मापदण्डविपरीत विशिष्ट व्यक्तिहरूलाई दिएको सुविधा फिर्ता गर्न निर्देशन

काठमाडौँ- विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिइएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बैठकले सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू र सुरक्षाकर्मी प्रयोग गरेको फिर्ता गर्न निर्देशन दिएको हो ।

समितिको सभापति रामहरि खतिवडाले नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताएका छन्।

समितिले नेपाल सरकार तथा प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्नका लागि सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सेवाका कार्यालयहरू खोल्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

शिक्षा विधेयकविरुद्ध शिक्षकहरू आन्दोलनमा

काठमाडौँ- सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु माइतिघरमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिने लगायत विषयप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित नाराबाजी गरिरहेका छन् ।

टीकापुर घटनाका सबै बन्दी रिहा

धनगढी- संविधान दिवसका दिन सरकारले टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दीलाई रिहा गरेको छ ।

टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी र श्रवण चौरी रिहा भएका छन्।

घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भने यसअघि नै सरकारले आम माफी दिएको थियो। थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

यद्यपी रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ । रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् । सर्वोच्चमा परेको उक्त रिट उपर सुनवाइ अझै भएको छैन ।तस्बिर : शिवराज भट्ट

काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकामा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको को उद्घाटन गरेका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार द्रुत बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिनेछ भने द्रुत बस सञ्चालनका लागि ‘लेन मार्किङ’ लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ ।सो सडक खण्डमा बिहीबारदेखि दैनिक २५ वटा द्रुत बस सञ्चालन गरिनेछ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ र यो बस अन्य सार्वजनिक सवारी रोकिने स्थानमा भने रोकिनेछैनन । द्रुत बस बस सेवा सञ्चालन भएपछि ढिलोमा पनि ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्न सकिने बताइएको छ।सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ र द्रुत बस स्टपहरूमा रातो रङले मार्किङ गरिएको छ।

द्रुत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिनेछैनन् । रातो बत्ती बलेका वेला पनि ट्राफिक प्रहरीले ती बसलाई रोक्नेछैनन् । त्यस्तै, ट्राफिक जाम भएका वेला एम्बुलेन्सजसरी दायाँ–बायाँ मोडेर पनि यो बस सञ्चालन गर्न सकिनेछ । यात्रुलाई छिटो गन्तव्यमा पुर्याउने यस बस सेवाको लक्ष्य भएकाले ट्राफिक प्रहरीले पनि अवरोध गर्नेछैनन् ।द्रुत बसको भाडा भने अन्य सार्वजनिक बससरह नै रहनेछ।

नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा बन्द हुने

धादिङ- पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि असोज २० गते सम्मको लागि रातिको समयमा बन्द हुने भएको छ ।

नौबिसे–मलेखु सडकखण्ड विस्तारको लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले नौबिसे–मलेखु सडकखण्डको खयरघारी र पोखरे खोला अन्तर्गत सडक चौडा गर्न रातिको ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त सडक खण्ड बन्द रहने जनाएको छ।

सोमबार बसेको सरोकारवालाको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सार्वजनिक र निजी सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार काठमाडौँबाट जाने सवारीसाधन थाक्रे गाउँपालिका १ एक्लेफांटमा रोकिनेछ भने मुग्लिनतर्फबाट आउने सवारीसाधन गजुरी गाउँपालिका ५ घाटबेसी पुलमा रोकिनेछ।

dhading road close

सप्त ऋषिको पुजा गरेर ऋषिपञ्चमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीहरुले हिन्दु संस्कृति र परम्परा अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमी नेपाली महिला दिदि बहिनीहरुले सप्त ऋषिको पूजाआराधना गरी मनाउँदछन् । देशभरका पवित्र धार्मिकस्थल र ऋषेश्वर मन्दिरमा आज पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ।ऋषिपञ्चमीलाई तीज कै एउटा पाटोको रुपमा मनाउने गरिन्छ र आज ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएसँगै तीज समाप्त भएको मानिन्छ।

