जसपाको आरोप– गौर हत्याकाण्डमा सर्वोच्चको आदेश राजनीतिक पूर्वाग्रह र प्रतिशोधपुर्ण

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतको पछिल्लो आदेशलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधप्रेरित भएको टिप्पणी गरेको छ। प्रवक्ता मनीष सुमनले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको, भूमिसम्बन्धी अध्यादेश निष्क्रिय बनाउन भूमिका खेलेको र त्यसपछि आएको आदेशसँग राजनीतिक उद्देश्य जोडिएको बताएका छन् । उनले अदालतले उनीहरूको पक्ष नसुनी एकतर्फी आदेश दिएको दाबी गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् ।

पार्टीको कार्यकारिणी बैठक बसेर ठोस निर्णय गर्ने र कानुनी सल्लाहपछि आधिकारिक धारणा सार्वजनिक गर्ने पनि उनले बताएका छन् । अध्यक्ष उपेन्द्र यादवले आदेशबारे अध्ययन गरेपछि मात्र प्रतिक्रिया दिने भन्दै निर्णय न्यायिक प्रक्रिया हो कि राजनीतिक प्रतिशोध, त्यसको मूल्यांकन समाज र बौद्धिक क्षेत्रले गर्ने बताएका छन् ।

जसपा नेपालको संसदीय दलको बैठक बस्दै:अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दैछ। आजको संसदीय दलको बैठकमा जसपा नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने बताइएको छ।

सरकारले ल्याएको अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर अध्ययन गर्नका लागि जनता समाजवादी पार्टी, नेपालले सांसद राजकिशोर यादवको संयोजकत्वमा गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आजको बैठकमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर आफ्नो रायसहितको प्रतिवेदन पेश गर्ने बताइएको छ।

जसपा, नेपालले समर्थन गर्दा मात्रै राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुनसक्ने सम्भावना रहेपछी उपेन्द्र यादवलाई प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले लगातार फोन गरेर अध्यादेशमा समर्थन जनाउन आग्रह गरेको समेत बुझिएको छ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि बस्दैछ ।

आइतबारसम्म चल्ने उक्त बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल गर्ने बताएको छ।

उक्त बैठकमा पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी र कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित पेश गर्न र अनिवार्य उपस्थित हुन जसपा नेपालले निर्देशन दिएको छ ।

मोर्चा बनाउन मधेशकेन्द्रित आठ दल छलफलमा

काठमाडौं – संविधान संसोधनको विषय चलिरहेको र माग १८ गतेबाट संसदको हिउँदे अधिवेशन सुरु हुनै लाग्दा संविधान संसोधनको विषयमा एक हुनेगरी मोर्चा बनाउन सक्रिय विभिन्न आठ वटा मधेशी राजनीतिक दलहरू छलफलमा जुटेका हुन् ।

अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरूबीच छलफल चलिरहेको हो ।

संसद्‌मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको उनीहरुले बताएका छन् ।