जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

पहिलो संस्करणको एनपीएलको उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझायो। यसैगरी तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भएको छ ।

janakpur bolts

विजेतालाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए।

नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन्। दीपेन्द्रले आठ खेलमा एक अर्धशतकसहित दुई सय २७ रन बनाएका थिए। सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई ओमोडाको ई–५ ईभी कार प्रदान गरिएको हो। आयोजक क्यानले सर्वोत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख मूल्यको ओमोडाको ई–५ ईभी कार प्रदान गर्ने घोषणा गरेको थियो।

यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए। उनले एक थान मोटरसाइकल पुरस्कार पाएका थिए। ललित र सुदूरपश्चिम रोयल्सका स्कट केगुलेइन संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका थिए।

पहिलो संस्करणको एनपीएलको प्लेयर अफ दी सिरिज भने सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए। उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। सुदूरपश्चिमका ओपनर ब्याटर सैफले एनपीएलको नौ खेलमा दुई सय ७५ रन बनाएका थिए। कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारे। उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाए। १६ वर्षीय विपिनले विश्वका चर्चित खेलाडीलाई पेभेलियनको बाटो देखाउँदै आफ्नो क्षमता प्रमाणित गरेका थिए।

दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो १२ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाउने भएको हो।

कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो।

बुधबार पहिलो क्वालिफायरमा विजयी हुँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा पुगिसकेको छ।

अब आज विजयी हुने टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग भिड्नेछ।

उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यसैगरी तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए।

एलिमिनेटरबाट बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

चितवन राइनोसलाई हराउँदै कर्णाली क्वालिफायर टु मा

काठमाडौं – चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो ।

कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाएको थियो ।