ट्रम्पले बमबारी रोकिएको दाबी गरे पनि गाजामा इजरायली आक्रमणमा ६१ जनाको मृत्यु

गाजा-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले अस्थायी रूपमा बमबारी रोकेको बताए पनि गाजा पट्टीभरि इजरायली हवाई आक्रमणमा कम्तिमा ६१ प्यालेस्टिनीको मृत्यु भएको छ।

ट्रम्पको गाजा शान्ती वार्ता प्रस्तावमा हमासले बन्दी बनाएका सबिलाई रिहा गर्ने बताएको केहि समयपछि नै गाजामा भएको आक्रमणमा ६१ प्यालेस्टिनीको मृत्यु भएको हो । हमासले गाजाको प्रशासन प्यालेस्टिनी टेक्नोक्रेटहरूको टोलीलाई हस्तान्तरण गर्न र प्यालेस्टिनी कैदीहरूको बदलामा सबै इजरायली बन्दीहरूलाई रिहा गर्न सहमत भएको छ।

यद्यपि, हमासले विज्ञप्तिमा निशस्त्रीकरणको मुद्दालाई भने सम्बोधन गरेको छैन तर मध्यस्थता वार्तामा तुरुन्तै प्रवेश गर्न तयार रहेको भनिएको छ।

अक्टोबर २०२३ मा गाजामाथि इजरायलको युद्ध सुरु भएदेखि, कम्तिमा ६७,०७४ जना मारिएका छन् र १६९,४३० जना घाइते भएका छन्, हजारौं भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

यसैबीच, इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले अमेरिकी राष्ट्रपतिको प्रस्तावमा वार्ता गर्नकै लागि गाजा आक्रमण रोक्न सहमत भएकोमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आलोचना गरेका छन् ।

नेतान्याहूको गठबन्धन सरकारका एक प्रमुख व्यक्तित्व र कब्जा गरिएको पश्चिम किनारमा रहेको अवैध बस्तीका बासिन्दा स्मोट्रिचले बारम्बार इजरायललाई गाजा पट्टी कब्जा गर्न आह्वान गरेका छन्।

इजरायली बन्धकहरूलाई रिहा गर्न हमास तयार

गाजा – प्यालेस्टिनी समूह हमासले शान्ती वार्तालाई अन्तिम रूप दिन सबै इजरायली बन्धकहरूलाई रिहा गर्न र मध्यस्थकर्ताहरू मार्फत वार्ता सुरु गर्न तयार रहेको घोषणा गरेको छ। समूहले गाजाको नियन्त्रण स्वतन्त्र प्यालेस्टिनी निकायलाई हस्तान्तरण गर्न पनि इच्छुकता व्यक्त गरेको छ।

हमासले शुक्रबार भनेको छ कि यो निर्णय यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको २०-बुँदे शान्ति योजनाको गहन अध्ययन पछि गरिएको हो। योजनामा ​​इजरायल र हमास बीच तत्काल युद्धविराम, प्यालेस्टेनी र इजरायली बन्धकहरूको आदानप्रदान, गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्ता र अस्थायी अन्तर्राष्ट्रिय प्रशासनको स्थापना समावेश छ।

एक विज्ञप्तिमा, हमासले ट्रम्पको प्रस्तावमा उल्लेख गरिएको आदानप्रदान सूत्र अनुसार जीवित र मृतक दुवै इजरायली बन्दीहरूलाई रिहा गर्ने आफ्नो सम्झौता पुष्टि गरेको छ। सम्झौता कार्यान्वयनको लागि मध्यस्थकर्ताहरू मार्फत तत्काल वार्तामा प्रवेश गर्न तयार रहेको पनि हमासले जनाएको छ।

समूहले गाजाको प्रशासनिक नियन्त्रण स्वतन्त्र प्यालेस्टिनी निकायलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएको छ, जसलाई प्यालेस्टिनी राष्ट्रिय सहमतिबाट गठन गरिएको र अरब र इस्लामिक राज्यहरूद्वारा समर्थित प्राविधिक अधिकारको रूपमा वर्णन गरिएको छ।

यद्यपि, हमासले योजनाका अन्य तत्वहरू, जस्तै हमासको पूर्ण निशस्त्रीकरण स्पष्ट रूपमा अस्वीकार गरेको छ ।हमासले ति अन्य मुद्दाहरू प्यालेस्टिनी राष्ट्रिय ढाँचा भित्र सम्बोधन गरिनुपर्ने बताएको छ।

गाजामा राहत लिएर गएका जहाज इजरायली नौसेनाको कब्जामा : ग्रेटा थनबर्गसहित दर्जनौं अभियन्ता पक्राउ

इजरायली नौसेनाले गाजातर्फ राहत सामाग्री लिएर गएका जहाजहरूलाई आफ्नो कब्जामा लिएको छ भने स्वीडिस वातावरण अभियन्ता ग्रेटा थनबर्गसहितका दर्जनौं अभियन्ताहरूलाई पक्राउ गरेको छ।

इजरायलको परराष्ट्र मन्त्रालयले ग्लोबल सुमुद फ्लोटिलाका केही जहाजहरूलाई कब्जामा लिएर बन्दरगाहतर्फ लगिएको पुष्टि गरेको छ।

अभियन्ताहरुले ग्लोबल सुमुद फ्लोटिला कब्जामा लिने इजरायलको कदम अवैध भएको र जहाजलाई आक्रमण गरेको बताएका छन् । जहाजहरू गाजाबाट ७० नौटिकल माइल टाढा रहेका बेला नियन्त्रणमा लिइएको हो। यसअघि नै जहाजहरूको आपतकालीन सन्देश र प्रत्यक्षप्रसारण रोक्न इजरायली सेनाले संचार प्रणाली बिगारेको पनि बताइएको छ।

इजरायलले भने यसलाई गाजामाथिको वैध नाकाबन्दी तोड्ने प्रयास भन्दै उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ।

यस घटनापछि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बनेको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले इजरायली कुटनीतिज्ञहरुलाई देश निकाला गर्दै, इजरायलसँगको स्वतन्त्र व्यापार सम्झौता समेत तोडेका छन् । आयरल्यान्डका उपप्रधानमन्त्री साइमन ह्यारिसले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै सिन फेन सांसद क्रिस एन्ड्र्यूजसहित सात जना आयरिस नागरिक पक्राउ परेका बताएका छन् ।

ग्रीस, इटाली, ट्युनिसिया र टर्कीमा इजरायलको कदमविरुद्ध विरोध प्रदर्शन भएका छन्। जहाजहरूको लक्ष्य खाद्य तथा औषधि गाजामा पुर्याउने थियो, तर संयुक्त राष्ट्र संघका निकायले नै गाजामा भोकमरी पुष्टि गरिसकेको अवस्थामा इजरायलले राहत रोकिरहेको आरोप लागेको छ।

यसबीच इजरायलले गाजा सिटीमा आक्रमण तीव्र बनाएको छ। इजरायली रक्षा मन्त्री इजरायल कात्जले सर्वसाधारणलाई दक्षिणतर्फ सर्न अन्तिम चेतावनी दिँदै, त्यहाँ बस्नेहरूलाई आतंकवादी वा आतंकका समर्थक मानिने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस समितिले भने अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार नागरिकहरूको सुरक्षा गर्नैपर्छ भन्ने प्रतिक्रिया दिएको छ।

