न मन्त्रिपरिषदको नीतिगत निर्णय बाहेकका निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पर्ने गरी संसदीय उपसमितिले जुटाएको सहमतिलाई लिएर नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ ।

यसअघी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत नहुने व्याख्या गर्दै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ पारित गरेको थियो। विधेयकमा प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सर्वसाधारणलाई समान रूपमा लागू नहुने र सार्वजनिक रूपमा घोषणा भएको नीतिको प्रतिकूल हुने गरी कुनै खास व्यक्ति वा निजी संस्थालाई मात्र लाभ हुने गरी गरिएको निर्णय, सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सार्वजनिक खरिद सम्बन्धमा गरिएको निर्णय र प्रचलित कानुनबमोजिम अन्य निकाय वा अधिकारीले निर्णय गर्नुपर्ने विषयमा अधिकारक्षेत्र नाघी गरिएको निर्णय नीतिगत नहुने उल्लेख छ ।

यसअघि मन्त्रिपरिषद्को कुनै पनि निर्णयमा अख्तियारले अनुसन्धान गर्न नपाउने हुँदा मन्त्रालयका सहसचिव, सचिव वा अन्य सरकारी अधिकारीले कानुनी कारबाहीबाट बच्न मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्तिले मुलुकको सुशासनमा प्रश्न उठ्दै आएको भन्दै मन्त्रिपरिषदको निर्णय अख्तियारको क्षेत्राधिकारमा रहने गरि विधेयक ल्याएको थियो।

तर, राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले गृहमन्त्री लेखक समेतको राय अनुसार अख्तियारले नीतिगत बाहेक अरू प्रकृतिका मन्त्रिपरिषद्का निर्णयमाथि अनुसन्धान गर्न पाउने गरी सहमति जुटाएपछि भने कांग्रेसभित्र विवाद सुरु भएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे मन्त्रिपरिषद्‍को निर्णयमा अंकुश लगाउने गरी कानुन बनाउन नहुने र मन्त्रिपरिषद्‍को निर्णय अख्तियारको क्षेत्राधिकारमा पर्न नहुने बताउँदै आएका छन्।

जबकी कांग्रेसकै सांसद हृदयराम थानी नेतृत्वको संसदीय उपसमितिले नीतिगत बाहेकका निर्णयमा भ्रष्टाचार देखेमा अख्तियारले मुद्दा दायर गर्न सक्ने गरी अख्तियार ऐन परिमार्जन गर्ने विषयमा सहमति जुटाएको हो । त्यसैगरी गृहमन्त्री लेखक पनि मन्त्रिपरिषदको नीतिगत निर्णय बाहेकका निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पर्ने गरी संसदीय उपसमितिले जुटाएको सहमतिलाई लिएर सकारात्मक देखिएका छन्।

पृथ्वीनारायण शाहको शीतकालीन शेरा दरबारको १६३ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस

काठमाडौं – पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।

कुनै बेला माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रहेका नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ भने यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाएको छ ।।

पृथ्वीनारायण शाहको पालाको १८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रुपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो ।तर, भूमि सुधार ऐन (२०२१), मालपोत ऐन (२०३४) लागू भएर कार्यान्वयनमा आउँदा हदबन्दी अनुसार हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ६ रोपनी ९ आना जग्गा कायम भएको थियो ।त्यसबेला हदबन्दीभन्दा बढी रहेको जग्गा कृषि लगायतको प्रयोजनका लागि दिने व्यवस्था थियो । त्यसअनुसार, बाँकी रहेको १६४ रोपनी १३ आना जग्गा नापी र मालपोत कार्यालयको निर्णयका आधारमा गौरीशंकर फर्मिङ कम्पनीलाई दिइएको अनुसन्धानबाट खुलेको छ ।

यो प्रक्रियाबाट २०४४ सालदेखि विकेश श्रेष्ठले जग्गाको भोगचलन गर्न थालेको भेटिएको छ । पछि ढड्डामा गौरीशंकर फार्मिङको नाम काटेर अन्नपूर्ण फार्मिङको नाम बनाएको फेला परेको छ ।अनुसन्धान अधिकृतहरुका अनुसार, २०६६ र २०६७ सालमा कम्पनीमा शेयरधनी थप्दै ७ जना बनाइएको थियो । २०७२ सालमा भने फेरि सञ्चालक हेरफेर गरेर विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र ध्रुवलाल श्रेष्ठ नेतृत्वमा गएको देखिन्छ ।‘पछिल्लो समय ध्रुवलाललाई समेत हटाएर छोरा मनोबल श्रेष्ठलाई कम्पनीमा ल्याएको देखिन्छ’, एक अधिकृत भन्छन्, ‘यसरी कम्पनीलाई एउटा परिवारभित्र मात्र सीमित गरेको देखिँदैन ।’

पछिल्लो समय यसरी कब्जामा लिइएको नुवाकोटको विदुर नगरपालिका–२, साबिकको भैरवी गाविस–७ को जग्गामा प्लटिङ गर्न थालिएको थियो । जग्गा बिक्री गर्ने भनेर विभिन्न व्यक्तिसँग रकम उठाएको सूचना समेत प्रहरीले संकलन गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादी भूमिगत भएका बेला २०७५ सालमा स्थानीयले नेकपाका नेताहरुसँग समेत यसबारे गुनासो गरेका थिए । त्यसपछि तत्कालीन विप्लव समूहले स्थानीयको असन्तुष्टिलाई सम्बोधन गरेर प्रभाव विस्तार गर्न दरबारको जग्गामा आफूहरुको झण्डा समेत गाडेको जाँचका क्रममा खुलेको छ ।

तीनकुनेको जग्गा लुटिएको दशकौँ बित्दा पनि सरकारले केही गरेन : बालेन

काठमाडौं – शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् ।

पचासौं वर्षदेखि व्यक्तिको जग्गा लुटिएको तर मुआब्जा दिनका लागि कुनै प्रक्रिया नभएको र प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा समेत मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने उनको भनाइ थियो ।

महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ । जसमध्ये २१ रोपनीको मुआब्जा वितरण भइसकेको छ । सरकारले मुआब्जाका लागि १५ करोड रुपैयाँ छुट्याएकोमा प्रतिआना तीन लाखका दरले २१ रोपनी ११ आना दुई पैसा १ दशमलब ९ दाम जग्गाका धनीलाई १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ ।

तर, बाँकी २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् । अहिलेको चलनचल्तीको भाउमा मुआब्जा दिए राज्यलाई दोब्बर व्ययभार पर्ने सरकारी अधिकारीहरू बताउँछन् ।

तीनकुनेको सडक छेउका स्थानीयले पनि मुआब्जाको दाबी गर्दै आएका छन् । सिनामंगलतर्फ र कोटेश्वर तर्फको सडक क्षेत्रको झण्डै ८ रोपनी जग्गामा स्थानीयको मुआब्जा दाबी छ ।

महानगरपालिकाका अधिकारीका अनुसार जग्गाधनीले सडकको बीचबाट २५ मिटर दायाँबायाँको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गरेका छन् । तर, सडक क्षेत्राधिकार (राइट अफ वे) भित्रको जग्गा पहिल्यै अधिग्रहण गरिसकेकाले त्यसको मुआब्जा दिन नमिल्ने महानगरपालिकाका अधिकारी बताउँछन् ।

एसईई परीक्षाको आवेदन फारम खुल्ला

काठमाडौं – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ ।

पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्नुपर्ने कार्यालले बताएको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्नेछ ।

फारम भर्नको लागि रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो चाहिने कार्यालयले जनाएको छ ।

अनुशासनहिन काम गरेपछि रावललाई पार्टीबाट निष्काशन गरिएको हो : शंकर पोखरेल

काठमाडौं – प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले, पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई पार्टीबाट निष्कासित गर्नुपरेको र पार्टीले स्पष्टीकरण सोध्दा समेत उनले त्यसलाई बेवास्ता गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थीरताको बीउ रोपेको आरोप समेत उनले लगाएका छन्। अस्थीरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको समेत उनले बताए।

३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनको भनाइ छ । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायीत्व र विकासका लागि भएको भन्दै ,अहिले ठूला दल मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् ।

कानुन निर्माणमा तीन महिने समयसीमा प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले कानुन निर्माणमा संसदीय समितिका लागि तीन महिने समयसीमा लगाउने प्रस्ताव गरेका छन् ।

संसदीय समितिमा विधेयक लामो समयदेखि अड्किने प्रवृति रहेकाले त्यसलाई तोड्न र कानुन निर्माणलाई गति दिनका लागि कांग्रेस र एमालेले बनाएको कार्यदलले नयाँ विधेयक प्रतिनिधिसभाको समितिमा आइपुगेको अवस्थामा सम्बन्धित विषयगत समितिले बढीमा ९० दिनभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको हो ।

कानुन निर्माणमा समयसीमा राख्नका लागि प्रतिनिधिसभा नियमावली, राष्ट्रिय सभा नियमावली र संघीय संसदको संयुक्त कार्य सञ्चालन नियमावली संशोधन गर्नुपर्ने हुन्छ । नियमावली संशोधनको गृहकार्य अगाडि बढाउन विपक्षी दलहरूसँग समेत छलफल गर्ने तय गरिएको छ ।

कुनै ऐन संशोधन गर्न बनेको विधेयक भए ६० दिनभित्र समितिले टुंगो लगाउनुपर्ने अन्यथा प्रतिनिधि सभाले स्वतः अगाडि बढाउन बाधा नपर्नेगरी समय सीमा तोक्न कांग्रेस र एमाले सहमत भएका हुन् । चित्त बुझ्दो कारणसहित सम्बन्धित विषयगत समितिले थप समय माग्न सक्ने र त्यस्तो समय मागको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले नै स्वीकृति दिनुपर्ने गरी नियमावलीमा समयसीमा राख्न खोजिएको हो ।

नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९औं विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,”हामीले ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौं, तर त्यसको मार खेप्न बाध्य भएका छौं र नबिराएको काममा सजाय भोग्नुपरेको छ “।नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा पनि राखेको उनले बताएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने उनले बताएका छन् । ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको जानकारी गराए। कोप २९ को समीक्षासहित अहिलेदेखि नै कोप ३० को तयारी थाल्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धीका पक्ष राष्ट्रहरूको २९औं सम्मेलन गत कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो। सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको थियो ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुक्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जंगलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए।