पौराणिक मान्यता अनुसार,ऋषि पञ्चमीको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले शरीरलाई सफा र शुद्ध बनाउनको लागि पूजा अर्चना गर्ने दिनको रुपमा मनाउने गरिन्छ । सृष्टिकर्ता नारीहरू विना जीवन सम्भव नभएकोले शास्त्रमा पनि नारीहरुको सम्मान गर्दै नारीहरुको रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन रहेको छ। रजस्वलाको प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन रहेको छ ।

आजको दिन नारीहरूले उपमार्ग(दतिवन) अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी युक्त गुण भएको वनस्पतिको प्रयोगले दाँत माँज्ने र चपाउने गर्दछन्। १०८ वटा उपमार्ग (दतिवन)का टुक्राहरु चपाएर आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोला या तलाउमा गएर स्नान गर्ने गर्दछन् । संस्कृत शब्दमा उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । यसले शरीरमा विभिन्न प्रकारका रोग नलाग्ने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापाना गरेर कश्यप, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका सात ऋषिहरूको पूजा गर्दछन । अन्त्यमा ब्राह्मणले रीतिअनुसार पूजा गरेपछि ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएको मानिन्छ ।

सिख नेता निज्जरको मृत्युको पछाडि भारत : जस्टिन ट्रुडो

सोमबार संसदमा बोल्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रख्यात सिख-क्यानाडाली अभियन्ता हरदीप सिंह निज्जरको मृत्युमा भारतीय सरकारी एजेन्टको हात रहेको स्पष्ट पारेका छन्।

सोमबार दिउँसो संसदमा बोल्दै, जस्टिन ट्रुडोले यस महिनाको सुरुमा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा पनि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई व्यक्तिगत रूपमा सो घटनाको विषयलाई लिएर गहिरो चासो व्यक्त गरेको बताएका छन् ।

संसदलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन् “क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य र उल्लङ्घन हो ” .यसैबीच, क्यानडाले निज्जरको हत्यालाई लिएर बढेको विवादमा एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

१८ जुनमा ब्रिटिस कोलम्बियाको गुरु नानक सिख मन्दिरको परिसरमा हरदीप सिंह निज्जरको हत्या भएको थियो ।उनलाई गुरुनानक सिख गुरुद्वाराको व्यस्त कार पार्कमा दुई मुखौटाधारी बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।

ब्रिटिश कोलम्बियाको पश्चिमी प्रान्तका प्रमुख सिख नेता ४५ वर्षीय निज्जरले सार्वजनिक रूपमा खालिस्तानको लागि अभियान चलाएका थिए । भारतको पञ्जाब क्षेत्रमा स्वतन्त्र सिख मातृभूमिको निर्माणका लागि उनको सक्रियताका कारण विगतमा पनि उनलाई धम्की आउने गरेको नका समर्थकहरुले बताएका छन् ।

भारतले उनलाई आतंकवादी पृथकतावादी समूहको नेतृत्व गर्ने आतंकवादीको रूपमा चित्रण गर्दै आइरहेको थियो।

देशभर विश्वकर्मा पूजा मनाइंदै

आज विश्वकर्मा पूजा । वैदिक सनातन हिन्दू धर्मावलम्विहरूआज भगवान विश्वकर्माको पूजा गरि मनाउँदछन् ।

भगवान विश्वकर्मालाई हस्तकला, शिल्पकार र प्रविधिको रचयिताको रुपमा पुज्ने गरिन्छ। देवताहरुको युगमा पनि विश्वकर्माले हजारौं प्रविधि र यान-यन्त्रहरुको सिर्जना गर्नुभएको भन्ने धार्मिक आस्था अनुसार नै आजको दिन नेपालीहरुले आफ्नो उधोग, कलकारखानामा रहेका मेसिनरी समान, यन्त्र,हतियार र आफ्ना यान्त्रिक सवारी साधनहरुको पूजा गर्ने गर्दछन।

भगवान विश्वकर्मालाई प्राचिन वास्तुविधाको(वास्तुशास्त्र) रचयिता पनि मानिन्छ। वास्तुशास्त्रलाई प्राचिन विज्ञानको रुपमा व्याख्या गर्ने गरिन्छ । दिशा,नक्षत्र र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तु विज्ञान वेदबाट प्राप्त भएको मानिन्छ। वास्तुशास्त्र अनुसार निर्माण गरिएको घरमा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहने विश्वाश गरिन्छ।

