युवा संघले जलायो अखण्ड भारतको नक्सा

भारतीय संसदमा अखण्ड भारतको नक्सा राखेको विरोधमा नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले अखण्ड भारतको नक्सा जलाएको छ।

नक्सामा नेपाली भूभाग राखेको भन्दै एमालेको भातृ संगठन युवासंघले काठमाडौंको नयाँ बानेश्वरमा राँके जुलुससहित प्रदर्शन गरेर अखण्ड भारतको नक्सा जलाएको हो ।

yuwa sangha nepal protest 3

उनीहरुले ‘सरी मोदी ब्रो, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ र ‘सीमाना पारी पाहुनाको लस्कर, शितल निवासमा नागरिकता तस्कर’ लगायतका नारासहित अखण्ड भारतको नक्सा जलाएका हुन् ।

yuwa sangha nepal protest 2

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

जेठ १७, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभइ फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएपनि,जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुबै सदनबाट पास भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो ।

nagarikata bidheyak

प्रधानमन्त्री दाहाल भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विधुत व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि गृहकार्य गरिएको छ ।

नेपालमा उत्पादित विधुत बिक्रीको सुनिश्चितता नेपालको प्राथमिकता रहेको र सोहि अनुसार विधुत क्षेत्रमा लगानी अभिवृद्धि र बजार सुनिश्चितताका लागि भारतसँग दीर्घकालीन सम्झौताको प्रयास हुने साउदले बताएका छन्  ।

त्यसैगरी, प्रधानमन्त्रीको भारत भ्रमणमा, नेपालले हवाई कनेक्टिभिटीलाई पनि महत्त्व दिइएको र सिमराको रुट बाहेक पायक पर्ने अन्य महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र विराटनगर लगायतका रुटबारे छलफल गरिने बताएका छन्।

त्यसैगरी, प्रधानमन्त्री तहमा सीमा समस्याका सवालमा छलफल गरिने,लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न २ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन् । सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव टोलीमा सहभागी हुनेछन् ।

भ्रमणको चौथो दिन शनिबार प्रधानमन्त्री दाहाल अपराह्न ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

एर्दोगान राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मे १४ मा भएको पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष विजयका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि भएको दोस्रो चरणको निर्वाचनबाट पुनः टर्कीको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

९७ प्रतिशत मत गणना गरिसक्दा एर्दोगान आफ्ना प्रतिद्वन्द्वी केमाल भन्दा निकै अगाडी रहेको बताइएको छ भने उनको जित सुनिश्चित रहेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। यधपी निर्वाचन आयोगले हालसम्म कुनै नतिजाको घोषणा भने गरको छैन।

यो जितसंगै उनले आफ्नो २० वर्षको शासनलाई थप पाँच वर्षको लागि लम्ब्याउन सफल भएका छन्। उनले गणतन्त्र टर्कीका संस्थापक मुस्तफा केमाल अतातुर्कको १५ वर्षको राष्ट्रपति पदलाई यसअघि नै पछाडी पारेका थिए।

एर्दोगानको जित सुनिश्चित भएको देखिन थालेपछि, अंकाराको राष्ट्रपति भवन अगाडी उनको सम्बोधन सुन्न मानिसहरुको भिड लागेको छ । यसघि उनले आफ्नो निवास अघि जम्मा भएका आफ्ना समर्थकहरुलाई धन्यबाद समेत दिएका थिए। जितको लागि धन्यबाद भन्दै उनले आफ्ना समर्थकहरुको लागि गित समेत गाएका थिए।

समर्थकहरुको भिडलाई सम्बोधन गर्दै उनले भने “हामीले हाम्रो जनताको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गरेका छौं,भगवान चाहानुहुन्छ हामी तपाईंको विश्वासको योग्य हुनेछौं जसरी हामी गत २१ वर्षदेखि छौं।”उनले मे १४ मा भएको पहिलो चरणको निर्वाचन र मे २८ मा भएको दोस्रो चरणको निर्वाचनमा देशका सबै नागरिक विजयी भएको बताएका छन् ।

लक्ष्यभन्दा २३ अर्ब बढी आन्तरिक ऋण उठाउँदै सरकार

जेठ १४, काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य निर्धारण गरेको भए पनि, असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रुपैयाँ उठाउने तयारी गरेको छ। यो रकम आर्थिक वर्षको लक्ष्यभन्दा २३ अर्ब रुपैयाँ बढी हुन आउँछ।

