नेपाल वायुसेवाको राहत उडानमार्फत १५७ यात्रु भैरहवाबाट काठमाडौं ल्याइए

भैरहवा – विपद र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायात अवरुद्ध भएपछि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई उद्धार गर्न नेपाल वायुसेवा निगमले सोमबार विशेष राहत उडान सञ्चालन गरेको छ। निगमको एयरबस ए-३२० जहाजले भैरहवाबाट १५७ यात्रु बोकेर काठमाडौं फर्किएको हो।

सरकारको अनुरोधमा यो उडान सञ्चालन गरिएको हो। यो राहत उडान अशक्त, बिरामी र वैदेशिक रोजगारका लागि तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो। निगमले आइतबार राति ९ बजेका लागि अनुमति लिएको भए पनि प्राविधिक कारण सोमबारको लागि समय परिवर्तन गरिएको थियो।

आन्तरिक उडान स्थगित भएपछि यात्रुको भीड बढेको कारण सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत उडानको व्यवस्था गरेको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई उडान सुचारु

काठमाडौं – अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ भने,पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको विमानस्थल स्रोतले बताएको छ।

आन्तरिक टर्मिनलका अनुसार शनिबार पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, धनगढी र नेपालगञ्जमा रोकिएका विमानहरू आज क्रमशः काठमाडौं फर्किँदै छन्।

आज आइतबारका लागि कुल १४० वटा आन्तरिक उडान तय भएका छन्। तीमध्ये बुद्ध एयरका ७२ उडान सबैभन्दा बढी रहेका छन्। त्यसपछि यती एयरलाइन्सका ३२, श्री एयरलाइन्सका २६, र तारा एयरका ९ उडान रहेका छन्। सीता एयर, समिट एयर, र नेपाल एयरलाइन्सले १/१ वटा उडान सञ्चालन गर्ने कार्यक्रम छ।

तीमध्ये ३ वटा पर्वतीय उडान तय भएका छन् । जस्मा २ वटा बुद्ध एयर र १ वटा यती एयरलाइन्सका छन् ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।शनिबार साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिमा ७ वटा अन्तर्राष्ट्रिय उडानहरू खराब मौसमका कारण बंगलादेश र भारततर्फ मोडिएका थिए। तीमध्ये सबै उडानहरू राति ढिलो गरी काठमाडौं फर्किसकेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू स्थगन

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।

प्रतिकुल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए । 

“मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्,” उनले भने, “अविरल वर्षाको समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।”

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । बुधबार (भदौ २५) साँझदेखि नै उडान नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।

“विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ,” उनले भने ।

विमानस्थलको हालको तालिकाभन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा नियमित गरिने विमानस्थलले जनाएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ ।

यता, वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्यमा लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, बिहीबार (भदौ २६) बिहानदेखि  नियमित रूपमा उडानहरू भइरहेका छन् । काठमाडौं र बाहिरका गन्तव्यमा दुई/तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।

‘जेनजी’ पुस्ताका कारण विषम परिस्थिति उत्पन्न भएपछि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयानुसार, बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

विमानस्थलले हवाई उडानका निम्ति विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर आउन अनुरोध गरेको छ  । यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० देखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । रासस

अध्यागमन विभागका महानिर्देशकद्वारा भिजिट भिसाको मापदण्ड खारेज गर्ने प्रस्ताव

काठमाडौं — अध्यागमन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरूका लागि अघि जारी गरिएको ६ बुँदे मापदण्ड खारेज गर्न प्रस्ताव गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै तिवारीले भने, पुराना निर्देशनहरूले समस्या समाधान गर्नेभन्दा प्रक्रिया जटिल बनाएको बताए। उनले भिजिट भिसा प्रक्रियालाई सजिलो बनाउनुपर्ने र प्रतिबन्ध लगाउनु उपयुक्त नरहेको जोड दिए।

