स्वीडेनको नेटो सदस्यतालाई टर्कीको समर्थन

टर्कीको ग्रान्ड नेशनल एसेम्बली (संसद) ले स्वीडेनको नेटोमा प्रवेशको अनुमोदन गर्ने विधेयक पारित गरेको छ।

टर्कीको समर्थनसंगै हंगेरी एक मात्र नेटो देश बनेको छ, जसले स्वीडेनको सदस्यतालाई अझै अनुमोदन गरेको छैन।

मतदानमा करिब ३ सय ४६ सांसदले भाग लिएका थिए जसमध्ये २८७ जनाले विधेयकको पक्षमा र ५५ जनाले विपक्षमा मत दिएका थिए भने अन्य चार जनाले मतदान बहिष्कार गरेका थिए ।

फिनल्याण्ड र स्वीडेनले मे १८ २०२२ मा नेटो गठबन्धनमा सामेल हुनका लागि आफ्नो आवेदन पेश गरेका थिए भने फिनल्याण्ड आधिकारिक रूपमा अप्रिल ४ २०२३ मा नेटो गठबन्धनमा सामेल भएको थियो।

नाइजरमा हस्तक्षेपको अर्थ युद्धको घोषणा हो

सोमबार पहिलो पटक संयुक्त विज्ञप्तिमा, माली र बुर्किना फासोका सैन्य सरकारहरूले पश्चिम र अन्य अफ्रिकी राज्यहरूलाई छिमेकी नाइजरमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । बामाको र ओआगाडोउगुले यस्तो कुनै पनि कदमलाई आफ्नै देशमा आक्रमणको रूपमा लिनेछन्, उनीहरूले भने।

“नाइजरको बिरूद्ध कुनै पनि सैन्य हस्तक्षेप बुर्किना फासो र माली विरुद्ध युद्धको घोषणाको बराबर हुनेछ,” संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।यस्तो हस्तक्षेपको अवस्थामा, दुई देशहरूले पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय बाट बाहिरिनेछन् र “सशस्त्र सेना र नाइजरका जनताको समर्थनमा आत्मरक्षा उपायहरू अपनाउनेछन्,” विज्ञप्तिमा भनिएको छ।

नाइजरको बिरूद्ध सैन्य हस्तक्षेपले “पूरै क्षेत्रलाई अस्थिर बनाउन सक्छ, जस्तै लिबियामा एकतर्फी नाटो हस्तक्षेप थियो, जुन साहेल र पश्चिम अफ्रिकामा आतंकवादको विस्तारको मूल थियो,” दुई सरकारहरूले भने।

फाइनान्सियल टाइम्सका अनुसार फ्रान्सको हाल नाइजरमा १३०० सेना र ड्रोन बेस छ, जबकि अमेरिकाको ११०० सेना र दुई ड्रोन बेसहरू छन्।

नाइजेरियाका सैनिकहरूले जनरल अब्दुरहमाने त्चियानीको नेतृत्वमा गत बुधबार राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरेका थिए। अफ्रिकी युनियनले शुक्रबार कूको निन्दा गर्दै नियामीमा जन्टालाई खडा हुन वा “दण्डात्मक उपायहरू” सामना गर्न १५ दिनको समय दिएको थियो।

दुई पूर्व फ्रान्सेली उपनिवेशका सैन्य सरकारहरूले पेरिससँग आफ्नो सम्बन्ध तोड्न र रूसी सहयोगमा आफ्नो राज्यको पुनर्निर्माण गर्न खोजेका छन्।यधपी, मस्कोले नाइजरमा भएको विद्रोहलाई “संवैधानिक विरोधी कार्य” भनी निन्दा गरेको छ, र रूसी विदेश मन्त्रालयले सबै पक्षहरूलाई बल प्रयोग नगर्न आग्रह गरेको छ।

