ट्रम्पले बमबारी रोकिएको दाबी गरे पनि गाजामा इजरायली आक्रमणमा ६१ जनाको मृत्यु

गाजा-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले अस्थायी रूपमा बमबारी रोकेको बताए पनि गाजा पट्टीभरि इजरायली हवाई आक्रमणमा कम्तिमा ६१ प्यालेस्टिनीको मृत्यु भएको छ।

ट्रम्पको गाजा शान्ती वार्ता प्रस्तावमा हमासले बन्दी बनाएका सबिलाई रिहा गर्ने बताएको केहि समयपछि नै गाजामा भएको आक्रमणमा ६१ प्यालेस्टिनीको मृत्यु भएको हो । हमासले गाजाको प्रशासन प्यालेस्टिनी टेक्नोक्रेटहरूको टोलीलाई हस्तान्तरण गर्न र प्यालेस्टिनी कैदीहरूको बदलामा सबै इजरायली बन्दीहरूलाई रिहा गर्न सहमत भएको छ।

यद्यपि, हमासले विज्ञप्तिमा निशस्त्रीकरणको मुद्दालाई भने सम्बोधन गरेको छैन तर मध्यस्थता वार्तामा तुरुन्तै प्रवेश गर्न तयार रहेको भनिएको छ।

अक्टोबर २०२३ मा गाजामाथि इजरायलको युद्ध सुरु भएदेखि, कम्तिमा ६७,०७४ जना मारिएका छन् र १६९,४३० जना घाइते भएका छन्, हजारौं भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

यसैबीच, इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले अमेरिकी राष्ट्रपतिको प्रस्तावमा वार्ता गर्नकै लागि गाजा आक्रमण रोक्न सहमत भएकोमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आलोचना गरेका छन् ।

नेतान्याहूको गठबन्धन सरकारका एक प्रमुख व्यक्तित्व र कब्जा गरिएको पश्चिम किनारमा रहेको अवैध बस्तीका बासिन्दा स्मोट्रिचले बारम्बार इजरायललाई गाजा पट्टी कब्जा गर्न आह्वान गरेका छन्।

इजरायली बन्धकहरूलाई रिहा गर्न हमास तयार

गाजा – प्यालेस्टिनी समूह हमासले शान्ती वार्तालाई अन्तिम रूप दिन सबै इजरायली बन्धकहरूलाई रिहा गर्न र मध्यस्थकर्ताहरू मार्फत वार्ता सुरु गर्न तयार रहेको घोषणा गरेको छ। समूहले गाजाको नियन्त्रण स्वतन्त्र प्यालेस्टिनी निकायलाई हस्तान्तरण गर्न पनि इच्छुकता व्यक्त गरेको छ।

हमासले शुक्रबार भनेको छ कि यो निर्णय यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको २०-बुँदे शान्ति योजनाको गहन अध्ययन पछि गरिएको हो। योजनामा ​​इजरायल र हमास बीच तत्काल युद्धविराम, प्यालेस्टेनी र इजरायली बन्धकहरूको आदानप्रदान, गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्ता र अस्थायी अन्तर्राष्ट्रिय प्रशासनको स्थापना समावेश छ।

एक विज्ञप्तिमा, हमासले ट्रम्पको प्रस्तावमा उल्लेख गरिएको आदानप्रदान सूत्र अनुसार जीवित र मृतक दुवै इजरायली बन्दीहरूलाई रिहा गर्ने आफ्नो सम्झौता पुष्टि गरेको छ। सम्झौता कार्यान्वयनको लागि मध्यस्थकर्ताहरू मार्फत तत्काल वार्तामा प्रवेश गर्न तयार रहेको पनि हमासले जनाएको छ।

समूहले गाजाको प्रशासनिक नियन्त्रण स्वतन्त्र प्यालेस्टिनी निकायलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएको छ, जसलाई प्यालेस्टिनी राष्ट्रिय सहमतिबाट गठन गरिएको र अरब र इस्लामिक राज्यहरूद्वारा समर्थित प्राविधिक अधिकारको रूपमा वर्णन गरिएको छ।