तिवारीले भने, सबै प्रक्रिया पूरा गरेर जाने नागरिकलाई रोक्ने अधिकार अध्यागमन कार्यालयले नपाउनु पर्ने हो। कागजात फर्जी वा शंकास्पद देखिएमा ती व्यक्तिलाई अफलोड गरेर फर्काउने होइन, प्रहरीलाई अनुसन्धानका लागि जिम्मा दिनुपर्ने उनको प्रस्ताव छ। यसरी घर फर्काउने प्रणाली विगतमा असरकारक नभएको उनले बताए।

साथै उनले श्रम स्वीकृति र राहदानी प्रणालीमा व्यापक सुधार, एआई आधारित बायोमेट्रिक प्रमाणीकरण, र नेपालमा बसोबास गर्ने विदेशी नागरिकहरूको वास्तविक-समय ट्र्याकिङ व्यवस्था आवश्यक रहेको बताए। यी सुधारहरूले सम्पूर्ण देशभरका अध्यागमन कार्यालयमा पारदर्शिता, जवाफदेहिता र डिजिटल राजस्व प्रणालीलाई समेत मजबुत बनाउने लक्ष्य राखिएको छ।

उनले भिसिट भिसाको धेरै जटिल प्रक्रियाले भ्रष्टाचार बढेको, नागरिकप्रति अविश्वास फैलिएको, भिजिट भिसाको दुरुपयोग र मानव तस्करीबीच भेदभाव नगरेको, रोजगार सिर्जना र वैदेशिक रोजगारी नियन्त्रणमा कमजोरी देखिएको बताए। यी सबै कारणहरूले पनि सुधार प्रयासहरू सफल हुन नसकेको उनको भनाइ थियो।

अन्त्यमा तिवारीले नेपालको आप्रवासन व्यवस्थापनमा अब प्रतिबन्धभन्दा जिम्मेवार सहजीकरणतर्फ जानुपर्ने, बलियो प्रणाली र स्मार्ट कार्यान्वयनमार्फत यात्रुहरूको अधिकार र मर्यादा संरक्षण गर्नुपर्ने जोड दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा खुल्ने

काठमाडौँ — पूर्वाधार विस्तारका कारण राति १० बजेदेखि बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा खुल्ने (राति ११ बजेपछि बन्द भई बिहान ७ बजे खुला हुने) भएको छ ।

अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यागंर निर्माण लगायतका पूर्वाधार विस्तारका कामका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कार्तिक २३ गतेदेखि काठमाडौं विमानस्थलमा राति १० बजेदेखि उडानहरु बन्द गरेर निर्माण कार्य भइरहेका थिए ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न नोटाम निकालेर विमानस्थलभित्र तीनवटा फरक-फरक आयोजनाको काम गराउँदै आएको थियो ।

सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक ईन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार दैनिक १० घन्टा उडान बन्द गरेर रनवेसँग जोडिएका जटिल कामको निर्माण सकिएसंगै पूर्वाधार विस्तारको समय १० घन्टाबाट घटाएर ८ घन्टामा झारिएको छ । ‘धावनमार्गसंगै जोडिएका मुख्य जटिल काम सम्पन्न भएका छन्’, आयोजना निर्देशक श्रेष्ठले भने, ‘अब दुई घन्टा उडानको समय थपिएको छ ।’ उनका अनुसार विमानस्थलभित्र संचालित तीनवटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको छ ।

सन् २०२६ पछि वार्षिक झण्डै १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा उडान रोकेर तथा त्यसपछि दिनमा उडान नरोकेर पूर्वाधार विस्तारका काम हुँदै आएका छन् ।

विमानस्थलमा नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र उक्त एप्रोनलाई उत्तरतर्फको रनवेसंग जोड्ने ट्याक्सीवे निमार्ण भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको हो । यो २०२६ फेब्रुअरीमा सकिने छ । यो काम चिनियाँ ठेक्दार कम्पनी एभिक इन्टरनेश्नलले गरिरहेको छ ।

विमानस्थलभित्रको दोस्रो ठेक्का हो जहाजघर (ह्यांगर)का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वीभागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलायन्स, श्री एयरलायन्स लगायतका वायुसेवा कम्पनीहरुकालागि करिब ४ अर्ब रुपैयाँमा ह्यांगर क्षेत्र निर्माण भइरहेको छ ।

यो काम सन् २०२२ नोभेम्वरदेखि सुरु भएको हो । यो सन् २०२६ अक्टोबरमा सम्पन्न हुने छ । यसमा एशियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यो परियोजनामा चिनिया कम्पनीहरु एभिक/केडीएन/सीसीईसीसी जेभी रहेका छन् ।

विमानस्थलभित्रको तेस्रो परियोजना धावनमार्गसंग समानान्तर ट्याक्सी–वे निर्माण संचालन भइरहेको छ । सन् २०२२ डिसेम्बरदेखि सुरु भएको यो परियोजनाको समापन २०२६ अक्टोबरमा हुने छ । ४ अर्ब हाराहारी लगानीको यो परियोजना चिनियाँ कम्पनी गान्सुले निर्माण गरिरहेको छ ।

त्रिभुवन विमानस्थलमा सन् २०२४ मा अहिलेसम्मकै सबैभन्दा धेरै यात्रुको आवागमन

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुईतर्फी ९४ लाख २३ हजार ७ सय २५ यात्रुको आवागमन भएको छ जुन हालसम्मकै सबैभन्दा धेरै हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने हो तर,२०२४ मा आन्तरिक र अन्तर्राष्टिय उडानमा ९४ लाख २३ हजार ७ सय २५ जना यात्रुले सेवा लिए ।

सन् २०२३ मा काठमाडौं विमानस्थलबाट ८६ लाख ५४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरेका थिए । सन् ०२४ मा वृद्धि भएको यात्रु आवागमन झन्डै ९ प्रतिशतले बढी हो । सन् २०२४ मा आन्तरिकतर्फ ४४ लाख ६० हजार ३ सय ६१ जना यात्रुले ओहोरदोहोर गरेका थिए भने अन्तर्राष्ट्रियतर्फ ४९ लाख ६३ हजार ३ सय ६४ जना यात्रुले ओहोरदोहोर गरेका थिए ।

काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको प्रतिघण्टा यात्रु सेवा गर्ने क्षमता ७ सय हाराहारी रहेको छ भने अन्तर्राष्ट्रिय टर्मिनलको प्रतिघण्टा १५ सय यात्रु सेवा दिन सक्ने क्षमता छ । उडानतर्फ काठमाडौं विमानस्थलले प्रतिघण्टा सफा मौसममा ३३ वटा उडान गराउन सक्छ ।

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका सात जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारि गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएपछी अन्य कर्मचारीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्काले आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् ।भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।भिजिट भिसाको सेटिङमा ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ ।

अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ ।प्रहरी अनुसन्धानले सेटिङ बाहिर आएपछि गृह मन्त्रालयले हालै भिजिट भिसासम्बन्धी दुई वर्षदेखि लागू हुँदै आएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ ।

अध्यागमनका कर्मचारी कुटिएको विषयमा गृहले बनायो तीन सदस्यीय छानबिन समिति

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीलेनै अध्यागमनका अधिकारीहरूलाई कुटपिट गरेको विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्य-तथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताइएको छ।

साथै, कुटपिटमा संलग्न रहेका प्रहरीलाई कामबाट अलग राख्ने निर्णय गरेको पनि बताइएको छ। कुटपिटको घटनालगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल लगायतका अधिकारीहरुबीच छलफल भएको थियो।

विमानस्थल सुरक्षामा खटिएका प्रहरीद्वारा अध्यागमनका कर्मचारीमाथी हातपात

सुरक्षाको विषयलाई लिएर विवाद उत्पन्न हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीले विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित अध्यागमन अधिकृतमाथि हातपात गरेको छ ।

