ओलीको आलोचना गर्नेमाथी कारवाहीको लर्को

काठमाडौँ- नेकपा एमाले नेता ओली र पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा कोसी प्रदेश सभाका पूर्वसांसद एवं एमाले नेता विमल कार्कीलाई पनि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

पुस २७ र २८ मा विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।कार्कीसहित अरू दुई जनालाई अभिव्यक्तिकै विषयलाई लिएर स्पष्टीकरण सोधिएको समेत खतिवडाले बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जाल फेसबुकमा टीकाटिप्पणी गरेकै भरमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको र कारवाही गरेको बताइएको छ।

‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्तिहरू आइरहेको छ। त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने,’ अध्यक्ष खतिवडाले कार्कीलाई सोधेका थिए।

कार्की वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका एमालेका सक्रिय नेता हुन्।
उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए।

यसअघि एमाले केन्द्रिय कमिटीले भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई स्पष्टीकरण सोधेर कारवाही गरेको थियो।

सोहि विषयमा बोल्दै नेता भीम रावलले कोसी प्रदेशका पूर्वसांसद विमल कार्कीलाई पार्टीले गरेको कारबाही प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गुटको तानाशाही चरित्रको अर्को परिणाम भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र निरंकुशतालाई बढावा दिए: भिम रावल

एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री ओलीले भ्रष्टाचार र निरंकुशतालाई बढावा दिएको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलविरुद्ध ललिता निवास जग्गा भ्रष्टाचार काण्डमा मुद्दा दायर नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ओलीले निर्देशन दिएको आरोप लगाउँदै उनको आलोचना समेत गरेका छन्।

‘अवैध रूपमा लिइएको जग्गा फिर्ता गरेपछि रेग्मी र पौडेलविरुद्ध मुद्दा चलाउनै पर्दैन भन्ने ओलीको निर्देशनमा अख्तियारले निर्णय गरेको हो ? चोरेको सम्पत्ति फिर्ता भएकोले मात्रै चोरी माफी दिने कानुन छ ?” रावलले प्रश्न गरे । यस्ता कार्यले जवाफदेहितालाई कमजोर बनाउने र शक्तिको दुरुपयोग भएको रावलको दाबी छ ।

रावलले ओलीले अहंकार र बहिष्कारको नीति अपनाएको भन्दै त्यसले एमालेभित्र द्वन्द्व निम्त्याएको बताए । ‘म ओलीको पूर्वाग्रहको सिकार भएँ । यो स्पष्टीकरण थियो वा आरोपपत्र?” रावलले आफूलाई पार्टीबाट निष्कासन गरेको भन्दै प्रश्न गरे ।

साथै, रावलले प्रमुख राजनीतिक दलहरूले भ्रष्टाचार र विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाए। सत्ताका भोका नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न सुशासनको दुरुपयोग गरिरहेका छन्,’ उनले थपे।

एमाले सचिवालयले पार्टीलाई कमजोर बनाएको आरोप लगाएर नेता रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको थियो भने अन्य दुई जनालाई ६ महिनाको लागि पार्टीको जिम्मेवारी बाट निलम्बन गरेको थियो।

भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।

‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने।

यता, नेता रावलले आफूमाथिको कारवाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताएका छन्।

त्यसैगरी, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी बाट अलग गरेको छ।

स्वार्थ केन्द्रित शासन प्रणालीले देशको विकास हुँदैन : भीम रावल

धनगढी। नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थमा केन्द्रित भए देशमा विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन समारोहमा उनले प्रधानमन्त्री र मन्त्री बन्न र सरकार परिवर्तनमा मात्रै नेताको ध्यान केन्द्रित हुन नहुने बताएका छन्।

छिमेकी भारत र चीनको विकास तीव्र गतिमा भइरहेका बेला नेपाल आफ्नै भूराजनीतिक कारणले पछाडि परेको उनले बताएका छन्। दुई देशबीचको अत्यन्तै संवेदनशील भूराजनीति भएको नेपाल कमजोर हुँदा शासन प्रणाली व्यक्तिगत स्वार्थमा केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य र अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ? रावलले भने, ‘सरकार कहिले बदल्ने, को मन्त्री र प्रधानमन्त्री को बन्ने भन्ने निर्णय मात्रै गरे भने देशको विकास हुन सक्दैन ।

रावलले मुलुकको अर्थतन्त्र सुधार, अतिक्रमित सिमाना फिर्ता, कृषि क्षेत्रको विकास र रोजगारी वर्तमान समयको मुख्य आवश्यकता रहेको समेत बताएका छन् ।

काठमाडौंका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेटबारे भिम रावलको प्रश्न

नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेट बारेमा प्रश्न गर्नुभएको छ।

नेपालको परराष्ट्र सम्बन्ध, संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै नेता रावलले, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस् भनेर प्रश्न गर्नुभएको छ।

नेता रावलले, संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्नुपर्ने भन्दै, परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानुनी पद्धति मिचेर संवैधानिक निकायका प्रमुखले आफुलाई मनलागेको बेला जो कोहि विदेशीसँग भेटवार्ता गर्न नमिल्ने बताउनुभएको छ।

तस्विर:अमेरिकी दुतावासको ट्विटरबाट

ओलीको विभेदपूर्ण राजनीतिप्रति पार्टीभित्रै बसेर संघर्ष गर्छु: भिम रावल

नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष के पी शर्मा वलीको विभेदपूर्ण राजनीतिक चरित्र र अन्याय विरुद्द पार्टीभित्रै बसेर संघर्ष गर्ने बताउनुभएको छ।

