अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक ट्यारिफ नीतिले छिमेकी देशहरूमा त प्रभाव पारेको छ नै, तर यसले अन्तर्राष्ट्रिय व्यापार र प्रमुख विश्व अर्थतन्त्रहरूमा झनै ठुलो र गहिरो प्रभाव पार्ने देखिन्छ । उनको प्रशासन अन्तर्गत, क्यानडा, मेक्सिको र चीनजस्ता देशहरूबाट आयात गरिने सामानहरूमाथि ट्यारिफ लगाइनुले अमेरिका र विश्व अर्थतन्त्रका अन्य शक्तिशाली मुलुकहरुबीच अन्तराष्ट्रिय व्यापार युद्धको अवस्थालाई बढावा दिएको देखिन्छ।
सन् २०१८ मा, ट्रम्पले राष्ट्रिय सुरक्षा कारण देखाउँदै स्टील र एलुमिनियम आयातमा ट्यारिफ लगाएका थिए । क्यानडा र मेक्सिको, अमेरिकाका नजिकका व्यापारिक साझेदारहरू, यसबाट गम्भीर रूपमा प्रभावित भए। स्टीलमा २५% र एलुमिनियममा १०% ट्यारिफ लगाइएपछि कूटनीतिक सम्बन्धहरू तनावपूर्ण बने र एक किसिमको आर्थिक अनिश्चितता उत्पन्न भयो।
ट्रम्पको ट्यारिफ नीतिले उत्तर अमेरिकी व्यापारको आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गरे भने , अमेरिकी उत्पादकहरूको उत्पादन लागत बढ्न गयो र उपभोक्ताहरूले मूल्य वृद्धिको सामना गर्नुपर्यो । क्यानडामा स्टील र एलुमिनियम निर्यातमा निर्भर उद्योगहरू समस्यामा परे, जबकि मेक्सिकोमा सीमा पार हुने व्यापारमा गिरावट आयो। उक्त नीतिले अमेरिकी अर्थतन्त्रमा मिश्रित प्रभाव पार्दै कतिपय घरेलु उद्योगहरू विदेशी प्रतिस्पर्धाबाट जोगिएर लाभान्वित भए भने अटोमोबाइल र निर्माण क्षेत्रजस्ता उद्योगहरूले लागत वृद्धिको सामना गर्नुपर्यो।
चीन, क्यानडा र मेक्सिकोले ट्रम्पको ट्यारिफ नीतिको जवाफमा अमेरिकी नीति विरुद्द प्रतिशोधात्मक ट्यारिफहरू लागू गरे। जस अन्तर्गत क्यानडाले १२.६ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि ट्यारिफ लगायो, जसमा ह्विस्की, सुन्तलाको जुस र डेरी उत्पादनहरू समावेश थिए, जसले राजनीतिक रूपमा महत्त्वपूर्ण अमेरिकी राज्यहरूलाई थोरै भएपनि असर गर्न पुग्यो।
त्यसैगरी,मेक्सिकोले पोर्क, चिज र स्याउजस्ता अमेरिकी कृषि उत्पादनहरूमाथि ट्यारिफ लगायो भने चीनले पनि ११० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि व्यापक ट्यारिफ लगायो, जसले सोयाबिन, अटोमोबाइल र रसायन उद्योगहरूलाई ठूलो असर पुर्यायो।
सन् २०२४ मा पुनः निर्वाचित भई अमेरिकाको ४७ औं राष्ट्रपति बनेपछि, ट्रम्पले आफ्ना अघिल्ला ट्यारिफ नीतिहरू पुनः लागू गरेका छन् । उनले २०२५ को सुरुवातमा नै , चीन, क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात गरिने थप सामानहरूमाथि नयाँ ट्यारिफहरू लगाएका छन् । चिनियाँ प्रविधि र इलेक्ट्रोनिक्समा ट्यारिफ ३५% सम्म बढाइएको छ भने क्यानडा र मेक्सिकोका कृषि उत्पादनहरूमाथि २०% सम्म ट्यारिफ शुल्क थपिदिएका छन् । प्रतिरोधमा क्यानाडा र मेक्सिकोले पनि पुन: अमेरिकी ट्यारिफ नीति विरुद्द थापा नयाँ ट्यारिफहरु घोषणा गरेका छन्।
त्यसैगरी,ब्रिक्स राष्ट्रहरू—ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका—ले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने प्रयास (डिडलराइजेशन) अघि बढाएपछि, ट्रम्पले यी देशहरूलाई पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन् । डिडलराइजेशन पहलले अमेरिकी डलरलाई विश्वको प्रमुख रिजर्भ मुद्राको रूपमा नरहन सक्नेगरी चुनौती दिएपछि ट्रम्प प्रशासनले कडा प्रतिक्रिया जनाएको थियो। यस्ता प्रतिबन्धहरूले अमेरिकी र उदाउँदो अर्थतन्त्रहरूबीचको तनाव बढाउन सक्छ र विश्वव्यापी वित्तीय बजारहरूअस्थिर बनाउन सक्ने आंकलन गरिएको छ ।
संगसंगै ट्रम्पले अटोमोबाइल र कृषि क्षेत्रमा अनुचित व्यापार अभ्यासहरू भैरहेको आरोप लगाउँदै युरोपेली संघ अन्तर्गतका विभिन्न राष्ट्रहरुलाई पनि ट्यारिफ लगाउने संकेत दिएका छन् , । युरोपेली कार र विलासी वस्तुमाथि प्रस्तावित ट्यारिफहरूले ईयू नेताहरूमा चिन्ता बढाएको छ भनेअर्कोतर्फ उनीहरुले पनि प्रतिशोधात्मक कदमहरूको चेतावनी दिएका छन् । ट्रम्पको यो नीतिले विश्व अर्थतन्त्रमा व्यापार युद्ध निम्त्याउन सक्छ भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ यी र यस्ता नीतिहरूले व्यवसायहरूको लागत बढाएको छ र विश्वव्यापी आर्थिक अनिश्चितता उत्पन्न गरेको छ।
ट्रम्पको ट्यारिफ नीति र प्रतिबन्धहरूको धम्कीले दुईपक्षीय व्यापार सम्बन्ध मात्र होइन, विश्वव्यापी व्यापारको समग्र गतिशीलतामा गहिरो प्रभाव पारेको छ। क्यानडा, मेक्सिको, चीन र अब युरोपेली संघका प्रतिशोधात्मक कदमहरूले विश्वव्यापी अर्थतन्त्रको आपसी निर्भरता र संरक्षणवादी नीतिहरूको जोखिमलाई उजागर गरेको छ। ब्रिक्स राष्ट्रहरूले डिडलराइजेशन प्रयास जारी राख्दा र युरोपेली संघ व्यापार विवादमा संलग्न रहँदा, यी व्यापार द्वन्द्वहरूको दीर्घकालीन प्रभाव अमेरिकी अर्थतन्त्र र यसको विश्वव्यापी प्रभावमा कस्तो पर्छ भन्ने कुरा नीतिनिर्माताहरू र अर्थशास्त्रीहरूका लागि महत्वपूर्ण मुद्दा बनेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्