हुथी विद्रोहीद्वारा इजरायलको रामोन विमानस्थलमा ड्रोन आक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2025
El Al Israel Airlines planes are seen on the tarmac at Ben Gurion International Airport in Lod near Tel Aviv

यमनस्थित हुथी समूहले इजरायलको रामोन विमानस्थलमा आइतबार गरिएको ड्रोन आक्रमणको जिम्मा लिएको छ। उक्त आक्रमणमा दुई व्यक्ति घाइते भएका थिए भने विमानस्थल करिब दुई घण्टा सञ्चालन अवरुद्ध भएको थियो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले ड्रोनले विमानस्थलको आगमन कक्षलाई प्रहार गरेको र यसले सम्पूर्ण उडान गतिविधि रोकिएको बताएका छन् । उनले यो आक्रमण दक्षिण इजरायलका अन्य स्थानहरूलाई पनि लक्षित गर्ने व्यापक ड्रोन अभियानको हिस्सा भएको भन्दै गाजामा रहेका फिलिस्तिनीहरूको समर्थनमा हमला बढाउने चेतावनी दिएका छन् । सारीका अनुसार, “इजरायलभित्रका सबै विमानस्थल असुरक्षित छन् र निरन्तर लक्षित हुनेछन्।”

इजरायली सेनाले यमनबाट तीनवटा ड्रोन प्रक्षेपण भएको पुष्टि गरेको छ। तीमध्ये दुईवटा इजरायलको हवाई सीमामा प्रवेश गर्नुअघि नै खसालिएको भए पनि तेस्रोबारे विस्तृत जानकारी दिएको छैन।

गाजा युद्ध अक्टोबर २०२३ देखि सुरु भएपछि हुथी समूहले इजरायलमाथि बारम्बार मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ। उनीहरूले यसलाई फिलिस्तिनीहरूप्रति एकताको अभिव्यक्ति भनेका छन्।

जवाफमा इजरायलले हुथी नियन्त्रणमा रहेका यमनका क्षेत्रहरू, विशेषगरी होदेइदाह बन्दरगाहमा हवाई आक्रमण गर्दै आएको छ। गत महिनाको अन्त्यतिर इजरायली आक्रमणमा हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद अल रहावीसहित अन्य मन्त्रीहरू र थुप्रै सर्वसाधारणको ज्यान गएको थियो।

यसअघि, गत मे महिनामा हुथीले इजरायलको मुख्य बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल आक्रमण गरेको थियो भने जवाफमा इजरायलले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थललाई ध्वस्त पारेको थियो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५