सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीमाथि रास्वपाका कार्यकर्ताद्वारा दुर्व्यवहार

कैलाली – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

शनिवार कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा दैजी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले शनिवार सरकारी सवारी दुरुपयोग गरेको भन्दै रावल चढेको गाडी रोकेर रावलमाथि दुर्व्यवहार गरेका थिए ।

पास हुँदा हुँदै नियोजित ढंगले पास छैन भन्दै गाडी रोकेर दुर्व्यवहार गरिएको र जाइलाग्ने गरी गाडी रोकिएको उनले बताएका छन्।

रावलका स्वकीय सचिव राजबहादुर चन्दले विज्ञप्ति निकालेर रास्वपा कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको बताएका छन् । यस्तै उनले उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।बिदाको दिन प्रदेश सभा सचिवालयबाट अनुमति लिएर हिँडिरहेको अवस्थामा यस्तो दुर्व्यवहार भएको भन्दै चन्दले घटनाको छानबिन गर्न माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री साेडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।

केन्द्रमा काँग्रेस एमालेको नयाँ सरकार बनेलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनि अल्पमतमा परेका थिए। संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनले संसद छल्दै आएपछि प्रमुख प्रतिपक्षदलहरुले सुदुरपस्चिममा सरकार हराएको भन्दै केहि दिन अघि मोबाइलको टर्च बालेर दिउँसै सरकारको खोजि भनेर सांकेतिक रुपमा विरोध जनाएका थिए।

सुदुरपस्चिममा सोडारीलाई माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिकाे रञ्जिता पक्षका एक जना गरेर १५ जनाकाे मात्र समर्थन रहेको छ भने कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १/१ गरेर ३७ जना उनको विपक्षमा रहेका छन्।

अल्पमतमा परेका साेडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा सुदूरपश्चिममा बजेट शून्यताको स्थिति छ ।

प्रध्यापकहरूले लगाइदिए सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा ताला

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा प्रध्यापकहरूले ताला लगाइदिएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नका लागि विज्ञापन आह्वान गरेको तर आन्तरिक प्रतियोगितामा केन्द्रीय क्याम्पसलाई छुटाएको भन्दै विश्वविद्यालयका छवटा प्राध्यापक संघहरूले सेवा आयोगमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

केन्द्रीय क्याम्पसमा विश्वविद्यालयमा स्थापनाकालदेखिनै कार्यरत शिक्षकलाई सेवा आयोगले छुटाएको र विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा पनि एकै प्रकृतिका निर्णयमा समेत विभेद गरिएको भन्दै ताला लगाएको सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पसका सभापति किशोर बोहराले बताएका छन्।

यसअघि पनि विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको थियो ।
अदालतसम्म पुगेको उक्त समायोजनको मुद्दामा अदालतको फैसलाले विज्ञापन खोल्ने बाटो खुलेपछि सेवा आयोगले आन्तरिक विज्ञापन खोले पनि केन्द्रीय क्याम्पस छुटाएको भन्दै प्राध्यापक संघहरूले विरोध जनाएका हुन् ।तस्विर: अन्नपूर्ण

सुदूरपश्चिम प्रदेशमा टर्च बालेर सरकार खोज्दै प्रतिपक्ष

कैलाली – सुदूरपश्चिम प्रदेशमा सरकार संसदमा उपस्थित नभएको (साङ्केतिक रुपमा सरकार हराएको ) भन्दै प्रतिपक्ष दलहरूले मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन। जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन,’ त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताएका छन्।

आज २ बजेको लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको तर,मुख्यमन्त्री सोडारीले अहिलेसम्म पनि विश्वासको मत लिने मिति निर्धारण नगरेको भन्दै मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत प्रतिपक्षले माग गरेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजिनामा माग: सरकारलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम — केन्द्रमा सत्तासमीकरण परिवर्तन भएसँगै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताले संयुक्त रुपमा आग्रह गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले, अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित नहुने र तत्काल राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्ने र बजेट ल्याउन सहज हुने बताएका छन् ।

नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको समेत कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताए । त्रिपन्न सदस्यीय सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक रहेकोमा, कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

स्वार्थ केन्द्रित शासन प्रणालीले देशको विकास हुँदैन : भीम रावल

धनगढी। नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थमा केन्द्रित भए देशमा विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन समारोहमा उनले प्रधानमन्त्री र मन्त्री बन्न र सरकार परिवर्तनमा मात्रै नेताको ध्यान केन्द्रित हुन नहुने बताएका छन्।

छिमेकी भारत र चीनको विकास तीव्र गतिमा भइरहेका बेला नेपाल आफ्नै भूराजनीतिक कारणले पछाडि परेको उनले बताएका छन्। दुई देशबीचको अत्यन्तै संवेदनशील भूराजनीति भएको नेपाल कमजोर हुँदा शासन प्रणाली व्यक्तिगत स्वार्थमा केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य र अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ? रावलले भने, ‘सरकार कहिले बदल्ने, को मन्त्री र प्रधानमन्त्री को बन्ने भन्ने निर्णय मात्रै गरे भने देशको विकास हुन सक्दैन ।

रावलले मुलुकको अर्थतन्त्र सुधार, अतिक्रमित सिमाना फिर्ता, कृषि क्षेत्रको विकास र रोजगारी वर्तमान समयको मुख्य आवश्यकता रहेको समेत बताएका छन् ।

सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता परिवर्तनको निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

प्रदेश सभापति हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा बसेको औपचारिक बैठकले निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई नेतामा नियुक्त गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टलाई जानकारी नदिई उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले पार्टीको नेता परिवर्तन र सरकार परिवर्तनको विषयमा ध्यानाकर्षण गराएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्न पहल गर्न पनि आग्रह गरिएको छ ।संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसैबीच, बहुमतका सांसदको भावनाअनुसार अघि बढ्न नसके संसदीय व्यवस्थाअनुसार निर्णय गर्ने चेतावनी दिएपछि माओवादी सुदूरपश्चिममा विवाद उत्पन्न भएको छ ।

गाडी सुविधा लिन ऐन नै संशोधन गर्ने तयारीमा प्रदेश सरकार

धनगढी – सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेश सरकारले गाडी सुविधा लिन प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन नै संशोधन गर्ने तयारी गरेको छ।

लेखा समितिले ऐन विपरीत सत्तारूढ दलका नेताहरूले प्रयोग गरिरहेका तीन वटा गाडी प्रदेशसभा सचिवालयलाई तीन दिन भित्र फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले गाडी सुविधा लिनको लागि ऐन नै संसोधन गर्न गृहकार्य अगाडी बढाएको छ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ को दफा ६ उपदफा १ को व्यवस्थाअनुसार सत्ता पक्षका संसदीय दलका नेताहरुले गाडी, इन्धन र चालकको सुविधा लिएका छन् । तर सोही ऐनको अनुसूची १ मा उक्त व्यवस्था नहुँदा गैरकानुनी सुविधा लिएको ठहर गर्दै लेखा समितिले फिर्ता गर्न निर्देशन दिएको थियो ।

तर मुख्यमन्त्री कमलबहादुर शाहले गाडी सुविधा फिर्ता गर्न नपर्ने गरी ऐन संशोधनका लागि छलफल अघि बढाएका र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संशोधनको मस्यौदा गरेर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारि गरिरहेको बताइएको छ।

कानुन विपरित गाडी सुविधा लिनेहरुमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी रहेका छन्।

सुदुरपश्चिम:जहाँ पुल तर्दा नागरिकले पैसा तिर्नुपर्छ !

