कास्की — माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने र संशोधनका निम्ति संविधानको समीक्षा गरिने पनि उनले बताएका छन् ।
सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ र यो संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्ने रहेको पनि उनले बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना रहेको समेत उनले प्रष्ट पारेका छन्।
प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको र ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
कार्यक्रममा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्