बैंकिंग प्रणालीमा तरलता कम र ब्याजदर उच्च भएका बेला सरकारको यो कदमले तरलता र ब्याजदरमा थप दबाब पुग्ने देखिन्छ ।

सरकारले हरेक वर्ष उठाउन पाउने आन्तरिक ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले सिफारिस गर्दछ र आयोगले यो वर्षको कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत नबढ्ने गरी आन्तरिक ऋण उठाउन सिफारिस गरेको छ । त्यस हिसाबले पनि सरकारले २ खर्ब ६९ अर्ब ऋण उठाउन पाउनेछ।

चालु आवको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले विस्तार गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ३.५ प्रतिशतमात्रै विस्तार भएको छ । यस्तै चैत मसान्तसम्म निक्षेप भने ३ खर्ब ५६ अर्बले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।यो तथ्याङ्क २०७९ असार मसान्तको भन्दा ७ प्रतिशतले बढी हो ।

सरकारले हालसम्म २ खर्ब ४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागको राष्ट्र ऋण परिचालन तालिकाअनुसार अझै ५९ अर्ब ३० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने विभिन्न औजारहरुको बोलकबोल हुनेछ ।

आईसीसी विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

जेठ १४, काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले जिम्बावेमा हुने आइसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा आईसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले एसीसी प्रिमियर कपमा रहेका १४ सदस्यीय टोलीमा दुइ खेलाडी थप गर्दै विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।

यसअघि घोषणा गरिएको २२ सदस्यीय टोलीबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्।

विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकाका नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ। त्यसका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ।
जिम्बावेमा नेपालले जेठ ३० गते युएई र जेठ ३२ मा ओमानसँग अभ्यास खेल खेल्नेछ।

छनोटमा नेपाल वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स सहित समुह ए मा रहेको छ भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन्।

प्रतियोगिता असार ३ देखि २४ गतेसम्म हुनेछ भने,छनौट भएका नेपालि खेलाडीमा, रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद मिनाहा: ५०१ जनाले पाए आम माफी

जेठ १४ ,काठमाडौँ — गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले, जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी गरेका छन्।

टीकापुर घटनामा सर्वोच्चले दोषी ठहर गरेको पूर्वसांसद रेशम चौधरीसहित १९ जनाको कैद सजाय मिनाहा गर्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

नेपालको संविधानको धारा २७६ तथा फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम उनीहरुलाई माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यसैगरी,संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम अन्य ४८२ जनाको पनि बाँकी कैद सजाय मिनाह गरिएको छ।

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्द सर्वोच्चमा निवेदन

जेठ १४,काठमाडौं : जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै, सर्वोच्चले समेत जन्मकैदको फैसला तोकेको टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा आम माफी दिएको छ।

यसैबीच, टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले, रेशम चौधरीलाई आममाफी दिने सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी छन् ।

अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।

वि.सं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो

जेठ २ , काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँको दरले घटाएको छ ।

मङ्गलबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि, निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको डिजेल र मट्टीतेल घटेको मूल्य अनुसार १५५ रूपैयाँ कायम भएको छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

सर्वोच्चद्वारा रेशम चौधरीको जन्मकैदको फैसला सदर

जेठ २, काठमाडौँ – जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सदर गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।

सोही मुद्दामा जन्मकैदको सजाय पाएका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाई दिँदै उनीहरुलाई जेलमुक्त गर्न आदेश दिएको छ ।

जिल्ला अदालतको फैसलाबमोजिम तीन वर्ष कैद भुक्तान गरेका सोहि मुद्दाका अर्का आरोपी लक्ष्मण थारुलाई भने उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।

जेठ ५ गतेदेखि १५ गतेसम्म मेलम्चीको खानेपानी वितरण बन्द हुने

जेठ-१, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट वितरण हुँदै आएको पानि पानी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिनका लागि बन्द गर्ने भएको छ।

आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायतका संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न २०८० जेठ ५ देखि १५ गतेसम्म १० दिनका लागि आयोजनाको मेलम्ची सुरुङ बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन सो उपकरण जडान गर्न लागिएको र उक्त १० दिनको अवधीभर काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका हेरफेर हुने पनि बताइएको छ। खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको छ।