आइतवार, जनरल चियानीको सरकारले फ्रान्समा युरेनियम र सुनको निर्यात निलम्बन गर्ने घोषणा समेत गरेको छ।

उनीहरुले,हामीसँग युरेनियम, हीरा, सुन, तेल छ र हामी दास जस्तै बाँचिरहेका छौं? हामीलाई सुरक्षित राख्न फ्रान्सेलीहरूको आवश्यकता पर्दैन भनि अफ्रिकी महादेशमा पश्चिमी उपनिवेशको विरोध गरेका छन्

नाइजर युरेनियमको विश्वको सातौं ठूलो उत्पादक हो, जसले विश्वव्यापी उत्पादनको ४% योगदान गर्दछजबकि हालसम्म फ्रान्सेली कम्पनीले देशको उत्पादनको लगभग दुई तिहाई नियन्त्रण गर्दछ।

क्रिमियाको विषयलाई लिएर युक्रेनलाई आणविक चेतावनी

पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले क्रिमिया कब्जा गर्ने युक्रेनी प्रयासलाई मस्कोले आणविक प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। यद्यपि, उनले कीभले प्रायद्वीप कब्जा गर्न सक्ने दाबी खोक्रो धम्की बाहेक अरू केही नभएको बताएका छन् ।

हाल रुसको सुरक्षा परिषद्को उपप्रमुखको रूपमा सेवा गरिरहेका मेदभेदेवले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै , “यदि हामीले क्रिमियालाई पुनः कब्जा गर्ने प्रयाससँग सम्बन्धित कुनै प्रकारको गम्भीर आक्रमणको बारेमा कुरा गर्छौं भने, यो स्पष्ट छ कि यो सबैखाले अस्त्रको प्रयोगको आधार हो। रसियाको विरुद्धमा कुनै पनि प्रकारको हतियारको प्रयोगले राज्यको अस्तित्वलाई खतरामा पार्दा आणविक प्रतिरोधको सिद्धान्तका आधारभूत सिद्धान्तहरूद्वारा प्रदान गरिएका सुरक्षाका साधनहरू समावेश हुने उनले बताएका छन्।

सन् २०१४ मा भएको जनमतसंग्रहमा स्थानिय जनताले रुसको पक्षमा मतदान गरेपछि क्रिमिया रूसको हिस्सा बनेको थियो । युक्रेन र यसका पश्चिमी समर्थकहरूले यो कदमलाई मान्यता दिन अस्वीकार गरेका छन् र कीभले बारम्बार प्रायद्वीपलाई बल प्रयोग गरेर फिर्ता लिने वाचा गरेको छ।

मेदभेदेवले जोड दिए कि रूसको भाग तोड्ने कुनै पनि प्रयास राष्ट्रको अस्तित्वको लागि खतरा मानिनेछ। “त्यसैले, आफ्नो निष्कर्ष निकाल्नुहोस्। यहाँ कुनै पनि हतियार प्रयोगको लागि बिल्कुल आधारहरू छन्। बिल्कुल कुनै पनि प्रकारको र मलाई आशा छ कि सागर पारिका हाम्रा ‘साथीहरूले’ यो कुरा बुझ्नेछन्, “पूर्व राष्ट्रपतिले भने।

आणविक द्वन्द्वको सम्भावना कम नभएको बरु बढ्दै गएको पनि उनले जोड दिए। हरेक दिन पश्चिमी हतियारहरू युक्रेनमा डेलिभर गरिन्छ, संसार “आणविक सर्वनाश तर्फ बढ्दै गएको छ,” मेदवेदेवले चेतावनी दिए, “यसको मतलब यो हुनेछैन भन्ने होइन, तर सर्वनाशका घोडचढीहरू चलिरहन्छन्।”

पूर्व रूसी नेताले यो पनि दावी गरे कि सैन्य सहायता र नाटोबाट “प्रत्यक्ष नगद सहयोग ” बिना,रूसी सेनाहरू विरुद्ध “कीभ शासन एक हप्ता पनि टिक्ने थिएन” । हतियारको आपूर्ति जति बढ्यो, परिस्थिति त्यति नै कठिन हुँदै जान्छ, मेदभेदेवले थपे।