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन कानून बनाउँदै सरकार

काठमाडौँ- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन कानून बनाउने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वविशिष्ट पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेपछि गृह मन्त्रालयले कानुनको मस्यौदा बनाउन थालेको छ ।

सर्वाेच्च अदालतले कानून बनाएर मात्र पूर्वविशिष्ट पदाधिकारीहरुको सेवा सुबिधा निर्क्यौल गर्न परमादेश दिएपनि हाल पूर्वबिशिष्ट पदाधिकारीहरुलाई कानूनबिना नै गाडी, इन्धन लगायतका सुविधा सरकारले दिदै आएको छ ।

यसअघि पनि सरकारले यससम्बन्धि बिधेयक संसदमा लगेको भएपनि त्यो पारित भने हुन सकेन। हाल आएर सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन फेरि नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाएको हो ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षका लागि सुविधा तय गर्न कानून बनाउन लागिएको हो।

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका कांग्रेसका दिग्गज सिंहको उपचारको क्रममा भारतको एम्स अस्पतालमा राती ९ बजेर ५१ मिनेट जाँदा निधन भएको हो।

डा. मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो। साधारण पृष्ठभूमिबाट आएका डा. सिंहले आफ्नो जीवनमा शिक्षा, अर्थशास्त्र र राजनीतिमा असाधारण उपलब्धि हासिल गरेका थिए । डा. मनमोहन सिंहले सन् १९४८ मा पञ्जाब विश्वविद्यालयबाट म्याट्रिक परीक्षा पास गरे।त्यसपछि उनले सन् १९५७ मा क्याम्ब्रिज विश्वविद्यालय (युके)बाट अर्थशास्त्रमा उपाधि हासिल गरे। उनले सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा डी.फिल डिग्री हासिल गरेका थिए ।

पार्टीगत ट्रेड युनियन खारेज गर्न माग

काठमाडौं : राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विभिन्न दलका नेताहरुले निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित नहुने सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलका क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने सुझाव दिएका छन् ।

उनले नेपालको कानुनले सरकारी कर्मचारीले कुनै पनि पार्टीको संस्थागत सदस्य लिन नहुने उल्लेख गरेकोमा ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने पार्टीको धारणा रहेको बताएका छन् । एउटामात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने र अधिकृत तहभन्दा माथिका कर्मचारीलाई संलग्न गराउन नहुने पनि उनले बताए। उनले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लबजस्तो देखिएकाले आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती क्षेत्रमा विभिन्न दलका फरक-फरक ट्रेड युनियन भन्दा पनि एउटै ट्रेड युनियन राख्नुपर्ने बताए। एउटै ट्रेड युनियनमा पनि अधिकृतभन्दा माथिका कर्मचारीलाई राख्न नहुने विषयमा छलफल चलाउनुपर्ने उनले बताए।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बिना लामाले कर्मचारीतन्त्रलाई काम गर्न दिनका लागि पनि कर्मचारीतन्त्रमा ट्रेड युनियन खारेज गर्नुपर्ने बताइन् । ट्रेड युनियनका नाममा कर्मचारीतन्त्रमा पार्टीगत भर्तिकेन्द्र भएको भन्दै निजामती कर्मचारीलाई राजनीतिक दलमा लाग्न रोक लगाउने र राजनीति नगर्ने कानुन बनाउनुपर्ने उनले बताइन।

बैठकमा प्रमुख दलका मुख्य सचेतकहरूले विधेयकहरूलाई समयमा नै अघि बढाउन पार्टीगत रूपमा नै प्रतिवद्ध रहेको धारणा राखेका थिए। उनीहरूले विधेयक धेरै समय समितिमा रहँदा समयमा नै कानुन नबन्ने समस्या रहेकाले सबै गम्भीर हुनुपर्ने सुझाव दिएका थिए।

इजरायली हमलामा पाँच पत्रकारको मृत्यु

प्यालेस्टिनी अधिकारीहरू र मिडिया रिपोर्टहरूका अनुसार मध्य गाजाको एक अस्पताल वरपर इजरायली हमलामा पाँच पत्रकार मारिएका छन्।

अल-कुड्स टुडे च्यानलका पत्रकारहरू नुसेरात शरणार्थी शिविरमा अवस्थित अल-अवदा अस्पताल नजिकै घटनाहरू कभर गर्दै थिए, जब तिनीहरूको प्रसारण भ्यान इजरायली हवाई हमलामा परेको थियो।

मृत्यु हुने पत्रकारहरुको नाम फादी हसौना, इब्राहिम अल शेख अली, मोहम्मद अल लदाह, फैसल अबु अल कुमसान र अयमान अल-जादी रहेको छ ।

पत्रकारहरू “प्रेस” शब्दहरू स्पष्ट रूपमा चिन्ह लगाइएको भ्यानमा सुतिरहेका थिए । इजरायली हवाई हमला पछि, प्यालेस्टाइनी स्याटेलाइट टिभी च्यानलको गाडी पूर्ण रुपमा क्षति भएको र भ्यानमा सुतिरहेका सबैको मृत्यु भएको बताइएको छ।

बयानाका लागि रवि लामिछानेसहित ६ जना कास्की अदालतमा

कास्की -राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा हाजिर गरिएको छ ।

लामिछाने, गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पचैन, पूर्व सञ्चालक समितिका सदस्य कृष्ण गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, पूर्व सांसद मीना गुरुङलगायतलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

जोशी र पचाईको बयान लिइसकेको भएपनि लामिछानेले भने बयान दिएका छैनन् । पूर्व कोषाध्यक्ष आरती र पूर्व सांसद मीनालाई मंगलबार पक्राउ गरिएको हो ।

आइतबार लामिछानेमाथि थप मुद्दा दायर गरेपछि सोमबार बयान लिने प्रक्रिया सुरु भएको हो । न्यायाधीश नितीज राईको इजलासमा मुद्दा चलिरहेको छ ।

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि

काठमाडौँ – बिहीबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर अहिले सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने बुधबारदेखि तोलाको १ हजार ८ सय रुपैयाँमा स्थिर रहेको छ ।

भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।

‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने।

यता, नेता रावलले आफूमाथिको कारवाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताएका छन्।

त्यसैगरी, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी बाट अलग गरेको छ।

अजरबैजान एयरलाइन्सको विमान काजाकिस्तानमा दुर्घटना

काजाकिस्तानमा ६७ जना यात्रु बोकेको एउटा यात्रुवाहक विमान दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा परेका २५ जना जिवित रहेको र उनीहरुमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमान अक्ताउ सहर नजिकै खसेको थियो। के कारणले दुर्घटना भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य रहेको त्यहाँको मन्त्रालयले जनाएको छ ।

अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान जे-२-८२४३ कुहिरोका कारण बाटो मोडिएको बताइएको छ ।

सहकारी प्राधिकरण गठन गर्न अध्यादेश: ५ लाखसम्मको बचत फिर्तालाई प्राथमिकता

काठमाडौँ — सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ ।

अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्तिलगायतको जायजेथा, दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा छ ।

अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ । अदालतमा विचाराधीन अन्य फौजदारी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधबाहेकका मुद्दामा मिलापत्र, सहकारीको दर्ता र वर्गीकरण, व्यक्तिगत बचत तथा ऋणको सीमा, कर्जा सूचना केन्द्रमा आबद्धता, सहकारी कर्जा तथा सुरक्षण कोष स्थापनालगायत व्यवस्था पनि अध्यादेशमा छ ।

अध्यादेशमा बचत फिर्ताका लागि विशेष व्यवस्था गरिएको छ । ‘प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि सहकारी संस्था वा दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्नेछ,’ अध्यादेशमा भनिएको छ, ‘सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभए मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

बचत फिर्ता गर्ने प्रयोजनका लागि सहकारी संस्था वा सहकारी ऐनको दफा १०५ बमोजिमको व्यवस्थापन समितिले त्यस्तो संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।

‘सहकारीले ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्नुअघि सम्बन्धित ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिई सो अवधिभित्र ऋण चुक्ता नगरे त्यस्तो धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नुपर्नेछ,’ अध्यादेशमा भनिएको छ, ‘त्यस्तो धितो सुरक्षण बिक्री गर्दा ऋणीले तिर्नुपर्ने रकमभन्दा बढी रकम प्राप्त हुन आए ऋणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो ऋणीलाई फिर्ता दिनुपर्नेछ ।’

सहकारी संस्थाले घर, जग्गा वा अन्य मेसिनरी औजार वा उपकरण लिज वा भाडामा उपलब्ध गराएबापत प्राप्त हुने रकम असुल गरी त्यस्तो रकम बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्रयोग गर्ने स्पष्ट व्यवस्था अध्यादेशमा छ । ‘जोखिममा रहेका बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्राधिकरणले मापदण्ड र समयबद्ध फिर्ता कार्ययोजना बनाई बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्नुपर्नेछ,’ अध्यादेशमा उल्लेख छ ।

बचत रकम फिर्ताका लागि सूचना प्रकाशन भएपछि समस्याग्रस्त सहकारी संस्थाका सदस्य, बचतकर्ता, साहु तथा लगानीकर्ता बैंक तथा वित्तीय संस्थाले आफ्नो रकम दाबी पेस गर्नुपर्नेछ ।

अध्यादेशमा बचत रकम फिर्ता गर्न समिति गठन गर्न सकिने प्रावधान पनि छ, जसअनुसार कुनै सहकारी संस्थाले आफ्ना सदस्यलाई बचत रकम फिर्ता दिन नसकेको, सञ्चालक समितिले सदस्यको हितविपरीतको काम गरेको वा सञ्चालक समितिका अधिकांश सञ्चालक संस्थामा उपस्थित नभएको अवस्थामा साधारणसभा नबसेको कारण सदस्यको बचत रकम फिर्ता हुन नसकेको भनी संस्थाका कम्तीमा १५ प्रतिशत सदस्यले संस्थाको सम्पत्ति जिम्मा लिई सदस्यको बचत फिर्ता गर्ने प्रयोजनका लागि बचत फिर्ता समिति गठन गर्ने व्यवस्था अध्यादेशमा छ । संस्था सञ्चालन गर्न सम्बन्धित सहकारी हेर्ने निकायमा अनुमतिका लागि निवेदन दिनुपर्ने पनि अध्यादेशमा भनिएको छ ।