आजको दिन भगवान विश्वकर्माको मुर्ति थपना गरेर पूजा गरिन्छ भने भोलि सोहि मुर्तिलाई रितपूर्वक नजिकैको कुनै खोला या तलाउमा लगेर विसर्जन गरिन्छ।

शास्त्रहरुका अनुसार विश्वकर्मालाई सृष्टिकर्ता ब्रह्माका पुत्र मानिन्छ।

पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार किल्ला तोकेर सो स्थानहरुमा मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला कायम गर्दै सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको बताएको छ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं, भदौ १ : नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । हेटौंडाको सन्चो अस्पतालका चिकित्सकमाथि भएको शारीरिक दुव्र्यवहारमा संलग्न दोषीलाई कानुनी कारबाही नभएको भन्दै संघले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै आज देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा पूर्णरुपमा बन्द रहने जनाएको छ ।

सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भएको आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न संघले सरकारलाई ७२ घण्टाको अल्टिमेटम समेत दिएको छ ।

घटनामा संलग्न सबै दोषीलाई तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश (पहिलो संशोधन) २०७९ बमोजिम फौजदारी अभियोग लगाउन र कानुनी कारबाही गर्नुपर्नेमा संघले माग गरेको छ।

हेटौँडा अस्पताल घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले घटनालाई दबाउन खोजेको आरोप लगाउंदै संघले घटनाको छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

पूर्व फ्रान्सेली उपनिवेशहरू द्वारा नयाँ सैन्य गठबन्धनको सुरुवात

पूर्व फ्रान्सेली उपनिवेश राज्यहरु माली,बुर्किनाफासो र नाइजरले नयाँ सैन्य गठबन्धनको सुरुवात गरेका छन्।

तीन अफ्रिकी राज्यहरूका सैन्य सरकारहरू, जसले हालैका वर्षहरूमा आफ्ना पश्चिमी-समर्थित नेताहरूलाई पदच्युत गरे, तिनीहरूको सार्वभौमसत्तामा कुनै बाह्य आक्रमण वा आन्तरिक खतराको अवस्थामा व्यक्तिगत वा सामूहिक रूपमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन्।

मालीका अन्तरिम राष्ट्रपति, असिमी गोइटाले बुर्किना फासो र नाइजरका नेताहरूसँग सामूहिक रक्षा र पारस्परिक सहायताको ढाँचा स्थापना गर्ने उद्देश्यका साथ ति अफ्रिकी राष्ट्रहरु र तिनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै पनि आक्रमणलाई अन्य अफ्रिकी राष्ट्रहरु विरुद्धको आक्रमण मानिने र संयुक्त रुपमा त्यसको कडा प्रतिकार गर्नेगरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

मालीका रक्षामन्त्री अब्दुलाये डिओपले पनि यो नयाँ गठबन्धन तीन देशबीचको सैन्य र आर्थिक प्रयासको संयोजन हुने बताएका छन्।

अफ्रिकी आर्थिक समुदाय ईकोवासले नाइजरका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्स्थापित गर्न नाइजरमा सैन्य कारवाही गर्ने धम्की दिएपछि माली र बुर्किना फासोले यसअघि पनि नाइजरमा हुने कुनै पनि आक्रमण उनीहरूको विरुद्ध “युद्धको घोषणा” हुनेछ भनेर चेतावनी समेत दिएको थियो।

क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा

काठमाडौं -नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुनेछ । अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ भने, अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ ।क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र वर्तमान कोषाध्यक्ष रोशनकुमार सिंहले प्रतिस्पर्धा गर्ने चर्चा रहेको छ।

काठमाडौं र ललितपुरका केही स्थानमा ३ दिन विधुत अवरुद्ध हुने

काठमाडौं र ललितपुरका केही स्थानमा शुक्रबारदेखि लगातार तीन दिन विधुत सेवा अवरुद्ध हुने नेपाल विधुत प्राधिकरणले जनाएको छ।

टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेकोले टेकु सबस्टेसन तीन दिन सट डाउन गर्न लागेको प्राधिकरणले जनाएको छ। ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म ‘सटडाउन’ गरिनेछ भने, ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिनेछ।

प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ रोड मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ के.भी.पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू थापाथली, सुन्धारा र के २० बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विधुत कटौती हुन सक्नेछ।

