नयाँ स्टकको लाइसेन्स रोक्न धितोपत्र बोर्डलाई अर्थ समितिको निर्देशन

काठमाडौँ – सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अगाडि नबढाउन संसदीय समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बोलाएर बिहीबार छलफल गरेको अर्थसमितिले उक्त निर्देशन दिएको हो।

समितिको बैठकले सुरुमा नेप्से निजीकरण अर्थात् पुनर्संरचनालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको नेपाली कांग्रेसका सांसद तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।

सभापति चालिसेका अनुसार तत्काललाई नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको छ।‘पहिला नेप्सेको सेयरलाई पुनर्संरचना गरेर निजीकरण गर्ने, नेप्सेको पुनर्संरचना नगरी हाललाई नयाँ स्टक एक्सचेन्ज चाहिँदैन भन्ने धारणासहित लाइसेन्स नदिन निर्देशन दिएको उनले बताएका छन्।

नयाँ स्टक एक्सचेन्जको प्रतिस्पर्धामा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज छन्।

स्टक एक्स्चेन्जको नयाँ आवेदन नखुल्ने : पुराना तीनमध्ये एकलाई लाइसेन्स दिने

काठमाडौं – नयाँ स्टक एक्स्चेन्जका लागि नेपाल धितोपत्र बोर्डले नयाँ आवेदन नखुलाउने तर यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तयारी गरेको छ ।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को ५ पुसको निर्णय धितोत्रप बोर्ड पुगेपछि बोर्डले लाइसेन्सको प्रक्रिया अगाडि बढाएको हो।

यसअघि बोर्डमा नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएकोमा लाइसेन्सका लागि ‘चलखेल’ भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसपछी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले २६ वैशाख २०८० मा तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएपछि नयाँ स्टक एक्सचेन्जक प्रक्रिया रोकिएको थियो ।

आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा उद्योगी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, उद्योगी पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, सौरभ ज्योति लगायतको लगानी छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

त्यस्तै नेसनल स्टक एक्स्चेन्जमा गैरआवासीय नेपाली उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी तथा उद्योगी मनोज केडिया लगायतको लगानी छ ।

त्यसैगरी अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलाई सञ्चालकका रूपमा प्रस्ताव गरिएको छ ।

तीनवटा सार्वजनिक संस्था नेपाल टेलिकम, कृषि विकास बैंक लिमिटेड र नागरिक लगानी कोषको लाभांश प्रस्तावित

काठमाडौं – नेपाल टेलिकम, कृषि विकास बैंक लिमिटेड (एडिबिएल) र नागरिक लगानी कोष (सीआईटी) लगायत तीनवटा सार्वजनिक संस्थाले आफ्ना शेयरधनीलाई ३० प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् ।

नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, जुन विगत डेढ दशकयताकै न्यून हो । यसअघि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले औसत ४० प्रतिशतभन्दा बढी लाभांश दिँदै आएको थियो ।

नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष २०२३/२४ को नाफाबाट कुल ५ अर्ब ४० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । समीक्षा वर्षमा नेपाल टेलिकमको राजस्व ६ वर्षअघि ४५ अर्ब ५७ करोडबाट घटेर ३८ अर्ब ९ करोड पुगेको छ । त्यसैगरी, गत आर्थिक वर्षमा यसको खुद नाफा ६ अर्ब रुपैयाँमा सीमित थियो, जुन आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब ६७ करोड रुपैयाँ थियो ।

यसैबीच, सीआईटीले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश दिने तयारी गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश समावेश छ । आइतबार बसेको अर्धसरकारी निकायको वार्षिक साधारणसभाले लाभांशको प्रस्ताव पारित गरेको सीआईटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, एडिबिएलले १० दशमलव ५३ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । एडिबिएलको भर्खरै बसेको सञ्चालक समितिको बैठकले तीन प्रतिशत बोनस सेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको एडीबीएलले जनाएको छ । गत वर्ष सरकारी स्वामित्वमा रहेको वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुनै प्रतिफल दिएको छैन ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने

काठमाडौं – सरकारले विवादका बीच नयाँ स्टक एक्सचेन्ज खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्ज बजारका लागि लाइसेन्स दिन स्वीकृति दिएको हो । सरकारको यो निर्णयसँगै नेपालले छिट्टै सेयर कारोबारको दोस्रो प्लेटफर्म पाउने भएको छ ।

सेबोनले सेप्टेम्बर १८, २०२२ मा नयाँ स्टक एक्सचेन्ज जारी गर्ने घोषणा गरेपछि नयाँ स्टक कारोबार खोल्ने विषय विवादमा परेको थियो । तत्कालिन सरकारले सत्तारुढ दलसँग घनिष्ट सम्बन्ध रहेका उम्मेदवारलाई लाइसेन्स दिन चासो देखाएपछि विवाद चुलिएको थियो । सेबोनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि उक्त प्रक्रिया रोकिएको थियो। त्यसपछि,सन् २०२३ जनवरीमा सरकारले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा देशको दोस्रो बजारमा दोस्रो स्टक एक्सचेन्जको औचित्य अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले सरकारलाई नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने विकल्प खुला राख्नुका साथै नेप्सेको पुनर्संरचना गर्न सुझाव दिएको थियो ।

नयाँ स्टक एक्सचेन्ज खोल्दा दोस्रो बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री र अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग मिल्दो बनाएर धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण हुने समेत समितिले जनाएको छ । यसले देशको स्टक एक्सचेन्जमा विदेशी रणनीतिक साझेदारहरू समावेश गर्ने सम्भावनालाई पनि सिफारिस गरेको छ।

हाल आएर संसदीय अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अगाडि बढाउन सरकारलाई हरियो संकेत दिएपछि सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रयासलाई तीव्रता दिएको छ ।

सन् १९९४, १३ जनवरीमा आफ्नो दोस्रो बजार सञ्चालन सुरु गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक फ्रन्टलाइन नियामकको रूपमा काम गर्दै आएको छ। नेप्सेले नोभेम्बर ६ , २०१८ मा अनलाइन प्रणाली मार्फत सेयर कारोबारलाई स्तरोन्नति गरेको थियो ।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्जका लागी चारवटा निवेदन प्राप्त

काठमाडौं, वैशाख ११ : नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज बजार सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्ज बजार खोल्नका लागि चारवटा निवेदन प्राप्त गरेको छ ।

सेबोनका अनुसार हिमालय स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले स्टक एक्सचेन्ज कारोबार सुरु गर्न नियामकको स्वीकृतिका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, नेपाल मल्टि कमोडिटी एक्सचेन्ज, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टि एसेट्स डेरिभेटिभ एक्सचेन्ज र मल्टि डेरिभेटिभ एक्सचेन्जले कमोडिटी एक्सचेन्ज बजार सञ्चालन गर्न इच्छुक रहेका छन् ।

स्टक एक्सचेन्ज विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग समानान्तर संस्था हुने भए पनि कमोडिटी एक्सचेन्ज बजार देशभित्रै पहिलो र नयाँ संस्था हुनेछ ।

नेप्से ५.३२ अंकले घट्दा १ अर्ब १४ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.३२ अंकले ओरालो लागेको छ। बुधबार १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घट्दा कुल कारोबार रकम भने १,१४१,४५५,०६२.५० मा खुम्चिन पुगेको छ।

आजको अन्तिम कारोबारपछि नेप्से १९३३. ३१ विन्दुमा पुगेर रोकिएको छ। आज २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर कारोबार हुँदा युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ।

निरन्तर ओरालो लाग्दै सेयर बजार

साताको पहिलो कारोबारको दिन आज नेप्से ११ . ४६ अङ्कले घटेर १९२६.२८ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि २.१० अङ्कले घटेर ३७४.७३ विन्दुमा रोकिएको छ।


आज २२१ वटा कम्पनीको २५ ,२४,२२४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ७४,७२,२६,६२५ रुपैयाँ पुगेको छ। आजको कारोबारमा अन्य बाहेकका सबै उपसूचक भने घटेको छ ।

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ जारी

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर जारी गरेको हो। जारी गरिएको कुल सेयरको ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि खुला गरिएको छ।

अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहनेछ ।

सर्वसाधारणले भाद्र १५ गते देखि १९ गतेसम्म, प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मको शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

केयर रेटिङ्गस नेपालले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई प्रदान गरेको डबल बि माइनस रेटिङ्ग अनुसार यस कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउंछ ।

सेयर बजारमा दुई अङ्कको गिरावट

सोमबार १७. ६८ अङ्कले घटेको नेप्से आज पनि ४५.४२ अङ्कले घटेर २०६० .७३ विन्दुमा मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ९.६८ अङ्कले घटेर ३९६.४२ पुगेको छ।


आज २२२ वटा कम्पनीको ६,६४,६०३६ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८१,५१,४४,५९८ रुपैयाँ पुगेको छ। आज भएको कारोबारमा सबै उपसूचक समुहको कारोबार घटेर रातो भएको छ।

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

साताको दोस्रो कारोबारको दिन आज नेप्से १७. ६८ अङ्कले घटेर २१०६.१५ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ३. ४४ अङ्कले घटेर ४०६.११ विन्दुमा रोकिएको छ।
आज २१४ वटा कम्पनीको ६५,२७,४१४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८५७,०७२,९६१ रुपैयाँ पुगेको छ। आजको कारोबारमा उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेकका अन्य सबै उपसूचक भएन घटेको छ ।

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरले भने सकारात्मक सर्किट लेभलमा कारोबार गर्न सफल भएको थियो।

सेयर बजारमा हरियाली: कारोबार रकम ४ अर्ब माथि

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक भएपछी आइतबार ६१.०५ अंकले बढेको सेयर बजार सोमबार ५४.४५ अङ्कले बढेर २१३२. ९६ पुगेको छ।

नेप्से परिसूचक २ . ६२ %ले बढ्दै गर्दा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९.०५ अंकले बढेर ४०७.३८ बिन्दुमा पुगेको छ।

नेप्से सूचकसँगै कारोबार रकम पनि बढेर ४,१०६,८१८,९४१ रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार २१४ कम्पनीको सेयर कारोबार हुँदा ९,९४४,०४८ कित्ता सेयरको खरिद बिक्रि भएको छ। सोमबारको कारोबारमा सम्पूर्ण उप-सूचकांकहरूमा हरियाली छाएको छ भने ७ कम्पनीले सकारात्मक सर्किटमा कारोबार गरेका छन्।

नेप्से घटेपनि कारोबार रकम वृद्धि


सोमबार बिहान उकालो लागेको सेयर बजार अन्तिम समयमा आएर ९. ७५ अंकले ओरालो लाग्दै २०७६. ६७ मा झरेर रोकिएको छ ।

नेप्सेमा गिरावट आएपनि आइतबारको तुलनामा सोमबारको कारोबार रकममा भने वृद्धि भएको छ। २३४ कम्पनीको १०,९८१,५९१ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ४,३४९,२७३,५९३ पुगेको छ। सो रकम आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो ।

जेठदेखि पुँजीबजार शुक्रबार पनि खुल्ला रहने

सरकारले आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि जेठदेखि पुँजी बजार शुक्रबार खुल्ने भएको छ ।

पूँजी बजार यसअघि शुक्रबार र शनिबार बन्द हुने भएपनि अब शनिबार र आइतबार बन्द हुने भएको छ तर पहिलेको जस्तै पाँच दिन मात्र बजार खुल्ला रहने बोर्डले जनाएको छ।

त्यस्तै बोर्डका अध्यक्ष हमालका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी आर्थिक वर्षदेखि साधारण शेयर आईपीओ भर्न पाउनेछन् र उनीहरुका लागि निश्चित कोटा छुट्याइने हमालले जानकारी दिनुभएको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले सरकारले कार्यदल बनाएर तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र यी सबै कुरा कार्यान्वयनमा आउने बताउनुभएको छ ।

नेप्से दोहोरो अंकले गिरावट

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ६ अंकमा बन्द भएको छ। यो साताको लगातार तीन दिन नेप्से दोहोरो अंकले घटेको छ ।