शुक्रबार अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई चेकजाँच गर्ने क्रममा उनले अध्यागमनका कर्मचारीको चेकजाँच गर्ने तर प्रहरीको नगर्ने भन्ने विषयालाई लिएर चर्किएको विवादमा प्रहरीले उनीमाथि हातपात गरेको बताइएको छ।

मोक्तानले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको विषय अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई बताएका र हमालले घटनाको वास्तविकता बुझ्न सीसी क्यामेरा हेर्दा सीसी क्यामेरामा स्पष्टरूपमा प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई मुक्का प्रहार गरेको देखेपछि ‘यो त प्रहरीले अति गर्‍यो?’ भनेर प्रतिक्रिया दिनासाथ त्यहाँ खटिएका प्रहरीले हमालमाथि नै आक्रमण गरेको बताइएको छ ।

घटनापछि अध्यागमनका अधिकारीहरुले प्रहरीको डीएसपी र अध्यागमनका उपसचिव सँगै प्रवेश गर्‍यो भने प्रहरीले अध्यागमनका उपसचिवको जीउ खानतलासी गर्छ,तर डीएसपीलाई गर्दैन,त्यसै छोडिदिन्छ भन्ने गुनासो समेत गरेका छन्।

उक्त घटनापछि, विमानस्थलबाट हुने अधिकांश तस्करीमा प्रहरीको मिलेमतो देखिँदै आएको र उनीहरूलाई नै सुरक्षामा छुट दिन नहुने अध्यागमनका अधिकारीले बताएका छन् ।

निगमलाई व्यवस्थापन सम्झौता अन्तर्गत सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई व्यवस्थापन सम्झौतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको पुनर्संरचनाका लागि व्यवस्थापन सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री किरातीले भने, ‘निगमको पुनर्संरचनाको व्यवस्थापन ठेक्का अंगाल्नु पर्ने भएकाले यो प्रणालीमा जाने तयारीमा छौं । मन्त्रालयले व्यवस्थापन सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । ‘यस विषयमा छिट्टै निर्णय हुन्छ,’ उनले भने ।

मन्त्री किरातीले सरोकारवालाको अध्ययन र सुझावका आधारमा व्यवस्थापन सम्झौताबाट निगममा सुधार अपरिहार्य भएको तर्क गरे । व्यवस्थापन ठेक्का मोडालिटीले विभिन्न देशमा राम्रो नतिजा दिएकोले नेपालमा पनि यो मोडल उपयुक्त हुने उनको भनाइ छ ।

सो अवसरमा मन्त्री किरातीले विद्यमान अवस्थामा निगम चलाउन नसकिने निष्कर्ष मन्त्रालयले निकालेको र संरचनागत सुधार गरी संस्थालाई सञ्चालन गर्ने योजना बनाइएको बताए । सो अवसरमा सांसद उदय शमेश राणाले थप विमान थपेर पनि अन्तर्राष्ट्रिय बजारमा निगमको उपस्थिति बलियो बनाउनुपर्ने बताए ।

त्यसैगरी सांसद डा धवल शमराज राणाले निगमको व्यवस्थापन सम्झौता उपयुक्त भए पनि सान्दर्भिकताका आधारमा मात्र अघि बढ्नुपर्ने बताए । तर, सांसद प्रेम सुवालले निगमलाई व्यवस्थापन सम्झौताबाट सञ्चालन गर्ने विचारको विरोध गर्दै निगम सुधारका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

सुन तस्करी प्रकरणमा ५० जना प्रतिवादी :३०२ किलो सुन तस्करी गरेको निष्कर्ष

काठमाडौँ- सीआईबीले सुन तस्करीबारे अनुसन्धान गरेको प्रतिवेदन आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउँदैछ ।सुन तस्करी अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनु अघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको र ब्रेक शुमा लुकाएर ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।ब्रेक शुको तौल यकिन गरेर ३०२.६२ किलो थप सुन तस्करी गरि ल्याएको सीआईबीको निष्कर्ष रहेको छ।