उनले भने कि यो “स्पष्ट” छ किभले केहि प्रकारको नयाँ आक्रमणको तयारी गरिरहेको छ, यद्यपि रूसको जनरल स्टाफले आफ्नै मूल्याङ्कन गर्दैछ र प्रतिक्रियाको योजना बनाइरहेको छ। मेदभेदेवले रूसले सबै समस्याहरू शान्तिपूर्ण रूपमा समाधान गर्न रुचाउने कुरामा जोड दिए, तर पश्चिमले यस्तो समाधानमा चासो नदेखाएको पनि बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमण

चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमण जाने भएका छन्। चिनियाँ राष्ट्रपति आगामी सोमबार मस्को पुग्ने र तीन दिन बस्ने छन् ।

क्रेमलिन र चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सी जिनपिङले आगामी सोमबार रुसको राजकीय भ्रमण गर्ने छन् । भ्रमण बुधबारसम्म चल्नेछ । सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “व्यापक साझेदारीको थप विकासका पक्षहरू”बारे छलफल गर्ने क्रेमलिनको विज्ञप्तिमा उल्लेख गरिएको छ।पनि

क्रेमलिनका अनुसार अन्तर्राष्ट्रिय एजेन्डा र विश्व मामिलामा दुई राष्ट्रबीचको सहयोगको बारेमा पनि छलफल हुनेछ। रुसी र चिनियाँ अधिकारीहरूले धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने पनि अपेक्षा गरिएको छ।

पुटिनले डिसेम्बरको अन्तमा फोन कलको क्रममा सीलाई रूसमा निम्तो दिएका भएपनि यात्राको मिति घोषणा गरिएको थिएन। मस्कोले २०२२ को सुरुमा युक्रेनमा आफ्नो सैन्य अपरेशन सुरु गरेपछि पश्चिमा राष्ट्रहरुले नजिकबाट नियालिरहेको दुई मुलुकबिचको यो भ्रमण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

युक्रेन रुसलाई परमाणु आतंकवादको नाममा फसाउन चाहन्छ – मस्को

मस्कोले, रुसलाई फसाउन युक्रेनले परमाणु बम प्रयोग गर्ने कथित योजनाबारे पश्चिमलाई चेतावनी दिँदै आएको छ। यधपी पश्चिमले यी चेतावनीहरूलाई बेवास्ता गरेको छ।

रुसको रक्षा मन्त्रालयले, युक्रेनले रुस विरोधी शक्तिशाली अभियान सुरु गर्न मस्कोलाई आणविक आतंकवादी संगठनको रूपमा लेबल गर्ने योजना बनाएको दाबी गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार युक्रेनले रुसलाई बदनाम गराउन आफ्नै भूमिमा परमाणु बम प्रयोग गर्ने योजना बनाएको र पश्‍चिमा राष्ट्रहरुले यो घटनालाई विश्वास गर्न अस्वीकार गरेर बेवास्ता गर्दा खतरा झनै बढेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले स्थानीय जनतालाई धम्की दिन, युरोपेली युनियनमा शरणार्थी पलायन गराउन र मस्कोलाई “आणविक आतंकवादी” भनी चित्रण गर्नको लागि “परमाणु बम” विस्फोट गर्ने योजना बनाएको छ।

यता संयुक्त राष्ट्रसंघले भने द्वन्द्वमा संलग्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । एक ब्रीफिंगको क्रममा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले सबै पक्षहरूले थप द्वन्द्व निम्त्याउन सक्ने कार्यहरूबाट टाढा रहनुपर्ने बताएका छन्।

