नयाँ विमान खरिदका लागि १ खर्ब ३५ अर्ब सहुलियतपूर्ण ऋण लिंदै नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ न्यून ब्याजमा ऋण लिने भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न ऋण लिइनेछ ।

निगम सञ्चालक समितिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सहुलियत ऋण लिनको लागि सैद्धान्तिक सहमतिको लागि उक्त निर्णय सरकारलाई बुझाउने निर्णय गरेको निगम सञ्चालकले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयमा प्राप्त निर्देशन र निगमको सञ्चालक समितिको निर्णय अनुसार मंगलबारअन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको थियो ।

प्राप्त ऋणमध्ये नेपाल सरकार र सम्बन्धित निकायको स्वीकृतिमा विद्यमान ऋण चुक्ता गर्ने, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्ने र अन्तर्राष्ट्रिय जहाज मर्मतसम्भारका लागि ह्याङ्गर निर्माणमा लगानी गर्ने निगमको योजना रहेको छ ।

निगमको व्यावसायिक लगानीको आवश्यकताअनुसार एकपटक होइन पटकपटक ऋण लिने र ऋण पाएपछि वार्षिक करिब साढे तीन अर्ब रुपैयाँको ब्याज खर्चमा उल्लेख्य कमी आउने निगमको विश्वास छ ।निगमको नाफा बढ्ने अपेक्षा राखेर आशयपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमलाई व्यवस्थापन सम्झौता अन्तर्गत सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई व्यवस्थापन सम्झौतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको पुनर्संरचनाका लागि व्यवस्थापन सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री किरातीले भने, ‘निगमको पुनर्संरचनाको व्यवस्थापन ठेक्का अंगाल्नु पर्ने भएकाले यो प्रणालीमा जाने तयारीमा छौं । मन्त्रालयले व्यवस्थापन सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । ‘यस विषयमा छिट्टै निर्णय हुन्छ,’ उनले भने ।

मन्त्री किरातीले सरोकारवालाको अध्ययन र सुझावका आधारमा व्यवस्थापन सम्झौताबाट निगममा सुधार अपरिहार्य भएको तर्क गरे । व्यवस्थापन ठेक्का मोडालिटीले विभिन्न देशमा राम्रो नतिजा दिएकोले नेपालमा पनि यो मोडल उपयुक्त हुने उनको भनाइ छ ।

सो अवसरमा मन्त्री किरातीले विद्यमान अवस्थामा निगम चलाउन नसकिने निष्कर्ष मन्त्रालयले निकालेको र संरचनागत सुधार गरी संस्थालाई सञ्चालन गर्ने योजना बनाइएको बताए । सो अवसरमा सांसद उदय शमेश राणाले थप विमान थपेर पनि अन्तर्राष्ट्रिय बजारमा निगमको उपस्थिति बलियो बनाउनुपर्ने बताए ।

त्यसैगरी सांसद डा धवल शमराज राणाले निगमको व्यवस्थापन सम्झौता उपयुक्त भए पनि सान्दर्भिकताका आधारमा मात्र अघि बढ्नुपर्ने बताए । तर, सांसद प्रेम सुवालले निगमलाई व्यवस्थापन सम्झौताबाट सञ्चालन गर्ने विचारको विरोध गर्दै निगम सुधारका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।