गत जुन र जुलाईमा पनि राहत जहाज पठाउने अभियन्ताहरुका दुई प्रयास इजरायलले रोकिसकेको थियो।

ट्रम्प र नेतन्याहूद्वारा गाजा शान्ति योजना घोषणा: हमासलाई सर्त स्वीकार गर्न वा थप सैन्य कारबाही भोग्न चेतावनी

ह्वाइट हाउस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि नयाँ शान्ति योजना सार्वजनिक गर्दै हमासलाई सर्त स्वीकार गर्न वा थप सैन्य कारबाही भोग्न चेतावनी दिएका छन्।

योजनाअनुसार तत्कालै युद्धबिराम हुनेछ। ७२ घण्टा भित्र हामासले २० जना जीवित इजरायली बन्धक र करिब दुई दर्जन मृतकको शव फिर्ता गर्नुपर्नेछ, जसको बदलामा सयौँ पक्राउ परेका प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ।

कतारी र इजिप्टको मध्यस्थमार्फत हामासका नेताहरूसमक्ष २० बुँदे प्रस्ताव पुगेको छ। सो दस्तावेजले हमासलाई गाजाको शासनमा कुनै भूमिका नदिने तर भविष्यमा प्यालेस्टिनी राज्यको सम्भावना खुला रहने प्रष्ट पारेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यसलाई “शान्तिका लागि ऐतिहासिक दिन” भनेका छन्। उनले हामासले अस्वीकार गरेमा अमेरिकाले इजरायललाई पूर्ण समर्थन गर्ने बताए। नेतन्याहूले पनि हामासले शर्त नमान्ने हो भने थप आक्रमण गर्ने चेतावनी दिए।

पश्चिम तटमा शासन गर्ने प्यालेस्टिनी अधिकारीहरुले अमेरिकाको प्रयासलाई सत्यनिष्ठ र दृढ भन्दै युद्ध अन्त्य, मानविय सहयोग पुर्‍याउने र बन्धक मुक्त गर्ने विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

शर्त अनुसार हमासका हतियार र सुरुङ नष्ट गर्ने, दुबै पक्षका शव आदान–प्रदान गर्ने, र सम्झौता भएपछि तत्काल गाजामा सहायता प्रवेश गराउने प्रावधान रहेको छ। अस्थायी रूपमा गाजाको प्रशासन प्राविधिक प्यालेस्टिनी समिति मार्फत चलाइनेछ, जसलाई “बोर्ड अफ पिस” नामक नयाँ अन्तर्राष्ट्रिय निकायले पर्यवेक्षण गर्नेछ। यसलाई ट्रम्पले नेतृत्व गर्नेछन् जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि समावेश हुनेछन्।

बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालगायत नेताहरूले यस योजनालाई समर्थन गर्दै हमासलाई उक्त शर्त स्वीकार गर्न आह्वान गरेका छन्।

शर्तमा इजरायली सेनाको चरणबद्ध फिर्ता, गाजाको पुनर्निर्माण र आर्थिक विकास कार्यक्रमको वाचा गरिएको छ। यसअघिका प्रस्ताव विपरीत, यसले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाउने कुरा नगरी त्यहाँ नै बस्न र पुनर्निर्माण गर्न प्रोत्साहित गरेको छ।

हामासले युद्ध अन्त्य गर्ने कुनै पनि प्रस्ताव अध्ययन गर्न तयार रहेको जनाए पनि प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने, इजरायलको पूर्ण फिर्ता गर्ने र सन् १९६७ को सीमा भित्र स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना हुने ग्यारेन्टी गर्नुपर्ने अडान दोहोराएको छ।

यो घोषणा संयुक्त राष्ट्रसंघमा इजरायलमाथि चर्को आलोचना भइरहेका बेला आएको हो। नेतन्याहूले केही पश्चिमी मुलुकहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमलाई “लाजमर्दो” भन्दै आक्रमण गरेपछि, दर्जनौं कूटनीतिज्ञहरूले उनको सम्बोधन बहिष्कार गरेका थिए।

संयुक्त राष्ट्रसंघमा एक्लिएका नेतान्याहू: राष्ट्रसंघको महासभा भित्र-बाहिर नै उनिविरुद्द नाराबाजी

नियोर्क – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघको महासभामा दिएको भाषणमा केही पश्चिमी मुलुकले फिलिस्तिनी राज्यलाई मान्यता दिएको कदमलाई कडा आलोचना गरेका छन्। उनले यसलाई “लाजको दाग” भन्दै यहुदीहरूको हत्या गर्दा फाइदा हुन्छ भन्ने सन्देश दिएको टिप्पणी गरे।

यधपी, नेतान्याहू बोल्न सुरु गर्दा धेरै जसो अधिकारी र कूटनीतिज्ञहरूले हल छाडेर गाजामा भएको इजरायली नरसंहारको विरोधमा उनको भाषण नै बहिष्कार गरे। संयुक्त राष्ट्रसंघको महासभाको हलमा उनको भाषण बहिष्कार गरेर उनि विश्व मंचमा एक्लिन पुगेका बेला बाहिर न्युयोर्कको टाइम्स स्क्वायरमा पनि गाजामा भइरहेको युद्धविरुद्ध प्रदर्शन चलिरह्यो।

हालै बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया लगायतका मुलुकहरूले फिलिस्तिनी राज्यलाई मान्यता दिएका छन्। तर नेतान्याहूले फेरि पनि इजरायल कुनै पनि हालतमा फिलिस्तिनी राज्यलाई स्वीकार नगर्ने बताएका छन्। उनले यो नीतिलाई अधिकांश इजरायलीले समर्थन गर्ने दाबी गरे।

तर उनको शैलीलाई इजरायलमै पनि आलोचना गरिएको छ। विपक्षी नेता याएर लापिदले नेतान्याहूको भाषणलाई “थाकेको र गुनासो मात्र गर्ने” भनेर टिप्पणी गरे। इजरायल डेमोक्र्याट्स पार्टीका नेता याएर गोलानले यसलाई “बालसुलभ प्रचारबाजी” भनेका छन्।

सन् २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा ६५ हजार ५४९ जना फिलिस्तिनी नागरिक मारिएका छन्।

गाजा कब्जा गर्ने इजरायली नीति ट्रम्पद्वारा अस्विकार: शान्ति सम्झौता नजिकिएको दाबी

वाशिंगटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई कब्जामा रहेको गाजा पश्चिमी किनाराको विलय गर्न अनुमति नदिने बताएका छन्। उनले ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै “यो सम्भव छैन” भनेका छन्।

ट्रम्पले गाजामा शान्ति सम्झौता “निकै नजिक” भएको दाबी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित अन्य मध्यपूर्वी नेताहरूसँग छलफल गरेको जानकारी दिए।

यसैबीच, प्यालेस्टिन राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्रसभामा भिडियो सन्देशमार्फत फ्रान्सको समर्थनमा तयार भएको शान्ति योजनामा सहकार्य गर्न तयारी देखाएका छन्।

इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दो छ। बेलायत, जर्मनी र संयुक्त राष्ट्रसंघले गाजा पश्चिमी किनाराको विलयलाई अस्वीकार्य बताएका छन्। धेरै पश्चिमी मुलुकहरूले हालै स्वतन्त्र प्यालेस्टिन राज्यको मान्यता दिएका छन्।

अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा ६५ हजारभन्दा बढी प्यालेस्टिन नागरिक मारिएका छन्, जसमा १८ हजारभन्दा बढी बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पाँच लाखभन्दा बढी मानिस भोकमरीको जोखिममा छन्।

इजरायलले नरसंहारको आरोप अस्वीकार गरे पनि उसमाथि अन्तराष्ट्रिय प्रतिबन्ध र व्यापार सीमित गर्ने प्रस्तावहरू बढिरहेका छन्।

हुथी विद्रोहीद्वारा इजरायलको रामोन विमानस्थलमा ड्रोन आक्रमण

यमनस्थित हुथी समूहले इजरायलको रामोन विमानस्थलमा आइतबार गरिएको ड्रोन आक्रमणको जिम्मा लिएको छ। उक्त आक्रमणमा दुई व्यक्ति घाइते भएका थिए भने विमानस्थल करिब दुई घण्टा सञ्चालन अवरुद्ध भएको थियो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले ड्रोनले विमानस्थलको आगमन कक्षलाई प्रहार गरेको र यसले सम्पूर्ण उडान गतिविधि रोकिएको बताएका छन् । उनले यो आक्रमण दक्षिण इजरायलका अन्य स्थानहरूलाई पनि लक्षित गर्ने व्यापक ड्रोन अभियानको हिस्सा भएको भन्दै गाजामा रहेका फिलिस्तिनीहरूको समर्थनमा हमला बढाउने चेतावनी दिएका छन् । सारीका अनुसार, “इजरायलभित्रका सबै विमानस्थल असुरक्षित छन् र निरन्तर लक्षित हुनेछन्।”

इजरायली सेनाले यमनबाट तीनवटा ड्रोन प्रक्षेपण भएको पुष्टि गरेको छ। तीमध्ये दुईवटा इजरायलको हवाई सीमामा प्रवेश गर्नुअघि नै खसालिएको भए पनि तेस्रोबारे विस्तृत जानकारी दिएको छैन।

गाजा युद्ध अक्टोबर २०२३ देखि सुरु भएपछि हुथी समूहले इजरायलमाथि बारम्बार मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ। उनीहरूले यसलाई फिलिस्तिनीहरूप्रति एकताको अभिव्यक्ति भनेका छन्।

जवाफमा इजरायलले हुथी नियन्त्रणमा रहेका यमनका क्षेत्रहरू, विशेषगरी होदेइदाह बन्दरगाहमा हवाई आक्रमण गर्दै आएको छ। गत महिनाको अन्त्यतिर इजरायली आक्रमणमा हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद अल रहावीसहित अन्य मन्त्रीहरू र थुप्रै सर्वसाधारणको ज्यान गएको थियो।

यसअघि, गत मे महिनामा हुथीले इजरायलको मुख्य बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल आक्रमण गरेको थियो भने जवाफमा इजरायलले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थललाई ध्वस्त पारेको थियो।

इजरायली हवाई आक्रमणमा येमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

येमन- येमनको हुथी समूहले आफ्ना प्रधानमन्त्री अहमद घालेब नासेर अल-रहावी बिहीबार राजधानी सानामा भएको इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ। हुथीले अन्य केही मन्त्रीहरु समेत मारिएको र केही गम्भीर घाइते भएको जनाएको छ।

साउदी सञ्चारमाध्यम अल-हदथका अनुसार हुथीका परराष्ट्रमन्त्री, न्यायमन्त्री, युवा तथा खेलकुद मन्त्री, सामाजिक मामिला मन्त्री र श्रम मन्त्री मारिएका छन्। उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहलाई रहावीको उत्तराधिकारीका रूपमा तोकिएको छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार रहावी र अन्य वरिष्ठ नेताहरू आक्रमणमा मारिएका हुन् ।

गाजाको युद्ध सुरु भएपछि हुथीहरूले इजरायलतर्फ मिसाइल प्रहार गर्दै आएका छन् र रातो सागर तथा एडेन खाडीमा व्यापारीक जहाजमाथि आक्रमण गरेका छन्। यसको जवाफमा इजरायलले यमनका हुथी नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।

गाजा युद्धबीच टर्कीद्वारा इजरायलसँग सबै व्यापारिक र हवाई रुटमा प्रतिबन्ध

आङ्कारा – टर्कीले इजरायलसँगको सबै व्यापारिक र आर्थिक सम्बन्ध तोडेको र हवाई तथा समुद्री पहुँचमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यो कदम इस्रायलको गाजामा जारी सैन्य अभियानको प्रतिउत्तरमा आएको हो।

विदेशमन्त्री हाकान फिदानले संसदमा सम्बोधन गर्दै टर्कीले इस्रायली जहाजलाई आफ्ना बन्दरगाहमा प्रवेश गर्न नदिने र टर्कीसँग सम्बन्धित जहाजलाई इस्रायली बन्दरगाहमा जान नदिने जानकारी दिए। उनले भने, “हामी इस्रायलतर्फ हतियार तथा बारुद बोकेका जहाजलाई बन्दरगाहमा प्रवेश गर्न दिंदैनौं, र यस्ता विमानलाई हाम्रा आकाश मार्ग प्रयोग गर्न दिंदैनौं।”

गत अक्टोबर २०२३ मा हमासको आकस्मिक आक्रमणपछि सुरु भएको गाजा युद्धयता टर्की–इजरायल सम्बन्ध झनै बिग्रिएको छ। टर्कीले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाउँदै आएको छ। राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई “गाजाको जल्लाद” को संज्ञा दिएका थिए र उनको युद्ध अपराध नाजी नेता एडोल्फ हिटलरको भन्दा पनि बढि भयावह भएको बताएका थिए।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई संयुक्त राष्ट्रसंघको महासभामा प्रवेश निषेध

वाशिंगटन- प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आगामी महिनामा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन नपाउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले अब्बाससहित करिब ८० जना प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछी उनले संयुक्त राष्ट्र महासभामा प्रवेश नपाउने भएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूलाई शान्ति वार्ताको प्रयास कमजोर बनाएको र कल्पनात्मक प्यालेस्टिनी राज्यको एकपक्षीय मान्यता खोजेको आरोप लगाएका छन्। अमेरिकाको यो निर्णयलाई इजरायलले भने स्वागत गरेको छ। साधारणतया अमेरिका संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सहभागी हुन चाहने सबै मुलुकका अधिकारीहरूको यात्रा सहज बनाउनुपर्ने भएकाले यसपटकको अमेरिकी सरकारको कदमलाई असामान्य मानिएको छ।

