काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुईतर्फी ९४ लाख २३ हजार ७ सय २५ यात्रुको आवागमन भएको छ जुन हालसम्मकै सबैभन्दा धेरै हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने हो तर,२०२४ मा आन्तरिक र अन्तर्राष्टिय उडानमा ९४ लाख २३ हजार ७ सय २५ जना यात्रुले सेवा लिए ।
सन् २०२३ मा काठमाडौं विमानस्थलबाट ८६ लाख ५४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरेका थिए । सन् ०२४ मा वृद्धि भएको यात्रु आवागमन झन्डै ९ प्रतिशतले बढी हो । सन् २०२४ मा आन्तरिकतर्फ ४४ लाख ६० हजार ३ सय ६१ जना यात्रुले ओहोरदोहोर गरेका थिए भने अन्तर्राष्ट्रियतर्फ ४९ लाख ६३ हजार ३ सय ६४ जना यात्रुले ओहोरदोहोर गरेका थिए ।
काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको प्रतिघण्टा यात्रु सेवा गर्ने क्षमता ७ सय हाराहारी रहेको छ भने अन्तर्राष्ट्रिय टर्मिनलको प्रतिघण्टा १५ सय यात्रु सेवा दिन सक्ने क्षमता छ । उडानतर्फ काठमाडौं विमानस्थलले प्रतिघण्टा सफा मौसममा ३३ वटा उडान गराउन सक्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्