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्।

पक्राउ पूर्जी जारी भएपछी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर फरार भएका थिए। एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको ११औँ दिन आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

रायमाझी अहिलेसम्म भारतमा लुकेका र भारतको नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ । रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली भारतमै आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र उनलाई पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेको भएपनि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनि फरार थिए । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले २० वैशाखमा नै पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री खाँणलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

वैशाख ३१ , काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै खाँणसहित अन्य १२ जनालाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेकोमा,काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईसहितका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा राखेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा भने फरार रहेका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र साथमा २ वटा मोबाइल ल्याउन पाउने

वैशाख ३१, काठमाडौं – यसअघि मन्त्रिपरिषद बैठकले विदेशबाट फर्कने नेपालीले साथमा २ वटा मोबाइल ल्याउन पाउने भनि गरेको निर्णयलाई भन्सार विभागले थप व्याख्या गर्दै, श्रम स्वीकृति लिएर कम्तिमा ६ महिना वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र सो सुबिधा पाउने जनाएको छ ।

भन्सार विभागको यो निर्णयसँगै,अब श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै निशुल्क थप एउटा मोबाइल ल्याउन पाउनेछन् भने, विदेश अध्ययनमा गएका विध्यार्थी र पर्यटन भिषामा विदेश गएका नेपालीले भने आफुले बोकेको बाहेक थप अर्को मोबाइल ल्याउँदा भन्सार विभागले तोके बमोजिम कर तिर्नुपर्ने छ।

भन्सार विभागले, विदेशवाट फर्किने यात्रु जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने र आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने जनाएको छ भने, उक्त एक थान मोबाइल व्यक्ति आफैंले नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एडीएमएस)मा अनलाइन माध्यमबाट दर्ता गर्न सकिने बताएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले निशुल्क ल्याउन पाउने थप १ थान मोबाइलको भने भन्सार प्रज्ञापनपत्र लिनुपर्ने र सोही प्रज्ञापनपत्रका आधारमा एमडीएमएसमा सो फोन दर्ता गर्न सकिने भन्सार विभागले जनाएको छ ।

तर, पर्यटन भिषामा विदेश गएर फर्किएका र वैदेशिक अध्ययनबाट फर्किएकाहरुले ल्याउने दोस्रो फोनमा भने भन्सार महसुल लाग्ने र दोस्रो फोनको भन्सार प्रक्रिया पुरा गर्दा तोकिएको महसुल तिरेपछि प्रज्ञापन पत्र पाइने र त्यही प्रज्ञापनपत्रका आधारभा एमडीएमएसमा दर्ता हुन सकिने व्यवस्था गरिएको भन्सार विभागले जनाएको छ।

विदेशबाट ल्यााएको मोबाइलमा नेपाली मोबइल सेवा प्रदायकको सिम प्रयोग गरेको १५ दिनभित्र एमडीएमएसमा दर्ता नभए उक्त मोबइल नेपालमा नचल्ने पनि भन्सार विभागले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%82%e0%a4%a6%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b5/

संक्रमणकालीन न्याय र संवैधानिक परिषद सम्बन्धी विधेयक अघि बढाउन सहमति

वैशाख ३१ , काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरुबीच भएको बैठकले संक्रमणकालीन न्याय र संवैधानिक परिषद सम्बन्धी विधेयकलाई अघि बढाउने गरी छलफल टुंग्याएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले, दफावार छलफलका लागि कानुन न्याय तथा मानवअधिकार समितिमा पुगेको सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई अब प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी, प्रमुख तीन दलका शिर्ष नेताहरुले संवैधानिक परिषद सम्बन्धी विधेयकमा आफ्नो अडान छाडेपछि संवैधानिक परिषद सम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

संवैधानिक परिषदको विधेयक सम्बन्धमा, संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पारित गर्ने अडानबाट सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पछाडि हटेपछि, संवैधानिक परिषदको अध्यक्षको सहमति बिना नै एजेण्डा तय गर्न, बैठक बोलाउन र बहुमतका आधारमा निर्णय हुन सक्ने व्यवस्था राख्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि पछाडि हटेको छ ।

प्रतिनिधिसभामा रहेका १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखा समितिसहित थप एक समितिको नेतृत्व पाउने र दुई वटा संयुक्त समितिमध्ये ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति पाउने गरि शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ।

माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्रका लागि आवेदन खुला

वैशाख ३१ , काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ ।

वैशाख २९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोगले सुचना प्रकाशित गर्दै माध्यामिक तहको अध्यापन अनुमति पत्रको आवेदन खुला गरिएको जनाएको छ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन https://license.tsc.gov.np मार्फत दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि कुनै पनि विवरण परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

मा‌‌ओवादी लडाकु शिविरको घोटाला छानबिन गर्न एमालेको माग

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले मा‌‌ओवादी लडाकुहरूका नाममा भएको घोटाला लगायत अन्य भ्रष्टाचारका विषयमा छानबिन गर्न माग गरेको छ ।

नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको र यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएकोले, नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गर्दै ति सबै घटनाहरुको छानबिन गर्दा पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको भन्दै उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्षरूपमा छानबिन गरी दोषीमाथिकारवाही माग गरेको छ । घटना छानबिनको क्रममा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको पनि नेकपा एमालेले बताएको छ।

व्यापारीका प्रतिनिधिहरूलाई अर्थ मन्त्रालयमा राखेर उनीहरूका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरूप यतिबेला मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको र भागबण्डा र मिलेमतोमा अर्थतन्त्र निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरूको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको एमालेले बताएको छ।

हिन्दु राज्य भन्दै नहिंड्नू :संघीयताबारे पुनर्विचार गर्न सकिन्न: केपी ओली

वैशाख-३०, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताका विषयमा पुनर्विचार नगर्ने र पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् ।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले, पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने र पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएको, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा गोकुल बास्कोटा र महेश बस्नेत लगायतका नेताहरुले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेपछी अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गर्दै, एमाले संविधान निर्माता पार्टी भएको र संविधानको पिल्लरहरुलाई चलाउने काम एमालेबाट नहुने बताएका छन्।

दुई चार जनाले हिन्दु राज्य भनेको भरमा, नेकपा एमालेको चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो भनेर गलत हल्ला चलाइएको र मुलुक अब पछाडि फर्कंदैन भन्ने कुरा प्रष्ट राख्दै ओलीले उक्त खुराको खण्डन गरेको प्रचार विभाग उपप्रमुख रिजालले बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १५ तोला सुनसहित तिन जना पक्राउ

हिमालयन एयरलायन्सको विमानमा शनिबार दुबईबाट काठमाडौं आइपुगेका तीन जनालाई करिब १५ तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा खटिएको प्रहरीले मध्यपुर ठीमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझीलाई जाँचबुझको क्रममा सुनसहित पक्राउ गरेको हो।

सोधपुछको क्रममा उक्त सुन उनीहरुको नभएको र उनीहरुलाई भरियाको रुपमा मात्र प्रयोग गरिएको पत्ता लागेपछि प्रहरीले उनीहरूलाई नै प्रयोग गरेर सुन लिन आएका रामेछापका सुरेन श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह नेपालमा सक्रिय रहेको र त्यसतर्फ विशेष निगरानी बढाएको प्रहरीले बताएको छ।

अब विदेशबाट फर्कंदा दुईवटा मोबाइल ल्याउन पाइने

वैशाख २६, काठमाडौँ- वैदेशिक रोजगारीबाट फर्कंदा अब नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् ।

यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले साथमा बोक्दै आएको एउटा बाहेक अन्य मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गर्दै आएको थियो। मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले, झिटीगुण्टा सम्बन्धी नियमावली संशोधन गर्दै, वैदेशिक रोजगारीबाट फर्कने नेपालीले अब आफ्नो साथमा बढीमा दुई वटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशीक रोगगारी बाट फर्कने नेपालीको मोबाइल जफत गरेको भन्दै उनीहरुले सरकारको विरोधमा ” रेमिट्यान्स चल्ने मोबाइल नचल्ने” भन्दै नो रेमिट्यान्स अभियान नै चलाएका थिए।

सञ्चार र श्रम मन्त्रालयले आवश्यक समन्वय र गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गर्ने सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ।

क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न चिनको आदेश

चीनले आफ्नो सांघाई वाणिज्य दूतावासमा कार्यरत क्यानडाकी कूटनीतिज्ञ जेनिफर लिन लालोन्डेलाई देश छाड्न आदेश दिएको छ।

क्यानडाले सोमबार चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई, क्यानाडाली सांसदलाई प्रलोभनमा पार्ने र धम्क्याउने प्रयास गरेको आरोपमा देश छोड्न आदेश दिएपछि चीनले बदलास्वरूप क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।

