काठमाडौँ — बेलायती शाही परिवारका राजकुमार एडवर्ड र उनकी श्रीमती सोफी नेपाल आइपुगेका छन्।
महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा सन्तान राजकुमार एडवर्ड नेपाल भ्रमणका लागि आफ्नो श्रीमती सहित नेपाल आएका हुन्। डचेस सोफी भने एडवार्ड अगाडी नै आज बिहान नेपाल आइपुगेकी हुन्।
उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी थिइन् ।
पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।
निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।
नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।
‘यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्