शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । योसँगै फ्रेन्डसले प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । फ्रेन्डसका लागि आजको खेलमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई तथा श्यामबाबु केप्छ्याकीले एक गोल गरे ।
ब्रिगेड ब्वाइजका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा सुशीलले फ्री–किकमार्फत गोल गर्दै फ्रेन्डसलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो जीतसँगै अङ्क तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस तत्कालका लागि रेलिगेसन जोनबाट जोगिएको छ । दश खेलबाट ६ अङ्क जोडेर फ्रेन्ड्स १२औँं स्थानमा उक्लिएको छ । हारसँगै समान ६ अङ्क नै रहे पनि बिबिसी अङ्क तालिकाको १३औँ स्थानमा छ । त्यस्तै ५ अङ्क बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्