विदेशी मुद्रा सञ्चितिमा वृद्धि : वैदेशिक लगानीमा सुधार

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2025
nepal rastra bank

काठमाडौं : राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्यांकअनुसार मुलुकको विदेशी विनिमय सञ्चितिको आकार बढेर २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यसबाट मुलुकले १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिति बनेको छ।

चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.१४ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको थियो।

त्यसैगरी,मुलुकसँग कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यो चालु आवको पुससम्मको तथ्यांक हो। अमेरिकी डलरमा यस्तो सञ्चिति असारको तुलनामा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको हो। जसमा नेपाल राष्ट्र बैंकमा २० खर्ब ७२ अर्ब ३४ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति कायम छ। यस्तो सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ।

समग्रमा आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा अधिक हुँदा ६ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ। गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा छ। यससँगै, मुलुकको चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा छ।

गत वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो। अमेरिकी डलरमा १ अर्ब ८ करोडले बचतमा छ। यस्तै खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५