अलास्का शिखर बैठक सम्झौताविना सकिएपछि जेलेन्स्की सोमबार वाशिंगटन प्रस्थान गर्ने

किभ, युक्रेन — अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय शिखर बैठक युक्रेनबारे कुनै औपचारिक सम्झौताविना टुंगिएपछि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सोमबार वाशिंगटन प्रस्थान गर्ने भएका छन्। त्यहाँ जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्नेछन्।

जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमार्फत भ्रमणको पुष्टि गर्दै ट्रम्पसँग करिब ९० मिनेट लामो अर्थपूर्ण संवाद भएको बताए। फोन वार्ताको क्रममा ट्रम्पले पुटिनसँगको छलफलका मुख्य बुँदाहरू जानकारी दिएका थिए। उनले भने, “म सोमबार वाशिंगटनमा राष्ट्रपति ट्रम्पसँग युद्ध अन्त्य गर्ने सबै विवरणबारे छलफल गर्न जाँदैछु। निमन्त्रणा दिनुभएकोमा धन्यवाद।”

वाइट हाउस प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार, ट्रम्प वाशिंगटन फर्कँदै गर्दा विमानमै जेलेन्स्की र केही नाटो नेताहरूसँग टेलिफोन सम्पर्कमा थिए । पछि उनले सामाजिक सञ्जालमा लेखे कि युद्ध अन्त्य गर्ने सर्वोत्तम उपाय अस्थायी युद्धविराम होइन, प्रत्यक्ष शान्ति सम्झौता हो, किनभने युद्धविराम प्रायः टिक्दैन।

जेलेन्स्कीले अमेरिका, रुस र युक्रेनबीचको त्रिपक्षीय बैठक प्रस्तावको समर्थन गरेका छन् । साथै उनले पश्चिम युरोपेली साझेदारहरूले सम्पूर्ण प्रक्रियामा संलग्न रहनुपर्नेमा जोड दिए, ताकि किभले भरपर्दो अमेरिकी सुरक्षा ग्यारेन्टी पाओस्। उनले भने, “युक्रेनको सुरक्षामा अमेरिकी सहभागिताबारे सकारात्मक संकेतहरू छलफलमा आएका छन्।”

ट्रम्प- पुटिन अलास्का समिटपछि सुरु भएको कूटनीतिक पहलले आगामी हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष वार्तापछि रुस युक्रेन युद्ध अन्त्यतर्फ अगाडी बढ्न सक्ने आशा बढाएको छ।

अमेरिकी –रूस वार्तामा महत्वपूर्ण प्रगति भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन मुद्दामा अमेरिका र रूसबीच “महत्वपूर्ण प्रगति” भएको बताएका छन्। ट्रम्पका प्रतिनिधि स्टिभ विटकोफ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको वार्तालाई ट्रम्पले सकारात्मक भनी मूल्याङ्कन गरेका छन्।

राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले दुबै पक्षले वार्ता अन्तर्गत सकारात्मक सन्देश आदानप्रदान गरेको जानकारी दिएका थिए। साथै, दुबै मुलुकबीच रणनीतिक सहकार्यको सम्भावनाबारे छलफल भएको भए पनि उनले विस्तृत जानकारी दिन अस्वीकार गरे — विटकोफले राष्ट्रपति ट्रम्पलाई जानकारी गराएपछि मात्र विस्तृत विवरण दिने बताएका छन्।

यो भेटवार्ता ट्रम्पले युक्रेनमा युद्धविरामको समयसीमा तोकेको केही दिनअघि भएको हो। ट्रम्पले उक्त वार्तापछि केही युरोपेली साझेदारहरूसँग पनि छलफल गरिसकेको बताएका छन्।

“सबै पक्ष सहमत छन् कि यो युद्ध अब अन्त्य हुनुपर्छ, र हामी त्यसतर्फ आउने दिनहरूमा काम गर्नेछौं,” ट्रम्पले भने।

मस्को र कीएभबीचको वार्ता प्रगतिहीन भइरहेकोमा ट्रम्प चिढिएका देखिए तापनि पुटिन र विटकोफबीचको छलफल सौहार्दपूर्ण रहेको बताइएको छ।