नेटो र रूसबीच सीधा टकरावको सम्भावना:रुसी विदेश मन्त्रालय

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले, युक्रेनमा नेटो हतियारको प्रवाह र किभको लागि सैन्य समर्थनले नाटो गठबन्धन र रूसबीच प्रत्यक्ष सैन्य भिडन्तको सम्भावना बढेको बताएकी छन्।

नेटो देशहरूले किभलाई हतियार र गोला बारुद आपूर्ति गर्नुका साथै खुफिया प्रशिक्षण कर्मचारीहरू प्रदान गरेर रुस विरुद्द सैन्य कारवाही कसरी सञ्चालन गर्ने भन्ने योजनामा अगाडी बढीरहंदा यसले नाटो राष्ट्र र रूसबीच प्रत्यक्ष सशस्त्र संघर्षको सम्भावना बढेको उनले बताएकी छन्।

जाखारोभाले पछिल्लो तथ्याङ्क अनुसार युक्रेनका लागि पश्चिमी सैन्य सहयोग ४२.३ बिलियन डलर पुगेको तथ्यमा समेत ध्यानाकर्षण गराएकि छन्।

जाखारोभाले नेटो देशहरू किभ शासनद्वारा गरिएका अपराधहरूमा मात्र सहयोगी नभई आतंककारी गतिविधिहरूको प्रायोजक भएको समेत बताएकी छन्।

रुस र युक्रनबीच कैदीबन्दी साटफेर

रुस र युक्रेनबीच भएको कैदीबन्दी साटफेर अन्तर्गत ११० रुसी नागरीक रुस फर्किएका रुसी रक्षा मन्त्रालयले जनाएको छ।

कैदी साटफेर अन्तर्गत रुसी ११० जना नागरिकको बदलामा, रुसले नियन्त्रणमा लिएको १०८ जना युक्रेनी महिला सैनिकहरुलाई रिहा गरेको छ। रिहा गरिएकामध्ये २ महिला सैनिकले भने आफु रुसमै बस्न चाहेकोले युक्रेन नफर्किने निर्णय गरेर रुसमा नै बस्ने जनाइएको छ।

युद्ध सुरु भएपछी कीभले फेब्रुअरीको अन्त्यमा युक्रेनी बन्दरगाहहरूमा रोकिएका डुङ्गाहरूमा सवार दर्जनौं रूसी नागरिकहरूलाई हिरासतमा लिएको थियो।

रुसी रक्षा मन्त्रालयका अनुसार, फेब्रुअरीको अन्त्यमा दुई छिमेकीहरू बीचको द्वन्द्व सुरु भएदेखि मस्को र कीभले बारम्बार कैदीहरू साटफेर गर्दै आएका छन्।
गत सेप्टेम्बरको अन्तमा पनि डोनबासका ५५ रूसी सैनिकहरूलाई युक्रेनले रिहा गरेको थियो भने रुसले पनि युक्रेनी विपक्षी नेता भिक्टर मेदवेदचुकलाई रिहा गरेको थियो ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार युद्ध सुरु भए यता, कैदीबन्दी साटफेर अन्तर्गत २ सय १५ युक्रेनी सैनिकहरुलाई रुसले रिहा गरिसकेको छ।

युक्रेनलाई ध्वस्त पार्ने रुसको मनसाय छैन : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ध्वस्त पार्ने रुसी संघको कुनै नियत नभएको बताएका छन् ।

कजाकिस्तानको राजधानी अस्तानामा क्षेत्रीय नेताहरूसँगको शिखर सम्मेलनपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भने, “आज के भइरहेको छ, त्यसलाई नम्रतापूर्वक भन्नु सुखद छैन।” “तर यो समयमा यदि रुसले आक्रमण सुरु नगरेको भए, युक्रेन आज जुन अवाथामा छ, त्यो अवस्थामा रुस हुने थियो। त्यसैले हामीले सबै कुरा सही तरिकाले सही समयमा गरिरहेका छौं।”

