पूर्व फ्रान्सेली उपनिवेशहरू द्वारा नयाँ सैन्य गठबन्धनको सुरुवात

पूर्व फ्रान्सेली उपनिवेश राज्यहरु माली,बुर्किनाफासो र नाइजरले नयाँ सैन्य गठबन्धनको सुरुवात गरेका छन्।

तीन अफ्रिकी राज्यहरूका सैन्य सरकारहरू, जसले हालैका वर्षहरूमा आफ्ना पश्चिमी-समर्थित नेताहरूलाई पदच्युत गरे, तिनीहरूको सार्वभौमसत्तामा कुनै बाह्य आक्रमण वा आन्तरिक खतराको अवस्थामा व्यक्तिगत वा सामूहिक रूपमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन्।

मालीका अन्तरिम राष्ट्रपति, असिमी गोइटाले बुर्किना फासो र नाइजरका नेताहरूसँग सामूहिक रक्षा र पारस्परिक सहायताको ढाँचा स्थापना गर्ने उद्देश्यका साथ ति अफ्रिकी राष्ट्रहरु र तिनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै पनि आक्रमणलाई अन्य अफ्रिकी राष्ट्रहरु विरुद्धको आक्रमण मानिने र संयुक्त रुपमा त्यसको कडा प्रतिकार गर्नेगरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

मालीका रक्षामन्त्री अब्दुलाये डिओपले पनि यो नयाँ गठबन्धन तीन देशबीचको सैन्य र आर्थिक प्रयासको संयोजन हुने बताएका छन्।

अफ्रिकी आर्थिक समुदाय ईकोवासले नाइजरका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्स्थापित गर्न नाइजरमा सैन्य कारवाही गर्ने धम्की दिएपछि माली र बुर्किना फासोले यसअघि पनि नाइजरमा हुने कुनै पनि आक्रमण उनीहरूको विरुद्ध “युद्धको घोषणा” हुनेछ भनेर चेतावनी समेत दिएको थियो।

रूसी सैन्य समूह वाग्नरसँग मद्दत माग्दै नाइजरका सैन्य शासक

नाइजरको नयाँ सैन्य सरकारले पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक एकोवासद्वारा हुनसक्ने सैनिक हस्तक्षेप विरुद्ध युद्दको तयारी गर्दै गर्दा रूसी सैन्य समूह वाग्नरसँग मदतको लागि आग्रह गरेको छ।

नाइजरका जनरलले रुसी सैन्य समूह वाग्नरलाई पश्चिम अफ्रिकी क्षेत्रीय ब्लकद्वारा सम्भावित सैन्य हस्तक्षेपको सामना गर्नको लागि अन्तिम मिति नजिकिँदै गर्दा सैन्य सहयोगको लागि आग्रह गरेका हुन्।

नाइजरको सैन्य सरकारले राष्ट्रपति मोहम्मद बाजुमलाई पदबाट अपदस्थ गरेपछि उनको पुनर्स्थापनाको निमित्त पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक एकोवासले आइतबार सम्मको म्याद दिँदै सैन्य कारवाहीको चेतावनी दिएको छ। यता नाइजरको सैन्य शाशक र जनताले भने पश्चिमा र युरोपको इसारामा नाइजरको सार्वभौमसत्तामा एकोवासले सैन्य कु गर्न खोजेको आरोप लगाउँदै देशको स्वाधिनताको निम्ति लड्ने तर बाजुमलाई पुनर्स्थापना नगर्ने बताएका छन्। सैन्य नेताहरूले पूर्व उपनिवेश फ्रान्सलाई अस्वीकार गरेका छन् र रुसतर्फ फर्केका छन्।

नाइजर सेनाले पश्चिमा र युरोपेली नागरिकलाई आफ्नो देश छाड्न चेतावनी समेत दिएको छ। तर फ्रान्स र अमेरिकाले भने नाइजरमा रहेको आफ्नो सैन्य अखडा नहटाउने बताएका छन्। फ्रान्सले नाइजरसँग गरेको पाँच सैन्य सहयोग सम्झौताहरू पश्चिम अफ्रिकी राज्यका ‘वैध अधिकारीहरू’ सँग हस्ताक्षर गरिएको र वर्तमान सैन्य सरकारलाई आफुहरुले नमान्ने भन्दै नाइजरमा रहेको आफ्नो सैनिक नहटाउने बताएको छ।