ट्रम्पको ट्यारिफ नीति र यसको विश्वव्यापी प्रभाव

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक ट्यारिफ नीतिले छिमेकी देशहरूमा त प्रभाव पारेको छ नै, तर यसले अन्तर्राष्ट्रिय व्यापार र प्रमुख विश्व अर्थतन्त्रहरूमा झनै ठुलो र गहिरो प्रभाव पार्ने देखिन्छ । उनको प्रशासन अन्तर्गत, क्यानडा, मेक्सिको र चीनजस्ता देशहरूबाट आयात गरिने सामानहरूमाथि ट्यारिफ लगाइनुले अमेरिका र विश्व अर्थतन्त्रका अन्य शक्तिशाली मुलुकहरुबीच अन्तराष्ट्रिय व्यापार युद्धको अवस्थालाई बढावा दिएको देखिन्छ।

सन् २०१८ मा, ट्रम्पले राष्ट्रिय सुरक्षा कारण देखाउँदै स्टील र एलुमिनियम आयातमा ट्यारिफ लगाएका थिए । क्यानडा र मेक्सिको, अमेरिकाका नजिकका व्यापारिक साझेदारहरू, यसबाट गम्भीर रूपमा प्रभावित भए। स्टीलमा २५% र एलुमिनियममा १०% ट्यारिफ लगाइएपछि कूटनीतिक सम्बन्धहरू तनावपूर्ण बने र एक किसिमको आर्थिक अनिश्चितता उत्पन्न भयो।

ट्रम्पको ट्यारिफ नीतिले उत्तर अमेरिकी व्यापारको आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गरे भने , अमेरिकी उत्पादकहरूको उत्पादन लागत बढ्न गयो र उपभोक्ताहरूले मूल्य वृद्धिको सामना गर्नुपर्यो । क्यानडामा स्टील र एलुमिनियम निर्यातमा निर्भर उद्योगहरू समस्यामा परे, जबकि मेक्सिकोमा सीमा पार हुने व्यापारमा गिरावट आयो। उक्त नीतिले अमेरिकी अर्थतन्त्रमा मिश्रित प्रभाव पार्दै कतिपय घरेलु उद्योगहरू विदेशी प्रतिस्पर्धाबाट जोगिएर लाभान्वित भए भने अटोमोबाइल र निर्माण क्षेत्रजस्ता उद्योगहरूले लागत वृद्धिको सामना गर्नुपर्‍यो।

चीन, क्यानडा र मेक्सिकोले ट्रम्पको ट्यारिफ नीतिको जवाफमा अमेरिकी नीति विरुद्द प्रतिशोधात्मक ट्यारिफहरू लागू गरे। जस अन्तर्गत क्यानडाले १२.६ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि ट्यारिफ लगायो, जसमा ह्विस्की, सुन्तलाको जुस र डेरी उत्पादनहरू समावेश थिए, जसले राजनीतिक रूपमा महत्त्वपूर्ण अमेरिकी राज्यहरूलाई थोरै भएपनि असर गर्न पुग्यो।

त्यसैगरी,मेक्सिकोले पोर्क, चिज र स्याउजस्ता अमेरिकी कृषि उत्पादनहरूमाथि ट्यारिफ लगायो भने चीनले पनि ११० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि व्यापक ट्यारिफ लगायो, जसले सोयाबिन, अटोमोबाइल र रसायन उद्योगहरूलाई ठूलो असर पुर्‍यायो।

सन् २०२४ मा पुनः निर्वाचित भई अमेरिकाको ४७ औं राष्ट्रपति बनेपछि, ट्रम्पले आफ्ना अघिल्ला ट्यारिफ नीतिहरू पुनः लागू गरेका छन् । उनले २०२५ को सुरुवातमा नै , चीन, क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात गरिने थप सामानहरूमाथि नयाँ ट्यारिफहरू लगाएका छन् । चिनियाँ प्रविधि र इलेक्ट्रोनिक्समा ट्यारिफ ३५% सम्म बढाइएको छ भने क्यानडा र मेक्सिकोका कृषि उत्पादनहरूमाथि २०% सम्म ट्यारिफ शुल्क थपिदिएका छन् । प्रतिरोधमा क्यानाडा र मेक्सिकोले पनि पुन: अमेरिकी ट्यारिफ नीति विरुद्द थापा नयाँ ट्यारिफहरु घोषणा गरेका छन्।