संविधान संशोधनको गृहकार्यमा सत्तारुढ दल

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको पाँच महिनापछि गठबन्धनका साझेदार नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधनका क्षेत्र पहिचान गर्ने संयन्त्र निर्माणको अन्तिम चरणमा छन् ।

असार मसान्तमा सरकार गठन गर्दा कांग्रेस र एमालेबीच भएको प्रमुख सहमति संविधान संशोधन र कार्यान्वयनमा कठिनाइ भएका प्रावधानहरूको पुनरावलोकन गर्ने थियो ।कांग्रेस र एमालेबीच मंगलबार संविधान संशोधनको द्विपक्षीय वार्ता भएको छ । दुई दलबीचको गठित आठ सदस्यीय कार्यदलको बैठकले संशोधन प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेको थियो ।

बैठकका अनुसार संविधान संशोधनको विषय पहिचान गर्न क्रसपार्टी टास्क फोर्सको नेतृत्व वरिष्ठ राजनीतिज्ञले गर्नेछन् र त्यसमा विभिन्न राजनीतिक दलका सदस्यहरू सम्मिलित हुनेछन्। यदी सो को लागि ,गैरराजनीतिक कार्यदल गठन भएमा त्यसको नेतृत्व सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश वा सबै सरोकारवालालाई मान्य हुने अन्य सम्मानित कानुनी व्यक्तित्वले गर्नेछन् ।

राजनीतिक संयन्त्र बनाउदा अप्ठेरो हुन सक्ने भन्दै,काङ्ग्रेस र एमालेका केही नेताहरूले कानुनविद्, संवैधानिक विज्ञ, मानवअधिकारकर्मी लगायतलाई समेटेर अगाडि बढ्न सक्ने गरी गैरराजनीतिक संयन्त्र वा कार्यदल गठन गर्न सुझाव दिएको कार्यदलका सदस्यले बताएका छन् ।

संविधान संशोधनका लागि दुई ठूला दलबीच भएको सहमतिले राजनीतिक वृत्तभित्र र बाहिर बहस चर्काएको छ । संविधान संशोधन गर्ने यो उपयुक्त समय हो कि होइन भन्ने विषयमा दलहरु विभाजित छन् ।

तर गृहमन्त्री लेखकले सत्तारुढ र प्रतिपक्षी दलले पहिलो संविधानको १० वर्षे यात्राको समीक्षा गरी यसको सबल र कमजोरी पहिचान गर्ने बताए । दोस्रो, सत्तारुढ दलले परिमार्जन गर्नुपर्ने विषय पहिचान गर्नेछन् र त्यसका लागि सत्तारुढ र प्रतिपक्ष एकै ठाउँमा बस्नेछन् । अन्त्यमा कांग्रेस र एमालेबीच संशोधनको विषयवस्तुमा सहमति भई सदनमा टेबुल गर्ने बताउँदै ,संविधान संशोधनले समावेशीतालाई कमजोर नभई बलियो बनाउने स्पष्ट पारे ।

वाइडबडीमा घूस खुवाउने कम्पनीलाई अमेरिकामा ५५ मिलियन डलर जरिवाना

काठमाडौँ — नेपाल वायु सेवा निगमलाई दुई वटा वाइडबडी जहाज बिक्री गर्ने क्रममा घूस दिएको अभियोगमा अमेरिकी सरकारले जहाज आपूर्तिकर्ता कम्पनी एएआर कर्पोरेसनलाई ५५ मिलियन डलर जरिवाना गरेको छ ।

जहाज खरिद ठेक्का प्रक्रियाकै बेला नेपाली अधिकारीलाई २५ लाख अमेरिकी डलर घूस दिएको प्रमाणित भएपछि अमेरिकी न्याय मन्त्रालयले एएआर कर्पोरेसनलाई साढे ७ अर्ब नेपाली रुपैयाँ बराबर जरिवाना तोकेको हो ।

एएआर कर्पोरेसन नेपाली मूलका बेलायती नागरिक दीपक शर्माको अमेरिकी कम्पनी हो । शर्मा जहाज खरिद प्रकरणमै नेपालको विशेष अदालतबाट दोषी भइसकेका छन् । शर्मासहित ११ जनालाई गत मंसिर २० मा विशेष अदालतले दोषी ठहर गरी करिब डेढ अर्ब रुपैयाँ जरिवाना र कैद सजाय सुनाएको थियो ।

विशेष अदालतबाट शर्माका साथै सरकारका दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगम सञ्चालक समिति सदस्य तथा सहसचिव बुद्धिसागर लामिछाने, जर्मन एभिएसन क्यापिटलकी प्रबन्ध निर्देशक अना टोपा, प्रतिनिधि क्रिस्चियन न्युहेलेन र एएआरका वित्तीय निर्देशक ओलेग कालिस्त्रु, एआरका सीईओ जोन होल्मेस, हाइफ्लाई एक्सका अध्यक्ष पाउलो मिरिपुरी र निर्देशक गेराल्ट थ्रोन्टन दोषी ठहर भएका हुन् ।

जहाज खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २२ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव अधिकारी र ढुंगानासहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतबाट फैसला आएको दुई सातापछि अमेरिकी सरकारले पनि घूस खुवाएको अभियोगमा आपूर्तिकर्ता कम्पनीलाई दोषी ठहर गरेको हो । अमेरिकाको न्याय मन्त्रालयले यस विषयमा डिसेम्बर १९ मा विज्ञप्ति नै जारी गरेको छ ।

वाइडबडी जहाज खरिद प्रकरण नेपालमा ठूलो आर्थिक घोटालाका रूपमा चिनिएको छ । यस विषयमा अमेरिकी सरकारले ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबीआई) मार्फत सूक्ष्म रूपमा अनुसन्धान गरेको थियो । अमेरिकी जाँचबुझ एजेन्सी एफबीआईको अनुसन्धानका क्रममा जहाज आपूर्तिकर्ता कम्पनीले घूस खुवाएको पुष्टि भएको थियो । अवैध माध्यमबाट व्यापार गरेर एएआरले २६ मिलियन डलर नाफा कमाएको पनि अमेरिकी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘एएआरले नेपाल र दक्षिण अफ्रिकाका उच्च तहका सरकारी अधिकारीलाई घूस दिएर राज्य–स्वामित्वको एयरलाइन्ससँग व्यापार गरेको र यसबाट लगभग २४ मिलियन डलर अवैध नाफा कमाएको थियो,’ न्याय मन्त्रालयअन्तर्गत अपराध अनुसन्धान गर्ने विभागका प्रमुख सल्लाहकार ब्रेन्ट विबलेले विज्ञप्तिमा भनेका छन् ।

एएआरले नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीलाई घूस दिएर अमेरिकी कानुन उल्लंघन गरेको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई), न्युयोर्क फिल्ड अफिसका विशेष एजेन्ट इन चार्ज विलियम एस वाकरले बताएका छन् ।

निगमसँग सुरुमा ठेक्का सम्झौता गर्दा एएआरमा अध्यक्ष एवं सीईओ जोन होल्मेस थिए । पछि कम्पनीको अध्यक्षमा बेलायती नागरिक शर्मा छिरे । जहाज खरिदको आवरणमा भ्रष्टाचार गर्नकै लागि शर्माले विदेशी नागरिक अध्यक्ष भएको कम्पनी खडा गरी २०७३ फागुन १९ मा दुई ठूला जहाज खरिद गरेर करिब २४ अर्ब रुपैयाँमा निगमलाई बेचिएको थियो ।

भिजिट भिसामा कामको लागि दक्षिणपूर्वी एसियाली मुलुक भ्रमण गर्ने नेपालीका लागि ट्राभल एडभाइजरी जारी

काठमाडौं –परराष्ट्र मन्त्रालयले नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि भिजिट भिसामा नजान आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले म्यानमार, थाइल्याण्ड, कम्बोडिया र लाओस जाने योजनामा ​​रहेका नेपाली नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

मन्त्रालयले सम्भावित यात्रुहरूलाई नेपालको कूटनीतिक नियोगहरू वा तिनीहरूको आधिकारिक वेबसाइटहरू मार्फत व्यापारिक फर्महरू, कम्पनीहरू र रोजगारदाताहरूको वैधता प्रमाणित गर्न पनि सल्लाह दिएको छ।

कम्बोडिया, लाओस र म्यानमारमा गैरकानुनी काममा लगाइने नेपाली नागरिकको तस्करीका घटना बढ्दै गएपछि यो सल्लाह दिइएको हो । सो मुलुकमा रहँदै आएका पीडितहरूको राहदानी जफत हुने र कठोर परिस्थितिहरूमा काम गर्न बाध्य पारिने ,शारीरिक यातना दिने घट्नाहरु बढ्दै गएकोले सचेत रहन समेत आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले याङ्गुन र बैंककमा रहेका नेपाली दूतावासहरूमा नेपाली नागरिकहरूबाट उद्धार अनुरोधमा वृद्धि भएको समेत जनाएको छ । मन्त्रालयले भ्रामक विदेशी रोजगार प्रस्तावहरू, अनलाइन क्यासिनो योजनाहरू, कल सेन्टर धोखाधडी, क्रिप्टोकरेन्सी घोटालाहरू, र बैंककका शंकास्पद आईटी फर्महरूबाट शंकास्पद जागिर प्रस्तावहरूको शिकार हुनबाट सावधान रहन समेत आग्रह गरेको छ ।

सरकारले सबै नेपालीलाई सतर्कता अपनाउन र कुनै पनि गैरकानूनी गतिविधि वा ठगीका योजना भएमा सम्बन्धित निकायमा रिपोर्ट गर्न आग्रह गरेको छ ।

लामिछानेको निलम्बनपछि रास्वपा कार्यवाहक सभापतिमा डिपी अर्याल नियुक्त

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल नियुक्त भएका छन् । रास्वपाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो ।

रास्वपाका सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध,सम्पति सुद्धिकरण लगायत अभियोगमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेपछि सोमबार सांसद पदबाट निलम्बनमा परेका रवि लामिछाने अहिले हिरासतमा छन् ।

रास्वपाको विधान अनुसार पार्टीको कार्यवाहक सभापति बन्न दुईवटा प्रक्रिया हुन्छ । पहिलो, ज्येष्ठताको आधारमा र दोस्रो, पार्टी अध्यक्षको सिफारिसमा । रास्वपाका अर्का उपाध्यक्षसमेत रहेका सांसद डा स्वर्णिम वाग्ले अर्यालभन्दा जेठो छन् । कार्यवाहक सभापति चयन उमेरका आधारमा भएको भए वाग्लेलाई कार्यवाहक सभापति चयन गरिनु पर्ने थियो ।तर लामिछानेले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको देखिन्छ ।