त्यस्तै ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विधुत कटौती हुन सक्नेछ।

एसियाडमा सहभागी टोलीलाई प्रधानमन्त्रीको बिदाइ

काठमाडौँ- यही असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली खेलाडी टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको भन्दै यसअघि घोषणा गरिएको खेलाडीको पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भएपनि घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन्। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको पनि उपस्थिति रहेको थियो।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा १ सय २७ महिला र १ सय २६ पुरुष खेलाडी सहभागी छन्।

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनमा भाग लिन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्क जाँदैछन्।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा सहभागी हुने र अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

जाइका नेपालका प्रमुख सवार गाडीमा आक्रमण

नेपालस्थित जापानी दूतावासले बुधबार जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबोलाई ढुङ्गाले हानेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

दूतावासले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अकिमित्सु ओकुबो घाइते भएको र उनको गाडीमा प्रदर्शनकारीहरूको समूहले ढुंगा प्रहार गर्दा क्षति पुगेको जनाएको छ। गत साता नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनाको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीहरुको समूहले गरेको प्रदर्शनको क्रममा उक्त घटना भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको पुष्टि गर्दै त्रिचन्द्र क्याम्पसको परिसरभित्रबाट ढुंगा प्रहार भएको थाहा हुन आएको र घटनाको अनुसन्धान हुने बताएको छ।

दूतावासले जारि गरेको विज्ञप्तिमा , “शान्तिपूर्ण प्रदर्शनमा संलग्न हुन पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो, लोकतन्त्रको मौलिक सिद्धान्त हो। तर, त्यस्ता प्रदर्शनहरू हिंसात्मक बन्दै गएमा त्यो फौजदारी अपराधबाहेक अरू केही नहुने बताएको छ।

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई सतर्क रहन र यस्ता घटनाबाट बच्न सचेत गराउंदै, नेपाल विदेशीका लागि शान्त र आकर्षक गन्तव्य बन्ने आशा पनि व्यक्त गरेको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका– १ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त ज्ञापनपत्र बुझ्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ।

उक्त घटनाको विषयलाई लिएर, संघले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्नेजस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

डेंगु संक्रमण भएपछि थप उपचारका लागि सन्चो अस्पतालबाट चिकित्सकहरूले बिरामीलाई चितवन ‘रिफर’ गरेको र उपचारका क्रममा बिरामीको निधन भएपछि हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण भएको थियो।

चिकित्सक कुटपिट घटनामा संलग्नभएको आरोपमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ।

इन्फ्लुएन्जाका बिरामीको संख्या बढ्दै

काठमाडौँ- मौसम परिवर्तनको समयमा देखिने मौसमी रुघाखोकी ‘फ्लु’ इन्फ्लुएन्जाका बिरामीको संख्या पछिल्लो एक साता यता तिब्र रुपमा बढ्दै गएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक रुघाखोकी लागेर उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गएको र परीक्षण गरेकामध्ये ७ प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार देशभरबाट संकलन भएका १४० वटा नमुना परीक्षण गर्दा ३५ जनामा इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको छ ।

इन्फ्लुएन्जा लागेका मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिने र मौसम परिवर्तनको यो समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुने हुँदा सतर्क रहनुपर्ने चिकित्सकहरु बताउँछन्।

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

श्रद्धाञ्जली अर्पणका लागि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थीव शरीर श्रद्धाञ्जली पछि बालुवाटारस्थित निजी निवासमा राखिएको छ ।

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बिहीबार ३ बजेलाई अर्काे बैठक तोकिएको छ  भने यसअघि मन्त्रिपरिषद बैठकले हृदयघातबाट स्वर्गीय भएका नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

रुसी रास्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ-उनबिच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसको अमुर क्षेत्रको भोस्टोचनी कस्मोड्रोममा स्वागत गरेका छन् । क्रेमलिनले साझा गरेको भिडियोमा दुई नेताहरूले बुधबार एक अर्कालाई अभिवादन गर्दा हात मिलाउँदै गरेको देखाइएको छ।

