टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्।

पक्राउ पूर्जी जारी भएपछी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर फरार भएका थिए। एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको ११औँ दिन आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

रायमाझी अहिलेसम्म भारतमा लुकेका र भारतको नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ । रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली भारतमै आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र उनलाई पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेको भएपनि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनि फरार थिए । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले २० वैशाखमा नै पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री खाँणलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

वैशाख ३१ , काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै खाँणसहित अन्य १२ जनालाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेकोमा,काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईसहितका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा राखेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा भने फरार रहेका छन् ।