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरेको छ । पोखराको सूर्यदर्शन सहकारीमा सहकारी ठगी गरेको अभियोगमा लामिछानेसहित ६४ जनाविरुद्ध महाशाखाले मुद्दा दायर गरेको हो ।

राष्ट्रपतिसमक्ष पाँच राजदूतले लिए शपथ

काठमाडौं – नवनियुक्त पाँच देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेसमपक्ष नवनियुक्त राजदूत रुसी महासंघका लागि जंगबहादुर चौहान, बेलायतको लागि चन्द्रकान्त घिमिरे, स्पेनकालागि शनिल नेपाल, गणतन्त्र कोरियाकालागि डा.शिवमाया तुम्बाहाङफे र गणतन्त्र भारतकालागि डा.शंकर प्रसाद शर्माले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ।

राजनीतिक आवरणमा भएका अपराधमा आममाफी दिने विधेयक फिर्ता

काठमाडौं – सरकारले राजनीतिक आवरणमा भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने परिकल्पना गरेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ मा रहेको विवादास्पद प्रावधान फिर्ता लिएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘राजनीतिक प्रकृतिका’ द्वन्द्वकालका मुद्दा फिर्ता लिन अवरोध हटाउन फौजदारी कार्यविधि संहिता–२०१७ को दफा ११६ लाई संशोधन गर्न गत वर्ष संसद सचिवालयमा विधेयक दर्ता गरेको थियो ।

संशोधन विधेयकको दफा ६४ मा विगतमा हिंसात्मक आन्दोलन गर्ने तर अहिले शान्तिपूर्ण रूपमा आफ्नो गतिविधि सञ्चालन गर्ने दल वा समूहका कसैविरुद्ध कुनै पनि अदालतमा मुद्दा चल्ने व्यवस्था रहेपनि संविधान र कानूनको आधारमा फिर्ता लिन सकिन्छ भन्ने छ । विधेयकमा सरकारले संहिताको दफा ११६ अन्तर्गत एउटा उपदफा थप्दै , राजनीतिक नेताहरू विरुद्ध सर्वोच्च, उच्च र जिल्लाका सबै तहका अदालतबाट मुद्दा फिर्ता लिन सकिने प्रावधान राखेको थियो ।

आइतबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सरकारको यो कदमलाई अधिकांश सांसदले स्वागत गरे पनि नेकपा (माओवादी केन्द्र)का सांसदले भने आपत्ति जनाएका छन् । सिके राउत र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका राजनीतिक शक्तिसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न यो व्यवस्था ल्याएको दाबी गरे ।

माओवादी सांसदहरुले उक्त प्रावधान फिर्ता लिएमा असहमतिको नोट दर्ता गर्ने धम्की दिएका छन् । “सरकारले विगतमा विभिन्न राजनीतिक शक्तिहरूसँग उनीहरूमाथि लगाइएका आरोप फिर्ता लिन सहमति जनाएका थिए। सम्झौता पालना गर्नु सरकारको दायित्व हो,’ माओवादी केन्द्रका सांसद रामकुमार राईले भने।

‘वास्तवमा अहिले सरकारको नेतृत्व गर्दै आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्झौता गरेका थिए । सरकारले कार्यान्वयन गर्नुको सट्टा यो प्रावधान फिर्ता लिइरहेको छ ।”दाहाल सरकारले फौजदारी कार्यविधि संहिता परिमार्जन गर्ने तयारी द्वन्द्वकालका अत्याचारका मुद्दा फिर्ता गराउने उद्देश्यले गरेको आशंकामा विवादमा परेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि पत्रकार सम्मेलन गरी संशोधन विधेयकप्रति गहिरो चासो रहेको भन्दै आपत्ति जनाएको थियो । यो संशोधनले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई राजनीतिक रंग दिएर फिर्ता लिने उच्च सम्भावना रहेको तर्क गरेको छ ।आयोगले यस विषयमा सरकारसँग स्पष्टीकरण पनि मागेको भए पनि दाहाल प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरी परेका छन् । बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पनि तीन हजार २२३ मुद्दा दायर भएका छन् । तर, बेपत्ता आयोगले अरु आफ्नो क्षेत्राधिकारमा नपरेको भन्दै २ हजार ४ सय ८४ घटना मात्रै छानबिन गरिरहेको छ ।

माओवादी केन्द्रका नेता तथा सुरक्षाकर्मी विरुद्ध दशक लामो द्वन्द्वकालमा भएका अपराधका सम्बन्धमा विभिन्न अदालतमा मुद्दा पनि विचाराधीन छन् । यदि विधेयक संसदबाट पास भयो भने, यसले सरकारलाई स्वेच्छाचारी रूपमा मुद्दाहरू फिर्ता लिनको लागि वैध मार्ग दिन्छ।

महिनौंको अन्तरालपछि डेढ वर्षदेखि विचाराधीन विधेयकमाथि संसदीय समितिले पुनः छलफल सुरु गरेको छ । सरकारले माघमा संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेसँगै सभामुखले सरकारसँगै संसदीय समितिले पनि ती विधेयकहरू पूर्ण बैठकमा लैजान चाहेका छन् ।हाल विभिन्न संसदीय समितिमा १६ वटा विधेयक विचाराधीन छन्।

तीनवटा सार्वजनिक संस्था नेपाल टेलिकम, कृषि विकास बैंक लिमिटेड र नागरिक लगानी कोषको लाभांश प्रस्तावित

काठमाडौं – नेपाल टेलिकम, कृषि विकास बैंक लिमिटेड (एडिबिएल) र नागरिक लगानी कोष (सीआईटी) लगायत तीनवटा सार्वजनिक संस्थाले आफ्ना शेयरधनीलाई ३० प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् ।

नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, जुन विगत डेढ दशकयताकै न्यून हो । यसअघि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले औसत ४० प्रतिशतभन्दा बढी लाभांश दिँदै आएको थियो ।

नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष २०२३/२४ को नाफाबाट कुल ५ अर्ब ४० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । समीक्षा वर्षमा नेपाल टेलिकमको राजस्व ६ वर्षअघि ४५ अर्ब ५७ करोडबाट घटेर ३८ अर्ब ९ करोड पुगेको छ । त्यसैगरी, गत आर्थिक वर्षमा यसको खुद नाफा ६ अर्ब रुपैयाँमा सीमित थियो, जुन आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब ६७ करोड रुपैयाँ थियो ।

यसैबीच, सीआईटीले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश दिने तयारी गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश समावेश छ । आइतबार बसेको अर्धसरकारी निकायको वार्षिक साधारणसभाले लाभांशको प्रस्ताव पारित गरेको सीआईटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, एडिबिएलले १० दशमलव ५३ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । एडिबिएलको भर्खरै बसेको सञ्चालक समितिको बैठकले तीन प्रतिशत बोनस सेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको एडीबीएलले जनाएको छ । गत वर्ष सरकारी स्वामित्वमा रहेको वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुनै प्रतिफल दिएको छैन ।

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताएकी हुन् ।

‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा-२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ,’ काफ्लेले भनिन् । अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारीसहितको पत्र पठाउने तयारी भइरहेको पनि उनले बताइन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ मा स्वत: निलम्बन हुने प्रबन्ध रहेको छ । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ उक्त दफामा उल्लेख गरिएको छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम ५६ मा निलम्बनको जानकारी दिनुपर्ने कानुनी प्रबन्ध छ । ‘ऐनको दफा २२ बमोजिम दायर भएको मुद्दामा प्रतिवादी भएको व्यक्ति, कर्मचारी वा पदाधिकारी ऐनको दफा २७ बमोजिम स्वत: निलम्बन भएको जानकारीङ्को सूचना अनुसन्धान गर्ने कार्यालयले आफ्नो वेबसाइटमा राखी त्यसको जानकारी सम्बन्धित निकाय वा संगठित संस्था र नियमनकारी निकायलाई समेत दिनु पर्नेछ । ‘

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ ।

लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको हो ।

प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसूर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ । सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।

गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा लामिछानेको संलग्नता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा उनको संलग्नता रहेको देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख गरिएको छ। अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खाताबाट चे‍कमार्फत विभिन्न व्यक्ति र कम्पनी तथा सहकारीहरूलाई कम्पनीमा रहँदा र आफूले उक्त कम्पनीको सेयर बिक्री गरी अलग भएपश्चात् पनि चेक मार्फत भुक्तानी दिएको,’ उल्लेख गरिएको छ।

लामिछानेले त्यसरी सहकारी बचतकर्ताहरूलाई हानि-नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुने गरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीत रकम अपचलन गर्नका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट बच्न उम्कन पूर्वयोजना अनुसार झुठ्ठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको पनि अभियोग पत्रमा उल्लेख छ ।

युक्रेनी वायु रक्षा प्रणालीको कारण कीभमा रहेको पोर्चुगल दूतावासमा क्षति: रसियन दुतावास

“कीभमा पोर्चुगलको दूतावासको भवनमा क्षति युक्रेनी वायु रक्षा प्रणालीको कारणले भएको हो”, पोर्चुगलमा रहेको रूसी दूतावासले जनाएको छ ।

पोर्चुगल मिडिया आउटलेटहरूले डिसेम्बर २० मा युक्रेन शहरको सैन्य सुविधाहरूमा रूसी सशस्त्र बलहरूले गरेको आक्रमणको परिणाम स्वरूप कीभमा पोर्चुगल दूतावासमा क्षति भएको भन्ने रिपोर्टरहरूले रुसोफोबिया बढाइरहेका छन् ,’ दूतावासले उल्लेख गरेको छ ।

“पोर्चुगाली कूटनीतिक नियोग रहेको भवनमा क्षति युक्रेनी वायु रक्षा प्रणालीको कारणले भएको थियो। दूतावासले उल्लेख गरेको छ कि रूसी सशस्त्र बलहरूले विशेष रूपमा सैन्य सुविधाहरू र सैन्य औद्योगिक पूर्वाधारलाई लक्षित गर्दै छन्।

जनकपुर बोल्टसविरूद्ध अभद्र र अपमानित नारा लगाउनेमाथि कारबाही गर्न मधेसी आयोगको सिफारिस