यसैबीच फ्रान्सले संयुक्त राष्ट्रसंघीय महासभामा प्यालेस्टाइनलाई मान्यता दिने पहल अघि बढाइरहेको छ, जुन कदमलाई डोनाल्ड ट्रम्पको प्रशासनले विरोध गरेको छ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले अब्बास नै राष्ट्रप्रमुखको हैसियतमा महासभामा सहभागी हुने बताएका थिए। तर पछि अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टाइन मुक्ति संगठन र प्यालेस्टिनी प्राधिकरणका करिब ८० जना अधिकारीहरूलाई भिसा नदिने वा रद्द गर्ने निर्णय गरेको स्पष्ट पारेको हो ।

रुबियोका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र मिशनमा रहेका प्यालेस्टिनी प्रतिनिधिहरू भने संयुक्त राष्ट्रसंघ मुख्यालयको सम्झौता अनुसार बैठकहरूमा सहभागी हुन सक्छन्। तर सम्झौतामा अमेरिकाले विदेशी अधिकारीहरूको सहभागीता सरकारबीचको राजनीतिक सम्बन्धका आधारमा अवरुद्ध गर्न नपाउने उल्लेख छ।

अब्बासको कार्यालयले यो निर्णयप्रति आश्चर्य प्रकट गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको सम्झौताविपरीत भनेको छ। उनले अमेरिका निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।

इजरायलका विदेश मन्त्री गिदोन सारले भने अमेरिकी निर्णयलाई स्वागत गरेका छन्।

गाजा:असफल मानव अधिकार र न्यायका नाममा बोल्न नसक्ने पश्चिमी प्रजातन्त्र

काठमाडौं – गाजा शहरमा भइरहेको दु:खद घटनाक्रम भयावह चरणमा पुगेको छ, जहाँ फैलिएको भोकमरीलाई अहिले “मानवताको असफलता” भनेर वर्णन गरिँदैछ। यो बढ्दो संकटले केवल घेराबन्दीमा परेका जनतामाथि भइरहेको निरन्तर आक्रमण मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको लाजमर्दो मौनता र संलग्नतालाई पनि उजागर गरेको छ, विशेष गरी प्रजातन्त्र र मानवअधिकारको पक्षधर भएको दाबी गर्ने पश्चिमा मुलुकहरूलाई।

गाजा लगातार बमबारी, नाकाबन्दी र आधारभूत संरचनाको ध्वंसमा परेको छ। खाना, औषधि र सफा पानी अभावमा लाखौँ मानिस भोकमरीको डिलमा पुगेका छन्। संयुक्त राष्ट्रसंघसहितका मानवतावादी संस्थाहरूले पटक–पटक “विशाल मृत्यु र विनाश” को चेतावनी दिए पनि ती अपिलहरूलाई प्रायः बेवास्ता गरिएको छ।

यस सम्बन्धमा इजरायलको नरसंहारलाई अन्त्य गर्न पहलकदमी लिनुको सट्टा, धेरै शक्तिशाली मुलुकहरूले उसलाई राजनीतिक, सैनिक र आर्थिक समर्थन बढाएका छन्। यो समर्थन, चाहे हतियार आपूर्ति, कूटनीतिक आड, वा संयुक्त राष्ट्रसंघमा भिटोको रूपमा होस्, यसले सामूहिक हत्या, जबर्जस्ती विस्थापन र सर्वसाधारण क्षेत्रमा भएको आक्रमणलाई निरन्तरता दिन इजरायललाई सक्षम बनाएको र बल पुर्याएको देखिन्छ । आलोचकहरूको भनाइमा, यसले अन्तर्राष्ट्रिय कानुनलाई कमजोर मात्र बनाएको छैन, बरु धेरै अवलोकनकर्ताहरू र मानवअधिकार समूहहरूले “नरसंहार” भनेको घटनालाई अझ उकासेको छ।

स्वयंलाई प्रजातान्त्रिक भन्ने मुलुकहरूको प्रतिक्रिया अझ निराशाजनक देखिएको छ। विश्वलाई मानवअधिकार र स्वतन्त्रताको पाठ पढाउने यी सरकारहरू रणनीतिक स्वार्थलाई नैतिक जिम्मेवारीमाथि प्राथमिकता दिँदै आएका छन्। उनीहरूको निष्क्रियताले गाजाका जनतालाई एक्लो बनाएको छ, सुरक्षा विहीन बनाएको छ, र असीम पीडामा छोडेको छ।

भोकमरी फैलिँदै जाँदा र मृत्यु दर बढ्दै जाँदा, विश्व एक कठोर सत्यसँग सामना गरिरहेको छ। न्याय र मानवता राजनीति र शक्तिको छायामा हराएको छ । यदि विश्वका शक्तिशाली र प्रजातान्त्रिक भनिने नेताहरूले तत्काल आक्रमण रोक्ने र सुरक्षित मानवतावादी पहुँच सुनिश्चित गर्ने कदम नचाले, इतिहासले यो अध्यायलाई आधुनिक कालको सबैभन्दा ठुलो मानव नरसंहारको रूपमा सम्झनेछ।

इजरायलको लक्ष्य शान्ति होइन, प्यालेस्टिनी भूमि कब्जा गर्नु हो : नेतान्याहु

गाजा- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम र बन्दी सम्झौतामा सहमति जनाए पनि इजरायलले गाजामा पूर्ण नियन्त्रण गर्ने बताएका छन्। उनको यो अभिव्यक्तिले इजरायलको लक्ष्य शान्ति नभई प्यालेस्टिनी भूमिमा कब्जा हो भन्ने स्पष्ट देखाएको छ।

नेतान्याहुको भनाइ इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने पहिलो चरणको कारबाही सुरु गरेको घोषणापछि आएको हो। गाजा सिटीलाई आइडिएफ़ले हमासको गढको रूपमा व्याख्या गरेको छ। स्काई न्युज अष्ट्रेलियासँगको कुराकानीमा नेतान्याहुले भने, “हामीले यो गर्नैपर्छ, यसमा कुनै प्रश्न थिएन।”

उनले आफ्नो कठोर अडानलाई जायज ठहर्याउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै हमासलाई जर्मनीका नाजीहरूसँग तुलना गरे। नेतान्याहुले युद्ध तुरुन्तै अन्त्य हुन सक्ने दाबी गर्दै हमासले आत्मसमर्पण, निशस्त्रीकरण र गाजाको सैन्यीकरण अन्त्य गर्नुपर्ने बताए। उनले विश्वव्यापी आलोचनालाई भने “यहूदी विरोध” भनेर खारेज गरेका छन् ।

तर मानवीय स्थिति दिनप्रतिदिन भयावह बन्दै गएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले फेरि तत्काल युद्धविरामको आह्वान गर्दै इजरायली आक्रमणले “ठूलो संख्यामा मृत्यु र विनाश” ल्याउने चेतावनी दिएका छन्। रेड क्रससहितका राहत संस्थाहरूले पनि कारबाही रोक्न आग्रह गरेका छन्। अक्टोबर २०२३ यता गाजामा प्यालेस्टिनीको मृत्यु संख्या ६२ हजार नाघिसकेको छ।