सुन प्रकरणका ५० जना प्रतिवादीमध्ये हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्। सुन प्रकरणमा सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरी अनुसन्धानको प्रतिवेदन तयार गरेको छ।

सीआईबीले आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गतलगायत कसुरमा मुद्दा चलाउन राय दिएको छ।यसअघि ब्रेक शुसहितको एक सय ५५ किलो भनिएको सुन गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सुधार गर्न कार्यदल बनाइने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन सुधार र सुरक्षा अवस्थाबारे अध्ययन गर्न सरकारले कार्यदल बनाउने भएको छ ।

विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कार्यदल बनाउने जानकारी दिएका हुन् । सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने पनि उनले बताएका छन्।

विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइने र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्ने उनले बताएका छन्।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको भन्दै नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो।

अविरल वर्षाको कारण हवाई उडान प्रभावित

श्रावण २८,काठमाडौँ- अविरल वर्षाका कारण देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु प्रभावित हुन पुगेको छ।

अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फुबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फुमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले जानकारी दिएका छन् ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ।बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीनवटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्।

सुन प्रकरणमा मुछिएका व्यवसायी मल्होत्राको स्पष्टीकरण:दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार छु

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले स्पष्टीकरण दिँदै विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको बताएका छन्।

पत्रकार सम्मेलन गर्दै उनले सुन आयातमा आफ्नो र आफ्नो परिवार आफु साझेदार कम्पनी पनि संलग्न नरहेको बताएका छन्।

उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने समेत बताएका छन्। उनले सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान समेत नरहेको दावी गरेका छन्।

मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन्। त्रिभुवन विमानस्थलबाट विमानस्थलमा पक्राउ परेको सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनको दावी छ।

सुन तस्करी प्रकरणमा छानबिन समिति गठन :जाँचपासमा संलग्न भन्सार अधिकृत निलम्बन

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करीब १०० केजी सुन अवैध रूपमा भित्रिएको घटनालाई लिएर ,जाँचपासमा संलग्न कर्मचारी,जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको छ । सुनको भन्सार पासमा संलग्न देखिएकाले उनीहरुलाई निलम्बन गरिएको विभागले जनाएको छ।

भन्सार विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानविन समिति समेत गठन गरेको छ। समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।विभागले जाँचपासमा संलग्नबाहेक आवश्यकता अनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने बताएका छन्। ठूलो परिमाणको सुन भन्सारबाट छुट्नुपछाडि भन्सार अधिकृत र प्रहरीको पनि तस्करसँग मिलेमतो भएको खुलेको छ।

मंगलबार विमानस्थल भन्सार कार्यालय अगाडिबाट बा.२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुराकीका आधारमा विभागले चलाएको गोप्य अप्रेशनमा क्याथे प्यासिफिकको विमानबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको करिब एक अर्बभन्दा बढीको सुन विभागले बरामद गरेको थियो।

सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । मंगलबार बरामद गरिएको सुन ‘रेडी ट्रेडर्स प्रालि’ नामको नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।

भिजिट भिसामा विदेश जान खोज्ने ४५ जना विमानस्थलबाट फर्काइए

भिजिट भिसामा विदेश जान लागेका ४५ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । भिजिट भिसामा विदेश जान लागेका ३० जना महिला र १५ जना पुरुषलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट फर्काएको हो ।

फर्काइएकाहरु धेरैजसो संयुक्त अरब इमिरेट्स, कुवेत र ओमान जान लागेका थिए । फर्काइएकाहरुलाई कुन ठाउँमा जाने, कहाँ बस्ने जस्ता सामान्य विषयमा पनि जानकारी नभएको र भिजिट भिसामा मानव तस्करी गर्ने समूहले त्यसरी खाडीमा पठाउन खोजेको आशंकामा प्रहरीले उनीहरुलाई फ़र्काएको हो ।

जेठ महिनामा मात्र ब्युरोले भिजिट भिसामा जान लागेका नौ सय ४० जनालाई विमानस्थलबाट फर्काइसकेको छ । जसमा पाँच सय ४८ जना महिला रहेका छन् ।