क्यानाडाली कूटनीतिज्ञलाई हटाउने आदेश पछि चीनले एक विज्ञप्ति जारी गर्दै “चीनले प्रतिक्रिया स्वरुप थप प्रक्रियाको अधिकार सुरक्षित राख्दछ ” भन्ने अभिव्यक्ति दिएको छ।

दुवै कूटनीतिज्ञलाई देश छाड्न पाँच दिनको समय दिइएको छ।

क्यानाडाका सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लंघनको आरोप लगाएपछि क्यानडाले, चीनले आफ्ना विपक्षी सांसद माइकल चोङ र हङकङमा रहेका उनका आफन्तहरूलाई निशाना बनाएको आरोप लगाएको थियो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ : पाकिस्तानमा विरोध प्रदर्शन

पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको आरोपमा राजधानी इस्लामावादको अदालतमा उपस्थित हुँदा पक्राउ परेपछि पाकिस्तानका सहरहरूमा विरोध प्रदर्शन सुरु भएको छ ।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले समर्थकहरूलाई सडकमा आउन आग्रह गरेको छ र खानका हजारौं समर्थकहरूले राजधानी इस्लामावाद, कराँची, लाहोर, पेशावर र अन्य सहरहरूमा उनको गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका छन् । सरकारबाट बाहिरीएसंगै उनिमाथि दर्जनौं मुद्दाहरु लगाइएको छ र ति सबै आरोपहरु निराधार भएको र केवल राजनीतिक प्रतिशोधको लागि आफुमाथी प्रहार गरिएको उनले बताएका छन्।

यता,इस्लामाबाद पुलिसले भने इमरान खानलाई कादिर ट्रस्ट मुद्दामा गिरफ्तार गरिएको बताएको छ।

अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारको सम्पूर्ण अधिकार भारतलाई दिने सरकारी चलखेल

भारतीय दबाबमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा टुंगो लगाउने गरि तयारी सुरु

भारतीय दबाबमा नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाअन्तर्गतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) भित्र रहेर भारतीय कम्पनी गेटवे पेमेन्ट सर्भिस प्रा.लि. (जीपीएस) लाई जिम्मेवारी दिन सरकार तयार।

अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारको सम्पूर्ण अधिकार भारतलाई जिम्मा लगाउने गरि सरकारले तयारी थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा टुंगो लगाउने गरि भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अगाडी बढाइएको छ।

नेपाल र भारतबीच डिजिटल वालेट तथा क्यूआर कोडमार्फत नेपालमा हुने कारोबार व्यवस्थापनको जिम्मा नेपालले नै गर्ने गरी, जीटूजी सम्झौता गर्न नेपाल राष्ट्र बैंकले राखेको लिखित प्रस्ताव विपरीत सरकारले डिजिटल वालेट तथा क्यूआर कोडमार्फत हुने सम्पूर्ण आर्थिक कारोबारको जिम्मा भारतीय कम्पनीलाई सुम्पिन लागेको हो।

यसरी नेपालतर्फको कारोबारको जिम्मा भारतीय कम्पनीले पाउँदा देशको वित्तीय विवरण सिधै भारतीय कम्पनीको पहुँचमा पुग्नेबारे राष्ट्र बैंकका अधिकारीहरूले ध्यानाकर्षण गराउँदा पनि सरकारले राष्ट्र बैंकको प्रस्तावको वेवास्ता गरि यस्तो तयारी अघि बढाएको बुझिएको छ।

नेपाल राष्ट्र बैंकले आफ्नो र बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना भएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई उक्त कारोबारको जिम्मा दिन प्रस्ताव गरे पनि सरकारले भने सिधै भारतीय कम्पनीको एजेन्टका रूपमा गेटवे पेमेन्ट सर्भिस प्रा.लि. (जीपीएस) लाई सम्पूर्ण जिम्मा दिन तयारी गरेको छ। जीपीएसले भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) अन्तर्गतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली चलाउने सम्झौता गरेको छ ।

भारतीय दबाबमा सरकारले सो सम्बन्धि सम्पूर्ण जिम्मा भारतीय कम्पनीलाई सुम्पन लागेको बताइएको छ। यसका लागि नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले समेत दबाब दिएको र सोहि अनुसार सरकारले तयारी थालेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