यद्यपि, हमासले योजनाका अन्य तत्वहरू, जस्तै हमासको पूर्ण निशस्त्रीकरण स्पष्ट रूपमा अस्वीकार गरेको छ ।हमासले ति अन्य मुद्दाहरू प्यालेस्टिनी राष्ट्रिय ढाँचा भित्र सम्बोधन गरिनुपर्ने बताएको छ।

ट्रम्प र नेतन्याहूद्वारा गाजा शान्ति योजना घोषणा: हमासलाई सर्त स्वीकार गर्न वा थप सैन्य कारबाही भोग्न चेतावनी

ह्वाइट हाउस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि नयाँ शान्ति योजना सार्वजनिक गर्दै हमासलाई सर्त स्वीकार गर्न वा थप सैन्य कारबाही भोग्न चेतावनी दिएका छन्।

योजनाअनुसार तत्कालै युद्धबिराम हुनेछ। ७२ घण्टा भित्र हामासले २० जना जीवित इजरायली बन्धक र करिब दुई दर्जन मृतकको शव फिर्ता गर्नुपर्नेछ, जसको बदलामा सयौँ पक्राउ परेका प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ।

कतारी र इजिप्टको मध्यस्थमार्फत हामासका नेताहरूसमक्ष २० बुँदे प्रस्ताव पुगेको छ। सो दस्तावेजले हमासलाई गाजाको शासनमा कुनै भूमिका नदिने तर भविष्यमा प्यालेस्टिनी राज्यको सम्भावना खुला रहने प्रष्ट पारेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यसलाई “शान्तिका लागि ऐतिहासिक दिन” भनेका छन्। उनले हामासले अस्वीकार गरेमा अमेरिकाले इजरायललाई पूर्ण समर्थन गर्ने बताए। नेतन्याहूले पनि हामासले शर्त नमान्ने हो भने थप आक्रमण गर्ने चेतावनी दिए।

पश्चिम तटमा शासन गर्ने प्यालेस्टिनी अधिकारीहरुले अमेरिकाको प्रयासलाई सत्यनिष्ठ र दृढ भन्दै युद्ध अन्त्य, मानविय सहयोग पुर्‍याउने र बन्धक मुक्त गर्ने विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

शर्त अनुसार हमासका हतियार र सुरुङ नष्ट गर्ने, दुबै पक्षका शव आदान–प्रदान गर्ने, र सम्झौता भएपछि तत्काल गाजामा सहायता प्रवेश गराउने प्रावधान रहेको छ। अस्थायी रूपमा गाजाको प्रशासन प्राविधिक प्यालेस्टिनी समिति मार्फत चलाइनेछ, जसलाई “बोर्ड अफ पिस” नामक नयाँ अन्तर्राष्ट्रिय निकायले पर्यवेक्षण गर्नेछ। यसलाई ट्रम्पले नेतृत्व गर्नेछन् जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि समावेश हुनेछन्।

बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालगायत नेताहरूले यस योजनालाई समर्थन गर्दै हमासलाई उक्त शर्त स्वीकार गर्न आह्वान गरेका छन्।

शर्तमा इजरायली सेनाको चरणबद्ध फिर्ता, गाजाको पुनर्निर्माण र आर्थिक विकास कार्यक्रमको वाचा गरिएको छ। यसअघिका प्रस्ताव विपरीत, यसले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाउने कुरा नगरी त्यहाँ नै बस्न र पुनर्निर्माण गर्न प्रोत्साहित गरेको छ।

हामासले युद्ध अन्त्य गर्ने कुनै पनि प्रस्ताव अध्ययन गर्न तयार रहेको जनाए पनि प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने, इजरायलको पूर्ण फिर्ता गर्ने र सन् १९६७ को सीमा भित्र स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना हुने ग्यारेन्टी गर्नुपर्ने अडान दोहोराएको छ।

यो घोषणा संयुक्त राष्ट्रसंघमा इजरायलमाथि चर्को आलोचना भइरहेका बेला आएको हो। नेतन्याहूले केही पश्चिमी मुलुकहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमलाई “लाजमर्दो” भन्दै आक्रमण गरेपछि, दर्जनौं कूटनीतिज्ञहरूले उनको सम्बोधन बहिष्कार गरेका थिए।