भिजिट भिसामा हुने मानव बेचबिखन रोक्नकै लागि शंकास्पदहरूलाई रोक्दै आएको ब्युरोले जनाएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र साथमा २ वटा मोबाइल ल्याउन पाउने

वैशाख ३१, काठमाडौं – यसअघि मन्त्रिपरिषद बैठकले विदेशबाट फर्कने नेपालीले साथमा २ वटा मोबाइल ल्याउन पाउने भनि गरेको निर्णयलाई भन्सार विभागले थप व्याख्या गर्दै, श्रम स्वीकृति लिएर कम्तिमा ६ महिना वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र सो सुबिधा पाउने जनाएको छ ।

भन्सार विभागको यो निर्णयसँगै,अब श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै निशुल्क थप एउटा मोबाइल ल्याउन पाउनेछन् भने, विदेश अध्ययनमा गएका विध्यार्थी र पर्यटन भिषामा विदेश गएका नेपालीले भने आफुले बोकेको बाहेक थप अर्को मोबाइल ल्याउँदा भन्सार विभागले तोके बमोजिम कर तिर्नुपर्ने छ।

भन्सार विभागले, विदेशवाट फर्किने यात्रु जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने र आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने जनाएको छ भने, उक्त एक थान मोबाइल व्यक्ति आफैंले नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एडीएमएस)मा अनलाइन माध्यमबाट दर्ता गर्न सकिने बताएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले निशुल्क ल्याउन पाउने थप १ थान मोबाइलको भने भन्सार प्रज्ञापनपत्र लिनुपर्ने र सोही प्रज्ञापनपत्रका आधारमा एमडीएमएसमा सो फोन दर्ता गर्न सकिने भन्सार विभागले जनाएको छ ।

तर, पर्यटन भिषामा विदेश गएर फर्किएका र वैदेशिक अध्ययनबाट फर्किएकाहरुले ल्याउने दोस्रो फोनमा भने भन्सार महसुल लाग्ने र दोस्रो फोनको भन्सार प्रक्रिया पुरा गर्दा तोकिएको महसुल तिरेपछि प्रज्ञापन पत्र पाइने र त्यही प्रज्ञापनपत्रका आधारभा एमडीएमएसमा दर्ता हुन सकिने व्यवस्था गरिएको भन्सार विभागले जनाएको छ।

विदेशबाट ल्यााएको मोबाइलमा नेपाली मोबइल सेवा प्रदायकको सिम प्रयोग गरेको १५ दिनभित्र एमडीएमएसमा दर्ता नभए उक्त मोबइल नेपालमा नचल्ने पनि भन्सार विभागले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%82%e0%a4%a6%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b5/

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १५ तोला सुनसहित तिन जना पक्राउ

हिमालयन एयरलायन्सको विमानमा शनिबार दुबईबाट काठमाडौं आइपुगेका तीन जनालाई करिब १५ तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा खटिएको प्रहरीले मध्यपुर ठीमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझीलाई जाँचबुझको क्रममा सुनसहित पक्राउ गरेको हो।

सोधपुछको क्रममा उक्त सुन उनीहरुको नभएको र उनीहरुलाई भरियाको रुपमा मात्र प्रयोग गरिएको पत्ता लागेपछि प्रहरीले उनीहरूलाई नै प्रयोग गरेर सुन लिन आएका रामेछापका सुरेन श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह नेपालमा सक्रिय रहेको र त्यसतर्फ विशेष निगरानी बढाएको प्रहरीले बताएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा बिहीबार ६ घण्टा बन्द रहने

वैशाख ६-काठमाडौँ – बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा ६ घण्टा बन्द रहने भएको छ।

यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ विधुत आपूर्ति प्रणाली सुदृढीकरणका लागि अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले बिहिबार बिहान १:०० बजेदेखि बिहान ७:०० बजेसम्मको सम्पूर्ण हवाई सेवा अवरुद्ध हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभएको छ।