भ्लादिभोस्तोकमा रहेको पूर्वी आर्थिक मञ्चको दुई दिने भ्रमणपछि पुटिन भोस्टोचनी पुगेका हुन् । उत्तर कोरियाली नेताले मंगलबार बिहान रुसी भूभागमा प्रवेश गरेपछि आफ्नो सशस्त्र रेलमा यात्रा अगाडी बढाएका थिए ।

यो वर्ष उत्तर कोरियाको ७५ औं स्थापना दिवस र कोरियाली युद्ध युद्धविरामको ७० वर्ष, साथै रुससँग कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको उल्लेख गर्दै, पुटिनले किम जोङ्ग उनलाई भेट्न पाउँदा धेरै खुसी भएको बताएका छन्।किमले पनि पुटिनलाई निमन्त्रणा र आफ्नो स्वागतको लागि धन्यवाद दिएका छन्।

रुसी-उत्तर कोरिया शिखर सम्मेलनको एजेन्डामा टिप्पणी गर्दै, क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले आगामी वार्ताहरू धेरै “संवेदनशील मुद्दाहरू” र साथै द्विपक्षीय आर्थिक र सांस्कृतिक सहयोग र क्षेत्रको समग्र स्थितिमा केन्द्रित हुने बताएका छन् ।

रुस युक्रेन युद्द र कोरियाली प्रायद्वीपमा बढेको तनावको बीचमा किमको रुस भ्रमणलाई पश्चिमाहरुले निकै चासो दिएका छन्।

सुन तस्करी प्रकरणमा ५० जना प्रतिवादी :३०२ किलो सुन तस्करी गरेको निष्कर्ष

काठमाडौँ- सीआईबीले सुन तस्करीबारे अनुसन्धान गरेको प्रतिवेदन आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउँदैछ ।सुन तस्करी अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनु अघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको र ब्रेक शुमा लुकाएर ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।ब्रेक शुको तौल यकिन गरेर ३०२.६२ किलो थप सुन तस्करी गरि ल्याएको सीआईबीको निष्कर्ष रहेको छ।

सुन प्रकरणका ५० जना प्रतिवादीमध्ये हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्। सुन प्रकरणमा सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरी अनुसन्धानको प्रतिवेदन तयार गरेको छ।

सीआईबीले आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गतलगायत कसुरमा मुद्दा चलाउन राय दिएको छ।यसअघि ब्रेक शुसहितको एक सय ५५ किलो भनिएको सुन गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेको थियो।

शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडौँ — संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। विधेयकमा विद्यालय तह स्थापना, सञ्चालन र तह थपको अनुमति दिने अधिकार स्थानीय तहलाई दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईद्वारा दर्ता गरिएको विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ र उक्त विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार गरीएको भएपनि निजी स्कुल संचालकहरुको विरोधपछि सरकारले दबाबमा आएर निजी विद्यालय गुठीमा जानुपर्ने प्रावधान पुन: संशोधन गरी ऐच्छिक बनाएर विधेयक दर्ता गरेको छ।
दर्ता गरिएको विधेयकमा हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकले आन्तरिक परीक्षा दिन पाउने र फेल भए सरकारले निश्चित रकम दिएर बिदाइ गर्ने विषयलाई पनि समेटेको छ । विधेयकले शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव समेत गरिएको छ ।

यसअघि जनप्रतिनिधिको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट गर्ने प्रक्रियालाई हटाएर अभिभावकहरुबाट मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गर्न पाउने प्रावधान राखिएका छ।

संसदमा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयक:

वीरगन्जको बाल सुधार गृहमा झडप हुँदा ११ जना बालक र ३ प्रहरी घाइते

पर्सा- वीरगन्जको बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक र तीन जना प्रहरी घाइते भएका छन्।

भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातभर तनावग्रस्त बनेको थियो। बालकहरुको झडपका क्रममा भक्तपुरबाट ल्याइएका मध्ये १० र वीर्तास्थित बाल सुधार गृहका १ जना गरी ११ जना बालक घाइते भएका छन् भने उनीहरुले प्रहार गरेको ढुंगा लागेर तिन जना प्रहरी समेत घाइते भएका छन्।

घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले वीर्तास्थित सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि झडप सुरु भएको बताइएको छ । झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको र केही राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ।

