आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं – आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ४ बजेसम्म र माघ १६ देखि कात्तिक १५ गतेसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।

शुक्रबार भने बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।

प्रहरी समायोजन विवाद अन्तिम चरणमा

काठमाडौं : प्रहरी समायोजन विवाद टुंगो लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रदेश प्रहरीको कमाण्ड डिआईजीले गर्ने गरी समायोजनको विषय अगाडि बढाइएको छ ।

गृह मन्त्रालयले एक महिनाभित्र प्रहरी समायोजनको काम सुरु गर्ने तयारी गरेको छ । प्रहरी समायोजन विवाद समाधानका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशका गृहमन्त्री र प्रहरी संगठनका प्रतिनिधिबीच छलफल गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले संघीय प्रहरी ऐन बनाउने प्रक्रियासँगै समायोजनको काम पनि सुरु भएको जानकारी दिएका छन् । उनले प्रहरी समायोजन ऐन आइसकेको र संघीय प्रहरी ऐन पनि बनेको बताए । उनका अनुसार गृह मन्त्रालयले संघीय प्रहरी ऐन र समायोजनको काम अगाडि बढाउने छ । गृह मन्त्रालयले विवादित कानून परिमार्जन गरी समायोजन प्रक्रिया एकैसाथ सुरु गर्ने तयारी गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको सञ्चालन सुपरिवेक्षण, समन्वय ऐन–२०७६ र प्रहरी कर्मचारी समायोजन ऐन–२०७६ तयार पारिएको छ । प्रदेश सरकारको माग यही कानून बमोजिम प्रहरी समायोजन हुनुपर्ने हो । ऐन बनेको ४ वर्ष बितिसक्दा पनि प्रहरी समायोजन नभएको भन्दै प्रदेश सरकार, आन्तरिक मामिला मन्त्रालय र गृह मन्त्रालय असन्तुष्ट छन् ।

प्रहरी समायोजन हुनुपर्ने र प्रहरी प्रदेश सरकार मातहत हुनुपर्ने प्रदेशको माग छ । गृह मन्त्रालयमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले प्रदेशको संरचनामा प्रमुख जिल्ला अधिकारीलाई पनि समावेश गर्नुपर्ने सुझाव दिएका छन् ।

गृह प्रवक्ता भट्टराई भन्छन्, ‘केन्द्र र प्रदेश सरकारमा प्रहरी दरबन्दी ४ वर्षअघि नै तय भएको विषय हो । नेपाल प्रहरीका ७९ हजार ५४१ दरबन्दीमध्ये ५४ हजार ७२० प्रदेश प्रहरी मातहत समायोजन हुनेछन् । केन्द्रमा २४ हजार ८२१ जना रहनेछन् । सरकारले गरेको पुरानो निर्णयका आधारमा प्रत्येक प्रदेशमा एक डिआइजी र तीन एसएसपी खटाइने भएको छ । प्रदेश प्रहरीको कमाण्ड डिआईजीले सम्हाल्नेछन्।

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रदेश प्रहरी कार्यालयमा एसएसपीको दुई र प्रादेशिक तालिम केन्द्रमा एक दरबन्दी रहनेछ । प्रदेश अन्तर्गत ७ डीआईजी, २१ एसएसपी, ६९ एसपी र १८१ डिएसपी रहनेछन्। त्यसैगरी ७ सय ३२ निरीक्षकको दरबन्दी प्रदेश सरकार मातहत रहनेछ । प्रदेश सरकारमा ३९२६ प्राविधिक प्रहरी रहनेछन् ।

अध्यागमनका कर्मचारी कुटिएको विषयमा गृहले बनायो तीन सदस्यीय छानबिन समिति

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीलेनै अध्यागमनका अधिकारीहरूलाई कुटपिट गरेको विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्य-तथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताइएको छ।

साथै, कुटपिटमा संलग्न रहेका प्रहरीलाई कामबाट अलग राख्ने निर्णय गरेको पनि बताइएको छ। कुटपिटको घटनालगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल लगायतका अधिकारीहरुबीच छलफल भएको थियो।

गृहले उपलब्ध गरायो सिसिटिभी फुटेज: फुटेजको अध्ययन गर्दै छानबिन समिति

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिलाई सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराइएको छ।

समितिले अनुसन्धानको क्रममा ठोस कुनै प्रमाण नभेटेपछि अर्थमन्त्रीको कल डिटेल सहित फोन ट्रेसिङ्ग रेकर्ड र सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेको थियो। कल डिटेल माग गरेको छानबिन समितिको आग्रहप्रति सत्तारुढ दलका सदस्यहरुले नै विरोध गरेपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज भने आज गृहमन्त्रालयले समितिलाई उपलब्ध गराएको छ।
यसघि अर्थमन्त्रालयको फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक टोलीलाई दिएको सिसिटिभी फुटेजमा पनि कुनै ठोस प्रमाण भने फेला नपरेको समितिले जनाएको छ।

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेको हो।वरियताक्रममा विश्वराज पोखरेल अगाडी भएको भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसले विकल्पका रुपमा सिंहलाई अघि सारेको थियो ।

गृहमन्त्रीले रोलक्रमका आधारमा पोख्रेललाई नै नियुक्ति गर्ने भनेर परामर्श गरिरहेको भएपनि अन्त्यमा आएर धिरजप्रताप सिंह प्रहरी प्रमुखमा नियुक्त भएका हुन्।