मधेसी आयोगले एनपिएलअन्तर्गत जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ।

संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ।

‘अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ। एनपिएलमा जनकपुरका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाए। जुन कार्य अति निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य रहेको छ,’ आयोगले भनेको छ।

तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने

काठमाडौं – सरकारले विवादका बीच नयाँ स्टक एक्सचेन्ज खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्ज बजारका लागि लाइसेन्स दिन स्वीकृति दिएको हो । सरकारको यो निर्णयसँगै नेपालले छिट्टै सेयर कारोबारको दोस्रो प्लेटफर्म पाउने भएको छ ।

सेबोनले सेप्टेम्बर १८, २०२२ मा नयाँ स्टक एक्सचेन्ज जारी गर्ने घोषणा गरेपछि नयाँ स्टक कारोबार खोल्ने विषय विवादमा परेको थियो । तत्कालिन सरकारले सत्तारुढ दलसँग घनिष्ट सम्बन्ध रहेका उम्मेदवारलाई लाइसेन्स दिन चासो देखाएपछि विवाद चुलिएको थियो । सेबोनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि उक्त प्रक्रिया रोकिएको थियो। त्यसपछि,सन् २०२३ जनवरीमा सरकारले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा देशको दोस्रो बजारमा दोस्रो स्टक एक्सचेन्जको औचित्य अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले सरकारलाई नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने विकल्प खुला राख्नुका साथै नेप्सेको पुनर्संरचना गर्न सुझाव दिएको थियो ।

नयाँ स्टक एक्सचेन्ज खोल्दा दोस्रो बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री र अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग मिल्दो बनाएर धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण हुने समेत समितिले जनाएको छ । यसले देशको स्टक एक्सचेन्जमा विदेशी रणनीतिक साझेदारहरू समावेश गर्ने सम्भावनालाई पनि सिफारिस गरेको छ।

हाल आएर संसदीय अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अगाडि बढाउन सरकारलाई हरियो संकेत दिएपछि सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रयासलाई तीव्रता दिएको छ ।

सन् १९९४, १३ जनवरीमा आफ्नो दोस्रो बजार सञ्चालन सुरु गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक फ्रन्टलाइन नियामकको रूपमा काम गर्दै आएको छ। नेप्सेले नोभेम्बर ६ , २०१८ मा अनलाइन प्रणाली मार्फत सेयर कारोबारलाई स्तरोन्नति गरेको थियो ।

लामिछानेलाई आज मुद्दा दर्ताका लागि अदालत लगिने

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ताका लागि लगिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएबमोजिम जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गर्ने तयारी गरेको छ । प्रहरीले लामिछानेसहित ५१ जनासँग डेढ अर्ब रुपैयाँ बरामद गर्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सुझाव दिएको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनमा लामिछानेको मुद्दामा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र २ वर्षदेखि १५ वर्षसम्म कैद र रकमको दोब्बर जरिवाना हुने उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी मुद्दामा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध मुद्दा दायर गर्दै शुक्रबार अदालतमा पूरक अभियोगपत्र दायर गरेको छ । सहकारी ठगीका मुख्य योजनाकार जिबी राईविरुद्ध संगठित अपराध, सम्पत्ति शुद्धिकरण र नेपाल राष्ट्र बैंक ऐन विरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पचाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

बाजुरा भूकम्पमा दर्जन बढी घरमा क्षति

जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोल केन्द्र बनाएर बाजुरामा शनिबार बिहान गएको भूकम्पमा परी करिब १५ घर पूर्ण क्षति भएको छ भने , करिब १५० घरमा आंशिक क्षति भएको छ।

शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सबैभन्दा बढी क्षति भूकम्पको केन्द्रविन्दु रहेको जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोलमा भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।भूकम्पले करीब १५ घर पूर्ण क्षति भएको र १५० भन्दा बढी घर आंशिक रूपमा क्षति भएका छ।

उक्त क्षेत्र दुर्गममा रहेको र सबै ठाउँको स्थलगत अध्ययनको विवरण प्राप्त भइनसकेको भएपनि वडा, पालिका, प्रहरी प्रशासनलगायत निकाय उद्धार कार्यमा खटिएका र भूकम्पपछिको आवश्यक कार्य भइरहेको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।

एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं- आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।

बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसख्यक समुदायहरुको पहिचान (लेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

पहिलो संस्करणको एनपीएलको उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझायो। यसैगरी तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भएको छ ।

janakpur bolts

विजेतालाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए।

नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन्। दीपेन्द्रले आठ खेलमा एक अर्धशतकसहित दुई सय २७ रन बनाएका थिए। सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई ओमोडाको ई–५ ईभी कार प्रदान गरिएको हो। आयोजक क्यानले सर्वोत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख मूल्यको ओमोडाको ई–५ ईभी कार प्रदान गर्ने घोषणा गरेको थियो।

यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए। उनले एक थान मोटरसाइकल पुरस्कार पाएका थिए। ललित र सुदूरपश्चिम रोयल्सका स्कट केगुलेइन संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका थिए।

पहिलो संस्करणको एनपीएलको प्लेयर अफ दी सिरिज भने सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए। उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। सुदूरपश्चिमका ओपनर ब्याटर सैफले एनपीएलको नौ खेलमा दुई सय ७५ रन बनाएका थिए। कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारे। उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाए। १६ वर्षीय विपिनले विश्वका चर्चित खेलाडीलाई पेभेलियनको बाटो देखाउँदै आफ्नो क्षमता प्रमाणित गरेका थिए।

टीआरसी मा बिलम्बन नगर्न प्रधानमन्त्रीलाई तीन अन्तर्राष्ट्रिय संस्थाको पत्र

काठमाडौं – मानवअधिकारवादी तीन वटा अन्तर्राष्ट्रिय संस्थाले संक्रमणकालीन न्याय (टीआरसी) मा बिलम्बन नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

एसिया प्यासिफिक, एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स् वाच इन्टरनेसनल कमिसन अफ जुरिस्टसले लेखेका उक्त पत्रमा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोटलाई अगाडि बढाउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रको बोधार्थ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोधार्थ दिइएको छ ।

‘आयोगहरूमा सक्षम, निष्पक्ष, स्वतन्त्र र व्यापक रूपमा विश्वास प्राप्त गरेका व्यक्तिहरूलाई नियुक्त गर्दा प्रक्रियाको सफलताको सुनिश्चितताका लागि सहज हुनेछ,’ पत्रमा उल्लेख छ ।

उन्नाइस वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनमा राजनीतिक दलहरूका बीच भएको सहमतिले सचेतात्मक आशा जगाएको उल्लेख गर्दै दलीय सहमतिलाई सार्वजनिक रूपमा प्रशंसा गरेका पनि स्मरण गरिएको छ ।

फेरि पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सदस्यहरू नियुक्त गर्ने प्रकृया चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।

यही १ पुसमा आयोगहरूका लागि उम्मेदवारहरू सिफारिस गर्नका लागि सिफारिस समितिलाई दिइएको दुई महिनाको समय गुजारेर सिफारिस समिति नै विघटन भएको छ । अब सरकारले पदाधिकारी सिफारिसका लागि फेरि अर्को सिफारिस समिति बनाउनुपर्ने हुन्छ ।

मानवअधिकारवादी संस्थाले सङ्क्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय फौजदारी कानुनको पालना आवश्यक भएको भन्दै प्रधानमन्त्री र सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, ‘नेपालमा सत्य, न्याय र परिपूरणलाई अगाडि बढाउन सङ्क्रमणकालीन न्याय आयोगहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्तिका लागि सरोकारवालाहरूसँग व्यापक परामर्श सहित पारदर्शी प्रक्रिया सुनिश्चित गर्नका लागि हामी सम्माननीय प्रधानमन्त्री र सबै सरोकारवालाहरूलाई नयाँ सिफारिस समिति गठन गर्न र उक्त समितिलाई सशक्त बनाउन जोडदार आग्रह गर्दछौं ।’

मकाउका नयाँ प्रमुख कार्यकारीद्वारा सपथ ग्रहण

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बिहान मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का नवनियुक्त प्रमुख कार्यकारी साम हाउ फाईलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

मकाउ पूर्वी एसियाली खेलकुद डोममा आयोजित एक समारोहमा मकाउ एसएआर को छैटौं कार्यकालको प्रशासनमा सेवा गरिरहेका अन्य प्रमुख अधिकारीहरूले पनि सपथ ग्रहण गरेका थिए।

पदभार ग्रहण गरेपछि, साम हौ फाईले मकाउको “आर्थिक असन्तुलन” लाई सम्बोधन गर्न र त्यहाँका बासिन्दाहरूलाई असर गर्ने मुख्य मुद्दाहरू, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, वृद्ध हेरचाह र शहरी पुनर्विकास लगायतका समस्याहरूलाई सम्बोधन गर्ने आवश्यकतामा जोड दिए।

सपथ ग्रहणपछि सी चिनफिङले सम्बोधन गर्दै सन् १९९९ मा चिनियाँ प्रशासनमा फर्किएपछि मकाउमा भएको ठूलो परिवर्तनको प्रशंसा गर्नुभयो।उहाँले मकाउले विकासको नयाँ क्षितिज खोल्ने र नयाँ गौरवको सिर्जना गरिरहने बताए। “एक देश, दुई प्रणाली” को नीति व्यापक, सही र अटल रूपमा लागू गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले मकाउको मातृभूमि फिर्ता भएको २५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित भेलामा उक्त टिप्पणी गरेका छन् ।

जो बाइडे एक राजनीतिज्ञ भन्दा पनि पहिला उनि एक मानव हुन्: पुटिन

“निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टरलाई माफी दिने निर्णयले उनी राजनीतिज्ञभन्दा पनि मानव भएको देखाउँछ”, भ्लादिमिर पुटिनले भने। उनले यसका लागि बाइडेनको निन्दा नगर्ने बताएका छन्।

पुटिनले बिहीबार मस्कोमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका छन्।

पत्रकारहरुले पुटिनलाई राष्ट्रपति बाइडेनले आफ्नो छोरा, हन्टरको माफीको बारेमा सोधेको प्रश्नको जवाफ दिंदै उनले भने,”उनी राजनीतिज्ञ हुन् ,र यो सधैं महत्त्वपूर्ण छ कि तपाईमा के छ – एक राजनीतिज्ञ वा मानव। आफ्नो छोरा हन्टरलाई दिएको आम माफिले बाइडन एक राजनीतिक व्यक्ति भन्दा बढी मानव भएको पुष्टि गरेको छ “

