इजरायली हवाई आक्रमणमा येमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

येमन- येमनको हुथी समूहले आफ्ना प्रधानमन्त्री अहमद घालेब नासेर अल-रहावी बिहीबार राजधानी सानामा भएको इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ। हुथीले अन्य केही मन्त्रीहरु समेत मारिएको र केही गम्भीर घाइते भएको जनाएको छ।

साउदी सञ्चारमाध्यम अल-हदथका अनुसार हुथीका परराष्ट्रमन्त्री, न्यायमन्त्री, युवा तथा खेलकुद मन्त्री, सामाजिक मामिला मन्त्री र श्रम मन्त्री मारिएका छन्। उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहलाई रहावीको उत्तराधिकारीका रूपमा तोकिएको छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार रहावी र अन्य वरिष्ठ नेताहरू आक्रमणमा मारिएका हुन् ।

गाजाको युद्ध सुरु भएपछि हुथीहरूले इजरायलतर्फ मिसाइल प्रहार गर्दै आएका छन् र रातो सागर तथा एडेन खाडीमा व्यापारीक जहाजमाथि आक्रमण गरेका छन्। यसको जवाफमा इजरायलले यमनका हुथी नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।