सुधार गृहमा प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको , शौचालय पनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप समेत लगाएका छन्।वीर्तास्थित बाल सुधार गृहमा पहिलेदेखि नै १३१ जना बालक बस्दै आएका छन्।

गाडी सुविधा लिन ऐन नै संशोधन गर्ने तयारीमा प्रदेश सरकार

धनगढी – सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेश सरकारले गाडी सुविधा लिन प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन नै संशोधन गर्ने तयारी गरेको छ।

लेखा समितिले ऐन विपरीत सत्तारूढ दलका नेताहरूले प्रयोग गरिरहेका तीन वटा गाडी प्रदेशसभा सचिवालयलाई तीन दिन भित्र फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले गाडी सुविधा लिनको लागि ऐन नै संसोधन गर्न गृहकार्य अगाडी बढाएको छ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ को दफा ६ उपदफा १ को व्यवस्थाअनुसार सत्ता पक्षका संसदीय दलका नेताहरुले गाडी, इन्धन र चालकको सुविधा लिएका छन् । तर सोही ऐनको अनुसूची १ मा उक्त व्यवस्था नहुँदा गैरकानुनी सुविधा लिएको ठहर गर्दै लेखा समितिले फिर्ता गर्न निर्देशन दिएको थियो ।

तर मुख्यमन्त्री कमलबहादुर शाहले गाडी सुविधा फिर्ता गर्न नपर्ने गरी ऐन संशोधनका लागि छलफल अघि बढाएका र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संशोधनको मस्यौदा गरेर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारि गरिरहेको बताइएको छ।

कानुन विपरित गाडी सुविधा लिनेहरुमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी रहेका छन्।

सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गराउनु

काठमाडौँ — सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले, सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी सो सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउनुपर्ने सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

कार्यदलले,संस्थाको स्थिर सम्पत्ति,सञ्चालकको सम्पत्ति र अन्यन्त्र भएका लगानी समेत बेचेर भएपनि बचतकर्ताहरुको रकम चैतभित्र फिर्ता गर्नुपर्ने सुझाव दिएको छ ।सहकारी क्षेत्रका सम्बद्ध निकाय तथा व्यक्तिसँगको छलफलपछि प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।

योजना आयोगको सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठीत कार्यदलले, सहकारी संस्थाहरूले प्रत्यक्ष रूपमा आफैंले लगानी गरेका कम्पनी, मार्ट, अपार्टमेन्टलाई एक वर्षभित्र तरल सम्पत्तिमा रूपान्तरण गरिसक्नुपर्ने सुझाव समेत दिएको छ ।

त्यसैगरी, समानान्तर संस्थाहरूबीच एकापसमा आर्थिक कारोबार, लेनदेन, बचत जम्मा, ऋण प्रवाहजस्ता कार्य भइरहेको भए आगामी एक वर्षभित्र राफसाफ गर्नुपर्ने र एकै व्यक्ति र परिवारभित्र कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा केन्द्रीकृत भएको भए ६ महिनाभित्र व्यवस्थापन गरिसक्न निर्देशन गरी सोको निगरानी गर्न सबै तहका नियमनकारी निकाय (संघ, प्रदेश र स्थानीय तह) लाई सुझाएको छ ।

सरकारी कार्यदलले सदस्यको बचत रकम अपचलन गरेको देखिएका सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापनमा आबद्ध जोसुकैको राहदानी रोक्का गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई सुझाव दिएको छ । यसका साथै एका घरपरिवार र नजिकका नातेदारसमेत सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापनभित्र स्वार्थ बाझिने गरी रहेको भए तीन महिनाभित्र पदबाट हट्नुपर्ने सुझाव दिएको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं – पुर्व सभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि मन्त्रिपरिषदको आकस्मिक बैठक आहवान गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो । बैठकले स्वर्गीय सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिनेबारे निर्णय गर्ने तयारी गरेको बताइएको छ ।

नेम्वाङको हृदयघातबाट आज बिहान निधन भएको थियो। उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । त्यहाँबाट उनको शवलाई श्रद्धाञ्जलिको लागि एमाले पार्टी कार्यालयमा लगिनेछ।

अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।

पुटिनलाई भेट्न रुस पुगे उत्तर कोरियाली नेता किम जोङ उन

उत्तर कोरियाका नेता किम जोङ उन राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका लागि रुस पुगेका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको सशस्त्र रेल मंगलबार बिहान रुसमा प्रवेश गरेको पुष्टि गरेको छ। किमको भ्रमण टोलीमा उत्तर कोरीयाली सैन्य कर्मचारी लगायतका उच्च सरकारी अधिकारीहरू समेत रहेका छन्।

किम जोङ उनको रुस भ्रमणलाई लिएर, रुस र उत्तर कोरियाले हतियार सम्झौताको बारेमा छलफल गर्न सक्ने सम्भावना रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

युक्रेन द्वन्दकोबीच किम र पुटिनको यो भेटलाई पश्चिमाहरुले निकै चासोको साथ लिएको देखिन्छ।

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन-सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खसेको हो।

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ। सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्।

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। रासस

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

आफ्नै निवासमा रहेका नेम्बाङलाई राती करिब १ बजे हृदयघात भएपछि परिवारका सदस्यहरुले उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएका थिए । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भैसकेको बताएका थिए।

उनको निधन भएको खबर पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका थिए । अहिले अस्पताल परिसरमा नेताहरुको बाक्लो उपस्थिति रहेको छ।

नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।

नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

जेलेन्स्कीले भ्रष्टाचारलाई बढावा दिएको युक्रेनी जनताको आरोप

युक्रेनीहरूको ठूलो बहुमतले देशको सरकार र सेनामा व्यापक भ्रष्टाचारको लागि राष्ट्रपति भ्लादिमिर जेलेन्स्की दोषी रहेको बताएका छन्।

सोमबार जारी गरिएको सर्वेक्षणमा ७८% युक्रेनीहरूले जेलेन्स्कीलाई किभको भ्रष्टाचार समस्याका लागि प्रत्यक्ष रूपमा जिम्मेवार ठान्छन्। इल्को कुचेरिभ डेमोक्रेटिक इनिसिएटिभ्स च्यारिटेबल फाउन्डेसन र कीभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीले जारि गरेको सर्वेक्षणको तथ्याङ्क अनुसार सो तथ्य सार्वजनिक गरिएको हो।

फेब्रुअरी २०२२ मा रूसको सैन्य आक्रमण सुरु हुनु अघि, युक्रेन लगातार विश्वको सबैभन्दा भ्रष्ट राष्ट्रहरू मध्येको स्थानमा थियो, तर यो स्वतन्त्रता र लोकतन्त्रको गढको रूपमा चिनिएको थियो किनभने अमेरिका र यसको नाटो सहयोगीहरूले कीभलाई ठूलो सहायताको लागि सार्वजनिक समर्थन जुटाएको थियो । यद्यपि, युक्रेनी भ्रष्टाचार चिन्ताको विषय बनेको छ र युरोपेली संघमा सामेल हुने देशको बोलीमा बाधा पुग्न सक्छ, एक पश्चिमी कूटनीतिज्ञले बताए।

युक्रेन एक “धेरै भ्रष्ट देश” हो, कूटनीतिज्ञले भने, “युक्रेनको सुरक्षा सेवालाई भ्रष्टाचारका मुद्दाहरू चलाउन प्रयोग गर्ने जेलेन्स्कीको योजनाले “गलत सन्देश पठाउन सक्छ।” सोमबार आकस्मिक भ्रमणको लागि किभमा अवतरण गरेपछि, जर्मन विदेश मन्त्री अन्नलेना बेरबकले कथित रूपमा युक्रेनले भ्रष्टाचार विरुद्ध लड्नका लागि आफ्नो प्रयासलाई तिब्र बनाउन आवश्यक रहेको बताइन्।

इन्टरनेशनल एसोसिएसन अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सले २०२१ मा प्राप्त गरेको कागजातले जेलेन्स्की र उनका व्यापार साझेदारहरूले मध्य लन्डनमा भव्य सम्पत्तिहरू खरिद गर्न विभिन्न अफसोर कम्पनीहरू स्थापना गरेको देखाएको छ। पूर्व युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोका समर्थकहरूले जेलेन्स्की र उनका सहयोगीहरूले कर छली गर्न आफ्नो अफसोर खाताहरू प्रयोग गरेको आरोप लगाएका छन् ।