जिल्लाबाट एकल सिफारिस हुँदा पनि प्रतिनिधि सभामा आफुलाई अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका एमाले नेता-कार्यकर्ताको घोर अपमान भएको र पार्टीको हित र एकतामा आँच पुर्‍याएको उहाँले बताउनुभएको छ । नेता रावलले पार्टीमा विधि र अनुशासन कायम नरहेको र कुनै पनि विषयमा परामर्श नै नहुने गरेको भन्दै ,अध्यक्ष ओलीले आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम गर्नुभएको पनि बताउनुभएको छ।

एमाले कसैको कम्पनी र व्यक्तिगत सम्पत्ति नभएको र एमालेसँग करोडौं जनता र कार्यकर्ताको भरोसा जोडिएको भन्दै, अहिलेको विकृत अवस्थाबाट पार्टीलाई बाहिर निकाल्न अन्तिम बिन्दुसम्म पनि पार्टीमै बसेर संघर्ष गर्ने र दक्षिणपन्थी र प्रतिक्रियावादीहरूसँगको एमालेको साँठगाँठ अन्त्य गर्ने बताउनुभएको छ।

अध्यक्ष ओलीले आफ्नो बारेमा जति नै भर्म छरेर आरोप लगाएपनि आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफु लागिपर्ने पनि उहाँले बताउनुभएको छ।

बरु जेल हालोस तर इम्बोस्ड नम्बर प्लेट हाल्दिन:भिम रावल

नेकपा एमालेका सांसद भीम रावलले बरु सरकारले आफुलाई जेल हालोस तर आफ्नो सवारीमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको छ ।

संसदको राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्ने क्रममा नेता रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको हो। नेपालको संबिधान विपरित अंग्रेजीमा नम्बर प्लेट राख्ने चलखेल गरेको र आर्थिक अनियमितता गरेर बढी शुल्कमा इम्बोस्ड नम्बर प्लेट वितरण गरिएको भन्दै नेता रावलले सरकारको आलोचना गर्नुभएको छ।

यातायात व्यवस्था विभागले साउन १ देखि इम्बोस्ड प्लेट अनिवार्य जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि, सो निर्णयको चर्को विरोध गर्दै संसदमै आवाज उठ्न थालेपछि विभाग आफ्नो निर्णयमा लचिलो बन्दै कारवाही गर्ने र श्रावण १ गतेदेखि अनिवार्य जडान गर्नुपर्ने भन्ने निर्णयबाट पछि हटेको थियो।

स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी: भिम रावल

प्रमुख प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी गरिरहेको आरोप लगाउनुभएको छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रावलले सरकारले नेपालको असंग्लन परराष्ट्र नीतिलाई उल्लंघन गरेको बताउनुभएको छ। परराष्ट्र मन्त्रालयले तय गर्नुपर्ने प्रधानमन्त्रीको भ्रमण रक्षा मन्त्रालयले गरेको भन्दै,प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन समेत उहाँले माग गर्नुभएको छ।

सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत दावी गर्नुभएको छ।

विधुत बढी भएको हल्ला फिँजाएर रणनीतिक महत्वका नदीनाला भारतलाई सुम्पिने सरकारको नीति

आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले नेपालका महत्वपूर्ण रणनीतिक नदीनाला विदेशीको हातमा सुम्पिने कुरा र पश्चिम सेती जलविध्युत आयोजना भारतलाई दिने भन्ने प्रधानमन्त्री देउवाको भनाइ मान्य नहुने बताउनुभएको छ।

नेता रावलले भन्नुभयो,”नेपालको सार्वभौमसत्तामा आधारित आत्मनिर्णयको अधिकारको धज्जी उडाउँदै हालै प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको चुनावी सभामा, भारत सरकारले चीनको लगानीमा उत्पादित विधुत नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती जलविधुत आयोजना भारतलाई सुम्पिनुपर्ने कूतर्क सार्वजनिक रुपमा गर्नु भएको छ “।

त्यसैगरी पश्चिम सेतीका साथै सरकारले अरुण चौथो जलविधुत योजना निर्माण गर्न भारतसँग सेयर बिक्री गर्ने निर्णय राष्ट्रिय हितविपरित भएको पनि बताउनुभएको छ।

वार्षिक ८०० मेगावाटसम्म भारतीय उर्जा प्रति युनिट ३२ रुपैयाँ खर्च गरी किन्नुपरेको अवस्थामा, देशमा विधुत बढी भएको हल्ला फिजाएर नेपालको रणनीतिक महत्वका नदीनाला विदेशीको हातमा सुम्पिने नीतिमा सरकार रहेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। रावलले,उर्जा उत्पादन नेपालले स्वतन्त्र राष्ट्रका रुपमा गर्न नसक्ने भएको हो त भनेर प्रश्न समेत गर्नुभएको थियो ?
साथै उहाँले, विदेशी मुद्राको सञ्‍चिती घट्दो रुपमा रहंदा समेत राष्ट्रिय अर्थतन्त्रप्रति सरकार संवेदनशिल नभएको,
जनशक्तिको स्वदेशमै परिचालन गर्न सरकारको कुनै योजना नभएको,शिक्षामा वर्गीय विभाजन रोक्न सरकारले ध्यान नदिएको र कृषि उत्पादन र कृषि उत्पादकत्व बढाउने नीति सरकारको प्राथमिकतामा नपरेको पनि बताउनुभएको थियो।