रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने चितवन अदालतको आदेश

चितवन : साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको छ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय पठाइएको हो।

थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन्। यता मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशील कुमार पन्त र धर्मराज आचार्य र अधिवक्ताहरू डा. नारायण दत्त कडेल,चुडामणी सापकोटा,रामचन्द्र देवकोटा,सुवर्ण सापकोटा, सञ्जय गोले,गोपीलाल देवकोटा,केदारराज पन्त र दिपकराज तिमल्सेनाले वकालतनामा भरेको जनाइएको छ।

यसैगरी सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन्। लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जना, रामबहादुर खनाल ,रबिना रिमाल , बिशाल तामाङ ,नविन अछामी ,कबिता तामाङ , दिपक लामा ,असरफअलि सिद्दिकी ,भगवति बम्जन,लक्ष्मीप्रसाद पौडेल , विज्ञान राई ,नेत्रपाणी बास्तोला ,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

यसअघि असोज ८ गते बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।

अहिलेको १५ जना गरी ३२ जनाबाट ३८ करोड ९ लाख ८९ हजार १७७ रुपैयाँ बिगो दाबी गरिएको छ । कम्पनी तर्फ ६ वटा कम्पनी बाट ४४३ करोड ९४ लाख माग दाबी गरिएको छ । थप अनुसन्धानका क्रममा जोडिएका १५ जना विरुद्ध पुरक मुद्दा दर्ता गरिएको हो।

मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए। लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनीरसञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन्।

उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् । सहकारीको रकम अपचलन मुद्दामा लामिछाने कास्की ,रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। कास्कीमा ६५ लाख ,काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका हुन्।

कास्की अदालतले तोकेको ६५ लाख धरौटीविरुद्ध रवि लामिछाने उच्च अदालतमा

पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएकोमा कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको निर्णय विरुद्द उच्च अदालत पोखरा पुगेका छन् ।

एकातिर धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ भने अर्कोतिर लामिछानेले जिल्ला अदालत कास्कीको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत पुगेका हुन् ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।

गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा लामिछानेको संलग्नता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा उनको संलग्नता रहेको देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख गरिएको छ। अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खाताबाट चे‍कमार्फत विभिन्न व्यक्ति र कम्पनी तथा सहकारीहरूलाई कम्पनीमा रहँदा र आफूले उक्त कम्पनीको सेयर बिक्री गरी अलग भएपश्चात् पनि चेक मार्फत भुक्तानी दिएको,’ उल्लेख गरिएको छ।

लामिछानेले त्यसरी सहकारी बचतकर्ताहरूलाई हानि-नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुने गरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीत रकम अपचलन गर्नका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट बच्न उम्कन पूर्वयोजना अनुसार झुठ्ठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको पनि अभियोग पत्रमा उल्लेख छ ।