पुटिनले रूसी इतिहासका उदाहरणहरू उल्लेख गर्दै भने , (सोभियत नेता जोसेफ स्टालिनको जेठो छोरा याकोभको उल्लेख गर्दै) स्टालिनले जर्मन फिल्ड मार्शल फ्रेडरिक पाउलसलाई बन्दि साटफेर गर्न अस्वीकार गरेपछि जर्मन यातना शिविरमा १९४३ मा उनको छोराको मृत्यु भएको घटनाको स्मरण गराएका थिए ।

उनले भने,”त्यसबेला कुरा फरक थियो । त्यसबेला आत्मसमर्पणलाई देशद्रोह मानिन्थ्यो किनभने देश “पूर्ण विनाशको छेउमा” थियो। यो सम्पूर्ण राष्ट्रको अस्तित्वको बारेमा थियो, र विजयको लागि लड्नका लागि लिइएका उपायहरू “कठोर, क्रूर थियो ” ।

हन्टर बाइडेनलाई बन्दुक किन्दा लामो समयदेखि लागुऔषधको लतको बारेमा झूट बोलेकोमा दोषी ठहर गरिएको थियो। उनले सेप्टेम्बरमा अन्य तीन अपराध र ६ वटा दुराचार अपराधहरूमा दोषी स्वीकार गरेका थिए ।

जो बाइडेनले बारम्बार आफ्नो छोरालाई माफी नदिने बताए पनि,आफ्नो छोरालाई उसको पारिवारिक सम्बन्धका कारण अनुचित रूपमा” मुद्दा चलाइएको दाबी गर्दै डिसेम्बर १ मा माफी दिएका थिए।

इजरायलले गाजामा “नरसंहारको कार्य” गरेको हुमन राइट्स वाचको प्रतिवेदन

हुमन राइट्स वाचले इजरायलले गाजामा प्यालेस्टिनी नागरिकहरूलाई जानाजानी पानीको पर्याप्त पहुँचबाट वञ्चित गरेर “नरसंहारको कार्य” गरेको आरोप लगाएको छ।

हुमन राइट्स वाचले इजरायलले जानाजानी पानी र सरसफाइ पूर्वाधारलाई क्षति पुर्‍याउने कार्य गरेको प्रतिवेदन सार्वजनिक गर्दै यो “मानवता विरुद्धको विनाशको अपराध” भएको बताएको छ ।

यता इजरायलले हुमन राइट्स वाचको रिपोर्टलाई “गलत प्रचार” भन्दै अस्वीकार गरेको छ।

१७९ पृष्ठको प्रतिवेदनमा भनिएको छ, “अक्टोबर २०२३ देखि, इजरायली अधिकारीहरूले जानाजानी गाजा पट्टीमा बाँच्नको लागि आवश्यक पर्ने पानीको पर्याप्त मात्रामा प्यालेस्टिनीहरूको पहुँचमा बाधा पुर्‍याएका छन्”।

“इजरायलले जानाजानी पूर्वाधारलाई क्षति पुर्याएको छ, जसमा सौर्य प्यानल पावर गर्ने उपचार प्लान्टहरू, एउटा जलाशय, र एउटा स्पेयर पार्ट्स गोदामहरू क्षति पुर्याएको र ईन्धन पनि रोकिएको छ” प्रतिवेदनमा उल्लेख छ ।

हुमन राइट्स वाचले, इजरायलले बिजुली आपूर्ति पनि काटेको, मर्मत गर्ने कामदारहरूलाई आक्रमण गरेको र मर्मत सामग्रीको गाजा प्रवेशमा रोक लगाएको बताएको छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि इजरायलले गाजामा ठूलो सैन्य आक्रमण सुरु गरेको थियो , जसमा करिब १,२०० मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएको थियो ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा आक्रमण सुरु भएदेखि कम्तिमा ४५,१२९ व्यक्ति मारिएका छन्। यसले पानीको पहुँच वा अन्य कारणले गर्दा मृत्यु हुनेको संख्याको तथ्यांक भने राख्दैन।

गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासनको स्क्यानर: राहदानी सेवा ठप्प

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा रहेको स्क्यानर फुटाएका छन् ।

आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेपछि बिहीबार राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको आरोप लगाए । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई प्रहरी नियन्त्रणबाट छोडिएको उनको भनाई छ ।

सेवाग्राहीकै काम गर्दागर्दै रात पर्ने अवस्थामा कार्यालय समयपछि कालिगण्डकी गाउँपालिका अध्यक्ष शाखामा पसेर स्क्यानर फुटालेको राहादानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले बताए ।

नौबिसे-मुग्लिन सडक खण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड ७ पुसदेखि १३ पुससम्म आंशिक रुपमा बन्द हुने भएको छ ।

नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन ।

३ पुसमा बसेको जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

यसैगरी मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिनेछ ।

तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछ ।

सिरियाको अन्तरिम सरकारले ‘नयाँ युग’ मा न्याय, रोजगारी र सुरक्षाको वाचा गर्नेछ

अन्तरिम सरकारका प्रवक्ताका अनुसार सिरियाका नयाँ शासकहरूले अपदस्थ राष्ट्रपति बसर अल-असदको शासन अन्तर्गत “सिरियालीहरू विरुद्ध अपराध गर्ने” व्यक्तिहरूका लागि विशेष न्यायाधिकरण बनाउने वाचा गरेका छन्।

अल जजीरासँगको एक विशेष अन्तर्वार्तामा, ओबेद अर्नाउतले नयाँ सरकारको मिशनको मुख्य भाग भनेको “नयाँ युग” मा प्रवेश गर्दा कानूनको शासन र देशको न्यायिक प्रणालीमा जनताको विश्वास पुन: स्थापित गर्नु हो।

यो तब मात्र हुन सक्छ जब अल-असदको कुख्यात जेलहरूमा सयौं हजार सिरियालीहरूलाई हिरासतमा राखेर यातना दिनेहरूलाई न्यायको कठघरामा ल्याइन्छ, उनले भने।

“अपराधीहरूलाई जवाफदेही बनाएर, हामी हाम्रो समाजमा लगाइएका गहिरो घाउहरू निको पार्ने र अझ न्यायपूर्ण र समान भविष्यको लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राख्छौं,” अर्नाउटले भने।

सरकारको शीर्ष प्राथमिकतामा भ्रष्टाचारले ग्रसित राज्यका संस्थाहरूलाई सुधार गर्ने समावेश छ। “अपराध गर्ने र सिरियाली जनतालाई हानि पुर्‍याउने कर्मचारीहरूलाई बर्खास्त गरिनेछ र जवाफदेही बनाइनेछ”, अर्नाउटले भने।

एच फाइभ एन वान भाइरसको प्रकोपलाई लिएर क्यालिफोर्नियामा आपतकाल घोषणा

क्यालिफोर्नियाले भाइरसको प्रकोपलाई लिएर आपतकाल घोषणा गरेको छ

दक्षिणी क्यालिफोर्नियामा दुग्ध गाईहरूमा एच फाइभ एन वान एभियन इन्फ्लुएन्जा भाइरसको नयाँ केसहरू फेला परेपछि गभर्नर गेभिन न्यूजमले आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

यो भाइरस मार्चदेखि युएस डेयरी गाईवस्तुहरू मार्फत फैलिएको बताइएको छ र कम्तिमा १६ राज्यहरूलाई यसले असर गरिरहेको छ। रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले भने यो रोग एक मानिस देखि अर्को मानिसमा फैलेको अहिलेसम्म कुनै पनि पुष्टि गरेको छैन। यधपी क्यालिफोर्नियामा ३४ जना मानिस सहित विश्वभर ६१ जना मानिसहरुमा यो संक्रमण पत्ता लगाइएको छ।

एच फाइभ एन वान भाइरस मानव संक्रमणको सन्दर्भमा विशेष गरी खतरनाक मानिन्छ। विश्व स्वास्थ्य संगठनले २००३ यता ८६० भन्दा बढी मानिसमा यो रोग भएका घटनाहरू रेकर्ड गरेको छ, जसमा लगभग ५३ प्रतिशतको मृत्यु भएको छ। जुन २०२२ मा कुखुरा फार्महरूमा सुरु भएको यो रोगको फैलावटलाई नियन्त्रण गर्ने प्रयासमा १० करोड भन्दा बढी चराहरूलाई मारिएको थियो। क्यालिफोर्निया आपतकालिन घोषणा गर्ने पहिलो राज्य हो।

यो रोगको संक्रमणसंगै खाद्य र औषधि प्रशासनले उपभोक्ताहरूलाई काँचो दूध नपिउन सल्लाह दिएको छ।

सुपर फोरमा आज नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा

मलेसियामा भइरहेको एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।आज देखि सुरुहुने सुपर फोर चरणका खेलहरु अन्तर्गत नेपालको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ -नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।

दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो १२ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाउने भएको हो।

कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो।

बुधबार पहिलो क्वालिफायरमा विजयी हुँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा पुगिसकेको छ।

अब आज विजयी हुने टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग भिड्नेछ।

उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यसैगरी तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए।

एलिमिनेटरबाट बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

मन्त्री फेरबदल भएपनि गठबन्धन सरकार रहिरन्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले कांग्रेस एमालेको गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

राइनास नगरपालिकाको वीरभक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारबीचको समझदारीमा तलमाथि नहुने स्पष्ट पारेका हुन्।

२०८४ को निर्वाचन पश्चात मात्र यो सरकार आ–आफ्नो बाटो लाग्ने भन्दै उनले, सरकारका मन्त्रीहरु फेरबादल हुन सक्लान तर गठबन्धन सरकारमा कुनै फेरबदल नआउने उनले बताएका छन्।

त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याउछौं : प्रधानमन्त्री

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सिफारिस भएका तथ्यहरूमाथि थप अनुसन्धान गरेर कानुनी प्रकृया अगाडी बढाउने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न गत जेठ १७ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित पाँच सदस्यीय आयोगले प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएको छ।

बुधबार सामाजिक सञ्जालमै लेख्दै प्रधानमन्त्री ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन्।