रेशम चौधरी छुटाउन कानुन संशोधन प्रक्रिया अघि बढाउँदै सरकार

वैशाख २४- अदालतले दोषी करार गरी जेलमा रहेका टीकापुर हत्याकाण्डका आरोपी,नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेको छ  ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिसकेको छ भने, आजको संसद अधिवेशनमा सो विधेयक प्रस्तुत हुँदैछ । केहि सांसदहरुले भने सरकारलाई समर्थन जनाउने शर्तमा,नागरिक उन्मुक्ति पार्टीकै दबाबमा सो विधेयक अघि बढेको पनि बताएका छन् ।

गत मंसिर २५ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले चौधरीलाई छुटाउन ल्याएको अध्यादेश विवादका कारण कार्यान्वयन हुन सकेको थिएन र अहिले सोही अध्यादेशका प्रावधानहरु राखेर विधेयक संशोधन गर्न लागिएको बताइएको छ।
फौजदारी कार्यविधि संहिताको दफा ११६ मा फिर्ता गर्न नमिल्ने मुद्दाको सूची छ । मुलुकी फौजदारी अपराध संहितामा नकारात्मक र सकारात्मक सूचीका मुद्दाहरू छुट्याइएर सकारात्मक सूचीमा रहेका मुद्दाहरू अहिले पनि अदालतको सहमतिमा फिर्ता लिन सकिने प्रावधान छ । नकारात्मक सूचीका मुद्दा फिर्ता लिन नमिल्नेमा ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान थप गरि चौधरीको मुद्दा फिर्ता गर्न लागिएको हो ।

टीकापुर घटनाको मुद्दामा ,सात प्रहरी र एक बालकको हत्याको आरोपमा चौधरीलाई दुई तहको अदालतबाट दोषी करार गरिएको थियो । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ हालको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

बजेट अधिवेशन सुरु

वैशाख २४-काठमाडौँ — आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । आज अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ  ।

संवैधानिक प्रावधान अनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते भित्र पेस गरिसक्नुपर्नेछ  । त्यस अघि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ ।अधिवेशनको पहिलो दिन आज मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश पनि पेस हुने संसद सचिवालयले जनाएको छ  ।

एक सय १० दिन चलेको पहिलो अधिवेशनको ९२ घण्टा ३० मिनेटको बैठकमा प्रतिनिधिसभाको नियमावली पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटक विश्वासको मत लिनेबाहेक न त कुनै उल्लेख्य काम हुन सक्यो न कुनै विधेयक पारित भयो  ।

अघिल्लो अधिवेशनमा सांसदले उठाएका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै,जनताका प्रतिनिधिले उठाएका प्रश्नको सम्बोधन सरकारले आउँदो अधिवेशनमा गर्नुपर्ने सांसदहरुले बताएका छन्  । सरकारले फिर्ता लिएको यस अगीको निजामती कर्मचारी विधेयक र राष्ट्रपतिले प्रमाणीकरण नगरेकै कारण कार्यान्वयन हुन नसकेको नागरिकता विधेयकलाई पनि यही अधिवेशनमा अघि बढाउनुपर्ने दबाब सरकारलाई रहेको छ ।

राज्याभिषेकको क्रममा राजतन्त्र विरोधी समूहको गिरफ्तारीलाई लिएर बेलायती प्रहरीको आलोचना

राज्याभिषेकको क्रममा राजतन्त्र विरोधी समूहको गिरफ्तारीलाई लिएर बेलायत प्रहरीको आलोचना भएको छ।

राज्याभिषेकको दिनमा राजतन्त्र विरोधी प्रदर्शनकारीहरूको गिरफ्तारीलाई मानवअधिकारवादी समूहहरूले “डरलाग्दो” भनेका छन्। लण्डनमा राज्याभिषेकको दिनमा राजतन्त्र विरोधी समूहलाई पक्राउ गरेकोमा मानवअधिकारवादी समूह र सांसदहरूले महानगरीय प्रहरीको आलोचना समेत गरेका छन् ।