२ हजार ४९८ दशमलव ५३ अंकमा खुलेको बजार इन्ट्राडे कारोबारमा सिधै ओरालो लागेको थियो । लगानीकर्ताको आत्मविश्वास घट्दै गएपछि साताको पहिलो तीन दिन देशको दोस्रो बजार झन्डै ९२ अंकले घटेको छ ।

एकै दिनको कारोबार भने सोमबार १ अर्ब ५८ करोड रुपैयाँबाट २ अर्ब ६७ करोड पुगेको छ । व्यक्तिगत कम्पनीहरूमध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा बढी ९६.७९ करोड रुपैयाँको शेयर कारोबार गरेको छ ।

होटल र पर्यटन बाहेक अन्य १२ व्यापार समूहको सेयरको औसत मूल्य घटेका कारण रातो पोष्ट भएको छ । जीवन बीमा र निर्जीवन बीमा क्रमशः ४३२.२८ अंक र ३४६.८४ अंकले घटेको छ ।

यस दिन इमर्जिङ नेपाल लिमिटेड सबैभन्दा धेरै अंकले घटेको छ भने नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै अंकले बढेको छ ।

नेपाल धितोपत्र बोर्डले फेरी माग्यो अध्यक्षको लागि आवेदन ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदको लागि पुन: आवेदन मग गरेको छ । लामो समय देखी रिक्त रहेको अध्यक्ष पदको लागि अध्यक्ष सिफारिस समितिले पुन: आवेदन माग गरेको हो । अध्यक्ष चयनको निम्ती यसअघी गठित समितीनै विवादस्पद बनेपछी अध्यक्ष चयनको प्रकृया रोकिएको थियो । सो प्रकृयामा १२ जनाले निवेदन दिएका थिए भने ति सबै पुराना आवेदकले फेरी नयाँं प्रकृया अनुसार आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिती यही पौष २९ गतेसम्म रहेको छ ।

आवेदन दिएका कसैले आवेदन फिर्ता लिना चाहेमा सुचना जारी भएको १५ दिन सम्म आफ्नो आवेदन फिर्ता लिन सक्ने पनि बताइएको छ ।
सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछी लामो समय देखी उक्त पद रिक्त रहेको छ । पदको दुरुपायोग गर्दै, सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न रहेको आरोपमा ढुङ्गानालाई बर्खास्त गरिएको थियो ।

धितोपत्र बोर्डमा अध्यक्ष नहुंदा झण्डै ८ अर्बको आइपिओ फ्रिज

चार महिना बितिसक्दा पनि सरकारले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्न नसक्दा पाइपलाईनमा रहेका नयाँं आइपिओ निष्काशन नहुने भएको छ ।

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिस्म राज ढुंगानालाई पदको दुरुपयोग गरेर कम्पनीहरुसंग शेयर खरिदबिक्रीमा अनियमितता गरेको भन्दै बर्खास्त गरेपछी लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्ष बिहिन बनेको छ । झण्डै ४ महिना बितिसक्दा पनि सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न सकेको छैन।यति बेला बोर्डमा २८ कम्पनी प्राथमिक शेयर निष्काशन अनुमतिको पर्खाइमा रहेका छन् भने ७ अर्ब ३९ करोड ६६ लाख चार सय रुपैयाँ बराबरका ६ करोड ७२ लाख ४६ हजार चार कित्ता शेयर पाइप लाइनमा रहेका छन् । तर नेपाल धितोपत्र बोर्डमा नयाँं अध्यक्ष नियुक्ति नभए सम्म कुनै पनि कम्पनिले नयाँ आइपिओ जारीगर्न नपाउने भएको छ । लगानीको अवसर गुमाउँदै गएका लगानिकर्ताहरुले,खर्बौं रुपैयाँं बराबरको पुंजी बजारलाई सरकारले बेवास्ता गर्नुलाई सरकारको अदुर्दर्शिता र निकम्मापनको संज्ञा दिंदै बिभन्न सामाजिक सञ्जालहरुमा सरकारप्रतिको आक्रोस ब्यक्त गरिरहेका छन् ।
सरकारले नयाँं अध्यक्ष नियुक्ति गर्न बनाएको कार्यसमिती पनि विवादमा तानिएपछी अध्यक्ष नियुक्तिको प्रकृया झनै ओझेलमा परेको छ ।