लगातारको वर्षाले नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौँ- निरन्तरको वर्षापछि खसेका पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड दुबै आवतजावतका लागि बन्द भएका छन्।

धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार बेनीघाट रोराङ–१० को जवाङ खोलामा आज बिहान करिब २ बजे पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको हो। त्यसैगरी नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा पनि पहिरो खसेर सडक बन्द भएको छ।

पहिरोको कारण दुवै तर्फ यातायात पुनः पूर्णरुपमा रोकिएको छ।

निरन्तर वर्षा र ढुंगा–माटो खस्ने क्रम जारी भएकाले अहिले सडक सफा गर्ने काम अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। २० गतेसम्म यात्रा गर्दा सावधानी अपनाउन सरकारले सार्वजनिक सुचना समेत जारि गरेको छ।

नौबिसे-मुग्लिन सडक खण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड ७ पुसदेखि १३ पुससम्म आंशिक रुपमा बन्द हुने भएको छ ।

नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन ।

३ पुसमा बसेको जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

यसैगरी मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिनेछ ।

तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछ ।