मधेस प्रदेशमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकामा रुख ढलेर तीन जनाको मृत्यु भएको छ ।
हावाहुरीले धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रुख ढलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चण्डेश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
हावाहुरीका कारण विद्यालय परिसरमा रुख ढलेर दुवैको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गएरातिदेखि परेको हावाहुरी र अविरल वर्षाका कारण रौतहटमा आफ्नै घरमा च्यापीएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका–१ अजगबी निवासी राममंगल राय यादवकी ४५ वर्षीया श्रीमती फुलमति या देवी रहेकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनको उपचारका लागि मौलापुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्