साथै,उक्त समयमा यात्रा गर्नुहुने यात्रुहरुले सम्बन्धित वायु सेवा कम्पनिसंग परामर्श गरि आवश्यकताअनुसारको व्यवस्था मिलाउन पनि महाप्रवन्धक तिवारीले बताउनुभएको छ।

tia tribhuvan international airport

२० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका मोफिजुल इस्लाम र देवसिस कुमार साहलाई विमानस्थल प्रहरीले सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको र प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेकोले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको बताएका छन्।

त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा अवैध सुनसहित ७ जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्।

नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजमा दुबईबाट काठमाडौं आएका व्यक्तिहरुले सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल सहित २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुत रहेको प्रहरीले बताएको छ।

अनुसन्धानको क्रममा उनीहरुले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो। प्रहरीले उनीहरुको साथबाट ८८६ ग्राम सुन बरामद बरामद गरेको छ।

इन्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाजको ‘बायाँ इन्जिन’मा समस्या आएपछि उक्त विमानलाई काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई १२ बजेर ८ मिनेटमा काठमाडौं फर्काइएको हो । विमानमा रहेको सबै यात्रु सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।

आकस्मिक अवतरण गराइएको जहाजको प्राविधिक जाँच गरिने भएको छ। आकस्मिक अवतरणको कारण इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्सको जहाज आकासमा होल्ड हुन् पुगेको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवरुद्ध आन्तरिक उडान सेवा सुरु

बम वा अन्य कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले नियमित रुपमा आन्तरिक उडान सुरु भएको छ।

अन्तर्राष्ट्रिय उडान अवरुद्ध नभए पनि आन्तरिक टर्मिनलमा बम रहेको भनि अज्ञात व्यक्तिले फोन गरेपछि विमानस्थलले आन्तरिक उडान भने बन्द गरेको थियो ।

पाकिस्तानी नम्बरबाट आएको भनिएको अज्ञात व्यक्तिको फोन लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले तालिम प्राप्त कुकुरसहित खोजि अभियान चलाएको थियो। तर सुरक्षाकर्मीले खोज तलासको क्रममा कुनै पनि बम वा अन्य कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएपछि भने विमानस्थलले आन्तरिक तर्फको उडानसेवा पनि सुरु गरेको छ।


आज करिब बिहान १० बजेको समय पश्चात झन्डै १ घण्टा आन्तरिक उडान तर्फको सम्पुर्ण हवाई सेवाहरु अवरुद्ध भएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको आशंका


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको भन्दै अज्ञात व्यक्तिको फोन आएपछि आन्तरिक उडानका सबै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय उडान अवरुद्ध नभए पनि आन्तरिक टर्मिनलमा बम रहेको फोन गर्ने व्यक्तिले दाबी गरेपछि आन्तरिक उडान भने बन्द भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार,”कतै बाट हाम्रो सुरक्षा प्रणालीमा यस्तो थ्रेट वा खबर आएमा हामीले सर्च प्रोटोकल फलो गर्नुपर्छ र अहिले हामीले सबै यात्रु निकालेर सर्च अपरेसन जारि गरिरहेका छौं” ।

अहिले सबै यात्रुलाई बाहिर निकालिएको र तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीले विमानस्थलमा खोजी गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थल पुगेको छ ।

हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर सुन तस्करीको प्रयास: पांच जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको झण्डै साढे दुई किलो ३५० ग्राम तौल बराबरको सुनसहित ५ जनालाई पक्राउ गरेको छ।दुबईबाट काठमाडौं आएको हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर ल्याइएको सुन तस्करीको प्रयासमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजिएको तथ्य बाहिरिएको छ। सुन तस्करीको आरोपमा प्रहरीले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरीलाई पक्राउ गरेको छ। उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन सहयोग गरेको देखिएको छ।
पक्राउ पर्नेमा उदयपुरको २८ वर्षीय राजेश राई र दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा समेत रहेका छन्।