राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।
शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ ।
चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराइनेछ ।
नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।
साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताउनुभयो ।
देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्