सुदुरपश्चिम भन्ने बित्तिकै नामैले पनि टाढा पुर्याएको आभाष दिलाउँछ। यति टाढा कि त्यहाँ पुग्न सायद महिनौँ लाग्छ जस्तो। पहाडको कुनै ठाउँ , सुन्दर, शान्त अनि हरियालीले भरिपूर्ण प्रकृतिको कुनै सुन्दर सिर्जना सायद । सायद यस्तै- यस्तै। प्रकृतिको अनुपम सिर्जना सुदुरपश्चिम, दुरीले टाढा नभएपनि सुदुरपश्चिमका केहि ठाउँहरु भौतिक पूर्वाधार र विकासका दृष्टिले राजधानी र देशकै कुनै विकशित भनिएको सहर भन्दा धेरै टाढा छ। यति टाढाकि त्यहाँका नागरिकले खोला तर्न जोखिम मोलेर काठको पुलबाट दिनहुँ यात्रा गर्छन्, त्यो पनि शुल्क तिरेर।

नेताहरु सरकारी ढुकुटी रित्तो पारेर सामान्य उपचारको लागि जहाज चढेर विदेशमा उपचार गर्न जाँदै गर्दा, देखतभुलीका स्थानिय बासिन्दाहरु भने अझै पनि खोला तर्न ज्यान जोखिममा राखेर, त्यो पनि पैसा तिरेर काठे पुलबाट दिनहुँ आवतजावत गर्छन्।

देखतभुली–पर्सिया जोड्ने कञ्चनपुरको दोदा नदीमा निर्माण हुने भनिएको मोटरेबल पुलको निर्माण काम आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। नदीको बिचमा ठुला-ठुला पिल्लरहरु ठडिएको झन्डै आठ वर्ष भैसक्यो तर पुल बन्न सकेन।

पुल निर्माण नहुँदा स्थानिय बासीहरु ज्यान जोखिममा राखेर स्थानीय समितिले निर्माण गरेको काठको पुल प्रयोग गरेर आवतजावत गर्छन्। तर पुल तर्दा उनीहरुले शुल्क तिर्नुपर्छ। एकपटकका लागि साइकल तारेको १० र मोटरसाइकल तारेको ३० रुपैयाँ तिर्छन् देखतभुलीका बासिन्दाहरु।

पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीले २०७२ पुस २६ मा सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग २४ करोड ४२ लाख ६१ हजारमा २६ पुस २०७५ मा सम्पन्न गर्नुपर्ने सम्झौता गरेको भएपनि अहिलेसम्म पुल निर्माणको प्रगति शून्य छ।

निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र परेको पुल निर्माणको सम्झौताको म्याद दोस्रोपटक थप गर्दा पनि निर्माण कार्य भने सुचारु हुन सकेको छैन ।सम्झौता अवधि सकिएर पहिलोपटक २५ माघ ०७७ सम्म म्याद थप भए पनि निर्माण सम्बन्धी कुनै काम सुरु नै नभएपछि २६ माघ ०७७ मा दोस्रोपटक ३० असार ०८० सम्म सक्ने गरी म्याद थप भएको थियो। तर, म्याद अवधि सकिन केहि दिन मात्र बाँकी रहंदा समेत निर्माण कार्यको प्रगति एक प्रतिशत पनि नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

सुरुवाती चरणमा पुल निर्माणमा प्राविधिक त्रुटि देखिएपछि डिजाइन परिवर्तन गरिएको तर २०७७ पुसमा नयाँ डिजाइन स्वीकृत भएपछि पनि निर्माण कम्पनी सम्पर्कमा नआएको कारण समयमै निर्माण कार्य सुरु हुन नसकेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले जानकारी दिएका छन्।
यधपी, निर्माण कम्पनीले चालू आर्थिक वर्ष ०७९–०८० सम्म १२ करोड ३३ लाख २६ हजार भुक्तानी लिईसकेको छ।

एकातिर निर्माण कम्पनी र सम्बन्धित निकायको लापरवाहीले भुक्तानी लिएर पनि समयमा पुल निर्माण हुन सकेको छैन भने अर्कोतिर सर्वसाधारण नागरीक शुल्क तिरेर पनि काठे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। “नेताहरु चुनावमा भोट माग्न मात्र गाउँमा आउने, तर चुनाव जितेर गएपछि फर्किएर नआउने र भोट दिएर जिताएर पठाएकाहरुलाई बिर्सने रहेछन्” ,भन्दै स्थानीयबासीहरु गुनासो गर्छन्। तर गुनासो सुनिदिने कोहि नभएपछि, पक्कि पुलको सपना थाती राखेर शुल्क तिरेरै भएपनि जोखीम मोल्दै काठे पुलबाट खोला तर्न बाध्य छन् देखतभुलीका स्थानिय बासीहरु।

निषेधाज्ञा तोड्दै धनगढीमा प्रदर्शन

१६ मंसिर, धनगढी – १५ वर्षीया बालिका चेतना साउदको मृत्युपछि तनावपूर्ण बनेको धनगढीको स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो। यधपी, न्यायको माग गर्दै स्थानियहरुले निषेधाज्ञा तोडेर प्रदर्शन जारि राखेका छन्।

ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदलाई न्याय दिनुपर्ने, दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानियहरुले प्रदर्शन जारि राखेका छन् ।

कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएका स्थानियहरुले न्यायको माग गर्दै शव उठाउन नदिएपछि स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो।

जिल्ला प्रशासन कार्यालयले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत रहने बताएको छ।

अछामको विभिन्न ठाउँमा पहिरो: १७ जनाको मृत्यु

अविरल वर्षासँगै अछामका विभिन्न ठाउँमा पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

स्थानिय प्रशासनका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर- ५ नाडामा ४ जना र ढकारी गाउँपालिका वडा नम्बर-६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ भने ६ जना बेपत्ता भएका छन्। पहिरोमा परि ५ जना घाइते भएका छन्।त्यसैगरी,कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको जानकारी प्राप्त भएको छ।

कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । निरन्तर वर्षाका कारण अछाममा विधुत सेवा र सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । पहिरोमा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टरमार्फत उद्वार कार्य भैरहेको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%ae-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a4%be/

दार्चुलाम बाढी र पहिरो:पाँच जनाको मृत्यु ७ जना बेपत्ता


केहिदिन यतादेखि परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले देशभारको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोको कारण दर्जनौं घरमा क्षति पुगेको छ भने धेरै घर परिवार विस्थापित भएका छन्।

गएरातिदेखि परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोले दार्चुलामा दर्जनौं घर परिवार विस्थापित भएका छन्। महाकाली नदी र लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना सहित ७ जना वेपत्ता भएको र पाँच जनाको मृत्य भएको प्रहरीले जनाएको छ।

jholunge pool flooded

बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक र दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध बनेको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ भने, लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। खलंगास्थित दशरथनगर आधारभूत विद्यालय पनि बाढिले बगाएको छ ।

दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका पाँचवटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको स्थानीयले बताएका छन्।

बाजुराको बुढीगंगा नगरपालिकाको १ र १० दुवै वडामा एमाले उम्मेदवार विजयी

बाजुराको बुढीगंगा नगरपालिका १ र १० मा भएको निर्वाचन अन्तर्गत दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

बाजुराको बु्ढीगंगा नगरपालिका १० मा ४९१ मत ल्याएका काँग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद ५४८ मत ल्याएर विजयी भएका छन्।सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवार रामबहादुर बाँनियाले ६०२ र काँग्रेसका रंगबहादुर खातिले ४३६ मत ल्याएका छन् भने उपप्रमुखमा एमाले उम्मेदवारले ५७५ र काँग्रेस उम्मेदवारले ४७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी,वडा नम्बर १ को अध्यक्षमा कांग्रेस उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै एमालेका रणबहादुर थापा विजयी भएका छन्। विजयी थापाले ३५३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी लोगबहादुर थापाले ३१८ मत ल्याएका छन् । सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवारको ३५० तथा काँग्रेसका नगरप्रमुख उम्मेदवारको ३३८ मत आएको छ भने एमालेका उपप्रमुख उम्मेदवारले ३५० र काँग्रेसका उपप्रमुख उम्मेदवारले ३३८ मत ल्याएका छन्।

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालु खर्चतर्फ १२ अर्ब २९ करोड अर्थात ३३.४६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख अर्थात ६५.७४ प्रतिशत रकम विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरणतर्फ भने एक अर्ब ३६ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख खर्च व्यहोर्ने अनुमान गरेको छ।

बैतडीमा कोरोना संक्रमण शून्य

जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।