सरकारद्वारा १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ ।

मन्त्रालयले आइतबार विद्यार्थीलाई दिइएको छात्रवृत्तिको विवरण सार्वजनिक गरेको हो । जसअन्तर्गत आवासीय छात्रवृत्ति १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको छ ।

अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले दिइएको हो ।

गैरआवासीय छात्रवृत्ति १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख दिइएको मन्त्रालयले जनाएको छ । कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको हो ।

दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड दिइएको छ । विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ । कक्षा ११–१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६–१० का लागि वार्षिक ६ हजार दिइएको छ ।

प्राविधिक शिक्षा छात्रवृत्ति दलित, मुस्लिम, सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख दिइएको छ । यसमा मासिक निर्वाह भत्ता तीन हजार पाँच सय, यातायात खर्च वार्षिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक दुई हजार पाँचसय रहेको छ ।

उच्च शिक्षा छात्रवृत्तिमा स्नातक/स्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको छ ।

आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ । चिकित्सा शिक्षा छात्रवृत्ति १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड दिइएको मन्त्रालयले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।
साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।परीक्षा र समीक्षाको काम सम्पन्न गरी उत्तरपत्रिका प्रदेशलाई पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेश बोर्डले प्रदेश कार्यालयसँग समन्वय गरी काम गर्नेछ। सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहनेछ ।

तस्विर : दिपेन श्रेष्ठ