इजरायलले प्यालेस्टिनीहरूलाई गाजा सहरबाट जबर्जस्ती बाहिर निकाल्दै

गाजा – इजरायलले गाजा सहरका “युद्ध क्षेत्र” भनिएका इलाकाबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती दक्षिण गाजातर्फ सार्ने तयारी गरेको छ। यो कदम गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र कब्जा गर्ने नयाँ आक्रमण सुरु भएको केही दिनमै आएको हो।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईका अनुसार प्रभावित परिवारलाई केरम शालोम नाकाबाट संयुक्त राष्ट्रसंघ र सहायताप्रदायी संस्थाहरूको सहयोगमा स्थानान्तरण गरिने बताएको छ। तर, संयुक्त राष्ट्रसंघले यसबारे आफ्नो संलग्नता पुष्टि गरेको छैन।

प्रधानमन्त्री नेतान्याहूले गाजा सहर र अल–मावासीमा रहेका हमासका गढ नष्ट गर्ने आदेश दिएपछि यो योजना अगाडि बढाइएको हो। संयुक्त राष्ट्रसंघले भने यस कदमले पहिले नै गम्भीर मानवीय संकट भोगिरहेका हजारौँ परिवारलाई थप जोखिममा पार्ने चेतावनी दिएको छ।

इस्लामिक जिहादले यसलाई इजरायलको “निर्दयी आक्रमण” को हिस्सा भन्दै अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भनेको छ।

यसबीच, इजरायली सेनाले गाजा सहर वरिपरिको कारबाही तीव्र पारेको छ। जेतुन र शुजैया क्षेत्रमा भीषण हवाई आक्रमण भएको छ भने जेतुनको अस्काउला क्षेत्रमा भएको ड्रोन आक्रमणमा केही मानिसको मृत्यु र अरु घाइते भएको फिलिस्तिनी सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली नरसंहारको छायाँमा एक नेपाली परिवारको पीडा

संयुक्त राष्ट्रसंघको मञ्चमा विपिनको कथाले के इजरायलको युद्ध अपराध लुकाउन सक्छ?

काठमाडौं – इजरायल–प्यालेस्टाइन युद्धको क्रूर तरङ्ग संसारभर फैलिँदै गर्दा, कञ्चनपुरका विपिन जोशीको परिवार आज संयुक्त राष्ट्रसंघको मञ्चतर्फ यात्रा गरिरहेको छ । इजरायलमा काम गर्दै गरेका विपिनलाई प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको थियो । उनि अझै जीवित छन् या छैनन् भन्ने विषय केवल एक अन्यौल मात्र बनेको छ। यधपी, उनलाई खोज्ने अभियानको नाममा आज आमा पदमा र बहिनी पुष्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल हुँदै संयुक्त राष्ट्रसंघ पुग्दैछन् । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका छन् ।

तर यहाँ एक गम्भीर प्रश्न उठ्छ—के एक नेपाली परिवारलाई संयुक्त राष्ट्रसंघमा देखाएर इजरायलले आफ्नो छातीमा लागेको नरसंहारको दाग पखाल्न सक्छ? के यो मानवीय पीडालाई आफ्नो राजनीतिक रणनीतिमा प्रयोग गर्ने एउटा क्रूर प्रदर्शन मात्र होइन? आत्मा रक्षाको नाममा इजरायलले गरेको ६१००० भन्दा बढी प्यालेस्टिनी नागरिकको हत्यालाई विपिन जोसीको परिवारको पिडामा साट्न खोज्नु अमानवीयताको पराकाष्ठा हो।

अन्तर्राष्ट्रिय कानूनले युद्ध अपराधको रूपमा परिभाषित गर्ने कामहरू गाजा सहरमा दिनहुँ भइरहेका छन् । हजारौं प्यालेस्टिनी नागरिकको हत्या, अस्पताल र शरणार्थी शिविरमाथि हवाई आक्रमण, र वर्षौँदेखि जारी नाकाबन्दी , यी सबै इजरायलले गरेका युद्ध अपराधका शृंखला हुन्।अन्तर्राष्ट्रिय अदालतले समेत गम्भीर मानवअधिकार उल्लङ्घन र सम्भावित नरसंहारको आरोपमा इजरायली नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ।तर शक्तिशाली सैन्य–राजनीतिक गठबन्धनको आडमा, इजरायल अझै निर्लज्ज रूपमा आफ्नो आक्रमणलाई “आत्मरक्षा”को नाममा बचाउ गरिरहेको छ ।

यतिखेर इजरायलको कूटनीतिक प्राथमिकता भने विपिनको परिवारलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याएर आफ्नो पक्षमा अन्तर्राष्ट्रिय सहानुभूति बटुल्नुमा केन्द्रित देखिन्छ। तर के यसले इजरायलको हातमा लागेको अपराधको दाग पखाल्न सक्छ ? के बिपिनको परिवारको संवेदनशील मानवीय पीडालाई देखाएर हजारौं निर्दोष प्यालेस्टिनीको मृत्युलाई विस्मृतिमा पुर्‍याउन सकिन्छ? यो प्रश्न केवल नेपालका लागि मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर रुपमा चुनौती बनेर खडा भएको छ ।

विपिनको परिवारलाई संयुक्त राष्ट्रसंघमा पुर्‍याउने इजरायलको योजना सतही रूपमा मानवीय देखिए पनि यसको गहिरो राजनीतिक अर्थ छ । बन्धकको कथा देखाएर इजरायल आफ्नो आपराधिक छविलाई लुकाउन खोजिरहेको छ । के यो नैतिक रूपमा स्वीकार्य छ जब कि, आफ्नोै हातले हजारौं निर्दोष मार्ने देशले केही बन्धकका नाममा विश्व समुदायको सहानुभूति किन्न खोजोस्? के यो एउटा अपराधमा पर्दा हाल्ने प्रयास होइन?

मानवीय पीडा समानान्तर रूपमा महसुस गर्न सकिन्छ—विपिनको परिवारको पीडा वास्तविक र गहिरो छ । तर गाजाको पीडितहरूको पीडा पनि उस्तै वास्तविक र कारुणिक छ । न्यायको तराजुमा एउटा पक्षको आँसु देखाउने र अर्को पक्षको रगत लुकाउने काम कुनै पनि लोकतान्त्रिक मूल्य र मानवाधिकारको सिद्धान्तसँग मेल खान सक्दैन ।

संयुक्त राष्ट्रसंघको मञ्चमा विपिनको परिवार देखाउनु पीडादायी क्षण हुनेछ । तर यसले गाजाको कुनै एक आमा जसले आफ्ना छोराछोरी गुमाएकी छिन्, वा एक बालक जसले बमबारिमा आफ्नो बाबु–आमा दुवै गुमाएको छ , के त्यो बालकको भविष्यलाई न्याय दिन सक्छ ?के त्यो आमाको पीडालाई कम गराउन सक्छ ?

