जनकपुर- जनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइएको छ । जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका अधिकांश निजी अस्पताल गैरकानुनी सञ्चालन भएको पाइएको हो ।
उपचारमा गम्भीर लापरबाही बढेको गुनासो लगातार आएपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार एकैदिन जनकपुरधामका २० वटा अस्पतालको अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा अधिकांश अस्पताल दर्ता बिना नै सञ्चालन भएको तथा दर्ता भएकाहरू पनि मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीले शनिबार जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको अनुगमन गरेका थिए ।
यस्तै, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालिमा पनि मुख्यमन्त्रीले छड्के गरेका थिए ।
अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालि पनि पुगेका थिए ।
कानुन अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिई सञ्चालन भइरहेको अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिंदै, जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएको पाइएपछि मुख्यमन्त्रीले आइतबारसम्ममा आफैंले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले अनाधिकृत तवरले खेलिएका तथा स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पूरा गरेको अवस्थामा नदेखिएका अस्पतालका सञ्चालकहरूलाई सबै कागजपत्र लिएर आइतबार सरकारको सम्पर्कमा आउन निर्देशन दिएका छन् ।उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्