सुन तस्करसँग महराको कनेक्सन:प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी प्रश्न

  • नेपाल राष्ट्रिय दैनिक
  • August 13, 2023
Krishna Bahadur Maharaaaa

श्रावण २८,काठमाडौँ- माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको सुन तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत सत्ता र शक्तिको आडमा छानबिन नगरेको भन्दै एकातिर सरकारको चर्को आलोचना भैरहेको छ भने अर्कोतिर सरकारमा भएका शीर्ष नेता जोडिएको विषयमा अनुसन्धान र सोधपुछसम्म नहुनुले प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी नै प्रश्न उठेको छ ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको सीआईबीले प्रतिवेदन दिँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले अनुसन्धान अगाडी नबढाएको भनि सरकारको आलोचना भएको छ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टा, ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । सीआईबीले किटान गरेर,कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको र महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको भनी प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन अनुसार राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ भने, हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका र राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ ।त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई समेत टेलिफोन सम्पर्क गरेको देखिन्छ।

सीआईबीले दिएको प्रतिवेदन र सुन तस्करीमा संलग्नताको प्रमाण उपलब्ध गराउँदा समेत सरकारले निष्पक्ष रुपमा अनुसन्धान रा छानविन अगाडी बढाएको छैन। प्रहरीले कल डिटेल रेकर्डसहित अन्य आरोपितमाथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले महराको बाबु छोरालाई सामान्य सोधपुछसमेत गरेका छैनन् । सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित गिरोहका सदस्यहरू दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापाविरुद्ध मात्रै संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

यता,प्रधानमन्त्री तथा गृहमन्त्रीले भ्रष्टाचारका सबै फाइल खोतल्ने र दोषी देखिए कसैलाई पनि नछाड्ने भनेर सार्वजनिक रुपमा बोल्दै गर्दा सरकारमा संलग्न आफ्नै पार्टीका शिर्ष नेतालाई सुन तस्करी प्रकरणमा सामान्य सोधपुछ तथा अनुसन्धान प्रक्रिया समेत अगाडी नबढाउंदा सरकार,प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी नै प्रश्न उठेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५