सरकारले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदमा पेस गर्ने तयारीबारे प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएको छ ।
सरकारले एमसीसी सम्झौता पेस गर्न तयार रहेको बताउँदै आवश्यक प्रक्रिया अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको छ । यो खबर पाएलगत्तै सभामुख सापकोटाले सोही अनुसारको तयारी गर्दै, आफू नजिकका केही व्यक्तिसँग परामर्श गरेका थिए । यसअघि आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख सापकोटालाई भेटेर एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने सरकारको निर्णयबारे जानकारी गराएका थिए ।
स्रोतका अनुसार सभामुख सापकोटाले एमसीसी सम्झौता संसदमा पेस गर्ने प्रक्रियामा आफूले अवरोध नगर्ने बताए । तर, संसदमा भइरहेको अवरोधबीच एमसीसीलाई टेबुल गर्नुभन्दा छलफलबाटै निर्णय लिनु राम्रो हुने उनको तर्क छ ।
यसैबीच, एमसीसीको मुख्यालयले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई नेपाल कम्प्याक्ट सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न पत्राचार गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्