राष्ट्रपति पुटिनले युक्रेनलाई ध्वस्त पार्ने रुसको नियत नभएको तर युक्रेन नाटोमा सामेल भई रुसी महासंघलाई कमजोर पार्न पश्चिमाको पक्षमा खेल्दै आएकोले आक्रमणप्रति पश्चाताप नरहेको बताएका छन्।

युक्रेनले २४ लाख मानिसहरू बसोबास गर्ने क्रिमियामा पानी आपूर्ति कटौती गरेको र क्रिमियामा पानी आपूर्ति सुचारु गर्न प्रतिकार बाहेक रुससँग अरू कुनै विकल्प नभएको पनि उनले बताएका छन्।

किभमा भएको भर्खरैको मिसाइल आक्रमणको सवालमा भने , रुस र क्राइमिया बीचको एक महत्वपूर्ण पुलमा युक्रेनले गराएको विस्फोटको प्रतिक्रिया मात्र भएको र रुसी सेनाले लक्ष्य गरेको युक्रेनको २९ टार्गेट मध्ये २२ वटा नष्ट गरेको र बाँकी सातवटा पनि नष्ट गर्ने उनले बताएका छन्।

तर विश्लेषकहरुले भने,युक्रेनले आफ्नो आक्रमणलाई तिब्र रुपमा अगाडि बढाएको र सो क्षेत्रमा रुसको प्रभाव घट्दै गएको अवस्थामा रुसी सेना पछि हट्दै गएपछि पुटिनको यस्तो प्रतिक्रिया आएको बताएका छन्।

नेटो र ईयू विरुद्ध फ्रान्समा विरोध प्रदर्शन

फ्रान्सले नेटो र ईयू सम्बन्धी आफ्नो अडान परिवर्तन गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरूको ठूलो भीडले फ्रान्सको पेरिसमा विरोध र्‍याली गरेको छ ।

प्रदर्शनकारीहरूले ‘प्रतिरोध’ र ‘फ्रेक्सिट’(फ्रान्सले युरोपियन युनियन छोड्नुपर्ने माग) लेखिएको ठूला ब्यानर बोकेर र्‍यालीमा सहभागी भएका थिए।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोका अनुसार प्रदर्शनकारीहरुले “नाटो र युरोपियन युनियनबाट बाहिर निस्कौं” भन्ने नारा समेत लगाएका थिए।
उनीहरुले संसद भवन नजिक जुलुस निकाल्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पदच्युत गर्न पनि माग गरेका छन् ।

प्रदर्शनकारीहरूले नाटोको “युद्धअपराध ” को निन्दा गर्दै, हाल भइरहेको आर्थिक संकट र उर्जा लगायत स्वास्थ्यमा देखिएका प्रतिबन्धहरु, युक्रेनको द्वन्द्वमा रूसमा युरोपियन युनियन र नेटोले लगाएको प्रतिबन्धको कारण भएको भन्दै सो कदमको निन्दा समेत गरेका छन्।

रुसलाई क्रिमियासँग जोड्ने पुलमा विस्फोट

रुसलाई क्रिमियासँग जोड्ने क्रिमियन ब्रिजमा विस्फोट भएको छ।

क्रिमियन ब्रिजमा भएको ट्रक विस्फोटमा तीन जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ ।

शनिबार बिहान क्रिमियन ब्रिजमा एउटा ट्रक विस्फोट हुँदा रेलवे लिकमा रहेका धेरै इन्धन ट्याङ्कीमा आगो लागेको थियो। सडक पुलको दुई स्प्यान भत्किएको र क्राइमियाबाट क्रास्नोडार क्षेत्रतर्फ जाने एकतर्फी लेन भने सुरक्षित रहेको बताइएको छ। पुलको सडक र रेलवे भागमा भने यातायात ठप्प रहेको छ। रुसी सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।