सबैभन्दा खतरनाक कुरा भनेको, यस्तो दोहोरो मापदण्डमा अन्तर्राष्ट्रिय समुदायको मौनता हो । अमेरिकी समर्थन, यूरोपेली राजनीतिक सुरक्षा, र अन्तर्राष्ट्रिय निकायको कमजोर दबाबले इजरायललाई अझै हिंस्रक बनाइरहेको छ ।

यदि संयुक्त राष्ट्रसंघको मञ्चमा विपिनको परिवारको आँसु देखाएर इजरायलले आफ्नो युद्ध अपराधको प्रश्नलाई छोप्ने हो भने, यो केवल एउटा पीडालाई अर्को पीडाको विरुद्ध प्रयोग गर्ने अमानवीय राजनीति हुनेछ ।

अन्त्यमा, प्रश्न यथावत् रहन्छ, गाजामा बगेको रगतको जवाफ कसले दिने? हजारौं मृत आत्माहरूलाई न्याय कसले दिने? अन्तर्राष्ट्रिय अदालतको पुर्जीको अर्थ के हुन्छ , जबकि युद्ध अपराधीहरू अझै खुलेआम विपिन जोसीको पीडालाई मानवअधिकारको मञ्चमा एउटा कथा जसरि देखाएर आफुलाई निर्दोष साबित गर्न खोज्दैछन?

विपिनको परिवारलाई देखाएर इजरायलले केही समयको लागि सहानुभूति पाउला । तर जबसम्म गाजाको रगतको हिसाब दिइँदैन, इतिहासले यसलाई नरसंहारकै अध्यायमा राख्नेछ,र यो दाग कहिल्यै मेटिने छैन । इजरायलले विपिनको परिवारलाई संयुक्त राष्ट्रसंघको मञ्चमा देखाएर आफूलाई मानवतावादी र पीडितको पक्षमा देखाउन सक्छ । तर यो केवल एउटा धोका र कपटी रणनीति मात्र हो। यो केवल गाजामा निर्दोष हजारौं नागरिकमाथि गरिएको निर्दयी नरसंहार र युद्ध अपराधलाई लुकाउने प्रयास मात्र हुनेछ ।इजरायलले गरेको यो नरसंहार इतिहासमा मानवता विरोधी सबैभन्दा भयानक अपराधको रूपमा दर्ज भएर रहनेछ । न्याय र सत्यका पक्षमा आवाज उठाउनेहरूका लागि यो नरसंहार सदैव स्मरणीय रहनेछ । यदि हामीले यसलाई मौनताले छोप्यौं भने, संसारबाट मानवता नै पराजित हुनेछ ।अन्तर्राष्ट्रिय समुदायले अब मौनता तोड्दै, अपराधीहरूलाई जवाफदेही बनाउन दृढ सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने समय आएको छ—नत्र शान्ति र न्याय केवल एक भ्रामक सपना मात्रै बन्नेछ।

गाजा सिटी नियन्त्रणमा लिने योजनाविरुद्ध इजरायलमा एक लाखभन्दा बढीको प्रदर्शन

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा सिटी नियन्त्रणमा लिने योजनाविरुद्ध येरुशलम लगायतका शहरहरूमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।

हमासद्वारा बन्दी बनाइएका व्यक्तिहरूका परिवारले आयोजना गरेका यी प्रदर्शनहरू युद्ध सुरु भएपछिका सबैभन्दा ठूला आन्दोलनमध्ये एक हो , जसले तत्काल युद्धविरामको माग गर्दै उक्त कदमले बन्दीहरूलाई अझै जोखिममा पार्ने र द्वन्द्व बढाउने चेतावनी दिएका छन्।

नेतान्याहूको मन्त्रिपरिषद्ले हालै “युद्ध समाप्त गर्ने” रणनीतिको रुपमा सम्पूर्ण गाजा क्षेत्र आफ्नो नियन्त्रणमा लिने प्रस्तावलाई पारित गरेपछि इजरायली नागरिकले सरकार विरोधी प्रदर्शन सुरु गरेका हुन्।

देशभित्र र बाहिरबाट यस कदमप्रति आलोचना बढेको छ, जसमा विपक्षी दल र पश्चिमी मुलुकहरू (अमेरिका बाहेक) समेत समावेश छन्। उनीहरूले यो कदमले मानवीय संकट र थप रगतपात निम्त्याउने चेतावनी दिएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १,२०० जना इजरायली, मारिएका थिए र २५१ जनालाई गाजामा लगेर बन्दी बनाइएका थिए। तीमध्ये करिब ५० जना अझै बेपत्ता छन् र करिब २० जना मात्र जीवित रहेको विश्वास गरिन्छ। जबकि इजरायलको आक्रमणमा परी ६१००० बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ५० हजार बढी घाइते भएका छन् भने लाखौँले आफ्नो भुमि त्यागेर भागेका छन्।

गाजामा पूर्ण सैन्य कब्जा गर्ने नेतन्याहूको योजना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा पूर्ण नियन्त्रण लिन चाहेको योजना सार्वजनिक गरेका छन्।

गाजामा पूर्ण सैन्य कब्जा गर्नेतर्फ नेतन्याहूको योजनाको तीव्र आलोचना भएको छ। आलोचकहरूले उनलाई राजनीतिक अस्तित्व जोगाउनका लागि युद्धलाई बढावा दिएको, जसको मूल्य निहत्था नागरिक र बन्धकहरूले चुकाउनुपर्ने भन्दै आरोप लगाएका छन्। मानवअधिकार समूहहरूले यस्तो कदमले मानवीय संकटलाई अझ गहिरो बनाउने, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने र भोकमरीको संघारमा पुगेका फिलिस्तिनीहरूलाई अझै ठूलो संख्यामा विस्थापित गर्ने चेतावनी दिएका छन्। उनका विरोधीहरूले यो रणनीतिले व्यवहारिक विकल्पहरूलाई बेवास्ता गर्ने, अस्थिरता बढाउने र इजरायली–फिलिस्तिनी दुवैको सुरक्षाभन्दा व्यक्तिगत र राजनीतिक स्वार्थलाई प्राथमिकता दिएको समेत बताएका छन् ।

युद्धका कारण गाजाको अधिकांश जनसंख्या विस्थापित भइसकेको छ। संयुक्त राष्ट्रसंघका विज्ञहरूले भोकमरीको चेतावनी दिएका छन् भने विश्व स्वास्थ्य संगठनले जुलाई महिनामा बालबालिकामा कुपोषणको दर अहिलेसम्मकै उच्च भएको जनाएको छ। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा १,२०० इजरायली मारिएका र २५१ जनालाई बन्धक बनाइएपछि इजरायलको आक्रमणमा हालसम्म ६१,००० भन्दा बढी फिलिस्तिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, यो निर्णय “इजरायलकै हातमा” भएको बताएका छन्

अन्तर्राष्ट्रिय आलोचनाको बीच गाजामा इजरायली बस्ती विस्तार

अन्तर्राष्ट्रिय समुदायको चर्को आलोचना र चेतावनीको बाबजुद इजरायली अधिकारीहरूले कब्जामा रहेको वेस्ट बैंकमा अवैध बस्तीहरू विस्तार गर्ने योजना अघि बढाएका छन्। यो कदमले दुई-राष्ट्र समाधानको सम्भावनालाई थप समाप्त पार्ने चेतावनी दिइएको छ।

