काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी शनिबार दीक्षित भएका छन् । पीएचडी तहका ३, पीजीडीका ५१, एमफिलका ३३, स्नातकोत्तर तहका ३ सय ८५ र स्नातक तहका ७ सय ८४ जना दीक्षित भएका हुन् ।
दीक्षित भएकामध्ये मानविकी संकायका १ सय ११, शिक्षाका २ सय ५३, इन्जिनियरिङका ७७, कानुनका ३९, व्यवस्थापनका ४ सय ६५, चिकित्सा विज्ञानका १ सय ८१ र विज्ञानका १ सय ३० जना विद्यार्थी रहेका छन् । दीक्षित भएकाहरुमा भारत, चीन, श्रीलंका, बंगलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भुटान गरी ९ देशका ७५ जना विद्यार्थी समेत रहेका छन् ।
काठमाडौं विश्वविद्यालयले स्कुल अफ आर्ट्सको मास्टर इन अर्बान स्टडिजमा ५, मास्टर इन मिडिया स्टडिजमा १ र मास्टर अफ फाइन आर्ट्समा २१ जनालाई पहिलो पटक उपाधि प्रदान गरेको छ । स्कुल अफ एजुकेसनको मास्टर इन इन्डिजिनियस एजुकेसन एन्ड डेभलपमेन्टमा १९ र मास्टर इन ट्रेनिङ एन्ड डेभलपमेन्टमा १२ जनाले पनि पहिलो पटक उपाधि पाएका छन् ।
यस्तै, स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ र एम टेक इन इनर्जी सिस्टममा ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको छ ।
स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साइन्स मेडिकल इमेजिङ टेक्नोलोजीमा ८ र ब्याचलर अफ साइन्स इन ल्याबरोटरी मेडिसिनमा १० जनाले पहिलो पटक उपाधि प्राप्त गरेका छन् । शनिबारको तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये नेपालबाहेक ५७ देशका ५ हजार ५ सय ४२ जना छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्