काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) लागत वृद्धि गर्ने भएको छ ।
एमसीसीले लगानी गरेका आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण बढेको लागत धान्न एमसीसीले रकम वृद्धि गर्न लागेको हो ।
एमसीसीले रकम थप गर्ने बारे डिसेम्बर १८ मा अमेरिकी कंग्रेसलाई जानकारी गराइसकेको छ ।
एमसीसीले प्रसारण लाइन निर्माणका लागि श्रोतको अभाव पूर्ति गर्न र एमसीसीको लक्ष्य हासिल गर्न सहयोग पुर्याउन अमेरिका र नेपालबीच भएको सम्झौता (कम्प्याक्ट) परिमार्जन गर्न अमेरिकी कंग्रेसलाई जानकारी गराएको छ ।
एमसीसीले लागत बढाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । निर्माण हुने आयोजनाको लागत बढेको देखेर एमसीसीले थप ५ करोड डलरसम्म रकम थप गर्ने प्रक्रिया अघि बढाएको छ,’ अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने । “उनीहरूले स्वीकृत गरेपछि हामी नेपाल सरकारले उक्त रकम स्वीकार गर्ने प्रक्रिया अघि बढाउँछौं।”
विसं २९ भाद्र २०७४ मा नेपाल सरकार र एमसीसीबीच प्रसारण लाइन र सडक पूर्वाधार निर्माणका लागि सम्झौता (कम्प्याक्ट) भएको थियो ।
त्यसबेला एमसीसीले नेपाललाई ५० करोड डलर लगानी गर्ने उल्लेख थियो । तर, उक्त सम्झौता कार्यान्वयनलाई लिएर नेपालमा लामो समयदेखि चलेको राजनीतिक विवादका कारण नेपालको संसदले सम्झौता अनुमोदन गर्न साढे ४ वर्षभन्दा बढी समय लगाएको थियो ।
एमसीसी कम्प्याक्टलाई नेपाली संसदले २०७८ फागुन १५ गते मात्र व्याख्यात्मक घोषणासहित स्वीकृत गरेको थियो र सम्झौता भएको ६ वर्षपछि एमसीसी परियोजना २०८० साल भदौ १३ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
एमसीए नेपालले गत नोभेम्बर २८, २०२२ मा प्रसारण लाइनको ठेक्का प्रक्रिया सुरु गरेको थियो। तर, लागत अनुमानभन्दा ६० प्रतिशत बढी महँगो टेन्डर आहवानपछि एमसीए नेपालले ठेक्का प्रक्रिया रद्द गरी दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो।
तर, एमसीसी सम्झौता र कार्यान्वयनको प्रारम्भ (प्रवेश) बीचको ६ वर्षको अवधिमा विश्व परिस्थितिमा ठूला अवरोधका कारण आयोजनाको लागत बढ्न सक्ने नेपाल सरकार, एमसीए नेपाल र एमसीसीले स्वीकार गरेका छन् । नेपाल, एमसीसी नेपाल र एमसीसीले आयोजनाको लागत बढ्न सक्ने स्वीकार गरेकाले रकम बढाउनुपरेको एमसीसीको सूचनामा उल्लेख छ ।
एमसीसीले प्रसारण लाइनको पुरानो ठेक्का खारेज गरेपछि लागत घटाउन डिजाइन परिवर्तन र अन्य उपाय अपनाएर नयाँ बोलपत्र आह्वान गरेको छ । यस पटक आह्वान गरिएका बोलपत्र लागतका कारण रद्द गर्नु नपर्ने र एमसीए नेपालले समयमै ठेक्कामा हस्ताक्षर गरी आयोजना कार्यान्वयनमा ढिलाइ नगरी अघि बढ्न सक्ने गरी रकम वृद्धि गरिएको एमसीसीले जनाएको छ ।
एमसीसी परियोजना कार्यान्वयन गर्न नेपाल सरकारले सुरुमा १३ करोड डलर लगानी गर्न सहमत भएको थियो । तर, परियोजनाको लागत बढ्दै गएपछि नेपालले सन् २०२३ को मे महिनामा थप ६७ मिलियन डलरले लगानी बढाउने प्रतिबद्धता जनाएको छ। यसले नेपालको कुल लगानी १९७ मिलियन डलर पुगेको छ।
एमसीसी आयोजनाको योजनाअनुसार ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन र तीन ४०० केभी सबस्टेसन निर्माण गरिनेछ।
एमसीसी अन्तर्गत निर्माण हुने आयोजनामध्ये नयाँ बुटवलदेखि भारतीय सीमासम्म तीनवटा सबस्टेसन र १८ किलोमिटरको प्रसारण लाइन निर्माणको काम अगाडि बढाइएको छ ।
बाँकी २९७ किलोमिटर प्रसारण लाइनको पुनः बोलपत्र भइसकेको छ भने दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक मर्मत आयोजनाको बोलपत्र आउन बाँकी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्