इजरायली सरकारले पूर्वी यरुशलमको पूर्वी क्षेत्रको विकासबारे निर्णय गर्न बुधबारको मिति तोकेको थियो । योजनाअनुसार त्यहाँ हजारौं नयाँ आवास युनिटहरू निर्माण गरिनेछ, जसले अवैध रूपमा स्थापित ठूलो बस्ती म’आले अदुमिमलाई यरुशलमसँग जोड्नेछ। यसले वेस्ट बैंकलाई दुई भागमा विभाजित गर्दै प्यालेस्टिनी समुदायहरूलाई अलग्याउनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी सरकारले अहिले गाजालाई पूर्णरूपमा कब्जा गर्ने संकेत पनि दिइरहेको छ, जहाँ अहिले निरन्तर आक्रमण भइरहेको छ।

अन्तर्राष्ट्रिय कानुनअनुसार वेस्ट बैंक र पूर्वी यरुशलममा रहेका इजरायली बस्तीहरू अवैध मानिन्छन्। संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत, (अन्तर्राष्ट्रिय न्याय अदालत)ले गत वर्ष पनि इजरायलको उपस्थिति अवैध भएको पुनः पुष्टि गरेको थियो र कब्जा अन्त्य “जति सक्दो छिटो” गर्नुपर्ने बताएको थियो।

यस योजनाअन्तर्गत १,२१४ हेक्टर (झण्डै ३,००० एकड) प्यालेस्टिनी जमिन कब्जा गरेर ४,००० भन्दा बढी बस्ती युनिटहरू, होटलहरू र म’आले अदुमिमलाई पश्चिम यरुशलमसँग जोड्ने सडकहरू बनाइनेछ।

प्यालेस्टिनी नेताहरूका अनुसार यो योजना पूर्वी यरुशलमलाई “यहूदीकरण” गर्ने र कब्जा गरिएको क्षेत्रमा इजरायली नियन्त्रण अझै बलियो बनाउने दीर्घकालीन प्रयासको हिस्सा हो।

प्यालेस्टिनीहरू भविष्यमा बन्ने स्वतन्त्र राज्यका लागि वेस्ट बैंक, गाजा स्ट्रिप र राजधानीको रूपमा पूर्वी यरुशलम चाहन्छन् – यी सबै क्षेत्रहरू इजरायलले १९६७ को युद्धमा कब्जा गरेको थियो।

हाल वेस्ट बैंकमा ५ लाखभन्दा बढी इजरायली बासिन्दा छन्, र पूर्वी यरुशलममा झण्डै २.२ लाख बसोबास गरिरहेका छन्।

बेलायतले प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने चेतावनी

बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले इजरायलले गाजामा भइरहेको मानवीय संकट अन्त्य गर्न तत्काल र ठोस कदम नचालेमा बेलायतले प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन्। यो बयान बेलायतको परम्परागत मध्यपूर्व नीति विरुद्ध एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ, विशेष गरी जब फ्रान्सले यसै सेप्टेम्बरभित्र प्यालेस्टिनको मान्यता दिने योजना सार्वजनिक गरिसकेको छ।

डाउनिङ स्ट्रिटबाट जारी वक्तव्यमा प्रधानमन्त्री स्टार्मरले भने, “गाजाको अवस्थालाई अब बेवास्ता गर्न सकिन्न। इजरायलले यदि पूर्ण युद्धविराम र दीर्घकालीन शान्ति प्रक्रिया तर्फ प्रतिबद्धता देखाएन भने, बेलायतलाई निर्णायक कदम चाल्न बाध्य बनाइनेछ।” उनले गाजामा जारी बमबारी र आमनागरिकको दु:खद अवस्थालाई ‘असहनीय’ भन्दै तत्काल शान्ति कायम गर्न आह्वान गरे।

यसअघि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि इजरायलले युद्द अन्त्य नगरेमा सेप्टेम्बरसम्म प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका थिए। बेलायत र फ्रान्सजस्ता युरोपेली शक्तिहरूले एउटै धारमा यस्ता कूटनीतिक चेतावनी दिँदा इजरायलमाथि दबाव झनै तीव्र बनेको छ।

इजरायलको दीर्घकालीन मित्रराष्ट्र मानिने युरोपेली मुलुकहरूले अब उसमाथि आलोचना गर्न थालेको यस कदमलाई ऐतिहासिक मोडको रूपमा हेरिएको छ। यदि यी मुलुकहरूले प्यालेस्टिनलाई मान्यता दिए, भने यसले इजरायललाई कूटनीतिक धक्का पुर्‍याउनुका साथै प्यालेस्टिनहरूका लागि ठूलो राजनीतिक जीत हुने सम्भावना छ।

अब इजरायलले यस चेतावनीलाई गम्भीर रूपमा लिन्छ वा प्रतिरोधको बाटो रोज्छ भन्ने कुरा समयले देखाउनेछ। तर युरोपबाट आएको सन्देश स्पष्ट छ — अन्ध समर्थनको युग अब समाप्त हुँदैछ।

इजरायली आक्रमणमा हालसम्म ६० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु: गाजामा भोकमरीको भीषण संकट

सन् २०२३ को अक्टोबरदेखि गाजामा सुरु भएको युद्धपछि अहिलेसम्म इजरायली सेनाद्वारा कम्तीमा ६०,०३४ प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भयावह तथ्यांक मंगलबार सार्वजनिक गरिएको हो। मंगलबार मात्रै बिहानैदेखि कम्तीमा ६२ जना प्यालेस्टिनी मारिएका छन्।

यसैबीच, भोकमरीको “सबैभन्दा खराब अवस्था” गाजामा देखा परिरहेको अन्तर्राष्ट्रिय भोकमरी अनुगमन प्रणाली आइपिसीको पछिल्लो प्रतिवेदनले जनाएको छ।

“गाजा क्षेत्रको अधिकांश भागमा खाद्य उपभोगका लागि भोकमरीको स्तरमा पुगिसकेको छ, र गाजा सहरमा गम्भीर कुपोषणको अवस्था कायम भइसकेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ।

“निरन्तर द्वन्द्व, व्यापक विस्थापन, मानवीय सहायता प्रवेशमा अत्यधिक प्रतिबन्ध, र स्वास्थ्य सेवाजस्ता अत्यावश्यक सेवाकोप्रतिबन्धकाबिच संकट अब गम्भीर र प्राणघातक मोडमा पुगेको छ,” रिपोर्टले चेतावनी दिएको छ।

खाद्य उपभोगमा तीव्र गिरावट आएको छ, जसमा प्रत्येक तीनमध्ये एक व्यक्तिले दिनौंसम्म खाना नपाएको अवस्था देखिएको छ।

जुलाई महिनाको पहिलो भागमा कुपोषण तीव्र गतिमा बढेको र अप्रिलदेखि मध्य जुलाईसम्म २०,००० भन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको उपचारका लागि अस्पतालमा भर्ना गरिएको उल्लेख गरिएको छ। तीमध्ये ३,००० भन्दा बढी बालबालिका गम्भीर रूपमा कुपोषित छन्।

यो भोकमरी संकट गाजाको सबै वर्गमा गहिरिएर फैलिएको छ। युएन वोमेनकी कार्यकारी निर्देशक सिमा बहोसका अनुसार गाजाका १० लाख महिला र किशोरीहरूले “भोकै मर्ने वा खाना खोज्दा ज्यानको जोखिम उठाउने” असम्भव विकल्पको सामना गरिरहेका छन्।