यता रुसले भने उक्त घटनाले युद्दलाई थप आक्रामक बनाएको संकेत गरेको छ। रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले,क्रिमियन ब्रिजमा भएको विस्फोटको घटनाप्रति युक्रेनको प्रतिक्रियाले किभ शासनको आतंकवादी प्रकृतिलाई उजागर गरेको बताएकी छन्।

रुसको नयाँ सिमा निर्धारण: विधानसभामा सन्धि सम्झौता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभिएका चारवटा नयाँ क्षेत्रहरूलाई समाहित गर्दै चारवटा नयाँ सन्धि सम्झौता अनुमोदनका लागि विधान सभामा पेश गरेका छन्।

रुसको संवैधानिक अदालतले मान्यता दिएको उक्त सन्धि सम्झौता अनुसार युक्रेनका चारवटा भूभागहरुलाई रुसले आफ्नो भूभागको मान्यता दिएको छ। जनमतसंग्रह पछिको यो सन्धि सम्झौतासँगै अब युक्रेनका तत्कालिन ति चार क्षेत्रहरुको सिमाना रुसको युक्रेनसंगको सिमानाको रुपमा कायम हुनेछ।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्र र जापोरोज्ये र खेरसन क्षेत्रका प्रमुखहरूले रुससँग यी क्षेत्रहरू एकीकरण गर्ने सन्धिमा हस्ताक्षर गरेका थिए।

युक्रेनीहरूले रूसमा सामेल हुन जनमत संग्रह गर्ने

जनमत संग्रहको विरुद्ध कीभले बल प्रयोग गर्ने

डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रहरूमा सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने ।

डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रका युक्रेनीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म रुसमा गाभिने विषयमा जनमत संग्रह गर्ने बताएका छन्।

लुहान्स्क जन गणतन्त्रका प्रमुख, लियोनिद पासेचनिक “लुहान्स्कलाई रूसमा समावेश गर्न जनमत संग्रह गराउने” कानुनमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति हुन्, जसको संसदले सर्वसम्मतिले सो कदमलाई समर्थन गर्दै जनमत संग्रहको लागि मिति समेत तय गरेको छ ।

लुहान्स्क जन गणतन्त्रको निर्णय लगत्तै, डोनेट्स्क जन गणतन्त्रका प्रमुख डेनिस पुशिलिनले पनि डोनेट्स्क राज्यले समेत सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह गर्ने घोषणा गरेका छन् । पुसिलिनले आफ्नो संसदमा यसअघि नै जनमत संग्रह सम्बन्धित ऐन पेश गरिसकेको बताएका छन् ।पुसिलिनले,रुसलाई सधैं आफ्नो मातृभूमि मानेका डोनबासका जनताहरू सो महान देशको हिस्सा हुन योग्य रहेको समेत बताएका छन्।

डोनबास क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनमा सेना पठाउनुअघि नै स्वतन्त्र रूपमा मान्यता दिएका थिए।

जनमत संग्रह दक्षिणी खेरसन क्षेत्र र आंशिक रुसी नियन्त्रित जापोरिझिया क्षेत्रमा पनि हुने बताइएको छ ।

खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले रुसी संघमा खेरसन क्षेत्रको प्रवेशले हाम्रो भूभाग सुरक्षित गर्ने र ऐतिहासिक न्याय पुनर्स्थापित गर्ने बताएका छन् । हाम्रो माटोमा नागरिक मार्नको लागी युक्रेनमा हतियार आपूर्ति गर्ने नेटो सदस्य देशहरुको सशस्त्र सेनाद्वारा लगातार सिर्जित आतंकको सामना गर्न जनमत संग्रह आवश्यक निर्णय भएको पनि उनले बताएका छन्।

जापोरिझियाको प्रमुख, येभ्गेनी बालित्सकीले पनि सेप्टेम्बर 23 देखि २७ सम्म जापोरिझिया क्षेत्रमा जनमत संग्रहको लागी हस्ताक्षर गरेको बताएका छन् ।