त्यसैगरी,ब्रिक्स राष्ट्रहरू—ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका—ले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने प्रयास (डिडलराइजेशन) अघि बढाएपछि, ट्रम्पले यी देशहरूलाई पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन् । डिडलराइजेशन पहलले अमेरिकी डलरलाई विश्वको प्रमुख रिजर्भ मुद्राको रूपमा नरहन सक्नेगरी चुनौती दिएपछि ट्रम्प प्रशासनले कडा प्रतिक्रिया जनाएको थियो। यस्ता प्रतिबन्धहरूले अमेरिकी र उदाउँदो अर्थतन्त्रहरूबीचको तनाव बढाउन सक्छ र विश्वव्यापी वित्तीय बजारहरूअस्थिर बनाउन सक्ने आंकलन गरिएको छ ।

संगसंगै ट्रम्पले अटोमोबाइल र कृषि क्षेत्रमा अनुचित व्यापार अभ्यासहरू भैरहेको आरोप लगाउँदै युरोपेली संघ अन्तर्गतका विभिन्न राष्ट्रहरुलाई पनि ट्यारिफ लगाउने संकेत दिएका छन् , । युरोपेली कार र विलासी वस्तुमाथि प्रस्तावित ट्यारिफहरूले ईयू नेताहरूमा चिन्ता बढाएको छ भनेअर्कोतर्फ उनीहरुले पनि प्रतिशोधात्मक कदमहरूको चेतावनी दिएका छन् । ट्रम्पको यो नीतिले विश्व अर्थतन्त्रमा व्यापार युद्ध निम्त्याउन सक्छ भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ यी र यस्ता नीतिहरूले व्यवसायहरूको लागत बढाएको छ र विश्वव्यापी आर्थिक अनिश्चितता उत्पन्न गरेको छ।

ट्रम्पको ट्यारिफ नीति र प्रतिबन्धहरूको धम्कीले दुईपक्षीय व्यापार सम्बन्ध मात्र होइन, विश्वव्यापी व्यापारको समग्र गतिशीलतामा गहिरो प्रभाव पारेको छ। क्यानडा, मेक्सिको, चीन र अब युरोपेली संघका प्रतिशोधात्मक कदमहरूले विश्वव्यापी अर्थतन्त्रको आपसी निर्भरता र संरक्षणवादी नीतिहरूको जोखिमलाई उजागर गरेको छ। ब्रिक्स राष्ट्रहरूले डिडलराइजेशन प्रयास जारी राख्दा र युरोपेली संघ व्यापार विवादमा संलग्न रहँदा, यी व्यापार द्वन्द्वहरूको दीर्घकालीन प्रभाव अमेरिकी अर्थतन्त्र र यसको विश्वव्यापी प्रभावमा कस्तो पर्छ भन्ने कुरा नीतिनिर्माताहरू र अर्थशास्त्रीहरूका लागि महत्वपूर्ण मुद्दा बनेको छ।

ट्रम्पले पुटिनसँग वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना दोहोर्‍याएका छन्, रोयटर्सले रिपोर्ट गरेको छ।

रिपोर्ट अनुसार, ट्रम्पले शुक्रबार भने कि उनी पुटिनसँग कुरा गर्नेछन् र उनीहरूले सम्भवतः उनले उल्लेख गरेको महत्त्वपूर्ण कुरा गर्नेछन्। यद्यपि, अमेरिकी राष्ट्रपतिले विस्तृत रूपमा भन्ने बारेमा भने उल्लेख गरेनन्।

ट्रम्पले वाशिंगटनले मस्कोसँग गम्भीर छलफल गरिरहेको पनि बताएका छन्।

रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि मस्को दुई देशका राष्ट्रपतिहरूको स्तरमा अमेरिकासँग वार्ता गर्न तयार रहेको तर वाशिंगटनबाट यस विषयमा कुनै खबर प्राप्त नभएको बताएका थिए।