“यो भयावहता अब अन्त्य हुनुपर्छ,” बहोसले सामाजिक सञ्जालमा लेख्दै भनिन्। उनले गाजामा अवरुद्ध मानवीय सहायता सहजरूपमा प्रवेश गराउन, बन्धकको रिहाइ गर्न र स्थायी युद्धविराम गर्न आह्वान गरेकी छन्।

इजरायलसँग सहकार्य गर्ने कुनै पनि जहाजमा आक्रमण गर्ने हुथी विद्रोही समुहको चेतावनी

यमनको अन्सार अल्लाह आन्दोलनका हुथी विद्रोहीहरूले इजरायली बन्दरगाहहरूसँग काम गर्ने सबै कम्पनीहरूसँग सम्बन्धित जहाजहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।

हुथी विद्रोही समुहका प्रवक्ता याह्या सारीले आफ्नो हतियारको पहुँचमा आउने त्यस्ता सम्पूर्ण जहाजहरुमा आक्रमण गर्ने चेतावनी दिएको हो।

“यमनको सशस्त्र सेनाले प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो सैन्य अपरेशन सक्रिय गर्ने र शत्रुको जहाज नाकाबन्दीको चौथो चरण लागू गर्न सुरु गर्ने निर्णय गरेको छ।

फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ – म्याक्रोन

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले घोषणा गरेका छन् कि उनको देशले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिनेछ जुन उनले यस क्षेत्रमा “न्यायपूर्ण र दिगो शान्तिको लागि ऐतिहासिक प्रतिबद्धता” भनेका छन्।

बिहीबार X मा लेख्दै उनले भने , “सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा यस सम्बन्धमा औपचारिक घोषणा गर्नेछु ।आजको तत्काल आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु र नागरिक जनसंख्यालाई उद्धार गर्नु हो,” ।

विश्वभरका धेरैजसो देशहरूले प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिए पनि, संयुक्त राज्य अमेरिका र यसका धेरै नजिकका सहयोगीहरूले त्यसो गरेका छैनन् । राष्ट्रपति म्याक्रोनको निर्णयसँगै, फ्रान्स G7 मा पहिलो प्रमुख देश हुनेछ जसले आधिकारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछन्।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा सुरु भएको द्वन्द्वमा ५९,००० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

गाजामा भोकमरीको संकट गहिरिँदै

इजरायली आक्रमणले गिजोलेको गाजा पट्टीमा भोकमरीको लहर चलिरहेको संयुक्त राष्ट्र संघिय स्वास्थ्य अधिकारीहरूले बताएका छन्। भोकमरीको लहरसँगै थप १० जना प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायलले युद्ध सुरु गरेदेखि भोकमरीले मृत्यु हुनेको संख्या १११ पुगेको छ, जसमध्ये धेरैजसो हालैका हप्ताहरूमा भएका छन्।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणमा कम्तिमा १३४ जना प्यालेस्टिनीहरू मारिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा यस वर्ष अहिलेसम्म भोकमारीबाट मृत्यु हुनेहरूमा पाँच वर्ष मुनिका २१ बालबालिका रहेको बताएको छ।

मर्सी कोर्प्स, नर्वेजियन शरणार्थी परिषद् र शरणार्थी इन्टरनेशनल लगायत १११ संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन् कि गाजा बाहिर सिमानामा टनका- टन खाना र सफा पानी छन् तर ति सबैको आपूर्ति अवरुद्ध हुँदा “सामूहिक भोकमरी” फैलिरहेको छ। सहायता गर्न पुगेका समूहहरूलाई इजरायली सेनाले सहायता वितरणमा रोक लगाएको छ।

संयुक्त राष्ट्र संघ र गाजामा खाना पुर्‍याउन खोजिरहेका सहायता समूहहरूका अनुसार सहायता वितरण केन्द्रहरु नजिकै इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई गोली हानी मारेको छ।

युद्दको सुरुवातदेखि हालसम्म इजरायली आक्रमणमा परि साठी हजार भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने, दश लाख भन्दा बढीले आफ्नो घरबार छाडेर भागेका छन्।

सिरियाको दमास्कसमा इजरायलद्वारा आक्रमण

सरकारी सेना र ड्रुज सशस्त्र समूहहरू बीचको युद्धविराम भङ्ग भएपछि दक्षिणपश्चिमी शहर सुवैदामा झडप जारी रहँदा इजरायलले सिरियाली राजधानी दमास्कसमा हवाई आक्रमण गरेको छ।

शहरको बाहिरी भागमा रहेको राष्ट्रपति भवन नजिकै अर्को आक्रमण भएको थियो र आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु भएको छ र अन्य ३४ जना घाइते भएका छन्।

सुवैदा शहरमा बढ्दै गएको निरन्तर अशान्तिको बीच सिरियाको राजधानीमा आक्रमण भएको छ, जहाँ स्थानीय सुन्नी बेदुइन जनजातिहरू सिरियाको ड्रुज अल्पसंख्यकका लडाकुहरूसँग भयंकर झडपमा उत्रिएका थिए।

इरानद्वारा कतारमा रहेको अमेरिकी हवाई अड्डामा आक्रमण

इरानले कतारको अल उदेदस्थित अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गरेको छ। इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको बदलामा इरानले उक्त आक्रमण गरेको जानेको छ।

सोमबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इरानी जनतालाई सम्बोधन गरेको एक विज्ञप्तिमा आक्रमणको पुष्टि गरेको छ।इरानको आक्रमणपछि कतारको राजधानी दोहा र देशका अन्य भागहरूमा लगातार ज्वालामुखी विस्फोटहरू देखिएका थिए।

इरानले आफ्नो विज्ञप्तिमा भनेको छ “निर्णायक कारबाही” ले ह्वाइट हाउस र यसका सहयोगीहरूलाई सन्देश पठाएको छ कि इरानले “कुनै पनि परिस्थितिमा आफ्नो क्षेत्रीय अखण्डता, सार्वभौमिकता वा राष्ट्रिय सुरक्षा विरुद्धको कुनै पनि आक्रमणलाई अनुत्तरित छोड्ने छैन”।

कतारको अल उदेइद हवाई अड्डा “अमेरिकी वायुसेनाको कमाण्ड सेन्टरको रूपमा काम गर्दछ र पश्चिम एसियामा अमेरिकी आतंकवादी सेनाको सबैभन्दा ठूलो रणनीतिक सम्पत्ति भएको इरानले दाबि गरेको छ।

तेहरानले यो पनि उल्लेख गरेको छ कि मिसाइल हमला कतारको आवासीय क्षेत्रहरूबाट टाढा गरिएको थियो।

“यो कार्यले मित्रवत र भ्रातृ राष्ट्र कतार र यसका महान जनतालाई कुनै खतरा छैन, र इस्लामिक गणतन्त्र इरान कतारसँग न्यानो र ऐतिहासिक सम्बन्ध कायम राख्न र निरन्तरता दिन प्रतिबद्ध छ,” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले उक्त विज्ञप्तिमा उल्लेख गरेको छ।