युक्रेनी क्षेत्रहरुमा जनमत संग्रहको घोषणा भए लगत्तै रुसी संसद्का प्रमुखले पनि रुससँग जोडिने क्षेत्रहरूलाई मस्कोले समर्थन गर्ने बताएका छन् ।

रुस नियन्त्रित क्षेत्रमा जनमत संग्रहको तयारी चलिरहँदा ,कीभले भने जनमत संग्रहमा सामेल हुने र विभाजन गरिएका क्षेत्रहरू विरुद्ध बल प्रयोग गर्ने घोषणा गरेको छ। युक्रेनी क्षेत्रहरू रूसमा गाभिएमा रूस र युक्रेन बीचको युद्ध अझै चर्किने सम्भावना बढेको छ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले पनि जनमत संग्रहमा भाग लिने व्यक्तिलाई १२ वर्षसम्म जेल सजाय हुन सक्ने बताएकी छन् ।

नाटोले कोसोभोमा आफ्नो उपस्थिति बढायो

सर्बिया र कोसोभो नेताहरू बीचको वार्ता असफल भएपछि अमेरिकी सेनाहरू उत्तरी कोसोभोमा पठाइएको बताइएको छ।

नेटोको नेतृत्वमा रहेको कोसोभो फोर्स (केएफओआर ) ले बेलग्रेड र प्रिस्टिनाबीच जारी तनावको बीचमा प्रान्तको उत्तरी भागमा आफ्नो गस्ती बढाएको छ। सर्बिया र कोसोभो बीचको सिमानामा दुईवटा चेकपोस्टहरूमा सेनाहरू उल्लेखनीय संख्यामा तैनाथ गरिएको छ भने आवश्यक भएमा केएफओआरले “हस्तक्षेप” गर्ने जनाएको छ।

बिहीबार सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिक र कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीबीचको वार्ता असफल भएपछी यो कदम चालिएको हो।

नेटो नेतृत्वको सैन्य बलले सबैलाई आश्वस्त पार्दै आवश्यक भएमा केएफओआरले हस्तक्षेप गर्न तयार रहेको बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले कोसोभोको “स्थिरता” खतरामा परेको खण्डमा सैन्य समूहले कारबाही गर्ने वाचा गरेको तीन दिनपछि यो घटना भएको हो।

यता मस्कोले भने, पश्चिमले बेलग्रेड र प्रिस्टिना बीचको द्वन्द्वलाई उकास्न र सर्बियालाई रुस विरोधी प्रतिबन्धहरू अपनाउन दबाब दिएको आरोप लगाएको छ।

यो युद्द अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात हो:पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन तयार रहेको तर वार्ताको सम्भावनालाई अस्वीकार गर्नेहरूले जारी द्वन्द्वलाई लम्ब्याउँदा त्यसले झन् अप्ठेरो परिस्थितिको सिर्जना गर्ने बताएका छन्।

रुस युक्रेन द्वन्दकोबीच रूसले आफ्नो क्षमता गुमाइसकेको भन्नेहरुलाई राष्ट्रपति पुटिनले, आफुले अहिलेसम्म त केहि पनि सुरुवात नगरेको र रुसलाई हराउन सक्छु भन्नेहरुलाई प्रयास गरेर देखाउन चुनौती दिएका छन्।

पुटिनले पश्चिमा मुलुकहरु अन्तिम एक युक्रेनी रहेसम्म लड्न इच्छुक देखिनु युक्रेनी जनताका लागि दुःखद भएको बताएका छन्। रुसले निष्पक्ष अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली सिर्जना गर्न गरेको निरन्तर प्रयासलाई नाटोले खतरामा पारेको पनि उनले बताएका छन्।

रुस र युक्रेन बीचको द्वन्द्वलाई उक्साउने पश्चिमको लक्ष्य स्पष्ट रूपमा सफल भएको तर मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेशन सुरु गर्नु नै पश्चिमा मुलुकहरुको हार भएको उनले बताए। यो युद्दको सुरुवात भनेको अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन्।