२०१३ सालदेखिका त्रिविको कीर्तिपुर,नैकाप, ढुंगेअड्डा,पाटनलगायत काठमाडौं उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ। आयोगले यसअघि मंसिर १४ गते शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा २०१३ साल नैकाप,ढुंगे अड्डाको १२५ रोपनी अतिक्रमणमा परेको छ। यो जग्गा किनबेच पनि भइसकेको छ। सर्वोच्च अदालतले यो जग्गा त्रिविकै भएको फैसला पनि गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर-बल्खु क्षेत्रको १००० रोपनी जग्गा संकु्चनमा रहेको प्रतिवेदनमा उल्लेख छ। समितिले ललितपुरको लुभुमा रहेको ३७५ रोपनी खोजविन पहिचान गरेको छ। लेब्रोटोरी स्कुलले १०९ रोपनी ,बागवानी केन्द्रको २८१ पनि त्रिविको जग्गा भएको प्रतिवेदनले देखाएको छ।

सिस्नेरी-दक्षिणकाली सडकखण्ड ९ दिनका लागि बन्द

काठमाडौँ- सिस्नेरी-दक्षिणकाली र कुलेखानी-फाखेल-मातातीर्थ सडक खण्ड नौ दिनका लागि बन्द भएको छ।

सडक स्तरोन्नतीको लागि आज (बुधबार) देखि यही पुस ११ गतेसम्मका लागि दक्षिणकालीबाट कुलेखानी निस्कने दुवै सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

दक्षिणकाली-छैमलेमा खण्डमा कालोपत्र गर्नको लागि यातायात बन्द गरिएको हो। त्यसैगरी सडकको स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

यी सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग जस्तै हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकमा भएर यात्रा गर्न पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सबैमा आग्रह गरेको छ।

चितवन राइनोसलाई हराउँदै कर्णाली क्वालिफायर टु मा

काठमाडौं – चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो ।

कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाएको थियो ।

मन्त्रिपरिषदको निर्णय अख्तियारको दायरामा ल्याउने गरी विधेयक

काठमाडौँ — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत नहुने व्याख्या गर्दै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ पारित गरेको छ ।

विधेयक समिति हुँदै सदनबाट हुबहु पारित भए संघ र प्रदेश सरकारले गरेका निर्णयमाथि अख्तियारले अनुसन्धान गर्ने बाटो खुल्नेछ । यधपी राज्य व्यवस्था समितिको उपसमितिले पारित गरेको विधेयकमा मन्त्रिपरिषद्का कस्ता निर्णय नीतिगत मान्ने र नमान्ने भन्ने व्याख्या गरिएको छ ।उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मंगलबार पारित गरेको हो ।

प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सर्वसाधारणलाई समान रूपमा लागू नहुने र सार्वजनिक रूपमा घोषणा भएको नीतिको प्रतिकूल हुने गरी कुनै खास व्यक्ति वा निजी संस्थालाई मात्र लाभ हुने गरी गरिएको निर्णय, सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सार्वजनिक खरिद सम्बन्धमा गरिएको निर्णय र प्रचलित कानुनबमोजिम अन्य निकाय वा अधिकारीले निर्णय गर्नुपर्ने विषयमा अधिकारक्षेत्र नाघी गरिएको निर्णय नीतिगत नहुने विधेयकमा उल्लेख छ ।

यसअघि मन्त्रिपरिषद्को कुनै पनि निर्णयमा अख्तियारले अनुसन्धान गर्न पाउँदैनथ्यो । त्यसैले मन्त्रालयका सहसचिव, सचिव वा अन्य सरकारी अधिकारीले कानुनी कारबाहीबाट बच्न मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्ति छ । ‘मन्त्रिपरिषद्ले गर्ने जुनसुकै निर्णय नीतिगत हुने र मन्त्रिपरिषद्का नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने कानुनी व्यवस्थाले मुलुकको सुशासनमा प्रश्न उठ्दै आएको पूर्वकानुनमन्त्री तथा कानुनका विज्ञ माधवप्रसाद पौडेलले बताएका छन् ।नीतिगत निर्णय गर्ने प्रधानमन्त्री र मन्त्री छानबिनको दायरामा नआउने तर प्रस्ताव लैजाने सचिवलाई भने मुद्दा लाग्ने व्यवस्था रहेको भनी उपसमिति बैठकमा प्रश्न समेत उठेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो नाम र ठेगाना उल्लेख नगरी उजुरी दर्ता गराउन पाउने व्यवस्था यथावत् रहने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा रहेको अख्तियारमा दर्ता हुन जाने उजुरीकर्ताका नाम र ठेगाना उल्लेख नभएका उजुरी पनि दर्ता हुन पाउने व्यवस्था संशोधन नगर्ने सहमति जुटेको हो । राज्यव्यवस्थाको उपसमितिले बेनामे उजुरीको वर्तमान व्यवस्था हटाउन भनी विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि निर्णय गर्न नहुने निर्णय लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक ५ वर्षदेखि संसद्मा विचाराधीन छ । सरकारले २०७६ माघमा उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो । राष्ट्रिय सभाले २०७९ चैतमा पारित गरेर उक्त विधेयकलाई प्रतिनिधिसभामा पठाएको हो ।

सहकारी ठगी आरोपमा लेखा समिति सभापतिकी पत्नी कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी

विराटनगर – सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङले संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको गरेको छ ।

मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि न्यायाधीश अरुणकुमार झाको इजलासले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसअघि २४ भदौमा सहकारी रजिस्ट्रार कार्यालय कोशीले पोखरेल पत्नीको नाम काटेर अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरको नाम अनुसन्धान गर्न प्रहरीलाई पठाएको हो ।

त्यस्तै, लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र ओशककुमार विश्वासको नाममा समेत थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

पार्टीले २०८४ को चुनावलाई लक्षित गरी उपयुक्त चुनाव चिह्न लिने निर्णयसमेत गरेको छ । २०८४ को चुनावलाई क्रान्तिको एक महत्त्वपूर्ण मोर्चाका रूपमा प्रयोग गर्ने नीतिसमेत उसले लिएको छ । ‘यसका लागि चुनावसम्बन्धी सारा पुराना मान्यतालाई सर्वप्रथम भत्काउनुपर्छ र नयाँ मान्यताहरुलाई आत्मसात् गर्नुपर्छ,’ बैठकले पारित प्रतिवेदनमा भनिएको छ, ‘हामीले चुनावलाई सोचभन्दा बाहिरबाट सञ्चालन गर्नुपर्दछ । त्यसको समाधान नै एकीकृत जनक्रान्तिभित्र चुनावलाई क्रान्तिको मोर्चाका रूपमा बुझेर प्रयोग गर्नु हो । मोर्चका रूपमा प्रयोग गर्दा के–के गर्न आवश्यक हुन्छ, त्यो सबै गर्नुपर्दछ ।’

नेकपाले राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, सहकारी ठगीलाई केन्द्रबिन्दुमा राखेर संघर्ष उठाउन जोड दिने निर्णय गरेको छ । पार्टीले मिटरब्याज, लघुवित्त, एमसीसी, युवा पलायनजस्ता समस्यालाई लिएर मुद्दाअनुसारका संरचना निर्माण गरेर संघर्ष गर्ने कार्यक्रम पनि बनाएको छ ।

कम्युनिस्टबीच ध्रुवीकरण र पार्टी एकताको पहल गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । माओवादी केन्द्र र नेकपाबीच लामो समयदेखि एकता लागि छलफल चले पनि निष्कर्षमा पुग्न सकेको छैन । एकताको विषय माओवादी केन्द्रको निर्णयमा पनि भर पर्ने पार्टीको ठहर छ । एकता तत्काल सम्भव नभए मोर्चाबन्दी गर्ने नीतिलाई अख्तियार गर्नुपर्नेमा पनि चन्दको जोड छ ।

रूसी क्यान्सर खोप नि: शुल्क वितरण गरिने

रसियाले क्यान्सर विरुद्धको आफ्नै एम आर एन ए खोप विकास गरेको छ। “उक्त खोप बिरामीहरूलाई नि:शुल्क वितरण गरिनेछ”, रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनले बताएका छन्।

धेरै अनुसन्धान केन्द्रहरूसँगको सहकार्यमा खोप विकास गरिएको हो। यसलाई २०२५ को प्रारम्भमा सामान्य सर्कुलेशनमा लन्च गर्ने योजना रहेको बताइएको छ। ।

इपिडिमियोलोजी र माइक्रोबायोलोजीका लागि गमालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले, खोपको पूर्व-क्लिनिकल परीक्षणहरूले ट्यूमरको विकास र सम्भावित मेटास्टेसेसलाई कम गर्ने बताएका छन् ।

त्रिविमा ८ डीन नियुक्त

त्रिभुवन विश्वविद्यालयका आठ संकायमा डीन नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले विभिन्न ८ संकायमा डीन र तीन निर्देशनकहरू नियुक्त गरेको हो।

मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डा. दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापक डा. मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राध्यापक डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल , इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राध्यापक डा. शंकर खनाल नियुक्त भएका छन्।

त्यस्तै डा. लक्ष्मीकान्त शर्मालाई योजना निर्देशनालयका निर्देशक, डा. राजेन्द्र कुँवरलाई शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक र प्राध्यापक डा. मिनाराज भण्डारीलाई व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी शनिबार दीक्षित भएका छन् । पीएचडी तहका ३, पीजीडीका ५१, एमफिलका ३३, स्नातकोत्तर तहका ३ सय ८५ र स्नातक तहका ७ सय ८४ जना दीक्षित भएका हुन् ।

दीक्षित भएकामध्ये मानविकी संकायका १ सय ११, शिक्षाका २ सय ५३, इन्जिनियरिङका ७७, कानुनका ३९, व्यवस्थापनका ४ सय ६५, चिकित्सा विज्ञानका १ सय ८१ र विज्ञानका १ सय ३० जना विद्यार्थी रहेका छन् । दीक्षित भएकाहरुमा भारत, चीन, श्रीलंका, बंगलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भुटान गरी ९ देशका ७५ जना विद्यार्थी समेत रहेका छन् ।

