मुटु शरीरको एक महत्त्वपूर्ण अंग हो जसले निरन्तर रक्त संचार गरेर शरीरभरि अक्सिजन र पोषण पदार्थ पुर्याउँछ। तर,पछिल्लो समय विश्वभरि मुटु रोग मृत्युको एक प्रमुख कारण बन्न पुगेको छ। मुटुको हेरचाह कसरी गर्ने, मुटु रोगका कारणहरू के हुन् र तिनीहरूको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी हुनु आवश्यक छ।
मुटु रोग विभिन्न कारणहरूका कारण विकसित हुन्छन्। अस्वस्थकर भोजन, बढी मात्रामा बोसो, कोलेस्ट्रोल र ट्रान्स फ्याटयुक्त खाना सेवनले मुटुको धमनी बन्द हुन सक्छ। शारीरिक व्यायाम नहुँदा मोटोपन, उच्च रक्तचाप र मधुमेहको जोखिम बढ्न जान्छ धूम्रपान र अत्यधिक मदिरा सेवनले रक्त नलीहरूलाई क्षति पुर्याउँछ। उच्च रक्तचापले हृदयमा थप दबाब पुर्याउँछ भने मधुमेहले रक्तनली र हृदय नियन्त्रण गर्ने स्नायु प्रणालीलाई असर पार्छ। मोटोपनले हृदयलाई बढी परिश्रम गर्न बाध्य पार्छ। मानसिक तनाव उच्च रक्तचाप निम्त्याउन सक्छ। साथै, परिवारमा मुटु रोगको इतिहास भएमा यसको सम्भावना अझ बढी हुन्छ ।
सामान्य रूपमा पाइने मुटु रोगहरूमा कोरोनरी आर्टरी डिजिज, हृदयाघात, अनियमित हृदयगति (एरिद्मिया), उच्च रक्तचाप, जन्मजात हृदय रोग र कार्डियोमायोपेथी मुख्य छन्। कोरोनरी आर्टरी डिजिज धमनीहरूमा चिप्लो पदार्थ जमेर रक्त प्रवाह अवरुद्ध हुँदा हुन्छ। हृदयाघात रक्त प्रवाह अवरुद्ध हुँदा हृदयमा अक्सिजन नपुगेर हुने अवस्था हो। हार्ट फेलुअर भनेको मुटुले पर्याप्त रक्त पम्प गर्न नसक्ने अवस्था हो। उच्च रक्तचाप दीर्घकालीन रूपमा मुटु र रक्तनलीहरूलाई क्षति पुर्याउने समस्या हो।
मुटु रोगको रोकथाम गर्न स्वस्थ आहार आवश्यक छ। फलफूल, सागसब्जी, साबुत अन्न, प्रोटिनयुक्त खाना र स्वस्थ बोसोयुक्त पदार्थ खानुपर्छ। नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ। धूम्रपान छोड्नुपर्छ। मदिरा कम मात्रामा मात्र सेवन गर्नुपर्छ। मानसिक तनाव कम गर्न ध्यान, योग, गहिरो सास फेर्ने जस्ता अभ्यास गर्नुपर्छ। स्वस्थ शारीरिक तौल राख्नुपर्छ। रक्तचाप र कोलेस्ट्रोल नियमित रूपमा जाँच गर्नुपर्छ। नियमित स्वास्थ्य परीक्षणले मुटु रोगको सम्भावना कम गर्न सहयोग गर्छ। पर्याप्त पानी पिउनु र दैनिक ७-९ घण्टा निद्रा पुर्याउनु पनि आवश्यक छ।
अत्यधिक चिल्लो र नुनिलो खानेकुरा कम खानु पर्छ। प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा जस्तै ओट्स, सिमी, हरियो तरकारीहरू उपयुक्त हुन्छन्। प्रशस्त मात्रामा नुन खानाले उच्च रक्तचाप बढाउने सम्भावना रहन्छ, जसले गर्दा मुटुमा नकारात्मक असर पुर्याउँछ। अत्यधिक तनाव तथा अवसादले पनि मुटु रोगको खतरा बढाउने भएकाले मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ।
मुटुको हेरचाह गर्नु लामो र स्वस्थ जीवन जिउनका लागि आवश्यक छ। स्वस्थ जीवनशैली अपनाएर, हानिकारक पदार्थहरूबाट बचेर, तनाव कम गरेर र नियमित स्वास्थ्य जाँच गरेर मुटु रोगको जोखिम घटाउन सकिन्छ। आजैबाट मुटुको हेरचाह गर्न सुरु गर्दा भोलि स्वस्थ रहन सकिन्छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्