काठमाडौं- बेलायती शाही परिवारका राजकुमार एडवर्ड र उनकी श्रीमती सोफी भोलि नेपाल आइपुग्दैछन्।
महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा सन्तान राजकुमार एडवर्ड पाँच दिनको नेपाल भ्रमणका लागि आफ्नो श्रीमती सहित भोलि दिउँसो नेपाल आइपुग्ने तय भएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार, उनीहरू मंगलबार दिउँसो आइपुग्नेछन् र शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टोलीको भ्रमणको लागि सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी मुख्यालयले उनीहरूको सुरक्षाका लागि पीएसओहरू तैनाथ गर्ने तयारी समेत गरेको छ।
स्रोतका अनुसार, ड्यूक र डचेस अफ एडिनबर्ग फेब्रुअरी ७ मा पोखराको ब्रिटिश गोर्खा क्याम्पमा नयाँ गोर्खा भर्तीहरूको प्रमाणीकरण परेडमा भाग लिनेछन्।
राजकुमार र उनको टोलीले भक्तपुरको माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल र एसओएस बाल ग्रामको भ्रमण गर्ने कार्यक्रम छ। पाँच दिने भ्रमणको क्रममा राजपरिवारका सदस्यहरूले उच्चस्तरीय सरकारी अधिकारीहरू र गोर्खा सैनिकहरूका परिवारहरूलाई भेट्ने कार्यक्रम रहेको छ भने उनीहरूले नेपालमा बेलायतद्वारा आर्थिक सहायता प्रदान गरिएको विकास परियोजनाहरूको पनि निरीक्षण गर्नेछन्। स्रोतका अनुसार, एडवर्ड र सोफीलाई सगरमाथा क्षेत्रमा पर्वतीय उडानका लागि लैजाने तयारी समेत भइरहेको छ।
गोर्खाली सेनाहरुले २०० वर्षभन्दा बढी समयदेखि ब्रिटिश सेनामा सेवा गर्दै आएका छन् र उनीहरु आफ्नो बहादुरी र साहसका लागि प्रख्यात छन्।
यसअघि, राजकुमार ह्यारीले मार्च २०१६ मा ११ दिनको लागि नेपालको भ्रमण गरेका थिए र काठमाडौं, बर्दिया र पोखराको यात्रा गरेका थिए। राजकुमार फिलिपले पनि सन् २००० मा नेपालको भ्रमण गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्