काठमाडौं विश्वविद्यालयले स्कुल अफ आर्ट्सको मास्टर इन अर्बान स्टडिजमा ५, मास्टर इन मिडिया स्टडिजमा १ र मास्टर अफ फाइन आर्ट्समा २१ जनालाई पहिलो पटक उपाधि प्रदान गरेको छ । स्कुल अफ एजुकेसनको मास्टर इन इन्डिजिनियस एजुकेसन एन्ड डेभलपमेन्टमा १९ र मास्टर इन ट्रेनिङ एन्ड डेभलपमेन्टमा १२ जनाले पनि पहिलो पटक उपाधि पाएका छन् ।

यस्तै, स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ र एम टेक इन इनर्जी सिस्टममा ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको छ ।

स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साइन्स मेडिकल इमेजिङ टेक्नोलोजीमा ८ र ब्याचलर अफ साइन्स इन ल्याबरोटरी मेडिसिनमा १० जनाले पहिलो पटक उपाधि प्राप्त गरेका छन् । शनिबारको तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये नेपालबाहेक ५७ देशका ५ हजार ५ सय ४२ जना छन् ।

महाधिवेशन नजिकिंदै गर्दा शेखर र गगनबीच ध्रुवीकरण सुरु

काठमाडौं – कांग्रेसको आगामी महाधिवेशनको टुंगो नलाग्दै पार्टीभित्र नेतृत्वका लागि ध्रुवीकरण बढाउने प्रयास भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले दुई कार्यकालभन्दा बढी नेता रहन नपाउने संवैधानिक व्यवस्थाका कारण आगामी महाधिवेशनबाट कार्यकारिणीबाट अवकाश लिँदैछन् । उनको अवकाशसँगै कांग्रेसभित्रको परम्परागत गुट टुटेर नयाँ ध्रुवीकरण सुरु हुने सम्भावना छ ।

सभापति देउवाले आफ्नो उत्तराधिकारीको तयारी भने गरेका छैनन् । पार्टी नेतृत्वका उम्मेदवारहरु उनको समर्थन र अनुमोदन पाउन प्रयासरत छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला देउवाको समर्थनका लागि दौडमा छन् । तर, देउवाले संगठनमा आफ्नो पकड राख्ने पार्टीका अन्य नेता शेखर कोइराला र महासचिव गगन थापातर्फ झुकेको चर्चा कांग्रेसको वृत्तमा छ ।

यता बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताहरूले शेखर कोइरालाप्रति सकारात्मक सद्भावना देखाउन थालेका छन् । अर्कोतर्फ देउवाले राष्ट्रिय राजनीति र छलफलमा निर्णायक भूमिकाका लागि महासचिव थापालाई अगाडि बढाइरहेका छन् ।

कोइराला र थापामा उनको छनोट को हो भन्ने स्पष्ट छैन । तर यी दुई नेताबीचको विवादले पार्टीभित्र नयाँ ध्रुवीकरणको वकालत पनि गर्न थालेको छ ।

पार्टी नेता हृदयराम थानीले १५औँ महाधिवेशनबाट देउवाले अवकाश लिएपछि पार्टीमा नयाँ ध्रुवीकरण हुने दाबी गरेका छन् । ‘हिजोको समूह विखण्डन हुन सक्छ। नयाँ प्रकारका गुटहरू बन्नेछन्। पुरानो समूहको कोलाहल अब रहनेछैन। त्यसको दाग देखिन थालेको छ,’ थानीले भने, ‘संस्थापनका तर्फबाट देउवाको उत्तराधिकारी को हुने निश्चित छैन । राजनीतिमा जे पनि हुन सक्छ । त्यसैले शेखर कोइरालालाई बुद्धिमानीपूर्वक अघि बढ्नुपर्छ भन्ने हाम्रो सुझाव छ।’

कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा यसअघि नै गरिसकेका छन् । महासचिव थापाले सार्वजनिक रुपमा घोषणा नगरे पनि नेतृत्वमा आफ्नो दाबी स्वभाविक हुने बताउँदै आएका छन् ।

महाधिवेशन नजिकिंदै गर्दा कोइराला र थापाबीचको सम्बन्ध बिग्रँदै गएपछि देउवा भने पार्टीभित्रै सहज भएको देखिन्छन् । यी दुई नेताबीचको आन्तरिक कलहले पार्टीमा नयाँ ध्रुवीकरण हुने सम्भावनालाई बढाउँदै लगेको देखिन्छ ।

माओवादीसँग एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको प्रतिवेदन पेस भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको लागि आआफ्नो टीममा छलफल गरी एकता संयोजन समिति बनाउने बताएपनि,महासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा सो एकता व्यवहारिक रुपमा सम्भव नभएको उल्लेख गरेका छन् ।

एमाले–माओवादी एकताको उदाहरण दिंदै, भूसालले “माथि टाउकामा मात्र एकता गरे असफल हुने” बताएका छन्।

‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदोरहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादीका बीचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ र ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ उनले भने ।’

बैठकमा बोल्ने क्रम,मा माओवादीसँग एकता गर्दा पार्टी विलय हुने समाजवादिका नेताहरुले बताएका छन् । माओवादीसँग एकताका नाममा संगठन कमजोर हुँदै गएको पनि उनीहरुले बताएका छन्।

आज योमरी पुन्हि पर्व पनि मनाइँदै

काठमाडौँ- नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा

आजै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।

दक्षिण कोरियाली राष्ट्रपतिविरुद्धको महाभियोग संसदबाट पारित

दक्षिण कोरियाका सांसदहरूले राष्ट्रपति युन सुक योललाई मार्शल ल लागू गर्ने असफल प्रयासमा महाभियोगको पक्षमा मतदान गरेका छन्।

युनको आफ्नै पीपुल पावर पार्टी (पीपीपी) का केही सदस्यहरूले विपक्षमा मतदान गरेपछि उनलाई निलम्बन गरिएको थियो – यद्यपि यो निर्णयलाई संवैधानिक अदालतले अनुमोदन गर्न आवश्यक छ।

महाभियोग प्रस्ताव पारित भएपछि शनिबार साँझ नेशनल एसेम्बली बाहिर हजारौं युन विरोधी प्रदर्शनकारीहरूले उत्सव मनाएका छन् ।

यधपी युनले महाभियोग पारित भएपनि आफुले कहिल्यै हार नमान्ने र महाभियोग आफ्नो राष्ट्रपति पदको लागि अस्थायी विरामको रूपमा वर्णन गरेका छन् ।

आफ्नो सरकारलाई कमजोर पार्ने उत्तर कोरियाली प्रयासहरूलाई रोक्न आवश्यक भएको र महिनौंको राजनीतिक गतिरोध पछि सैन्य शासन लागू गर्नुपरेको उनले बताएका छन्।

यूनको महाभियोगको लागि कडा सार्वजनिक समर्थन रहेको छ। हालैका सर्वेक्षणहरूले तीन चौथाई दक्षिण कोरियालीहरूले उनलाई पदच्युत भएको हेर्न चाहन्थे भन्ने तथ्याङ्क समेत सार्वजनिक गरेको छ ।

गत हप्ता युनलाई महाभियोग लगाउने प्रयास असफल भएपनि सार्वजनिक दबाब पछि पीपीपीले आफ्ना सांसदहरूलाई महाभियोगको पक्षमा मतदान गर्न दिने निर्णय गरेको थियो।

शनिबार, युनको पार्टीका १२ सदस्यहरूले महाभियोगको पक्षमा मतदान गरेपछि महाभियोग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ थ्रेसहोल्ड पुगेको हो ।

महाभियोग प्रस्ताव पारित भएपछी राष्ट्रिय सभाका सभामुख वू वोन-सिकले नतिजा घोषणा गर्दै वर्षको अन्त्य अब अलिकति खुशी हुने बताएका छन्। त्यसैगरी मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सदस्य वूले,कोरिया गणतन्त्रको भविष्य र हाम्रो आशा जनताको हातमा रहेको बताएका छन्।

संवैधानिक अदालतले युनको महाभियोगलाई कायम राख्नुपर्छ वा उनी पदमा फर्कन सक्छन् कि भनेर निर्णय गर्न अब १८० दिनको समय छ। यदि अदालतले महाभियोगको पक्षमा फैसला गरेमा अर्को राष्ट्रपतिको लागि ६० दिन भित्र निर्वाचन आह्वान गर्नुपर्छ।

महाभियोग पछि युनलाई निलम्बन गरिएको छ भने प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्।

ट्रम्पले जन्मसिद्ध नागरिकताको नियम खारेज गर्ने : आप्रवासी चिन्तित

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफुले पद सम्हालेकै दिन जन्मसिद्ध नागरिकताको नियम खारेज गर्ने बताएका छन् ।

अमेरिकी भूमिमा जन्मका आधारमा अमेरिकी नागरिकता दिने नियम अब रहने छैन। ट्रम्पको यो निर्णयसँगै अमेरिकामा रहेका आप्रवासीहरुमा चिन्ता बढेको छ ।

ट्रम्पले जनवरी २०, २०२५ मा राष्ट्रपति पदको सपथ लिनेछन्। अमेरिकामा कानुनी र अवैध आप्रवासीको संख्या लामो समयदेखि बहसको विषय बनेको छ। ट्रम्पले आफ्नो चुनावी अभियानमा यो मुद्दा उठाएका थिए ।

विश्वमा नागरिकता पाउनका लागि विभिन्न नियमहरु छन् । अमेरिकी भूमिमा जन्मेका व्यक्तिलाई स्वत: अमेरिकी नागरिक मान्ने कानुन छ। गृहयुद्ध पछि, यूएस कांग्रेसले सन् १८६८ मा यो नियम लागू गरेको थियो । त्यो समयमा यो नियम अमेरिकामा आएका अश्वेतहरू लगायत सबैलाई नागरिकता प्रदान गर्न ल्याइएको थियो ।

त्यसबेला अमेरिकामा जन्मिएका बालबालिकालाई स्वतः नागरिकता दिने प्रावधान लागू भएको थियो । नियमले त्यस्ता बालबालिकाका अभिभावकहरू अमेरिकामा कानुनी वा गैरकानूनी छन् कि छैनन् भन्ने फरक पर्दैनथियो ।

यो नियम मूलतः संयुक्त राज्य अमेरिकामा दासको रूपमा ल्याइएका मानिसहरूलाई सजिलो बनाउनको लागि पेश गरिएको थियो।

डोनाल्ड ट्रम्प र उनका समर्थकहरूले उक्त कानुनको दुरुपयोग भइरहेको भन्दै अमेरिकी नागरिक बन्नका लागि नयाँ र कडा कानुनको माग गर्दै आएका छन् ।