यद्यपि, आलोचनाको जवाफ दिँदै, प्रहरीले भने “विरोध अपराधिक बन्न सक्ने र राज्याभिषेकको क्रममा गम्भीर अवरोध निम्त्याउन सक्ने भएको हुँदा हस्तक्षेप गर्नु परेको बताएको छ । स्कटल्याण्ड यार्डले पनि स्थितिलाई हेरेर “सोही ढंगले काम गरेको” भन्दै प्रतिक्रिया दिएको छ। राज्याभिषेकको समयमा सार्वजनिक उपद्रव फैलाउने, द्वन्द्व सिर्जना गर्ने , सार्वजनिक व्यवस्थाको उल्लङ्घन , शान्ति भंग र षड्यन्त्र लगायतका अपराधमा प्रहरीले ५२ जनालाई पक्राउ गरेको थियो।

प्रदर्शनकारीहरुले, उनीहरूको विरोध शान्तिपूर्ण भएको तर प्रहरीले भने हस्तक्षेप गरेको बताएका छन्।

लेबर सांसदहरूले प्रहरीको उक्त हस्तक्षेपको आलोचना गर्दै अभिव्यक्ति स्वतन्त्रता चाँदीको धागो हो जुन संसदीय संवैधानिक राजतन्त्र मार्फत चल्छ भन्ने प्रतिक्रिया दिएका छन् ।

coronation.charles 3

छायाँ मन्त्री जेस फिलिपले पनि सामाजिक सञ्जाल प्रयोग गरेर “हाम्रो राष्ट्र र हाम्रो राजा यति कमजोर छैन कि फरक दृष्टिकोणको हानिरहित विरोधको सामना गर्न सक्षम हुनुहुन्न” भन्ने अभिव्यक्ति दिएका छन् ।

लेबर सांसद रिचर्ड बर्गनले पनि शान्तिपूर्ण विरोध गर्ने अधिकार लोकतन्त्रको आधारभूत सिद्दान्त भएको बताएका छन्।

ह्युमन राइट्स वाचका बेलायती निर्देशक यास्मिन अहमदले भने, “पुलिसको कारबाहीले आफु लन्डनमा नभई मस्कोमा रहेको आभाष भएको ” बताएका छन् ।

राज्याभिषेकको क्रममा “नट माई किंग” टी-सर्ट लगाएका प्रदर्शनकारीहरूलाई हिरासतमा राखिएको थियो।

पोखरा र वीरगन्जमा नेपाल टेलिकमको फाइभजी ट्रायल सुरु

काठमाडौं, वैशाख २३ – नेपाल टेलिकमले काठमाडौंपछि पोखरा र वीरगन्जमा पनि फाइभजी परीक्षण सुरु गरेको छ । सरकारले सुरुमा काठमाडौं, पोखरा, वीरगन्ज र विराटनगर गरी चार सहरमा परीक्षण गर्ने योजना बनाएको थियो। तर, फाइभजीमा चिनियाँ प्रविधिको प्रयोगमा अमेरिकी दबाबका कारण नेपाल टेलिकमले परीक्षण प्रक्रियालाई तीव्रता दिन सकेको छैन ।

काठमाडौंको बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजीको परीक्षण गरिरहेको नेपाल टेलिकमले अहिले पोखरा र वीरगन्जमा परीक्षण प्रक्रिया सुरु गरेको छ ।टेलिकमले काठमाडौं (वाग्मती), पोखरा (गण्डकी) र वीरगञ्ज (मधेश प्रदेश)पछि बाँकी चार प्रदेशमा फाइभजी परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ ।

हालको परीक्षण सफल भएपछि फाइभजीलाई व्यावसायिक रूपमा विस्तार गर्ने नेपाल टेलिकमले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा गृह मन्त्रालयको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको हो  ।

डा. राईविरुद्ध पीडितहरूले जाहेरी दिएपछी अनुसन्धानका क्रममा उनलाई प्रहरीले ललितपुरको सौखेलस्थित निवासबाटै पक्राउ गरी काठमाडौं परिसरको टेकुस्थित हिरासतमा राखिएको छ । डा. राईलाई संगठित अपराध र ठगीसम्बन्धी कसुरमा कारबाही अघि बढाइएकोे प्रहरीले जनाएको छ।

प्रहरीले राईसँग गृह मन्त्रालयका अन्य व्यक्तिहरूविरुद्ध पनि प्रमाण जुटेको र गृहका तत्कालीन अधिकारी तथा केही उच्चपदस्थ कर्मचारी उपर पनि छानबिन अघि बढेको जनाएको छ। घटनामा डा. राईका छोरा नीरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ भने पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाको पनि घटनामा संलग्ननाता रहेको बताइएको छ । प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पनि पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक हुन् भने, शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए ।