पोखरा भ्रमण वर्ष-२०२५

पोखरा- चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ ।

पोखरा भ्रमण वर्षको लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ ।

महानगरले भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

भ्रमण वर्ष अवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह समेत गरेको छ । प्याकेजहरु माघ २८ गतेसम्म महानगरमा उपलब्ध गराउन महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्षभरि नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने र विदेशमा समेत पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।

मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाइयो: पोखराका मेयरको पुत्ला दहन

२८श्रावण , पोखरा । मेयर धनराज आचार्यको निर्देशनमा पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला समितिले उक्त कार्यको विरोधमा मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ ।

महानगरले आदिवासी जनजाति दिवसको दिन पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना समेत बसेका थिए। तर राप्रपाका नेता कार्यकर्ता धर्नाबाट फ़र्किएपछि मध्यरातमा महानगरले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको हो।

चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको भन्दै,राप्रपाले मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाएर उनको पुत्ला जलाएको थियो। राप्रपा कास्कीले, पृथ्वीनारायण शाहको प्रतिमा पुनस्थापना नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ।

यता,मेयर आचार्यले भने सर्वदलीय बैठकको निर्णयअनुसार पृथ्वीनारायण शाहको प्रतिमा हटाएको बताएका छन् ।पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विषयलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मेयर आचार्यको कदमको निन्दा गर्दै, हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।