रुसलाई खेलकुद व्यवस्थापन बोर्डबाट हटाउन पश्चिमी शक्ति राष्ट्रहरूको आग्रह

पश्चिमी शक्ति राष्ट्रहरूले युक्रेन आक्रमणमा सम्बद्ध रूसी र बेलारूसीहरूलाई खेलकुद व्यवस्थापन बोर्डबाट हटाउन अन्तर्राष्ट्रिय खेलकुद संघहरूलाई आह्वान गरेको छ।

पश्चिमका 35 राष्ट्रहरू र जापान र दक्षिण कोरियाले संयुक्त विज्ञप्ति मार्फत मार्च 8 मा रूस वा बेलारूसमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू नगर्न र उनीहरूका नागरिकहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ।

विज्ञप्तिमा रूसी र बेलारूसी प्रशासनिक निकायहरूलाई अन्तर्राष्ट्रिय खेल संघहरूबाट निलम्बन गर्न समेत आह्वान गरिएको छ।यसैबीच अन्तर्राष्ट्रिय प्रशासकीय निकायले रुस र बेलारुसलाई विश्व आइस हक्की च्याम्पियनसिपमा प्रतिबन्ध लगाएको छ ।

रुसद्वारा युक्रेनको दुई सहरमा युद्धविराम घोषणा

युक्रेनसँगको द्वन्द्वको दशौं दिन रुसले युक्रेनको दुई सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार आज मस्कोको स्थानिय समय अनुसार बिहान १० बजे मानवीय सहायताका लागि युद्धविराम घोषणा गरिएको हो ।युद्धविरामको अवधिमा मारिपोल र भोल्नोभाखाका स्थानीयहरूलाई बाहिर निकाल्न मानवीय कोरिडोर खुल्ला गरिएको रुसले जनाएको छ।

दुई देशका अधिकारीबीचको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि करिडोर खोल्ने सहमति भएको थियो ।

रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरलाई लक्षित नगरेको दाबी गरेको छ । रुसले नागरिकलाई कुनै खतरा नभएको र सैन्य संरचनामा मात्र आक्रमण भएको दाबी गरेको छ ।

नाटोले रुसको सिमामा आफ्नो सैन्य उपस्थिति बढाउन “बहाना” को रूपमा संकटको प्रयोग गरेको रुसको आरोप

नाटोले रुसको सिमाना नजिक आफ्नो सैन्य उपस्थिति बढाउन “बहाना” को रूपमा संकटको प्रयोग गरेको, रुसले आरोप लगाएको छ।

रुसले नाटोमा सामेल हुने आफ्नो छिमेकीको प्रयासको कडा विरोध गरेको छ तर युक्रेनमा आक्रमण गर्ने हल्लालाई पनि अस्वीकार गर्दै आएको छ। अमेरिकी नेतृत्वको नाटो गठबन्धनले पूर्व सोभियत गणतन्त्रहरूमा आफ्नो विस्तार गर्न खोजेको प्रयासलाई रोक्ने कुरामा आफुले सतर्कता अपनाएको भएपनि युक्रेनमा आक्रमण गर्ने हल्ला निराधार भएको रुसले बताएको छ। यहि बहानामा अमेरिकाले आफ्नो सेना रुसको सिमानामा उतार्न चाहेको रुसले आरोप समेत लगाएको छ।
यसैबीच, नाटोले युक्रेन संकट र युरोपमा नयाँ सशस्त्र द्वन्द्वको लागि वास्तविक जोखिम” को चेतावनी दिंदै , पूर्वी युरोपमा दीर्घकालीन उपस्थिति कायम राख्ने भन्दै रोमानियाको एयरबेसमा अस्थायी रूपमा अमेरिकी सैनिकहरू तैनाथ गरेको छ।